१४ बैशाख २०८१, शुक्रबार

भारतको बदलिंदो दृश्यः कम पढेका केटासँग बिहे गर्न बाध्य हुँदैछन् भारतका शिक्षित युवती

प्रकाशित मिति :  26 July, 2020 9:48 am


सञ्जय पन्थी

दक्षिण एशियाली देशका समाजमा पुरुष अझै पनि ‘हिरोइज्म’ नै मानिन्छ । महिला भन्दा सक्षम र सफल । तर, भारतीय समाजमा पछिल्लोे ४० वर्षमा शिक्षामा आएको परिणामका कारण समाजको हिरोइज्मको मान्यतालाई समेत उल्टाउन थालेको छ ।

शिक्षाको सर्व व्यापाकताका कारण आएको सबैभन्दा ठूलो परिवर्तन हो– महिला साक्षरता दरमा उल्लेख्य वृद्धि । ‘द एजुकेसन अफ हाइपोगेमी इन इन्डिया’ शीर्षकमा प्रकाशित विवरणअनुसार युनिर्भसिटी अफ मेरीलेन्ड अमेरिकासँग सम्बन्धित लेखक लिन सोनलडे देसाईले वर्षौं लगाएर गरेको अनुसन्धानले यस्तो भारतमा यस्तो नतिजा प्रकाशित गरेको हो ।

नेपालमा पनि शिक्षाको सूचांक सकारात्मक भएपनि भारतीय समाजको नतिजा हामी कहाँ समग्रतामा लागु हुन सकेको छैन् । किनभने अझै पनि शिक्षामा समान अवसरको पहुँच हुन सकेको छैन् । दुर–दराजका वस्तीमा अझै पनि छोरीलाई छोरा सरह विद्यालय पठाउनुपर्छ भन्ने मान्यता स्थापित हुन सकेको छैन । सरकारी विद्यालयमा छात्रा भर्ना र उर्तिण प्रतिशत हाराहारी रहेपनि निजी विद्यालय र शैक्षिक संस्थामा छात्र भर्ना र उत्र्तिण प्रतिशत नै उच्च देखिन्छ ।

तर भारतीय सामाजिक मूल्य–मान्यतामा शिक्षाले अन्तर ल्याएको अनुसन्धानले देखाएको छ । यसलाई भारतका महिला अधिकारकर्मीहरुले सकारात्मक परिवर्तन भन्ने गरेका छन् । पहिला विवाह गर्न धेरै पढेको केटा (वर) र कम पढेकी कन्या (केटी) जुर्ने गरे पनि यति बेला ठीक उल्टो छ । कम पढेको केटा र धेरै पढेकी केटी हुन थालेका छन् । भारतीय समाजको विवाह र शिक्षाबारे गरिएको एक अध्ययनले यस्तो तथ्य उजागर गरेको हो ।

साथै भारतीय समाज परम्परागत मान्यता र जातिवादी व्यवस्थाको पक्षमा छ । त्यसले गर्दा पनि उच्च शैक्षिक योग्यताका कन्याहरू कम पढेका केटाहरूलार्ई जीवनसाथी बनाउन बाध्य हुने गरेका छन् । तर, शिक्षित र अशिक्षितका बीचमा भने वैवाहिक सम्बन्ध ठप्पजस्तै छ ।

पछिल्ला ४० वर्षमा महिला शिक्षा वृद्धि दर उच्च रहेको अध्ययनले देखाएको छ । पत्नीको तुलनामा पतिको शैक्षिक तह कम हुँदै गएको छ । सन् १९७० को दशकमा ९० प्रतिशत परिवारमा पुरुष धेरै पढेका हुने गरे पनि २००० सम्म आइपुग्दा त्यो संख्या ६० प्रतिशतमा सीमित हुन पुगेकोे थियो । अर्थात् भारतमा पछिल्ला दिन भइरहेका विवाहमध्ये ४० प्रतिशत धेरै पढेका महिला र कम पढेका पुरुषबीच हुने गरेको छ ।

