कृषि बजार तथा त्यसको व्यवस्थापन

हाम्रो देश नेपाल कृषि प्रधान देश भएपनि यहाँका किसान छोटो जोतका छन् । जुन किसानका खेत छन् त्यो पनि खण्डिकरण भएका छन् र कृषि कार्य गर्न तथा आधुनिक मेसिनको प्रयोग गरी उत्पादन बढाउन गाह्रो भएको छ ।

कडा परिश्रम गरेर किसानले उत्पादन गरेका तरकारी, फलफूल, तथा नगदेबाली–नालीले उचित बजार पाउन सकेका छैनन् । देशमा उत्पादन भएका तरकारी, दूध तथा फलफूलले बजार नपाउने बेलामा विदेशबाट आयात गरेर विदेशीले राम्रो नाफा कमाउने दृश्य हामी सबैको सामुन्ने  छ ।

हाम्रो देश नेपालमा कहिले सडक बन्द त कहिले लकडाउन जस्ता आकस्मिक समस्या आइरहन्छन् र त्यसको असर हाम्रो देशमा रहेका गरिब,मजदुर तथा किसानहरूलाई नै भोग्नु पर्ने अवस्था देखिन्छ । तर,त्यसको फाइदा उठाउँछन् देशमा रहेका आफ्नो स्वार्थ मात्रै हेर्ने व्यापारी ।

देशमा चाहे लाकडाउन जस्ता संकट होस् वा चक्काजाम या बन्द नै किन नहोस् जहिलेपनि त्यसको नजायज फाइदा लिरहेका हुन्छन्,बिना भन्सार वस्तु ओसारपसार गर्ने व्यापारी । अर्को तिर देशको खम्बा भनिने मजदुरी गरेर गर्ने खाने र खेतमाथि निर्भर भई जीवन निर्वाह गर्ने किसानले त्यसको असर झेल्नुपर्ने अवस्था देखिन्छ ।

देश बन्द हुने अवस्थामा मजदुरी गरिखाने घरमा बसिरहेका हुन्छन् । किसानले उत्पादन गरेको वस्तु बजार नपाउने समयमा त्यही किसानले २६(२७ रूपैयाँ प्रति किलो बेचेको धान स्थानीय बजारमा ५०–६० रूपैयाँ प्रति किलो दाम हुन्छ ।

यहाँ पनि कसले घाटा सहिरहेको हुन्छ भने त्यही किसान जुन समयमा उन्नत बीउ पाउदैनन, डि.ए.पी. चाहिएको अवस्थामा यूरिया पाउने बजारमा र यूरिया चाहिने समयमा केही पनि नपाइने समयमा भारतबाट दुई नम्बरी गरी भित्रिएको ८ सय प्रतिबोराको ठाउँमा १ हजारदेखि १२ सय रुपैयाँसम्म तिर्न बाध्य हुन्छ ।

यो सबै किसानले सहनुपर्ने समस्याको जिम्मेवार चाहि हाम्रो नेपाल सरकार तथा बजारको व्यवस्थापन हेर्ने निकाय नै रहेको छ भन्न सकिन्छ । यदि जहिले पनि देशमा कुनै आपतविपद पर्दा त्यसको प्रत्यक्ष असर किसानलाई पर्छ भने देशको आर्थिक वृद्धि हुने सम्भावना अत्यन्तै कठिन   छ । जब सम्म देशका नागरिकहरूले उत्पादन गरेका वस्तुहरू बजार पाउदैनन् उचित मूल्य किसानहरूले पाउदैनन् तब सम्म कृषिको विकास सम्भव छैन र कृषिको विकास नभए देशको विकास सम्भव छैन ।

हाम्रो देशको बजार व्यवस्था तथा हाम्रा देशका व्यापारी कस्ता छन् भन्ने कुराको पुष्टि यही कोरोेना जस्तो महामारीमा देख्न सकिन्छ । यो लकडाउनको बेला सहरी क्षेत्रमा ५० प्रतिशतसम्म तरकारीको खपत घटेको बेला त्यसको आपूर्ति आफ्नै देशका स्थानीय किसानले उत्पादन गरेको तरकारीले पूर्ति गर्न सकिन्थ्यो तर पनि संक्रमण बढी रहेको बेला देशका किसानले तरकारीमाथि ट्याक्टर चलाईरहेको, दुध नालीमा फालिरहेको बेला भारतबाट जोरसोरले आयात भइरहेको देख्न सकिन्छ ।

एकातिर जनचेतना देखिरहेको छ भने अर्को तर्फ भारतमा कोरोना संक्रमण यदि छिटो भइरहेको कि त्यसको कुनै सीमा नै रहेन । त्यही ठाउँबाट प्याक नगरिएको तरकारी नेपाल आयात गर्ने क्रम जारी नै छ । यसको प्रमुख जिम्मेवार त्यो व्यापारी रहेका छन् जसले भन्ने गर्छन् कि देशमा थोरै थोरै तरकारी किसानहरूबाट संकलन गर्नु भन्दा भारतबाट एक फोन गारि पुरै ट्रक नै तरकारी मगाउनु राम्रो छ ।

