७ बैशाख २०८१, शुक्रबार

२०३८ सालमा थवाङ अप्रेसनको नेतृत्व गरेका सिडियोको अनुभव र ‘नायक’ बरमन बुढा

प्रकाशित मिति :  23 July, 2020 2:10 pm


थवाङ घर भएका रोल्पाका पुराना कम्युनिस्ट नेता बरमन बुढाको ९० वर्षको उमेरमा यही साउन ७ गते निधन भयो । बुढाको निधनपछि फेरी एकपटक धेरैले थवाङको विद्रोह र यसले बेहोरेको प्रशासनिक सास्तीको सम्झना गरे । रोल्पाका पहिलो कम्युनिष्ट सदस्य मानिने बुढाको नामसँगै जोडिन्छ, थवाङमा भएको २०३८ सालको अप्रेसन । थावाङवासीले यसलाई सैन्य अप्रेसन भन्दै आएका छन तर यसको नेतृत्व गरेका रोल्पाका तत्कालिन  सिडियो शारदाप्रसाद दाहालले ‘व्यापक प्रहरी कारबाही’ मात्रै भएको आफ्नो पुस्तक पुस्तक ‘विगतका झिल्का’मा उल्लेख गरेका छन् । पुस्तकमा तत्कालिन सिडियो दाहालले बुढालाई ‘थवाङ कारबाहीका निम्ति प्रशासनलाई बाध्य पार्नेहरूका नायक’ भनेका छन् । पुस्तकका लेखक दाहालको केही वर्ष अघि निधन भइसकेको छ । सरकारको तर्फबाट थवाङ अप्रेसनको नेतृत्व गरेका दाहालले आफ्नै दृष्टिकोण अनुसार अनुभव लेखेकाले कपितय कुरा नमिल्दापनि लाग्न सक्छन् भने तथ्य र सन्दर्भ फरक पर्न सक्छन् । तसर्थ पाठकले त्यसै अनुसार बुझिदिनुहुने छ भन्ने अपेक्षा गरेका छौं । रोल्पाली राजनीतिक ईतिहासका धरोहर स्व. बरमन बुढा र सधै चर्चामा रहने ०३८ को थवाङ  अप्रेसनबारे बुझ्न केही सन्दर्भसामाग्री हुने ठानेर यो सामाग्री प्रकाशित गरेका छौं । –सम्पादक

थवाङमा व्यापक प्रहरी कारबाही

नेपालीहरूको महान चाड दशैंको चहल पहल सुरु भयो । दसैंको टीकाका दिन गा.वि.स. भवनमा गाउँका अधिकांश मानिस भेला भएर गा.वि.स. अध्यक्ष (प्रधान पञ्च) बाट टीका थाप्ने परम्परा चलाएकारहेछन् ।

अध्यक्ष जेलमा रहेकाले उपाध्यक्ष (उपप्रधान)को हातबाट टीका थाप्न गाउँका बुढापाका भवनमा जम्मा भएका थिए । यस्तैमा एक हुल युवाहरूको जमात कम्युनिस्ट पार्टीको झण्डा बोकेर अवान्छित र अप्रिय नारा लगाउँदै भवनमा प्रवेश गरे । मञ्चमा टीका लगाउने तरखरमा रहेका उप–प्रधानपञ्चलाई लतार्दै भवन बाहिर पुराएर । राजारानीसहित टाँंगिएका फोटा तोडफोड गरि फाले । माक्र्स, लेनिन, माओ आदिका फोटा सजाए ।

केहीछिन क्रान्तिकाकारी भाषण ठोके । त्यसपछि उनीहरूको नेताको हातबाट टीका लगाईदिए । उपप्रधानलाई केही उजुरबाजुर गरेमा फेरि आक्रमण गर्ने धम्की दिए । विचारा उपप्रधान दुई–तीन जना आफन्त सहित भागेर रातारात लिवाङ आईपुगे । उनले थवाङका उग्र कम्युनिस्ट हुल्याहाहरूले घटाएको घटनाको सम्पूर्ण कुरा भावुक मुद्रामा हामीलाई सुनाए ।  थवाङमा घटेको घटनाको भुक्तभोगी साक्षी उपप्रधानको हालत र उनले सुनाएको विवरणले हामी पनि भावुक बन्यौं ।

