१३ बैशाख २०८१, बिहिबार

पठन संस्कृतिको विकास कसरी गर्ने ?

प्रकाशित मिति :  22 August, 2020 9:37 am


उठान
सामान्यतया पढ्ने बानी वा संस्कारलाई पठन संस्कृति भनेर बुझ्न सकिन्छ । हामीले पढ्नुपर्ने चीजहरू धेरै छन् तर हामीसँग समय अत्यन्त थोरै छ । पढ्ने नाममा हामीले जीवनको एकचौथाइ भाग शिक्षण संस्थाहरूमा बिताउँछौँ तर हाम्रो पढाइले हामीलाई सजिलोसँग जीवन गुडाउने आधार भने प्रदान गर्न सकिरहेको छैन । शिक्षण संस्थामा पढ्ने पढाइ मात्र पढाइ हो भन्ने कुरामा हामी बढ्ता अभ्यस्त भयौँ । शिक्षित त भयौँ तर जीवनलाई पढ्न नसक्ने भयौँ ।

अशिक्षित व्यक्तिहरू पढ्न नपाएकामा पछुताएका छन् तर शिक्षण संस्थाभन्दा बाह्य क्षेत्रबाट धेरै सिकेर जीवनलाई तिनैले राम्रोसँग गुडाएका छन् । बाहिरबाट हेर्दा उनीहरूको जीवन दुःखी त होला तर आन्तरिक रूपमा उनीहरू सुखी छन् । त्यसो भए नपढ्नु श्रेयस्कर हो त र ? भन्ने प्रश्न पनि उठ्न सक्ला । हामीहरूले पढाइका नाममा हिँडिरहेको मार्गलाई सङ्कुचित घेराबाट माथि उठाउनु जरुरी छ । त्यसका लागि हामी प्रत्येक व्यक्तिमा पठन संस्कृतिको विकास हुनु आवश्यक छ ।

किन पढ्ने ?

वर्तमान नेपालका सन्दर्भमा कम पढेका व्यक्तिहरू नै राज्यको उच्च निकायमा छन् र उनीहरूले नै देश हाँकिरहेका छन् । राम्रोसँग पढेलेखेको योग्य जनशक्ति आफ्नो भविष्य देशभित्र नदेखेर दिन प्रतिदिन विदेशतिर पलायन भइरहेको छ ।

भोलिका कर्णधार मानिएका युवाहरू माध्यमिक शिक्षा पूरा गर्नेबित्तिकै पढाइकै बहानामा विदेशमा आफ्नो भविष्य देख्नका लागि देश छाडिरहेका छन् । स्वदेशी संघसंस्थामा कार्यरत योग्य व्यक्तिहरूलाई प्रोत्साहन दिनुको सट्टा उपेक्षा र तिरस्कार गर्ने प्रवृत्ति विकसित हुँदै गएको छ । यी र यस्तै कतिपय कारणले गर्दा किन पढ्ने रु भन्ने प्रश्न उठ्नु अस्वाभाविक होइन ।

वास्तवमा आज हामी सबैले पढ्न त जान्यौँ र पढ्यौँ पनि तर के पढ्नुपर्छ भन्ने कुरा हामीलाई थाहै हुन सकेन । एसईईमा राम्रो अङ्क वा जिपिए आउँदैमा विज्ञान विषय पढेर भोलि डाक्टर र इन्जिनियर नै बन्नुपर्छ भन्ने परम्परागत दबावले हाम्रा सन्तानहरू अन्य विषय पढ्न अग्रसर    हुँदैनन् । सामान्य अङ्क वा जिपिए ल्याएका विद्यार्थीहरूमध्ये अधिकांश विद्यार्थीहरू खाडी मुलुकमा गएर पसिना बगाउँछन् भने देशमा रहेबचेका केही विद्यार्थीहरू नै राजनीति र समाजसेवामा अग्रसर हुँदै जनप्रतिनिधि बन्न पुग्छन् ।

जनप्रतिनिधि भएपछि पनि पढ्नुपर्छ र निरन्तर अध्ययनशील हुनुपर्छ भन्ने संस्कार हामीकहाँ विकसित नै हुन सकेन । जसका कारण नीतिनिर्माण तहमा बस्ने हाम्रा जनप्रतिनिधिहरूमा पढाइप्रतिको उपेक्षाभावले गर्दा सर्वसाधारण नागरिकहरूमा पढाइप्रति अभिरुचि जगाउन नसकिएको हो ।

