पेट्रोलियम मूल्यवृद्धिप्रति ट्रक व्यवसायीको आपत्ति, भाडादर समायोजन गर्न माग
काठमाडाैँ । पेट्रोलियम पदार्थको पछिल्लो मूल्यवृद्धिप्रति नेपाल ट्रक यातायात व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ।
खाडी क्षेत्रमा देखिएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै गरिएको मूल्य समायोजनले यातायात क्षेत्रसँगै समग्र जनजीवनमा नकारात्मक प्रभाव पर्ने महासंघले जनाएको हो।
महासंघका महासचिव बद्रीप्रसाद चौलागाईंद्वारा जारी विज्ञप्तिमा नेपाल आयल निगमले २०८२ चैत १९ गते सार्वजनिक गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
अमेरिका, इजरायल र इरानबिचको तनावका कारण खाडी क्षेत्रबाट पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्तिमा असर परेको र त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको निगमको भनाइ छ।
विज्ञप्तिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम उपभोक्ता आक्रोशित बनेको उल्लेख गर्दै यसको सीधा असर यातायात क्षेत्रमा पर्ने जनाइएको छ।
वैज्ञानिक प्रणालीका आधारमा निर्धारण गरिएको भाडादरअनुसार ट्रक सञ्चालन गर्नुपर्ने र पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँभन्दा बढी घटबढ हुँदा भाडादर स्वतः समायोजन गर्ने विषयमा यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी महासंघबीच यसअघि नै लिखित सहमति भएको पनि महासंघले स्मरण गराएको छ।
डिजेलको मूल्य वृद्धि भएसँगै सोही वैज्ञानिक प्रणालीअनुसार ट्रक भाडादर स्वतः समायोजन गर्न सम्बन्धित निकायसँग महासंघले माग गरेको छ। हाल भाडादर प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्थामा इन्धनको मूल्य बढ्दा पुरानै दरमा सेवा सञ्चालन गर्न व्यवसायीलाई कठिनाइ हुने महासंघको भनाइ छ।
महासंघले २०६५ सालदेखि लागू गरिएको वैज्ञानिक भाडादर समायोजन प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन नभएको गुनासोसमेत गरेको छ। साथै २०८१ साल पुस २२ यता भाडादर पुनरावलोकन नभएकोप्रति असन्तुष्टि जनाउँदै तत्काल मूल्यवृद्धि फिर्ता लिन पनि सरकारसँग माग गरिएको छ।
यसैबिच नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँका दरले बढाएको छ। नयाँ दरअनुसार काठमाडाैँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १८२ रुपैयाँ कायम भएको छ।
यसअघि १ चैतमा प्रतिलिटर १५ रुपैयाँ बढाएर काठमाडाैँमा पेट्रोलको मूल्य १७२ रुपैयाँ र डिजेल–मट्टितेलको मूल्य १५२ रुपैयाँ पुर्याइएको थियो। त्यसपछि १२ चैतमा फेरि १५ रुपैयाँ वृद्धि गरी पेट्रोल १८७ रुपैयाँ र डिजेल–मट्टितेल १६७ रुपैयाँ पुर्याइएको थियो।