प्रहरी–प्रमुख र मेरो लामो छलफलपछि प्रहरी–प्रमुखले थवाङमा एक पटक अपरेसन नै गर्नुपर्छ र त्यसका लागि थप १ सय ५० जति प्रहरी फोर्स र सोही अनुसारको गोली गट्ठा तथा बन्दोबस्तीको सामानको अवश्यकता पर्छ भने । केही थप रकम पनि चाहिन्छ भन्ने तय भयो । थवाङको धेरै वर्ष अगाडिदेखिको कम्युनिस्टहरूको उग्र क्रियाकलापहरूसमेत उल्लेख गरी थवाङ अपरेसनका लागि गृहमन्त्रालय र अञ्चलाधीश कार्यालयमा स्वीकृती र अपरेसन कार्यका निम्ति सहयोग निकासाका निम्ति अनुरोध पठाएँ ।

केही दिनपछि आफ्नो सहायकलाई निमित्त दिई प्र.जि.अ. स्वयम् गृह मन्त्रालयमा हाजिर हुन आउनू भन्ने कोड आ.वा प्राप्त भयो । आदेश अनुसार व्यवस्था मिलाएर तीन–चार दिन भित्र गृहमा हाजिर हुन पुगें । त्यस बेला सचिव कर्णध्वज अधिकारी थिए । पी.ए.ले म आएको जानकारी दिने वित्तकै मलाई भित्र बोलाहट भयो र मलाई प्रश्न गरे, “जिल्लाको प्र.जि.अ.भएर आफै काम बिगार्ने अनि अपरेसन गर्ने अनुमति मागेर राजालाई विवादमा तान्न खोज्ने ? यही हो प्र.जि.अ.को काम ?” उनको यो रबैया देखेर मेरो मनमा केही खिन्नता आयो । उनको आडम्बरी स्वभाव देखेर गृह मन्त्रालयप्रति नै वितृष्णा पैदा भयो । यथार्थ कुरा प्रष्ट राख्नु पर्छ भन्ने मैले सोचें । यही सोंचेर थवाङबारे सुरुदेखि वर्तमानसम्मको इतिहास बताउन थालेँ ।

क्रान्तिकारी कम्युनिस्ट–नेता मोहनविक्रम सिंह २०१५ सालमा आफ्नो पार्टी प्रचारका निम्ति केही वर्ष रोल्पाको थवाङमा शिक्षक भएर बसेका भन्ने कुरा मैले गृहबाट सुनेको छु । उनले त्यस बेला प्राथमिक कक्षामा पढाएका विद्यार्थी मध्ये धेरै केटाहरू हाल आएर त्यस क्षेत्रका क्रान्तिकारी नेता भइसकेका थिए र छन् भन्ने जानकारी स्थानीय प्रहरी प्रमुखबाट मिलेको थियो ।

उनीहरूमध्ये एक बर्मन बुढा थावाङको वर्तमान प्रधानपञ्च थिए । यस अवस्थामा म प्र.जि.अ.का रूपमा रोल्पा पहिलोपटक गएपछि गरेका सबै प्रयासहरूको यथार्थ प्रतिवेदन बराबर पठाइरहेको कुरा सचिवलाई जानकारी गराए । म भन्दा पहिले त्यस जिल्लामा प्र.जि.अ. भाएर जाने दरबार र मन्त्रालयले समेत पत्याएका ललितबहादुर बम आदि वरिष्ठ प्रशासकहरूले गरेको कामको रेकर्ड पनि मन्त्रालयमा हुनुपर्छ भन्ने करा पनि सम्झाउन बिर्सिनँ ।

यत्तिकैमा पी.ए.लाई बोलाएर सम्बन्धित शाखा प्रमुखलाई रोल्पाको फाइल लिई आउन भनी पठाए । सचिवले सरसर्ती फायलका पाना पल्टाएर हेरेपछि थवाङको सुरुदेखिको गतिविधि बारेका प्राप्त प्रतिवेदनका सारांश तयार पारेर अर्को दिन दश बजे पेस गर्न उपसचिवलाई अराए ।

अर्को दिन सबै फायल अध्ययन गरेर सन्तुष्ट भएपछि प्रहरी अपरेसनका सट्टा व्यापक प्रहरी कारबाही गर्ने सचिवको सल्लाह अनुसार आवश्यक निकासा भयो । रोल्पा पुगेर जि. प्रहरी प्रमुखलाई व्यापक प्रहरी कारबाही प्रमुख जिल्ला अधिकारीको आफ्नै जिम्मेवारीमा सम्पन्न गर्ने गरी मन्त्रालयबाट स्वीकृति भएको जानकारी दिएँ । तत्पश्चात पाँच दिनभित्र सबै व्यवस्था मिलाएर कारबाहीका लागि थवाङ प्रस्थान गर्ने तय भयो । त्यस वेलासम्म दाङबाट थप प्रहरी टोली पनि आइपुग्ने छ । यो सम्पूर्ण गोप्य गतिविधिको जानकारी प्रहरी प्रमुख र म आफै बाहेकका अरू कसैलाई नदिने कुरा हाम्रो बिचमा तय भइसकेको थियो ।