नेपालका सन्दर्भमा पढ्दै नपढेर वा कम पढेर पनि राजनीति र समाजसेवाका माध्यमले उच्च निकायमा पुगेर महान् भएका व्यक्तिहरू प्रशस्तै भेटिन्छन् तर उनीहरू सदैव महान् बनिरहन भने सकेका छैनन् । पदमा रहँदा महान् बन्ने र पदबाट हटेपछि महत्त्व घट्ने परिस्थिति राजनीतिमा बढ्ता देखिन्छ । राजनीति वा समाजसेवामा लागेका केही व्यक्तित्वहरू अध्ययनशील नभएका होइनन् ।

बीपी कोइराला जेलमा बस्ता आफूलाई अध्ययनशील बनाएकै कारण साहित्यका क्षेत्रमा पनि उनले आफ्नो महान् व्यक्तित्वको परिचय स्थापित गरेका हुन् । प्रदीप गिरी, नरहरि आचार्य, प्रदीप नेपाल, दीननाथ शर्मा आदि नेताहरूले आज पनि आफूलाई अध्ययनशील बनाएर आफ्नो पृथक् अस्तित्व कायम गरिरहेका छन् तर समग्रमा राजनीतिक क्षेत्रमा अध्ययनशील व्यक्तित्वको उपस्थिति अत्यन्त न्यून रहनु भनेको राष्ट्रकै लागि गम्भीर चिन्ताको विषय हो ।

केही जनप्रतिनिधिहरू आफूले पढ्न नपाएकामा पछुताएका पनि छन् तर तिनले समेत पठन संस्कृतिको विकासमा विशेष ध्यान दिन भने सकेका छैनन् । राजनीति र समाजसेवाबाहेक अन्य क्षेत्रमा नपढीकन कोही महान् बनेका छैनन् । डाक्टर, इन्जिनियर, वैज्ञानिक, शिक्षक, प्राध्यापक, पत्रकार आदि सबै नपढीकन महान् भएका होइनन् तर पठन संस्कृतिको मर्म थाहा पाएका यस्ता व्यक्तित्वहरूको उपस्थिति राज्यको नीतिनिर्माणको मूल प्रवाहमा नभइदिँदा नेपालमा पठन संस्कृतिको यथोचित विकास हुन सकेको छैन ।

 पुस्तकालयको उपयोग

पुस्तकालयलाई ज्ञानको भण्डार मानिन्छ तर वर्तमानमा पुस्तकालयप्रति पाठकको अभिरुचि घट्तै गएको छ । नयाँ पुस्तकालयको स्थापनामा जोड दिने वर्गको उपस्थिति त न्यून छ नै, भएका पुराना पुस्तकालयको उपयोग गर्ने पाठकहरू पनि घट्तै गएका छन् ।

जनचेतना र ज्ञानको विस्तार गर्ने उद्देश्यले वर्तमानमा पनि ठाउँठाउँमा केही पुस्तकालयहरू स्थापना नभएका होइनन् तर पाठकलाई पुस्तकालयप्रति आकृष्ट गर्ने सोच नवस्थापित पुस्तकालयहरूमा पनि विकसित भएको देखिँदैन । प्रत्येक शिक्षण संस्थाहरूमा विद्यार्थीकेन्द्रित ससाना पुस्तकालय पनि रहेका छन् तर तिनको व्यवस्थापन र पाठ्यक्रमभन्दा अतिरिक्त पुस्तकहरू पनि पढ्नुपर्छ भन्ने चिन्तनतर्फ हाम्रा शिक्षण संस्थाहरूको ध्यान आकृष्ट हुन सकेको छैन ।

हिजोका पाठकहरूमा पुरानो कोट लगाएर भए पनि नयाँ पुस्तक किन्ने प्रवृत्ति थियो तर आज पुरानै पुस्तक पढेर नयाँ कोट लगाउन मन पराउने पाठकहरूको सङ्ख्या बढ्ता छ । हिजोका तुलनामा आज लेखन र प्रकाशन संस्थाहरू पनि अत्यधिक मात्रामा वृद्धि हुँदै गएका छन् तर आज नयाँ नयाँ पुस्तकहरू पढेर लेखक तथा प्रकाशन संस्थाहरूलाई हौसला दिने पाठकहरूको सङ्ख्या अपेक्षाकृत कम छ । यस परिस्थितिमा पुस्तकालयहरूको उपयोग कसरी गर्ने रु भन्ने गम्भीर चुनौती थपिएको छ ।