तर महिला धेरै पढेका हुँदैमा लंैगिक असमानता खत्तम नहुने पनि अध्ययनले देखाएको छ । भारतमा शिक्षाले न विवाहमा प्रभाव पार्न सकेको छ न त निर्णय क्षमतामै । न त सामाजिक तथा आर्थिक मूल्यमान्यतामा यसले कुनै प्रभाव पारेको देखिन्छ ।

उक्त तथ्य सार्वजनिक भइरहँदा केटीहरूलाई विवाहका लागि योग्य वर पाउनसमेत कठिनाइ हुने गरेको छ । कम पढेका केटाहरूसँग विवाह गर्नुपर्ने बाध्यता सिर्जना हुने गरेको छ । ‘इन्डिया ह्युमेन डेभलपमेन्ट सर्भे’ले भारतमा शिक्षा र विवाहबारे सम्बन्ध जान्न यस्तो अध्ययन गरेको हो ।

अध्ययनले उच्चशिक्षाधारी महिलाले कम तह अध्ययन गरेको पुरुषसँग विवाह गर्दा वैवाहिक सम्बन्धमा बिग्रह आउने दरमा समेत उल्लेख्य वृद्धि भएको देखाएको छ । सन् १९७० देखि सन् २००० सम्मका विवाहको तुलनात्मक अध्ययनले यस्तो देखाएको हो । अध्ययनले आर्थिक समृद्धिका हिसाबले केटाहरू नै बढी आत्मनिर्भर रहेको पनि देखिएको छ ।

रिपोर्टअनुसार यस्तो विवाहको संख्यामा लगातार हुने बढोत्तरीले भारतीय समाजमा रहेको दूरगामी लैंगिक असमानता उजागर गरेको छ । देसाईका अनुसार शैक्षिक असमान विवाहमा कैयौं सामाजिक र आर्थिक कारण छन् । जातिवाद, नोकरी, महिलाको निर्णय निरुत्साहित, वेतनमा कमी, आफ्नो निर्णयले जीवनसाथी चयन गर्न नपाउनुजस्ता कारण छन् ।

उच्च शिक्षा लिए पनि महिलाहरूको अध्ययन प्राविधिकभन्दा पनि आटर््सजस्तो सैद्धान्तिक विषय हुने गरेकाले रोजगारीको अवसरबाट वञ्चित हुने गरेका छन् । त्यसले गर्दा निर्णय क्षमतामा अभिभावकको दबाब सिर्जना हुने गरेको छ ।

विवाहको स्वरूप समेत फरकपन

अध्ययनले देखाएअनुसार भारतमा शिक्षा र विवाहबीचको सम्बन्ध पश्चिमा देशहरूमा भन्दा फरक छ । पश्चिमा देशमा महिलाको शिक्षास्तर उच्च भइरहँदा हाइपोगेमी अर्थात् उच्च शिक्षाधारी पुरुष र कम शिक्षाधारी महिलाबीच विवाहमा कमी आए पनि भारतमा ठिक उल्टो नतिजा देखिएको छ ।

तर, समान शिक्षाबीचको विवाह अर्थात् होमोगामी विवाहको संख्या वृद्धि–उन्मुख छ । उदाहरणका लागि देसाईका अनुसार चीन र अमेरिकामा महिलाको शिक्षास्तर बढ्दा समान स्तरको शिक्षा भएका पुरुषसँग उनीहरूको विवाह हुने गरेको छ । अनि कम शिक्षाधारी महिलासँगको विवाह दर खस्कँदो छ । तर भारतमा समान शिक्षा स्तरका बीचमा हुने विवाहको संख्यामा कमी देखिन्छ । ठिक उल्टो हाइपरगामीको अनुपात बढ्दो रहेको अध्ययनले देखाएको छ ।