सम्पूर्ण प्राविधिक बन्दोबस्त मिलाउने जिम्मा प्रहरी प्रमुखले लिए । दुई दिनमा थवाङ गाउँको प्रष्ट पहिचान सहितको प्रष्ट नक्शा तयार थियो । थवाङ प्रवेश गर्ने र त्यहाँबाट निस्केर जाने तीनवटा नाका, प्रशासनले नियन्त्रणमा लिनुपर्ने व्यक्तिका नाम, उनीहरूको पाएसम्मका फोटा र उनीहरूको घरको लोकेशन सहित विवरण समावेश गरिएको थियो । सबै व्यवस्था मिलाएर तीनै टोली सँगसँगै जस्तो आ–आफ्नो निर्धारित बाटो हुँदै प्रस्थान गर्यो । सबै प्रहरी टोलीलाई दिनको उज्यालोमा खानपिन र विश्राम गर्ने तथा रातमा भ्रमण गर्ने निर्देशन थियो । टोलीको कमान्ड रोल्पाका प्रहरी–प्रमुख इन्स्पेक्टर मङ्गल बहादुर शाह आफैंले सम्हालेका थिए । म पनि साथमा   थिएँ ।

आ–आफ्नो निर्धारित नाकाबाट गएका सबै टोली अर्को दिन बिहान ४ः४० बजेतिर थवाङ गाउँ प्रवेश गरे । बिहानको समय भर्खर उठ्दै गर्दा पुलिसको आक्रमणमा परेकाले कसैले प्रतिवाद गर्ने मौका पाएनन् । दिसा–पिसावका निस्केका केही उतै भागेर गए । भु.पू. प्रधानपञ्च र जि.पं सदस्यहरू फेलै परेनन् । उनीहरू अघिल्लै दिन गढीतिर भागेको भन्ने बुझियो ।

एक–दुईजना नियन्त्रणमा लिनैपर्ने युवानेता गाउँमा प्रहरी आएको सुइको पाएर छतबाट वा घरको झ्यालको पछाडिपट्टीबाट हाम फाली भागेको बुझियो । गाउँ प्रवेश गरेको केही समयपछि पक्राउ खाएकाहरूलाई ल्याएर गा.वि.स. भवनको कोठामा राख्न थालियो । करिब दुई घण्टामा सबै काम सकियो । सबै मिलाएर ४० जनाजति प्रहरी पक्राउमा परेछन् । यसै अवस्थामा एक ठूलो टिनको बाकससहित एक महिलालाई पञ्चायत भवनमा ल्याईयो । ताला लगाइएको बाकस खोलेर हेर्दा निम्न सामानहरू पाइए ।

बाकस बोकाएर रोल्पाकै टोलीका स.इ. आइपुगे । बाकसको तल्लो भागमा नौगेडी आदि केही सुनका गहना र पुराना कम्पनीका हार, चाँदीका चुरी आदि थिए । हजार–पाँच सयजतिको नगद पनि त्यही थियो । हेर्दै जाँदा तल्लो भागमा केही अबैध हतियार, बम बनाउने सामग्री र क्रान्तिकारी निर्णय पुस्तिका पनि भेटिए । सबैभन्दा तल एक गोप्य डायरी थियो । क्रान्तिकारीहरूको लगत, उनीहरूले मौका पर्दा सफाया गर्नु पर्ने उनीहरूको भाषामा जिल्लाका शोषक, सामन्त, अन्य पार्टीका ठूला नेता तथा प्रशासकको नाम समेत त्यस डायरीमा थियो । उनीहरूका मित्रशक्ति र शत्रुशक्ति अलग–अलग छुट्याएर राखिएको थियो ।

अवैध बाहेकका सबैको लागत बनाई उनै महिलालाई बुझाई दिने कार्य भयो । पक्राउ परेर आएकाहरूको छानबिन गर्न मैले इन्स्पेक्टर र कार्यालयका विश्वस्त कर्मचारीलाई जिम्मा दिएँ । छानबिन टोली गठन भई तुरुन्तै आफ्नो काममा लाग्यो । करिब दुई घण्टामा छानबिन टोलीले रिपोर्ट पर्यो । इन्स्पेक्टरले आफूले चेक गरेर ब्रिफिङ गरे । पक्राउ परेका मध्य १० जना पूर्ण निर्दोष देखिए । बाह्र–तेह्र जनालाई आवश्यक परी बोलाउँदा उपस्थित हुने कागज गराई छोडी दिने बाँकी दश–बाह्र जनामाथि कारबाहीमा निम्ति लिवाङ लिएर जानु पर्ने भयो ।

