१५ चैत्र २०८०, बिहिबार

हाम्रो स्वाभिमानका आयाम र अवसानको संकेत

प्रकाशित मिति :  19 September, 2020 10:56 am


उठान 

छन त छ हाम्रै देशमा सगरमाथा र भन्न पनि भनिरहेका छौँ हामीले आफूलाई स्वाभिमानी नेपाली तर व्यवहारमा हाम्रै देशभित्र सगरमाथा हराएजस्तो छ, स्वाभिमान कसैको बन्धकी परेजस्तो छ । सगर अर्थात् आकाश छुने माथ अर्थात् शिर भएकै कारण हाम्रा पुर्खाहरूले सगरमाथाको न्वारन गरेका थिए र सगरमाथाको अस्तित्व पनि बचाउँदै आएका थिए ।

जतिसुकै प्रलोभन देखाउँदा पनि अङ्ग्रेजहरूको युद्धमा हाम्रा वीर सिपाहीहरू देशको वास्तविक सिपाही भएर आफ्नो स्वाभिमानलाई बचाउँदै आएका थिए तर वर्तमानमा त्यस्तो स्वाभिमान बचाउन अग्रसर हुनेहरू देखिनै छाडेका छन् र सगरमाथाको शिर पनि हाम्रै लाजले गर्दा निहुरिन बाध्य भएको छ । यस परिस्थितिमा हामीले आफ्नो स्वाभिमान र आफ्नो सगरमाथाको अस्तित्व बचाउन बिर्सनु हुँदैन ।

जनप्रतिनिधिहरूको स्वाभिमान

राजनीति सबै नीतिहरूको पनि नीति मानिन्छ । त्यस्तो नीतिको अवलम्बन गर्ने व्यक्तिहरू नै राजनेता हुन् । नेपालमा राजनीति गर्नेहरू धेरै छन् तर राजनेताका रूपमा आफ्नो परिचय विस्तार गर्ने नेताहरू भेट्टाउन निकै मुस्किल छ । सत्ताप्राप्ति राजनीतिको मुख्य उद्देश्य होइन । सबै नीतिको मूल नीति भएका कारण राजनीति धमिलो हुनु हुँदैन ।

मूल नै धमिलिएपछि त्यसका शाखा–प्रशाखाहरूमा सङ्लो पानीको अपेक्षा गर्न सकिँदैन । विकासोन्मुख देश नेपालको राजनीति दिनप्रतिदिन सङ्लो हुँदै जानुपर्नेमा धमिलिँदै गएको अनुभूति विवेकशील नेपाली जनताहरूले गरिरहेका छन् । एकदिन जनताको भोट पाएर पाँच वर्ष हराउने र जनमतको वास्तविक सम्मान गर्ने दिशातर्फ जनप्रतिनिधिहरूको ध्यान आकृष्ट हुन सकेको छैन ।

जनप्रतिनिधि हुँदाबित्तिकै सर्वज्ञ भएको अहङ्कार डकार्ने प्रवृत्तिले गर्दा विषयविज्ञहरूको रायसल्लाह लिएर अघि बढ्ने मार्ग नै अवरुद्ध जस्तै भएको छ । सामान्य बहुमत होस् वा दुईतिहाइ बहुमत होस् त्यो जनताले नै दिएका हुन् र हामीहरू त केवल देश र जनताको सेवा गर्ने सावधिक प्रतिनिधि पात्र हौँ भन्ने चेतना हाम्रा जनप्रतिनिधिहरूमा पलाउनै सकेन । देशको स्वाभिमान बचाउने जिम्मा पाएका जनप्रतिनिधिहरू आफ्नै सङ्कीर्ण घेरामा मात्र सीमित हुन पुगे भने तिनै जनप्रतिनिधिहरूले विवेकशील जनतालाई समेत त्यही सङ्कीर्ण घेराभित्रै बन्दी बनाउन पाउनुलाई ठूलै उपलब्धि ठान्दै गए ।

त्यति मात्र होइन जनप्रतिनिधिहरू नै एकआपसमा मिलेर विकासनिर्माणका कार्यमा जुट्नुपर्नेमा सीमित स्वार्थका वादविवादले गर्दा एकआपसमा फुट्तै गए । जनप्रतिनिधिहरूका मनहरू नै मिल्न नसकेर टुट्तै गएपछि जनताहरू पनि आफ्नो जनमतको तिरस्कार भएको ठान्न विवश हुँदै गए । जबसम्म जनप्रतिनिधिहरू आफ्नै स्वाभिमान जोगाउने विषयमा गम्भीर हुन सक्तैनन् तबसम्म देश र जनताको स्वाभिमानको उचाइ पनि चुलिन नसक्ने कुरा सुनिश्चित छ ।

