१६ चैत्र २०८०, शुक्रबार

कौसी खेतीमा कोकोपीट प्रयोग गर्दै हुनुहुन्छ? यति कुरा जानिराख्नुहोस्

प्रकाशित मिति :  8 August, 2020 2:30 pm


सुधिर श्रेष्ठ

कौसी खेतीमा संलग्न कतिपय साथीहरूले कोकोपीटको मूल्यमा भएको विविधता तथा कोकोपीट प्रयोग गर्दा कौसी खेती असफल भएको र कोकोपीट प्रयोग नगर्दा चाहि राम्रै भएको प्रतिकृया दिने गर्नु भएको छ । यस सन्दर्भमा मैले जाने बुझेको केही कुरा शेयर गर्न चाहन्छु ।

कोकोपीटको प्रयोग कृषिमा सामान्यतया हाइड्रोपोनिक्स प्रविधिमा ब्यापकरूपमा हुने गर्दछ । अचेल container gardening अर्थात थैला/बाकसमा गरिने खेतीमा पनि यसको प्रयोग हुन थालेको छ । नर्सरीमा त यसको प्रयोग छदैछ ।

कौसी खेतीमा यसको प्रयोग लोकप्रिय हुनु वा बनाइनुको कारण यसको हलुका तौल र पानी धारण गर्न सक्ने क्षमता नै हो । यदि तपाइको छतमा भारवहनको समस्या छैन भन्ने लाग्छ भने यसको प्रयोग नगरिकन माटो र मल मात्र प्रयोग गर्न सकिन्छ ।

मेरो बिचारमा कोकोपीटको सट्टा बायोचार (अँगारको धुलो) को प्रयोग गर्न पनि सकिन्छ । कोकोपीटमा पाइने सबै गुण यसमा पनि पाइन्छ । यसलाइ हामी निशुल्क घरमै बनाउन पनि सक्छौं ।

कोकोपिटको बारेमा बुझ्नु पर्ने कुरा के हो भने यो नरिवलको बोक्रामा रहेको जटाबाट बनाइन्छ । हामी सबैलाइ थाहा भएको कुरा हो नरिवल समुन्द्री तटिय क्षेत्रमा हुने बाली हो ।

त्यसकारण प्रशोधन नगरिएको नरिवलको बोक्रामा अत्याधिक मात्रामा नून (सोडियम क्लोराइड र पोटासियम क्लोराइड) को मात्रा हुन्छ । हामीले कोकोपीट खरीद गर्दा त्यसको मूल्यलाइ त विचार गर्नै पर्छ तर साथसाथै यसको गुणस्तरको बारेमा समेत विचार गर्नु पर्दछ ।

हामीले खरीद गर्न लागेको सस्तो कोकोपीट कतै कम गुणस्तरको त छैन ? सोच्ने कुरा हो याे । कोकोपीट खरीद गर्नु अघि यो wash गरिएको र buffering गरिएको हो कि हैन त्यो हेर्नु पर्ने हुन्छ । नूनले माटो र बाली विरूवालाइ हानी गर्छ भन्ने कुरा त हामी सबैले बुझेकै छौं ।

नूनको मात्रा EC (Electric conductivity) meter र TDS (Total Dissolved Solids) meter बाट जाँच गरिन्छ । सामान्यतयाः EC १ भन्दा कम तथा TDS ७५०-१५०० ppm भएको राम्रो मानिन्छ ।

हाम्रोमा EC र TDS जाँच गर्ने सुविधा सहजै उपलब्ध नहुने भएकोले कम्पनीले प्रदान गरेको लेबेलमा भर पर्नु पर्ने हुन्छ । त्यसकारण कोकोपिट खरीद गर्नु अघि त्यो प्रशोधित हो कि हैन त्यसको निधो गरेर मात्रै खरीद गर्नु उपयुक्त हुन्छ ।

सस्तो र अप्रशोधित कोकोपिट खरीद गर्नुभन्दा विश्सासिलो कम्पनीबाट केही महङ्गै भए पनि तयसलाइ छनौट गर्नु उपयुक्त होला । त्यसकारण लेबेल नगरिएको कोकोपिट कदापि नकिनौ । कोकोपीटको सकारात्मक गुणको अधिकतम उपयोग गरौ ।

(श्रेष्ठ कृषि विभाग अन्तर्गत वरिष्ठ वागवानी विकास अधिकृत हुन्। )

 



प्रतिक्रिया दिनुहोस !