लिवाङ पुगेर प्रहरी–प्रमुख, जिल्ला अटर्नी र कर्मचारीसँग आवश्यक छलफल गर्दा थवाङ कारबाहीमा प्राप्त डकुमेन्ट र हतियारहरु, विभिन्न समयमा गरिएको बैठक निर्णयहरु, तत्कालीन कानून अनुसार राजकाज अपराध तथा सजाय ऐन अन्तर्गत मुद्दा चलाउन उपयुक्त देखी राप्ती अञ्चलाधीश कार्यालय (इजलास) मा दर्ता गर्न प्रहरीलाई निर्देशन दिएँ ।

स.ई.को नेतृत्वमा प्रहरीको छुट्टै टोली बनाएर ती दशजनालाई टोलीको जिम्मा लगाई हामी सबै बाटो लाग्यौैं । त्यसपछि साँझपख कुरेली गाउँ पञ्चायतका प्रधानपञ्च शेरबहादुरको घरमा बास बस्न पुग्यौं । घरधनी शेरबहादुर, बाठा मगर राजनैतिक साथै उदार सामाजिक भावना राख्ने गाउँको हुनेखाने व्यक्ति थिए ।

बेलुका उनको घरभरि हामी पुग्दा पाहुनालाई स्वागत गर्ने र उनकी पाँच श्रीमतीहरू हातमा फूलका गुच्छासहित हाम्रो स्वागतार्थ बाटैमा लाइनमा खड़ा थिए । मलाई अनौठो लाग्यो । मगरले घरमा आउने पाहुनालाई यसरी नै स्वागत गर्ने चलन भएको बताए भने नेपाली जङ्गलको छेउमा घरवास रहेकाले मृग, बँदेल आदि बारीमा नै चर्न आउने र कहिलेकाहीं बाली नै नष्ट गर्ने भएकोले कहिलेकाहीं मारेर खाने चलन रहेको पनि बताए । उनले यो भनिरहँदा मलाई बितेको एक घटना याद आयो ।

रोल्पाका केही रोचक घटनाहरू

म रोल्पा प्र.जि.अ. भई आएको तीन–चार महिनापछि लिवाङ पारिपट्टि धाङसिधवाङ गा.वि.स.की एक महिला दुई–तीन महिनाको बच्चा च्यापेर सी.डी.यो. कार्यालयमा आइन् । यो नानीको बौ (बाबु) चिनाइ पाऊँ सरकार भनेर रुन थालिन् । उनको उमेर उमेर तीस–बत्तीस वर्षको हुँदो हो । मुद्धा फाँटको कर्मचारीलाई बोलाएर ती महिलाको समस्या बुझी जानकारी गराउन अह्राए । केही छिनपछि आएर मेरा कर्मचारीले ती महिलाको समस्या यस प्रकार सुनाए :

“तीस वर्षीकी महिलाको श्रीमान् कालापहाड (भारत) कामको खोजीमा गएको तीन वर्ष भयो । घरमा तीन छोरा–छोरी सहित उनी रहने गर्छिन् । ठूली छोरी बाह्र वर्ष र त्यसपछिका दुई छोरा सात र चार वर्षका छन् । एक वर्ष अगाडि गाउँको काका पर्नेको घरमा तीन जना पाहुना आएछन् ।

भैंसी किन्नका निम्ती आएका उनीहरू काकाकै घरमा बास बसेका रहेछन् । काकी बिमार परेकाले पाहुनालाई खाना बनाउन यि महिलालाई बेलाए । उनी पाहुनालाईसमेत ख्वाई धन्नापात सक्दा धेरै राति भएको उतै सुतिछन् । राति पालैपालो पाहुनाहरू मझेरीको एक कुनामा सुतेकी ति महिलासँग नाजायस सम्बन्ध राखेछन् । भोलि बिहान पाहुना आफ्नो बाटो लागे । ती आफ्नो घर–व्यवहारमा लागिन् । राति सुत्न आउने पाहुनाको गर्भ उनले बोकिसकेकी रहिछन् । समय पुगेपछि यो जन्मियो । बाबु विनाको छोरो पाएकाले गाउँलेले गाउँ–निकाला नै गर्ने भनेपछि उनी काकासँग कराउन गइन् । काकाले टेरपुच्छर लगाएनन् । त्यसपछि यिनी अफिसको शरणमा आएको भन्ने थाहा भयो ।“