राष्ट्रसेवकको स्वाभिमान 

हरेक नागरिकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राष्ट्रकै सेवा गरिरहेका हुन्छन् तापनि राष्ट्रको सेवा गर्छु भनेर सरकारी सेवामा प्रवेश गर्ने नागरिक नै वास्तवमा राष्ट्रसेवक हुन् तर नेपालका सन्दर्भमा अधिकांश राष्ट्रसेवकले राष्ट्रसेवकको धर्म पालना गर्न नसकिरहेको जनगुनासो बारम्बार सुन्न पाइन्छ । कार्यालयमा घुम्ने कुर्सीहरू त हुन्छन् तर तिनमा बस्ने राष्ट्रसेवकका आँखाको दृष्टि कमजोर नहुँदो हो त भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पाठकहरूका माझमा लोकप्रिय हुने नै थिएन ।

आज हुने काम आजै गरिदिने पद्धतिको विकास भइदिएको भए करिब दुई सय वर्षअघि नै भानुभक्त आचार्यले ‘भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली’ भनेर हालसम्मको जीवन्त वाणी व्यक्त गर्नैपर्ने थिएन । जुनसुकै तन्त्रहरू आए पनि कर्मचारी तन्त्रमा मौलाएको दुष्प्रवृत्तिको क्रमशः अन्त्य गर्दै जाने दिशामा न हाम्रा जनप्रतिनिधिहरू नै अग्रसर हुन सके न त हामी जनता नै सचेत भएर राष्ट्रसेवकलाई सचेत गराउन सक्यौँ । त्यसैले जनताका दृष्टिमा हरेक राष्ट्रसेवकको सम्मान र स्वाभिमान कायम गर्ने दिशामा जनप्रतिनिधिहरू मात्र होइन राष्ट्रसेवक स्वयं पनि गम्भीर हुनुपर्ने आवश्यकता देखिन्छ ।

जनताको स्वाभिमान 

भन्न त जनतालाई सार्वभौमसत्ता सम्पन्न भन्ने गरिन्छ तर जनता आत्मभौमसत्ता सम्पन्न पनि हुन सकिरहेका छैनन् । यसो हुनुमा जनता स्वयं पनि आंशिक मात्रामा दोषी छन् । बारम्बार स्वाभिमानको अपहरण भइरहँदा पनि दोस्रो विकल्प नदेखेर वा नखोजेर जनता आफूहरू पुरानै अनुहारलाई आफ्नो प्रतिनिधि छान्न विवश भएको बताउँछन् ।

जनताको स्वाभिमान अपहरण नभइदिएको भए राजनीतिक दलहरूले आफैले छानेका दलप्रतिनिधिहरूलाई जनताले जनप्रतिनिधि ठानेर विजय गराउनैपर्ने अवस्था आउने थिएन । जनता स्वयंले आफ्नो स्वाभिमान जोगाउँदै जान सकेको भए दलप्रतिनिधि होइन योग्य र सक्षम जनप्रतिनिधिलाई निर्वाचित गराउने थिए ।

राजनीतिक दलविशेषको सङ्कीर्ण कुवामा रमाउने व्यक्ति मात्र विचारवान् हुन्छन् र स्वतन्त्र व्यक्तिमा विचार नै हुँदैन भन्ने मानसिकता नहुर्किएको भए जनतामा दल प्रतिनिधिलाई बाध्यतावश निर्वाचित गराउनैपर्छ भन्ने प्रवृत्तिको विकास हुने थिएन । जबसम्म जनतामा दलविशेष होइन कार्यकुशल व्यक्तित्वलाई आफ्नो प्रतिनिधि बनाएर निर्वाचित गराउनुपर्छ भन्ने प्रवृत्तिको विकास हुँदैन तबसम्म जनताको स्वाभिमानले सगरमाथाको जस्तै उचाइ छुने योग्यता नै प्राप्त गर्न सक्तैन ।

विद्यार्थीको स्वाभिमान 

विद्यार्थी भोलिका कर्णधार हुन् भन्ने गरिन्छ तर उनीहरू स्वदेशकै कर्णधार हुन भने सकिरहेका छैनन् । बालिग मताधिकार प्राप्त नगर्दै हाम्रा अधिकांश विद्याथीहरूले देश छाड्न र विदेशमा आफ्नो भविष्य देख्न खोज्छन् ।