प्रत्येक विद्यालयले आफ्ना विद्यार्थीलाई प्रत्येक हप्ताको कुनै एकदिन पुस्तकालयको उपयोग गरेर स्वतन्त्र लेखनका लागि प्रोत्साहन गर्न   सक्छन् । गाउँसहरका टोलछिमेकमा स्थापना भएका पुस्तकालयमा ‘एक घर एक सदस्य’को अवधारणा ल्याएर पुस्तकालयप्रति जनचेतना अभिवृद्धि गरी प्रत्येक सदस्यले महिनामा न्यूनतम एउटा पुस्तक पढ्न र आफूले पढेका पुस्तकका बारेमा ‘यस पुस्तकभित्र के छ र ?’ नामक समीक्षात्मक कार्यक्रमको आयोजना गरेर वा फेसबुक र युट्युबमा पुस्तक समीक्षाका भिडियोहरू राखेर अन्य सदस्यलाई समेत पठन संस्कृतितर्फ आकृष्ट गर्न सक्छन् ।

त्यसका साथै पुस्तकालय सञ्चालकहरूकै अग्रसरतामा जनप्रतिनिधिलाई जनताले हप्तामा न्यूनतम एकघण्टा भए पनि पुस्तकालयमा रहेर अध्ययन गर्न सकेमा जनसेवा प्रभावकारी हुन्छ भन्ने अभियान चलाउन सकिन्छ ।

सूचना-प्रविधि र पठन संस्कृति

प्राचीन समयमा गुरुका मुखबाट सुनेकै भरमा ज्ञान आर्जन गरिन्थ्यो । त्यसैले वेदलाई श्रुति भनिएको हुनुपर्छ । कथ्यज्ञान र श्रुतज्ञानलाई लिपिबद्ध गर्दै जाने सन्दर्भमा लेखोट युगको प्रारम्भ भएको हो । नेपालकै सन्दर्भमा हेर्ने हो भने आदिकवि भानुभक्त आचार्यका पालामा हातैले लेखेर प्रतिलिपिहरू तयार पार्दै ज्ञानको विस्तार गरिन्थ्यो ।

मोतीराम भट्टका पालादेखि नै नेपालमा पुस्तक प्रकाशनको लहर आएको हो भन्दा अत्युक्ति नहोला । २००७ सालमा प्रजातन्त्रको उदय भएपछि नेपालमा सर्वसाधारण जनतामा समेत पठन संस्कृतिको प्रारम्भ भएको मानिन्छ । त्यसपछि करिब छ दशकसम्म नेपालमा पठन संस्कृतिको द्रुततर विकास भएको देखिन्छ भने करिब एकदशक अघिदेखि नेपालमा समेत सूचना र प्रविधिको द्रुततर विकासले गर्दा पुस्तकलाई नै अध्ययनको मूल आधार बनाउने पाठकहरूको सङ्ख्यामा अपेक्षाकृत वृद्धि हुन सकेको छैन ।

सूचना र प्रविधिअन्तर्गत विशेषतः फेसबुक र युट्युबले गर्दा धेरै पाठकहरूको अध्ययनशीलतामा ह्रास आएको छ । आफ्नो ज्ञानलाई अद्यावधिक गर्न सूचना र प्रविधिले सघाउँछ भनेर त्यसको सदुपयोग गर्ने शिक्षक तथा प्राध्यापकहरू पनि कम छन् भने आफ्नो कक्षागत पिरियड सकिने बित्तिकै पुस्तकलाई भन्दा मोबाइललाई साथी बनाउने गुरुहरूको कमी छैन ।

गुरुहरूकै सिको गरेर मात्र होइन घरमा आफ्नै आमाबुवा पनि मोबाइलमै घोप्टिएको देखेर इन्टरनेटको पहुँच भएका ठाउँमा आजका धेरैजसो विद्यार्थीहरू मोबाइल र ल्यापटपमा घोप्टिरहने रोगले ग्रस्त भएका छन् । इन्टरनेटले सबैलाई चलाख मात्र बनाएको छैन सिर्जनात्मक शक्तिमा पनि धेरैलाई कमजोर बनाएको छ ।

त्यसैले आफ्ना विद्यार्थीको गृहकार्यको परीक्षण गर्दा धेरैजसो विद्यार्थीको अभ्यास पुस्तिकामा म्यासेन्जरबाट पठाइएका एकै किसिमका सामग्रीको प्रतिलिपि उतार गरिएको देख्न हाम्रा गुरुहरू बाध्य छन् । त्यसमा पनि भर्चुअल शिक्षाका नाममा विद्यार्थीले पढिरहेका छन् कि पढेको कुरो बिर्सिरहेका छन् रु भनेर अभिभावकले शङ्का गर्नुपर्ने अवस्था आएको छ ।