मैले तुरुन्तै प्रहरी–प्रमुखलाई बोलाएर सम्बन्धित मानिस पत्ता लगाई आवश्यक कारबाही गर्ने जिम्मा दिएँ । करिब दुई हप्तापछि ती महिलासहित उनले भनेका तीनजना मानिस र महिलाका काकासमेतलाई लिएर जिल्ला प्रहरी प्रमुख आए । उनले ती महिलाको बच्चाको बाबु ती तीनजनामध्ये एकजना रहेको स्वीकारे ।

महिलाको माग उनीहरूबाट ५ हजार रुपैयाँ सुत्केरी खर्च पाउनु पर्ने रहेछ । उनलाई सुत्केरी खर्च दिन वा अरू जुनसुकै कारबाही सहन यो बच्चाको बाबु तयारै थिए । ती बच्चाकी आमा आफ्नो घरपरिवार छाडेर नयाँ लोग्नेसँग जान कुनै हालतमा तयार थिइनन् । यस कारण महिलाको माग अनुसारको सुत्केरी खर्च दिलाएर ती मानिसलाई बोलाएका बखत हाजिर हुन आउने कागज गराई छोड्न उपयुक्त लागेको मलाई सुनाए । उनको विचारलाई मैले समर्थन गरेपछि सोही अनुसार मिलाएर पठाए ।

गा. पं. हरूमा एक–दुई जाली फटाहाले दुःख दिएका उजुरीहरू यस्ता पर्ने गर्दथे । गाउँ पञ्चायको प्रधानपञ्च स्वयम्ले गरेको तपसिलको जालसाजी काम पञ्चायतीकालमा जनप्रतिनिधिबाट हुने कर्तुतको एक उदाहरण हो । जसमा प्रधानपञ्चकी आफ्नै माइजू एकल महिला रहेछन् । उनका छोरा छोरी पनि कोही नभएको आफ्नै जेठाजुको छोरो (भतिजो) र प्रधान पञ्च (भान्जा)को रेखदेखमा उनी थिइन् ।

महिलाको नाममा पाँच–सात लाखको जग्गा जमिन रहेछ । त्यो सम्पत्ति एकलौटी खान भाञ्जा र भतीजा परस्पर आन्तरिक द्वन्द्व चलिरहेको रहेछ । विचार ती महिला बेखबर विइन् । भान्जो प्रधानले तिम्रो जग्गा भतिजोले खान लाग्यो मेरो नाममा सुरक्षित राख भन्दै उनकै नाममा पास गर्नेगरी घरायसी कागत गराएछन् । यसै आधारमा निजको सबै जग्गा जमीन आफ्नो नाममा अड्डाबाट एकलौटी पास गरेपछि जालसाजी अदालतमा उजुरी परेको रहेछ ।

न्यायाधीशले महिलालाई झिकाई सोधेकामा उनले मैले भान्जालाई दिईसकेको बयान दिएपछि न्यायाधीश भान्जाको पक्षमा फैसला गर्न करै लाग्यो । तुरुन्तै उसै बेला न्यायाधीश बुद्धिकान्त मैनाली मेरो आएर सबै वृत्तान्त सुनाउनुभयो । मैले तुरुन्तै त्यस प्रधानपञ्च र निजकी माइजूलाई लिन पठाएँ । माइजूलाई नलिई प्रधानपञ्चमात्र आए ।

माइजूको जग्गा भनी सबै आफ्नो नाममा गराई जग्गाधनीलाई सुकुम्वासी बनाएकोबारे मैले निजलाई यथार्थ र सत्य कुरा म र न्यायाधीशका अगाडि प्रस्तुत गर्न भने । थरीथरीको बहानाबाजी बनाएर निकैबेर हामी दबैलाई अल्मल्याउन थाल्यो । उसलाई नहप्काई नहुने अवस्था आयो । सिस्नोको मुठो र घोडाको चाबुक हातमा समाउँदै कसो हो प्रधान सिस्नो र घोडाको चाबुक खाने कि यथार्थ भन्ने भनेपछि ऊ डरायो ।

माल हाकिमजीलाई बोलाएँ र न्यायाधीशको भनाई बमोजिम जग्गा फिर्ता पास गर्न र स्थानीय प्रशासन ऐन अनुसार सुरक्षित राख्न व्यवस्था गर्ने आदेश दिदै निज प्रधानपञ्चलाई प्रहरी–प्रमुखको जिम्मा लगाएँ । अर्को दिन प्रहरी –प्रमुख स्वयम् लागेर मालबाट कानुन बमोजिम जग्गा फिर्ता पास गर्ने व्यवस्था मिलाई सम्बन्धित माइजु र भाञ्जा मकहाँ आए । मैले प्रधानपञ्चलाई आइन्दा यस्तो काम नगर्ने भन्ने कागज गराई छोडिदिए ।