उनीहरूलाई स्वदेशभित्र आफ्नो भविष्य सप्रिन्छ भन्ने विश्वास नै लाग्न छाडिसकेको छ । लाखौँ रूपैयाँ खर्च गरेर शिक्षाका बहानामा स्वदेश छाड्ने हाम्रा अधिकांश विद्यार्थीहरू स्वदेश फर्किनै चाहन्नन् । आफूले सानै उमेरमा किन स्वदेश छाड्नुपर्यो ?  भन्ने प्रश्नको उत्तर पनि उनीहरूसँग हुँदैन ।

जब उनीहरू विदेशमा पुग्छन् तब उनीहरूको सङ्घर्षशील जीवनको सुरुवात हुन्छ अनि उनीहरूले ‘साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भन्ने कुरालाई आत्मसात् गर्न रुचाउँछन् तर उनीहरूलाई स्वदेश फर्काउने र यथोचित रोजगार वा व्यवसाय सञ्चालन गर्न लगाउने योजना पनि नेपाल सरकारसँग हुँदैन ।

आफूले विदेशमा जतिसुकै सङ्घर्ष गरे पनि आफ्ना सन्तानको भविष्य सुखदायी हुने आशा र विश्वासका साथ उनीहरू विदेशमै स्थायी बसोबास गर्न रुचाउँछन् । यसरी क्रमशः गुम्दै गएको हाम्रा विद्यार्थीहरूको स्वाभिमानलाई स्वदेशभित्रै मलजल गरी पुनर्जीवन दिन नेपाल सरकार र हाम्रा सम्बद्ध अभिभावकहरूको समेत विशेष ध्यान जानुपर्ने देखिन्छ ।

भाषिक स्वाभिमान 

भन्न त हामी विभिन्न भाषाहरूले गर्दा नेपाल समृद्ध छ भन्छौँ र नेपालको आगामी जनगणना  (२०७८ ) मा १२८ भाषाहरूको अस्तित्व रहने आकलन पनि गरिरहेका छौँ तर हाम्रा भाषाहरूको वास्तविक स्वाभिमान भने कायम हुन सकिरहेको छैन । राष्ट्रिय भाषाका वक्ताहरू पनि क्रमशः घट्तै गएका छन् तर हामी राष्ट्रिय भाषाहरूको सङ्ख्या बढ्दै गयो भनेर मख्ख परिरहेका छौँ ।

नेपालका राष्ट्रिय भाषाहरूमध्ये नेपाली भाषालाई मातृभाषाका रूपमा र साझा सम्पर्कको भाषाका रूपमा बोल्ने वक्ताहरूको सङ्ख्या सबैभन्दा बढ्ता छ र नेपाली भाषाले नै सरकारी कामकाजको भाषाका रूपमा समेत मान्यता पाएको छ । परन्तु यही भाषाको लेखनमा सबैजसो सरकारी र गैरसरकारी संघसंस्थाहरू मात्र होइन स्वयं नेपाली भाषाका शिक्षक तथा प्राध्यापकहरू पनि शुद्धलेखनका विषयमा गम्भीर र सचेत हुनसमेत छाडेका छन् ।

नेपालमै जन्मेर नेपालमै अध्ययन गरिरहेका हाम्रा बालबच्चाहरूले सोझै नेपाली बुझ्दैनन्, उनीहरू अङ्ग्रेजी भाषाका माध्यमबाट नेपाली भाषा बुझ्न बाध्य छन् । जसरी लेखे पनि त भइहाल्यो नि बुझ्नेले बुझेपछि पुगिहाल्यो भन्ने नेपाली भाषाका विशेषज्ञहरूको निर्देशनले गर्दा नेपाली भाषा कहिल्यै शुद्ध लेख्न नसकिँदो रहेछ भन्ने मनोवैज्ञानिक त्रास नेपाली भाषाका सबैजसो प्रयोक्ताहरूमा बढ्दै गएको छ ।

जबसम्म नेपाली भाषाका झिनामसिना विवादहरूलाई तिलको पहाड बनाएझैँ बढ्ता महत्त्व दिइरहन्छौँ तबसम्म नेपाली भाषाको मात्रै होइन अन्य राष्ट्रिय भाषाहरूको संरक्षण र संवद्र्धन गर्दै भाषिक स्वाभिमान कायम गर्न पनि निकै मुस्किल पर्छ ।