जुन देशमा तुलनात्मक रूपमा पुरुषभन्दा महिला शिक्षित रहन्छन् त्यहाँ कम पढेका पुरुषसँग विवाह गर्नुपर्ने बाध्यता रहन्छ । अहिलेसम्म यस्तो अवस्था युरोपका केही देशमा देखिन्छ । जनगणनाअनुसार भारतमा महिला साक्षरता प्रतिशत सन् १९८१ मा २९ दशमलव ८ रहेकोमा २०११ मा आइपुग्दा ६५ दशमलव ५ पुगेको थियो ।

सन् १९८१ मा पुरुष साक्षरता प्रतिशत ५६ दशमलव ४ रहेकोमा अहिले ८२ दशमलव १ हुन पुगेको छ । तुलनात्मक रूपमा साक्षरता दरमा महिलाको प्रतिशत उच्च छ । अध्ययनअनुसार सन् १९७० र ८० को दशकमा यो दर २७ प्रतिशत रहेकामा सन् २००० मा आइपुग्दा २८ प्रतिशतले वृद्धि हुन पुगेको छ ।

पछिल्लो परिवार शिक्षा सर्वेक्षणले देखाएको अर्काे तथ्य यस्तो छ । आमा र बुबाले तय गरेको विवाह जाति व्यवस्थाका कारण योग्य पुरुषको विकल्पमा कमी आउँदै गएको छ । भारतमा विवाह गर्ने संख्या उच्च छ । तर चीनमा त्यो संख्यामा कमी आएको छ ।

अध्ययन अनुसार भारतमा विवाह नगरी बस्ने महिलाको संख्या सन् १९७१ मा ० दशमलव ९ प्रतिशत थियो । सन् २०११ मा आउँदा त्यो संख्या ३ दशमलव ७ पुगेको छ । चीनमा कम पढेको पुरुषसँग विवाह गर्नुको सट्टा आजीवन विवाह नगरी बस्न राजी हुने गरेका छन् । तर भारतमा यस्तो विकल्प सामना गर्न सहज छैन ।

२० प्रतिशत महिलाले कम पढेको केटासँग विवाह गर्नु परेको तथ्यांक छ । ३० प्रतिशतले समान शैक्षिक स्तरकासँग विवाह गरेको तथ्यांक छ भने ५० प्रतिशत हाइपोगामी विवाह दर रहेको अध्ययनले देखाउँछ । पछिल्लो राजनीतिक व्यवस्थाले परम्परागत संस्कारलाई पक्षपोषण गर्ने भएकाले पनि भारतीय समाज महिला अधिकार र स्वतन्त्रताका पक्षमा रूढ बन्दै गएको देखिएको छ । भाजपा आफैंमा परम्परावादी पार्टी हो । हिन्दू संस्कारलाई पक्षपोषण गर्ने भाजपाको दलीय घोषणापत्र महिलाको स्वतन्त्रतामा बाधक रहेको अध्ययनकर्ताको बुझाइ छ ।

अभिभावकको दबाबमा कम पढेको केटासँग भए पनि विवाह गर्नुपर्ने अवस्था छ । अध्ययनकर्ता देसाईका अनुसार अझै पनि भारतमा परम्परागत विवाहका तुलनामा आफूले मन पराएको केटासँग विवाह गर्ने छुट कम छ ।

अध्ययनअनुसार ५ प्रतिशतले पनि आफूले मन पराएको केटासँग विवाह गर्न पाउँदैनन् । त्यसले गर्दा समान जातिमा हुने विवाहको संख्या उल्लेख्य छ । त्यसले भारतमा महिला अझै वैवाहिक सम्बन्धका लागि अझै पनि स्वतन्त्र नभएको देखाउँछ । नाता–सम्बन्धका माध्यमबाट हुने विवाह दर उच्च छ । यस्तो अवस्था अझै दक्षिण भारतमा उच्च छ । (एजेन्सीको सहयोगमा)



प्रतिक्रिया दिनुहोस !