यसले जिल्लाभरीका जाली फटाहाहरूलाई त्रास र अन्यायमा परेकाको मनोबल बढाउन सहयोग पुगेको थियो ।
समन्ति भू–स्वामित्वको परम्परा, व्यापक गरीबी र अशिक्षाको अन्धकार–भित्र रुमलिएको अधिकांश हाम्रो ग्रामीण समाज सदियौंदेखि यस्तै प्रकार चलिरहेको छ । गरिबहरू गरिबी बनेर बाच्न विवश छन् । खानलाउन पुग्नेहरु खोरियाबारी धेरै जोड्ने र त्यही बारी खनजोत गर्न कम्तिमा दुई–तीनदेखि बढीमा बीस–बाई सजनासम्म श्रीमती भित्राउने यस जिल्लाको नियति नै रहेको छ। गरिब परिवारमा भने एक श्रीमती र छोराछोरी पाल्न नपुगी कमाउन लोग्ने बिदेसिनु पर्ने परिस्थिति पनि विद्यमान छँदैछ ।

थवाङ काबाहीको प्रतिकृया

बाध्यात्मक परिस्थिति सिर्जना भई गरिएको प्रशासनिक कारबाहीबाट थवाङ गाँउदेखि रोल्पा जिल्ला र राजधानीसम्म प्रतिक्रिया     यस्तो छ :

  • त्यहाँ क्रान्तिकारी कम्युनिस्टहरुले थवाङलाई जनवादी सत्ताको राजधानीका रूपमा स्थापित गर्ने र आफ्नै नीति नियममात्र लागू गर्ने तथा सरकारका नियम–कानुन र निर्देशनहरूलाई बुर्जुवा, सामन्ती र आततायी भन्दै ठाडै अस्वीकार गरी जिल्ला प्रशासनलाई धाक दिएर पत्र लेख्ने प्रक्रिया बन्द भयो ।
  • थवाङ गाउँ र त्यस आसपासका प्रजातन्त्रप्रति आस्था राख्ने सर्वसाधारण जनता उग्रवादीबाट लखेटिएका र घरबार छोडी विस्थापित (शरणार्थी) भई अन्य क्षेत्रमा बसोबास गरिआएका थिए । थवाङ कारबाहीपछि क्रमशः आ–आफ्नो घर बस्तीमा फर्कन थाले ।
  • थवाङ वा अन्य क्षेत्रका वामपन्थी सदरमुकाम लिवाङसँग सम्पर्क बढेर गयो ।

थवाङको कारबाहीबाट अञ्चलाधीश, गृहमन्त्रालय र राजदरबारसम्म आततायी, ध्वंसात्मक र डकैतीसम्मको आरोप लगाएर प्र.जि.अ.माथि बारबाहीको माग गरी निवेदन र विन्ति–पत्र परेका थिए । यस्ता निवेदनहरू अनावश्यक कार्यार्थ भनी सबै मेरै कार्यालयमा प्राप्त भए । ती सबै निवेदन र ती सबै निवेदन र विनती–पत्र पूर्व प्रधान पञ्चको घरमा रहेको ठूलो टिनको बाकस भित्र सम्पत्ति लुटियो भन्ने विषयमा बढी लक्षित थियो ।

सो बाकस घर मालिकनीले खोल्न नमान्दा सिङ्गै बाकस चारजना प्रहरीले उचालेर मेरो सामुन्नेमा लिएर ल्याएका थिए । सँगै आएकी घर मालिकनीसँग चाबी मागी खोलिएको र त्यसमा भएका सामान र नगद, जिन्सी गहना आदि धनीले नै बुझि दिए । सोही अनुसार नै केन्द्रमार्फत् प्राप्त निवेदनको जवाफ मैले पठाएँ ।

तत्कालीन लिवाङ हाईस्कूलको प्रधानाध्यापक नारायण सुवेदी (तत्कालीन क्रान्तिकारी जनमोर्चाका सक्रिय कार्यकर्ता) ले लेखेको–“१०० दिन माओवादी कब्जामा” नामक पुस्तक थवाङ कारबाहीको प्रतिक्रियामा–शारदाप्रसाद दाहाल निकै कडा थिए । ….शिक्षक संगठनका सचिव कृष्णबहादुर महरालाई नियन्त्रणमा लिइयो । शिक्षक हड़ताल तोड्न लगाइयो…. हड़ताल तोडी स्कुलमा पढाई चालू गर्न मलाई पनि दबाब दिन थाले । ….सचिवले हड्ताल तोड्न आफैले निर्देशन पठाएको कुरा स्विकारेपछि मात्र मैले हड्ताल तोडी पढाइ चालु गरें । ….२०३८/३९ सालको कुख्यात थवाङ अपरेसन र घोर प्रशासन दमन…. पछि धेरै नेतृत्वदायी व्यक्तिहरू पञ्चायतमा क्रमशः प्रवेश गरे ….’ आदि उल्लेख छ ।