धार्मिक–सांस्कृतिक स्वाभिमान 

नेपाल बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो भन्ने कुरा त हामीले सुनिरहेका छौँ तर यथार्थमा हाम्रा धार्मिक र सांस्कृतिक मूल्य–मान्यतामा क्रमशः ह्रास आउँदै गरेकामा हामीहरू गम्भीर बन्न सकेका छैनौँ ।

कुनै पनि देशको पहिचान र स्वाभिमान मेटाउनुपऱ्यो भने त्यस देशका भाषिक, धार्मिक र सांस्कृतिक मान्यतामाथि हस्तक्षेप गर्नुपर्छ भन्ने पराइ सोचलाई हामीले जानेर वा नजोर मलजल गरिरहेका छौँ । हामीलाई आफ्नै दौरा, सुरवाल, ढाकाटोपी, चौबन्दी चोली र पटुका मन पर्न छाडिसकेका छन् र हामीले तिनलाई कुनै सांस्कृतिक कार्यक्रमको अघोषित सङ्ग्रहालयमा लगेर थन्क्याइसकेका छौँ ।

हाम्रा पूर्वजहरूले एकाबिहानै अष्टचिरञ्जीवीको पूजा गरेर कसरी जन्मोत्सव मनाउँथे भन्ने कुरा हामीलाई थाहा नै छैन तर हामी निशाचरको प्रिय मानिने समय मध्यरातमा केक काटेर बलिरहेको बत्ती निभाउँदै जीवनको उज्यालो खोज्ने बहानामा बर्थ डे मनाउन अग्रसर भइरहेका छौँ ।

गोरो छाला भएका पराइले भनिदिएका सबैजसो कुराहरू हाम्रा लागि वैज्ञानिक र आधुनिक लाग्छन् तर विश्वकै सर्वप्राचीन मानिएको ऋग्वेदलगायतका पौरस्त्य वाङ्मयमा लेखिएका सबैजसो विषयवस्तु हाम्रा लागि रूढिवादी लाग्छन् र तिनलाई बढार्नुपर्छ भन्ने ऱ्यालीमा हामी सहभागी हुन मन पराउँछौँ । जबसम्म हामी आफै जन्मिएको, हुर्किएको र आपैm उभिएको धर्ती हामीलाई नै अप्रिय लाग्छ तबसम्म पराइले लोभ्याएको बल्छीमा अल्झिएर हाम्रो धार्मिक तथा सांस्कृतिक स्वाभिमान जीवन्त बन्न सक्तैन ।

बैठान 

अभिमान बचाइरहन गाह्रो छैन तर स्वाभिमान बचाउन निकै कठिन छ । अभिमानले क्रमशः स्वाभिमानको नै अवसान गरिदिन्छ । हामी धेरैजसो नेपालीमा स्वाभिमानभन्दा अभिमान सस्तिएको छ । ‘सस्ता रोए बारबार, महँगा रोए एक बार’ भन्ने हिन्दीको उखान सुने पनि हामी स्वाभिमान जोगाउने प्रयास गरेर एकपटक रुन चाहँदैनौँ र सस्तो अभिमान सञ्चय गरेर हामी बारम्बार रोइरहन मन पराएका छौँ । हामीहरू आफ्नै अभिमानले भित्रभित्रै रोइरहेका छौँ तर बाहिर भने हामी स्वाभिमान जोगाइरहेको बहाना गरिरहेका छौं ।

हामीले आफ्नो देशको स्वाभिमान सरकार वा जनप्रतिनिधिले जोगाइदिए हुन्थ्यो भन्ने चाहन्छौँ तर जनप्रतिनिधिले राष्ट्रसेवक र जनताले स्वाभिमान जोगाइदिनुपर्छ भनिरहन्छन् । यही कर्तव्यबोधको अभावका कारण हामीले मात्र होइन हाम्रा सन्ततिले पनि स्वाभिमान बचाउन सकेका छैनन् । जसका कारण हाम्रा भाषिक, धार्मिक र सांस्कृतिक स्वाभिमानहरू पनि थला परिरहेका छन् ।

हामीले आफू र आफ्नो देशको स्वाभिमान अवसान हुन नदिई जोगाइराख्न प्रथमतः हामी आफै सचेत हुनुपर्छ र त्यसपछि जनप्रतिनिधि, राष्ट्रसेवक र विद्यार्थीलाई सचेत गराएर भाषिक, धार्मिक, सांस्कृतिक आदि स्वाभिमान जोगाउन हामी दृढसङ्कल्प लिएर सदैव अघि  बढिरहनुपर्छ ।

लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुनुहुन्छ ।

 

 



प्रतिक्रिया दिनुहोस !