२१ बैशाख २०८१, शुक्रबार

बरमन बुढाप्रति अन्तिम श्रद्धाञ्जली ! उपराष्ट्रपति पुनले राष्ट्रिय झण्डा र प्रचण्डले पार्टीको झण्डा ओढाए (फोटो फिचर)

प्रकाशित मिति :  22 July, 2020 12:09 pm


काठमाडौं, साउन ७ । 

रोल्पाका पुराना कम्युनिष्ट नेता एवं पूर्वसांसद बरमन बुढाप्रति उपराष्ट्रपतिसहित विभिन्न दलका नेता तथा शुभचिन्तकहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आज विहान उपचारकै क्रममा ललितपुरको पाटन अस्पतालमा निधन भएका बुढाप्रति पशुपति आर्यघाट पुगेर बुढाको पार्थिव शरिरमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ‘ले राष्ट्रिय झण्डा ओढाएका थिए ।

बुढालाई अन्तिम श्रद्धाञ्जली दिनका लागि उपराष्ट्रपति पुनसहित सभामुख अग्नीप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य, उर्जामन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती,कृष्णबहादुर महरा, गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, नेकपाका प्रमुख सचेतक देव गुरुङसहित विभिन्न दलका नेता, शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए । नेकपाका अध्यक्ष प्रचण्डले बुढालाई कम्युनिष्टको झण्डा ओढाएका थिए ।

बुढाको आज बिहान ९० वर्षको उमेरमा निधन भएको थियो । आन्द्राको क्यान्सर भएको एक वर्षअघि रोग पत्ता लागेपछि काठमाडौँमा बसेर उनले उपचार गराइरहेका थिए । केही दिनअघि रोगले च्यापेपछि थप उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएकामा आज बिहान निधन भएको छोरी विजयाले जानकारी दिईन् ।

स्व. बुढा विसं २०४८ को संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं १ बाट तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । रोल्पाको थवाङ घर भएका बुढालाई रोल्पाको कम्युनिष्ट पार्टीको संस्थापक मानिन्छ ।

लामो समय मन्त्री रहेका राप्रपा नेता बालाराम घर्तीमगरलाई हराउँदै विसं २०४८ को संसदीय निर्वाचनमा पहिलोपटक बुढा सांसद निर्वाचित भएका थिए । यसअघि उनी थवाङको मुखिया, प्रधानपञ्चको रूपमा लामो समय राजनीतिमा क्रियाशील थिए ।

कठिन परिस्थतिमा समेत रोल्पामा कम्युनिष्ट पार्टी निर्माण गरेको भन्दै रोल्पामा नेता बुढालाई आदर्श मान्ने गर्दछन् । उनी दुई वर्षअघि राष्ट्रका लागि योगदान गरेको भन्दै राष्ट्रपतिबाट विभूषितसमेत भएका थिए ।

सम्बन्धित समाचार :

रोल्पाका पुराना कम्युनिष्ट नेता बरमन बुढाको निधन



प्रतिक्रिया दिनुहोस !