वामपन्थी पत्र पत्रिकाहरूले थवाङमा भएको प्रशासकीय कार्यलाई घोर अत्याचारपूर्ण भनि चित्रण गर्दै रहे । उनीहरूका अन्डरग्राउन्ड कार्यकर्ताहरूले बराबर हुलाकबाट ज्यान मार्ने धम्कीसहित पत्र(चिट्ठी)हरू पठाउने गर्दथे । उनीहरूका पत्रमा जिल्ला छोडी भागेर गइहाल नत्र भने सफाया गर्नेछौं भन्दै समयसमेत किटान गरिएको हुन्थ्यो । धम्की पूर्ण पत्रहरू बराबर आउन थाले । खोजी हुँदै गर्दा त्यस्तो पत्र लेख्ने बसेको घरमा बिहान ४ बजे प्रहरी त पुग्यो । तर उनी सुईको पाई भागि सकेछन् । रित्तो ओछ्यानमा उनको गोप्य कागज र केही सामान फेला परे ।

केही वर्ष अघि एक आफन्तको छोरीको विवाहोत्सवको निम्तो मान्न मेरी श्रीमती र म गएका थियौं । यस्ता उत्सवहरू धेरै आफन्त तथा मित्रहरूसँग भेटघाट र भलाकुसारीका निम्ति धेरै महत्वपूर्ण अवसर हुने गर्दछन् । त्यस अवसरमा श्री शारदाप्रसाद त्रितालजीसँग भेट भयो ।

मेरो लामो प्रशासनका अन्त्य तिर २०५०/०५१ सालमा म प्र.म. कार्यालयको सचिवमा रहँदा त्रितालिजी र म सहकरर्मी थियौं । हाल उनी सचिव छन् । उनले मलाई अरिचित अपरिचित आफन्तसँग परिचय गराउने क्रममा ने क.पा. एमालेका प्रभावशाली नेता तथा पूर्व वरिष्ठ मन्त्री समेत रहिसकेका व्यक्तिसँग परिचय गराउन लगे ।

परिचयको क्रममा उनले त्रिताल लाई भने,“म त । उहाँलाई धेरै अघिदेखि राम्रो चिन्दछु ।” उनले मतिर हेरेर फेरि भने,तपाईद्धारा रोल्पामा सर्वाधिक खोजी गरिएको संजय थापा नामको व्यक्ति म नै हुँ ।” यति भनेर उनी हाँसे । म पनि हाँसे । त्यो माहोलमा योभन्दा ही कुराकानी गर्ने समय र वातावरण दुवै थिएन । मैले माथि उल्लेख गरे अनुसारमामाथी सांघातिक आक्रमण गर्ने पत्रहरू मलाई पठाउने वा पठाउने व्यवस्था मिलाउने भनी प्रहरीले नियन्त्रण लिन प्रयास गरेको व्यक्ति उनै रहेको सङ्केत मलाई दिए ।

तकालीन रोल्पाको कम्युनिस्टहरूको नेतृत्व पंक्तिमा रहेका कृष्णबहादुर महरालाई २०३८ सालको शिक्षक हड़ताल क्रममा मैले नियन्त्रणमा लिएको विषय आफ्नो ‘१०० दिन माओवादी नियन्त्रणमा‘ नामक संस्मरण नारायण सुवेदीले उल्लेख गरेका छन् । महराजी त्यसवेला शालीन स्वभाव र शिष्ट थिए । मैले हड्ताल नगर्न सम्झाएँ ।

राजनैतिक कार्यकर्ता वा शिक्षक अथवा सरकारी कर्मचारीको आवरणमा जनताले तिरेको करबाट पारिश्रमिक खाने तर सो वापत गर्नु पर्ने काम आफू नगर्ने र गर्नेलाई पनि काम गर्न नदिने ध्वंसात्मक क्रियाकलाप गर्ने कुराको मात्र मेरो आपत्ति थियो । यी आदि विषयमा महराजीसँग सौहार्दपूर्ण छलफल भएको थियो । उनले हिरासतबाटै हड़ताल अन्त्य गरी स्कुलमा पठनपाठन सञ्चालन गर्न पत्र लेखी आफ्नो सङ्गठनमा पठाई सकेछन् ।

यसै गरी सुरुका दिन थवाङमा हुने गरेका विध्वंसात्मक कार्य गरी थवाङ कारबाहीका निम्ति प्रशासनलाई बाध्य पार्नेहरूका नायक बर्मन बुढामा पनि पछिल्लो समयमा ठूलो परिवर्तन आएको पाएँ । २०४० साल कार्तिकमा रोल्पाबाट सुनसरी आदि तीन–चार जिल्ला हुँदै २०४६ सालको जन आन्दोलन पश्चात २०४७ सालको पूर्वार्धदेखि म काठमाडौंको प्र.जि.अ.मा नियुक्त भई काम गर्दै थिएँ ।

२०४७ सालको निर्वाचन रोल्पाबाट निर्वाचित भएर सांसद बर्मन बुढ़ा काठमाडौं आइसकेका थिए । २०४८ मा मसँग भेट गर्न मेरो कार्यालयमा अकस्मात आइपुगे । उनी रोल्पाली ड्रेस (फोटो, कछाड, गादो र शिरमा नेपाली टोपी) मा नै सजिएका थिए । थवाङ कारबाहीपछि कहिले पनि मसँग उनको सम्पर्क थिएन । आज प्रफुल्ल मुद्रामा मेरो कार्यालयमा आएका थिए ।

मैले उनलाई नमस्कार गरी कुर्सीमा बस्न आग्रह गरें । चिया पिउँदै मैले पुरानो कुरा कोट्याएँ, “थवाङमा मबाट भएको कारबाहीबाट तपाईं मसंग रिसाउनु भएको होला ।“ जबाफमा उनी–“म तपाईसंग किन रिसाउने सिरो (सी.डी.ओ.) साप् (साहेब)!“ भन्दै हाँसे । मलाई उनको यो जबाफ अप्रत्यासित लाग्यो । मैले फेरि सोधे– “किन ?“ जबाफमा उनले “तपाईले मलाई नथुनेको भए टिकट पनि पाउने थेन र संसदमा पनि आउने पाउने थेन रछ । जेलनेल नखाई नेतै बन्दैन भन्छ । फेरि तपाई सर्खारको जागिर खाएपछि कानुन नियम लगाउने  त्यो । त्यो नगरी चल्दैना….. ।” उनको यस्तो भनाइ सुनेर उनीमा साँच्चिकै परिवर्तन भार महसुस गरें । मैले उनलाई सम्झाउनु पर्ने कुरा उल्टै उनले पो सम्झाए।

निकैबेर गफ भएपछि उनी मेरो अफिसमा आउन परेको काम मलाई सम्झाए । संगै आएको थवाङी मगर केटोको नागरिकता बनाउन आएको कुरा मलाई भने । मैले सहायकलाई बोलाएर नियमानुसार पाउने नागरिकता प्रमाण बनाइदिन जिम्मा दिएँ । उनी उठेर मेरो सहायकको पछि लागे ।

केही छिनमै नागरिकता पाएपछि मसँग बिदा हुन आए । मैले उठेर नमस्कार गर्दै फेरि भेटौंला भनें । जबाफमा भेट भइहाल्छ नि भनेर बिदा भए । यस प्रकार थवाङ कारबाहीमा परेका मूलपात्र बर्मन बुढासँग सौहार्दपूर्ण वातावरण भएको कुराकानीले मेरो मनमस्तिष्कमा एक प्रकारको सन्तोषको अनुभव भयो ।

रोल्पाको प्रमुख जिल्ला अधिकारीका रूपमा मैले थवाङ र उनैमाथि पनि गरेको कारबाहीलाई समर्थन जनाए । म पहिलो पटक सि.डि.ओ भई करीब ४ वर्ष रोल्पा जिल्लामा गरेको कामको कदरस्वरूप सरकारबाट मैले त्रिशक्तिपट्ट चौथोको मानपदवी पाएको थिएँ ।

तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत बमकुमारी बूढाले पनि प्र.जि.अ. शारदाप्रसाद दाहालले थवाङ लूटपाट मच्चायो……. अत्याचार गयो आदि विषयहरूको वक्तव्य दिएकी थिइन् भने कम्युनिस्ट समर्थक सदस्यहरुले हाउसमा हङ्गामा मच्चाएका थिए आदि खबर मैले रोल्पामा रहँदा नै सुनेको थिएँ ।

-२०३८ सालको थवाङ अपरेशनको नेतृत्व गरेका तत्कालिन रोल्पाका सिडियो शारदाप्रसाद दाहालको पुस्तक ‘विगतका झिल्का’बाट ।



प्रतिक्रिया दिनुहोस !