१३ बैशाख २०८१, बिहिबार

मल ल्याउन चीनको नाका पनि खुल्ला, बंगलादेशबाट सापटी मल ल्याउने प्रकृया सुरु

प्रकाशित मिति :  20 September, 2020 9:03 am


काठमाडौं, ४ असोज ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले थप युरिया र डिएपी मल ल्याउन प्रकृया तिब्र पारेको छ । मलको अभाव देखिएको भन्दै आलोचना भएपछि मन्त्रालयले सबै बाटो खुल्ला गरेर मल ल्याउने प्रयास जारी राखेको छ ।

बंगलादेशबाट सापटीको मल ढुवानीका लागि बोलपत्र आव्हान भएको छ भने अन्य ६० हजार मेट्रिक टन युरिया र ५ हजार मेट्रिक टन डिएपी मल खरिदका लागि पनि ग्लोबल टेण्डर आव्हान गरिएको छ ।

कृषि सामाग्री कम्पनी लिमिटेडका महाप्रवन्धक नेत्र भण्डारीले लुम्बिनी सञ्चारसँग भने,“ भारतको नाका मात्रै प्रयोग गर्दा मल अभाव हुने देखियो । हामीले पहिलेदेखि नै अध्ययन पनि गरेका थियौं त्यसैले यसपटक मल ल्याउनका लागि उत्तरी नाका पनि प्रयोग गर्ने गरि बोलपत्र आव्हान गरेका छौं ।”

बंगलादेशको मल आइपुग्न कम्तिमा ३५ दिन

सरकारले बंगलादेशबाट सापटीमा ५० हजार मल सापटी ल्याउने निर्णय गरिसकेको छ । निर्णय अनुसार कृषि सामाग्री कम्पनी ढुवानीका लागि बोलपत्र आव्हान गरेको छ । महाप्रबन्धक भण्डारीले भने, “ढुवानीका लागि बोलपत्र आव्हान गरेका छौं । समग्र प्रकृया मिलाउँदा कम्तिमा ३५ दिनभित्र मल नेपाल आउने छ ।”

बंगलादेशबाट सापटीमा ल्याएको मल नेपाल सरकारले पछि उपलब्ध गराउने छ । ग्लोबर टेण्डर आव्हान गरेर जुन विन्दुबाट मल ल्याईएको हो नेपाल सरकारले बंगलादेश सरकारलाई सोही बिन्दुमा मल उपलब्ध गराईदिने छ ।

उत्तरी नाका पनि प्रयोग गर्ने निर्णय

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले उत्तरी नाका प्रयोग गरेर पनि मल ल्याउन सकिने व्यवस्था गरेको छ । केही वर्षदेखि अध्ययन गरिरहेको मन्त्रालयले यसपटकका लागि उत्तरी नाका प्रयोग गर्ने निर्णय गरेको हो ।

अध्ययनका क्रममा मन्त्रालयले लसुन, प्याज तथा अन्य अत्यावश्यकीय समाग्री ल्याउने व्यवसायीसँग समेत छलफल गरेको थियो । छलफलपछि तत्काल धेरै मल ल्याउन नसकेपनि केरुङ रसुवागढी तथा तातोपानी नाकाबाट वितरण गर्न सहज हुने जिल्लालाई पुग्ने गरि मल ल्याउने मन्त्रालयले निर्णय गरेको हो ।

महाप्रवन्ध भण्डारीले भने,“सधै भारतको नाका प्रयोग गर्दा मात्रै मलको अभाव भइरहेने भयो त्यसैले हामीले सबै नाका खुल्ला गरेका छौं । बोलपत्रमा नै नाका तोक्ने त कुरा भएन अहिले तत्कालका लागि ५ हजार मेट्रिक टन डिएपी मल उत्तरी नाका प्रयोग गरेर ल्याउन सक्ने गरेर बोलपत्र आव्हान गरेका हौं ।”

डिएपी मलका ल्याउने कम्पनीले धुलीखेल,काठमाडौं र त्रिशुलीमा पुराउनुपर्ने सर्त राखिएको छ । कृषि सामाग्रीले तातोपानी नाकाबाट आउने मल धुलीखेल र रसुवा केरु नाकाबाट आउने मल त्रिशुली लक्षित गरेको छ । बाँकी काठमाडौं ल्याइने छ । मल संकट गहिरिएका बेला मन्त्रालयले चीनबाट समेत मल आयात गर्न सक्ने गरि बोलपत्र आव्हान गरेको हो ।

थप युरियाका लागि बोलपत्र

यसअघि मल ल्याउने जिम्मा पाएका कम्पनीले समयमै बेइमानी गरेपछि यसवर्ष मल संकट देखिएपछि कम्पनीले ५ दिन अगाडि मात्रै कृषि सामाग्री कम्पनीले ६० हजार मेट्रिक टन युरिया मलका लागि बोलपत्र आव्हान गरेको छ ।

यस सिजनका लागि मलको ठेक्का लिएर जिम्मेवारी पुरा नगरेका ठेकदार कम्पनीलाई मन्त्रालयले कारबाही गर्ने निर्णपछि मुद्धा अदालत पुगेको छ । अदालती झन्झटमा फसेको मन्त्रालयले थप ल्याउन प्रकृयालाई भने प्राथमिकतामा राखेको छ ।

सम्बन्धित समाचार



प्रतिक्रिया दिनुहोस !