हाम्रो देश नेपालमा लगभग प्रतिमहिना १६ सय मेट्रिक टन तरकारी सामान्य अवस्था आयात हुने गर्दछ । दाबीका साथ भन्न सकिन्छ कि हाम्रो देशमा उत्पादन हुने तरकारी, फलफूल तथा अन्य खाद्यान्नहरू चाहि छिमेकी राष्ट्रबाट भित्राएको भन्दा गुणस्तरीययुक्त तथा बिषादीयुकत नभएको छन् तर देशको भौगोलिक बनावट, यातायातको सुविधा, बाजारको व्यवस्था प्रणाली तथा व्यापारीहरूको देशको उत्पादन संकलन गर्ने चासो कम भएको हुनाले देशका किसान मर्का तथा विदेशका किसान र व्यापारीले लाभ नै लाभ उठाइरहेका छन् ।

देशमा उत्पादित वस्तुलाई खेतबाट बजारमा ल्याउन तथा स्थानीय किसानहरूलाई प्रोत्साहन दिनको लागि उचित बजार तथा मूल्यको व्यवस्थापन गर्न निम्न लिखित कार्य गर्नुपर्ने अवस्था देखिन्छः
■ रूपन्देहीको भैरहवा क्षेत्रमा सञ्चालनमा ल्याइएको कृषि एम्बुलेन्स सेवा मार्फत स्थानीय तरकारी बेच्नेजस्तो पद्धतिको विकास देशभरि गर्ने वातावरण सिर्जना गर्नु पर्छ ।

■ सहकारी भावनाको विकास गरि सा–साना किसानहरूले उत्पादन गरेका कृषि जन्य वस्तु एकीकृत गरी थोकमा बेच्ने बानीको विकास गर्नु  पर्छ ।

■ आफ्नो देशमा रेडियो तथा टेलिभिजन र पत्रपत्रिका सञ्चारको प्रमुख माध्यम भएको हुनाले तिनीहरूको माध्यमबाट प्रतिदिन देशको बिभिन्न ठाउँको बजार भाव कति छ भन्ने कुराको प्रसारण हुनुपर्छ ।

■ आफ्नो देशको पहाडी भेगमा उत्पादित फलफूल बजार पठाउँदा भारतबाट ल्याउने खर्च भन्दा बढी पर्ने भएकाले यातायातको खर्च कम लाग्ने वैकल्पिक उपाय नेपाल सरकारले गर्नुपर्छ ।

■ सरकारी संकलन केन्द्रको विकास गरि बजार पद्धतिको सुदृढ़ीकरण गर्नुपर्छ ।

■ बजारमा यस्तो वातावरण सिर्जना गर्नु पर्छ कि किसानहरू वस्तु बजारमा लिएर जाँदा सिधा सम्पर्क बिक्रेतासँग होे नकि बीचको कुरा मिलाई दलाली गर्ने मान्छेसँग ।

■ बस्तुको मूल्य निर्धारण व्यापारीले नगरेर किसानले निर्धारण गर्नुपर्ने वातावरण मिलाउनुपर्छ ।

■ नेपालमा उत्पादित हुने सबै कृषिजन्य उत्पादको रोपनुभनदा पहिला नै न्यूनतम् समर्थन मूल्य तोकेर कार्यान्वयनमा पनि ल्याउनुपर्छ ।
■ सकेसम्म छोटो भन्दा छोटो बाजार शृखला पद्धतिको विकास गर्नु पर्छ ।

■ देशमा नगदेबाली उत्पादन गर्ने किसान (उखु उत्पादक आदि )लाई बिक्री गरेको रकम तुरुन्त भुक्तानी हुने गरी स्वचालित प्रणाली बनाउनुपर्छ ।

■ एकै छतमुनि किसानका उत्पादन बेचबिखन हुने र किसानलाई चाहिने बीउ, खाद, कीटनाशक, खरपतवार नाशक औषधिको साथै दैनिक उपभोग्य वस्तु पनि त्यही मिल्नुको साथै कम ब्याजदरमा ऋण पनि त्यही एकै ठाउँबाट उपलब्ध हुने पद्धतिको विकास गर्नुपर्छ ।

■ बिना भन्सारको जुन सामानहरूको ओसारपसार हुने गर्दछ त्यसमाथि रोक लगाई भन्सारको कर तिरेर ल्याउने र लैजाने व्यवस्था गर्नुपर्दछ किन भने कर तिरेर ओसारपसार गर्दा देश र व्यावसायिक दुवैको फाइदा हुन्छ ।
बाजार व्यवस्थापन गर्दा देखापर्ने समस्याहरू

■ देशमा संकलन केन्द्रको अभाव भएकाले सा–साना किसानहरूले उत्पादन गरेको वस्तु टाढा बजारमा पठाउन गाह्रो हुन्छ ।

■ हाम्रो देशमा अहिले पनि यातायात व्यवस्था राम्रो नभएको हुनाले दुर्गम ठाउँमा उत्पादित बस्तुलाई टाढाको बजारमा पठाउदा यातायात खर्च बढी लाग्ने हुनाले मुनाफा कम हुन्छ ।

■ देशमा इन्टरनेट तथा बिजुलीबत्तीको पूर्ण विकास नभएको हुनाले किसानहरूलाई बजार भाउ थाहा नभएको हुनाले सस्तो मूल्यमा नै बेच्नुपर्ने बाध्यता देखा पर्दछ ।

■ बजारमा बस्तुको मुल्य किसानले नगरेर व्यापारीले गर्ने भएको हुनाले कहिले कहि यति घाटा सहनुपर्छ कि अर्को बालीलगाउन पनि कठिन हुन्छ ।

लेखकः कृषि विज्ञान संस्थान, काशी हिन्दू विश्वविद्यालय भारतमा अध्ययनरत छन् ।