यसका अतिरिक्त इन्टरनेटलाई सकारात्मक रूपमा प्रयोग गर्न चाहने शिक्षक, अभिभावक र विद्यार्थीले आफूलाई आइपरेको समस्याको गाँठो फुकाउन, आफूले पढ्न चाहेको लेखरचना, पत्रपत्रिका र पुस्तकहरू खोजेर पढ्न पनि इन्टरनेले सघाइरहेको छ ।

ई–पुस्तकालयको विकासले गर्दा सबै लिखित पाठ्यसामग्री वा पुस्तकहरू पुस्तकालयमा सङ्ककलन गर्नुपर्ने र पुस्तक बोकेर हिँडिरहनुपर्ने झन्झटबाट पनि धेरैजसो पाठकहरू मुक्त भएका छन् । त्यसैले उचित सदुपयोग गर्न सकेका खण्डमा सूचना र प्रविधि सबैका लागि वरदान सिद्ध हुने कुरामा शङ्का गर्न मिल्ने ठाउँ छैन ।

नेपालमा पठन संस्कृतिका लागि भएका प्रयास 

सबै पाठकका घरघरमा पुस्तक पुऱ्याउने उद्देश्यले स्थापना गरिएको अनलाइन पुस्तक विक्रेता कम्पनीले पठन संस्कृतिको विकासका लागि ‘किताब यात्रा’ अभियानलाई अघि बढाउन थालेको तीनवर्ष मात्र भयो र यसले आफ्नो अभियानलाई देशका प्रमुख सहरहरूमा पुऱ्याउने लक्ष्य पूरा गर्न आँटिसकेको छ ।

नाफा केन्द्रित नभई आलोचनात्मक चेत भएका पाठकको निर्माणमा यस अभियानले सक्रिय सहयोग पुऱ्याउँदै आएको छ । त्यसैगरी पठन संस्कृति विकास समाजले पनि आफ्ना गतिविधिमार्फत पठन संस्कृतिको प्रवर्द्धन गर्दै आएको छ । बुटवलमा स्थापना गरिएको ‘पाठक मञ्च’ नामक समूहले पठन संस्कृतिको विकासका लागि आफ्नो अभियानलाई निरन्तरता दिँदै आएको छ ।

यी र यस्तै केही गैरसरकारी अभियानहरूले पठन संस्कृतिको विकासका लागि यथासम्भव प्रयास गर्दै आएको भए पनि यिनलाई देशभरका पाठकसमक्ष पुऱ्याउन सकिएको छैन भने सरकारीस्तरबाट पनि पठन संस्कृतिको विकासका लागि ध्यान दिइएको पाइँदैन । तसर्थ पठन संस्कृतिका अभियन्ताहरू मात्र होइन सबै पुस्तक विक्रेता, लेखक र पाठकहरूको समेत पठन संस्कृतिको विकासका लागि आआफ्ना क्षेत्रबाट यथासम्भव प्रयासहरू भइरहनुपर्छ र सरकारी निकायबाट पनि योजनाबद्ध रूपमा पठन संस्कृतिको विकासमा विशेष ध्यान दिनु आवश्यक देखिन्छ ।

पठन संस्कृतिलाई कसरी विकसित गर्ने ?

पठन संस्कृतिले प्रत्येक व्यक्तिको सोच्ने शक्तिलाई फराकिलो बनाउँछ । पठन संस्कृतिमा रमाउने व्यक्ति सबैका दृष्टिमा सम्मानित हुन्छ । पठन संस्कृतिमा अग्रसर हुन थालेपछि शिक्षकहरूले घोकाउन अनि विद्यार्थीले घोक्न रुचाउँदैनन् । पठन संस्कृतिले व्यक्ति स्वयंको मात्र होइन उसको परिवार, समाज र समग्र देशकै बौद्धिकस्तरको वृद्धिमा महत्त्वपूर्ण सहयोग पुऱ्याउँछ । पठन संस्कृतिको विकास कसरी गर्ने ? भन्ने विषयमा निम्नलिखित केही बुँदालाई प्रारम्भिक रूपमा अभ्यास गर्न सकिन्छ:

(क) विद्यार्थीलाई पाठ्यपुस्तक मात्र होइन पाठ्यक्रमभन्दा बाहिरका पुस्तक पढ्दा पनि पाठ्यपुस्तकका विषयवस्तुलाई सघाउँछ भन्ने चेतना फैलाएर,
(ख) चोकचोकका पसलहरूमा गफ गरेर समय बर्बाद गर्नेहरूलाई नयाँ नयाँ पुस्तक पढी आफैले पढेका पुस्तकका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्नका लागि प्रोत्साहन गरेर,
(ग) हरेक पालिकाअन्तर्गतका टोल विकास संस्थामा पुस्तक क्लबको स्थापना गरी ‘नयाँ पुस्तकमा के छ रु’ जस्ता समीक्षात्मक कार्यक्रमको आयोजनामार्फत टोलवासीलाई नयाँ पुस्तक पढ्न प्रेरित गरेर,
(घ) हरेक लेखक र प्रकाशकले कुन उमेर समूहका पाठकले कस्ता पुस्तक पढ्न रुचाउँछन् रु भन्ने सर्वेक्षण गरी तदनुरूप पुस्तक लेखन, प्रकाशन र वितरण गरेर,
(ङ) आफ्नै लगानीमा आफैले पुस्तक प्रकाशन गर्ने हरेक लेखकले आफ्ना पुस्तकको महत्त्व आफैले बुझेर सित्तैमा होइन केही प्रतिशत छुटमा पाठकसमक्ष पुस्तक पुऱ्याउने लक्ष्य लिएर,
(च) बैंक, विद्युत्, खानेपानी, सहकारी आदि संघसंस्थामा सेवा लिने क्रममा लामो समयसम्म लामबद्ध भई प्रतीक्षा गर्नुपर्दा सेवाग्राहीहरू पुस्तक पढेर प्रतीक्षारत समय बिताउन सकून् भनी सम्बद्ध संघसंस्थाहरूमा ‘पुस्तक कुना’ ९बुक कर्नर०को व्यवस्था गरेर,
(छ) हरेक कारागारमा पुस्तकालय खोली बन्दीहरूमा पढ्ने बानीको विकास गरेर,
(ज) पठन संस्कृतिलाई प्रवर्द्धन गर्न हरेक पाठकले पढेर मात्र होइन पढेको कुरा लेखेर पनि विचार प्रवाह गर्नुपर्छ भन्ने बानीको विकास गरेर,
(झ) हरेक टोलछिमेकमा घुम्ती पुस्तकालयको स्थापना र सञ्चालन गरेर,
(ञ) ई–पुस्तकबाट भन्दा मुद्रित पुस्तकको अध्ययन गहन हुन्छ भन्ने चेतनाको विस्तार गरेर,
(ट) ज्ञान जति बाँड्यो त्यति बढ्छ भन्ने चेतना फैलाई आफूले पढेको कुरा परिवार, समाज, देश र विश्वलाई बाँड्न प्रेरित गरेर आदि ।

बैठान

करले सिकेको भन्दा रहरले सिकेको ज्ञान बढ्ता परिपक्व हुन्छ । प्रारम्भिक कक्षादेखि विश्वविद्यालयीय शिक्षा पूरा गर्दासम्म हामीले रहरले होइन करले नै पढिरहेका हुन्छौँ । ‘यति पढेपछि यस्तो जागिर पाइन्छ’ भन्ने सानो सोच लिएर पढ्नाले हामी जागिरे त हुन सकौँला तर विद्वान् भने हुन सक्तैनौँ ।

विद्वान् भएर पनि हामीले आफ्नो ज्ञानलाई समाजमा वितरण गर्न सकेनौँ भने हाम्रो विद्वत्ता आफूसँग मात्र सीमित हुन्छ र आफूसँगै हराएर    जान्छ । ‘मैले यति पढेँ अब किन पढ्नुपऱ्यो ? ’, ‘मैले यस्तो जागिर पाएँ अब नपढे पनि हुन्छ’ भन्ने भावना राख्ता हाम्रो पढाइ र हाम्रो जागिरले समेत प्रतिष्ठा कमाउन सक्तैन । त्यसैले शिक्षक, प्राध्यापक र विद्यार्थीले मात्र होइन हरेक नागरिकले आफूलाई अध्ययनशील बनाउनुपर्छ र आफ्नो विचारलाई परिष्कृत गरिरहनुपर्छ ।

यसरी हरेक नागरिक अध्ययनशील बन्न सकेमा मात्र पठन संस्कृतिको वास्तविक विकास भएको ठहरिनेछ । त्यसका लागि आफूलाई एक्कासी होइन क्रमशः अध्ययनमा संलग्न गराउनुपर्छ र अध्ययनका लागि निश्चित समय पनि छुट्ट्याउनुपर्छ । आफू अध्ययनशील भएपछि आफ्नो परिवारका सदस्य हुँदै टोलछिमेकका व्यक्तिहरूमा क्रमशः पठन संस्कृतिको अभ्यासलाई फैलाउँदै जानका लागि हामी सबै प्रतिबद्ध हुनुपर्ने आवश्यकता देखिन्छ ।

  • लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस !