१४ बैशाख २०८१, शुक्रबार

नेपाली भाषाको विकास कसरी गर्ने ?

प्रकाशित मिति :  3 October, 2020 10:49 am


उठान :

भाषाविज्ञानका अनुसार भारोपेली भाषा परिवारका सतम् र केन्तुम् दुई वर्गमध्ये सतम् वर्गको आर्य–युरोपेली भाषापरिवारको आर्यशाखाबाट नेपाली, हिन्दी, मैथिली, भोजपुरी, अवधि, थारु, दरै, बोटे आदि आधुनिक आर्यभाषाहरूको जन्म भएको हो । आर्यशाखाको प्राचीनतम नमुना नै संस्कृत मानिन्छ र त्यसबेलादेखि हालसम्म आर्यभाषाले तीन चरण पार गरिसकेको छ ।

पहिलो चरणमा प्राचीन आर्यभाषाका रूपमा वैदिक संस्कृत र लौकिक संस्कृत भाषाको विकास भयो । दोस्रो चरणमा मध्यकालीन आर्यभाषाका रूपमा मागधी, अर्धमागधी, माहाराष्ट्री, शौरसेनी, पैशाची र खस प्राकृत भाषा एवं तिनका अपभ्रंश भाषाहरू विकसित भए । सन् ११०० पछि आधुनिक आर्यभाषाहरूको विकास प्रारम्भ भएको मानिन्छ । खस प्राकृतबाट विकसित भएको नेपाली भाषाले पनि प्राचीन, मध्यकालीन र आधुनिक गरी तीन चरण पार गरिसकेको छ ।

ईसाको एघारौँ शताब्दीदेखि पन्ध्रौँ शताब्दीसम्म प्राचीन नेपाली, सोह्रौँ शताब्दीदेखि उन्नाइसौँ शताब्दीसम्म मध्यकालीन नेपाली र बीसौँ शताब्दीदेखि हालसम्म आधुनिक नेपाली भाषाको विकास भएको देखिन्छ ।

यसरी संस्कृतबाट प्राकृत अपभ्रंश हुँदै विकसित भएको नेपाली भाषा प्राचीन र मध्यकालीन चरणहरू पार गरी आधुनिक कालमा लम्किरहेको छ । यसै सन्दर्भमा वर्तमान अवस्थामा दिनानुदिन कमजोर बन्दै र उपेक्षित हुँदै गएको नेपाली भाषाको विकास कसरी गर्न सकिएला ? भन्ने बारेमा हामी सबै नेपालीको गम्भीर ध्यान आकृष्ट हुनु जरुरी छ ।

नेपाली भाषाको विकास कसरी गर्ने ?

निकै दुःखकष्ट गरेर रोपी मलजलका साथ हुर्काइएको बिरुवामा पालुवा, फूल र फल लाग्न संरक्षणको कठिनाइ भएजस्तै हाम्रा पुर्खाहरूले दुःखसाथ हुर्काएर हामीलाई वर्तमानमा हस्तान्तरण गरेको नेपाली भाषालाई केकसरी संरक्षण र संवद्र्धन गर्दै जाने ? भन्ने बारेमा निकै चुनौतीहरू देखिन थालेका छन् ।

नेपालको राष्ट्रिय जनगणना वि.सं. २००९/०११ मा नेपालमा ४४ भाषाको अस्तित्व रहेकामा २०१८ को जनगणनाले आठवटा भाषाको अस्तित्व हराएको देखाएको थियो भने २०२८ को जनगणनाले थप १९ वटा भाषाको लोप भई नेपालमा जम्मा १७ वटा भाषाको अस्तित्व प्रस्तुत गरेको थियो । त्यसपछिका जनगणनाहरूमा नेपालका भाषाहरूको सङ्ख्या क्रमशः बढ्दै गएको पाइन्छ । २०३८ मा १८, २०४८ मा ३१, २०५८ मा ९२ र २०६८ मा १२३ वटा भाषाहरूको अस्तित्व देखिएको छ भने भाषाशास्त्रीहरूले नेपालमा १४० वटा भाषाहरू रहेको चर्चा गरेका छन् ।

एकातिर राष्ट्रिय भाषाहरूको संरक्षण र संवद्र्धनका लागि विशेष प्रयासका साथ अनुसन्धानहरू भइरहेका कारण नेपालमा बोलिने भाषाहरूको सङ्ख्या बढ्दै गएको छ भने विद्यमान भाषाहरूका मातृभाषी वक्ताहरू कम हुँदै र हराउँदै गएका कारण धेरै भाषाहरू लोपोन्मुख अवस्थामा पुगेकाले तिनको संरक्षण कसरी गर्ने ? भन्ने विषयमा गम्भीर चुनौतीहरू देखापरेका छन् ।

यस सन्दर्भमा नेपालमा बोलिने अन्य भाषाहरूको समेत माध्यम भाषा बनेको नेपाली भाषाको विकास कसरी गर्ने ? भन्ने बारेमा चुनौती थपिनु अस्वाभाविक होइन । यसका लागि मुख्यतः व्यक्तिगत प्रयास, सामूहिक प्रतिबद्धता र सरकारको समुचित नीति–निर्देशनको आवश्यकता देखिन्छ ।

भाषाको विकासका लागि व्यक्तिगत प्रयास :

जुनसुकै भाषाको समुचित विकास र विस्तारका लागि प्रथमतः वैयक्तिक प्रयास जरुरी हुन्छ । हरेक प्रयोक्तामा भाषिक प्रयोगको सचेतता भइदिएमा भाषाको विकासमा अवरोध आउँदैन र यदाकदा अवरोध आइहाले पनि तिनलाई सचेत भाषाप्रयोगको समूहले क्रमशः निराकण गर्दै जान सक्छ ।

त्यसैले नेपाली भाषाको विकासका लागि वैयक्तिक जागरूकता र क्रियाशीलता अपरिहार्य हुन्छ । सरकार वा समूह विशेषले कुनै लहडमा आफूअनुकूल भाषिक निर्णयहरू गर्न सक्छन् तर तिनलाई व्यवहारमा उतार्ने काम प्रत्येक नेपालीभाषी प्रयोक्ताको भएकाले प्रयोक्ता विवेकशील हुनु आवश्यक छ ।

कुनै समूह विशेषको विरोध वा समर्थनमा नलागीकन सचेत प्रयोक्ताले विद्यमान विवाद र परिवर्तनका आधारहरू पहिल्याएर तिनलाई निराकरण गर्ने चासो देखाउनुपर्छ ।

विद्यार्थीको वैयक्तिक प्रयास :

हामीमध्ये कोही विद्यार्थी छौँ भने हामीले प्रथमतः आफ्नो नेपाली पाठ्यपुस्तकको राम्रोसँग अध्ययन गर्नैपर्छ । शिक्षकले कहिले नोट लेखाइदिनुहोला ? गाइड वा गेस पेपर कहाँ पाइएला ? आफ्ना साथीको नोट सार्न पाए हुँदैन र ? म्यासेन्जर वा भाइबरबाट साथीहरूले पठाउने नोटकै भर परेमा के फरक पर्छ ? यस्ता कुराहरूमा नअल्झिईकन यथासम्भव आफैले सोचेर वा सन्दर्भसामग्रीहरू पढेर सम्बन्धित प्रश्नको उत्तर खोज्ने विद्यार्थीको लेखनशैली स्तरीय हुन्छ ।

त्यस्तै विद्यार्थीहरू पाठ्यपुस्तकका अतिरिक्त सन्दर्भ सामग्रीहरूको अध्ययन गर्न रुचाउँछन् र आफ्नो सिर्जनात्मक क्षमताको विकास गर्न सक्छन् । दक्ष शिक्षकद्वारा सुनेका कुरालाई राम्रोसँग ग्रहण गर्न सक्छन् अनि त्यस्तै विद्यार्थीले शिक्षकले भनेअनुसार उच्चारण पनि गर्न सक्छन् ।

सुनाइ र बोलाइमा दक्षता प्राप्त गर्ने विद्यार्थीले नेपालीका पाठ्यपुस्तक र सन्दर्भ सामग्रीहरूसमेत राम्रोसँग पढ्न सक्छन् भने पढेको कुरा शुद्ध र स्तरीय भाषामा लेख्न पनि सक्छन् । वादविवाद, वक्तृत्वकला, निबन्धलेखन आदि प्रतियोगितामा त्यस्ता विद्यार्थीहरूलाई शिक्षकले ‘यसो यसो भन वा यसरी लेख’ भनेर पूर्णतः मार्गनिर्देशन पनि गरिरहनुपर्दैन ।

शिक्षकको वैयक्तिक प्रयास :

प्रत्येक शिक्षक आफ्नो विषय र आफ्नो कक्षामा विषयगतरूपमा जिम्मेवार र उत्तरदायी हुनैपर्छ । दलगत र गुटगत स्वार्थबाट माथि उठ्न नसक्ने र आफूले पढाउने विषय पुरानै हो नपढीकन कक्षामा गए पनि के फरक पर्छ ? भन्ने सोच राखिदिने शिक्षकका कारण विद्यार्थीको विषयगत क्षमतामा क्रमशः ह्रास आउँदै जान्छ । आफू अस्पष्ट भएका कुरामा आफूभन्दा जान्ने सहकर्मी वा गुरुहरूसँग सम्पर्क गरी समाधान निकाल्ने विषयमा शिक्षकहरू लजाउनु हुँदैन ।

प्रत्येक दिन कक्षामा प्रवेश गर्दा शिक्षकले बासी कुराहरू नै पस्किरहेको छु भन्ने नठानी पाठ्यपुस्तकका पुरानै विषयवस्तुलाई नयाँ स्वाद र परिकारका रूपमा पस्किरहेको छु भन्ने अनुभूति गर्न सक्नुपर्छ । कतिपय निजी स्कुलले आफ्नो स्कुलभित्र नेपाली बोल्ने विद्यार्थीलाई जरिवाना तिराउने जघन्य अपराध गरिरहेका हुन्छन् । त्यस्ता स्कुलका विद्यार्थीहरू नै नेपाली विषयको गुणस्तरमा खस्किँदै गएका हुन्छन् भने त्यस्तै स्कुलमा पढ्ने विद्यार्थीहरूमा स्कुलबाहिर पनि नेपाली बोल्दा सजाय पाइन्छ कि भन्ने भय रहिरहन्छ ।

यसको समाधानका लागि विषय–शिक्षकले आफ्नो कक्षामा नेपाली विषयलाई कसरी विकसित गर्ने र गुणस्तरीय बनाउने भनेर चिन्तन गर्नु आवश्यक छ । यथासम्भव अङ्ग्रेजी शब्दको प्रयोगमा कमी ल्याएर, आफूले उच्चारण गरेको पाठ्यवस्तु सबै विद्यार्थीलाई उच्चारण गर्न लगाएर, प्रत्येक विद्यार्थीलाई पालैपालो पाठ्यवस्तु पढ्न लगाएर, पढिसकेको पाठ्यांशलाई कक्षामै पालैपालो बोर्डमा लेख्न लगाएर, अघिल्लो दिन दिइएको गृहकार्यलाई अभ्यासपुस्तिका नहेरीकन पालैपालो मौखिकरूपमा उत्तर दिने बानीको विकास गरेर, प्रत्येक हप्तामा एकपटक दैनिकी वा कुनै कार्यक्रमका बारेमा लेख्न लगाएर अनि पत्रपत्रिका वा नयाँ पुस्तक पढ्न प्रोत्साहन गरी पढेपछि आफ्ना मनमा लागेका कुरा उल्लेख गर्न प्रेरित गरेर शिक्षकले नेपाली भाषाको विकासमा योगदान दिन सक्छन् ।

लेखकको वैयक्तिक प्रयास :

लेखकहरूले भत्किएका क्षेत्रहरूको मात्र पुनर्निर्माण गर्दैनन् नयाँ नयाँ क्षेत्रको खोज र आविष्कार पनि गर्न सक्छन् । त्यसैले लेखकलाई स्रष्टा वा सर्जक भन्ने गरिएको हो । लेखकले प्रचलित शब्दहरूको मात्र प्रयोग नगरी नयाँ नयाँ शब्दको समेत प्रयोग गर्न रुचाउँछन् । दलगत र गुटगत स्वार्थमा आफूलाई सीमित गर्न नचाहने लेखकले वास्तविक रूपमा नेपाली भाषाको विकासमा उल्लेखनीय योगदान दिन सक्छन् भन्ने कुरामा कसैको दुईमत छैन । कल्पनाशील लेखकले भन्दा पूर्ववर्ती र समकालीन स्रष्टाका कृतिहरू पढ्न रुचाउने र अनुसन्धानमा समेत रुचि राख्ने लेखक नै नेपाली भाषा विकासका संवाहक हुन् ।

नवीनतम वाद र प्रवृत्तिहरू अँगालेर जनमानसका जल्दाबल्दा समस्याहरूको उठान गरी तिनको सम्भाव्य समाधानतर्फ पाठकको र प्रबुद्ध समाजको ध्यानाकर्षण गर्न रुचाउने लेखकहरूबाट नै नेपाली भाषाको वास्तविक विकास हुन सम्भव छ । लेखकको वैयक्तिक प्रयासले वर्तमान समाजलाई मात्र होइन भावी पुस्तालाई समेत जागरूक बनाउन सक्ने भएकाले त्यस्तै लेखकका कृतिहरू पढ्न उन्मुख भइरहने समाजले समेत नेपाली भाषाको विकासमा चासो दिन सक्नेछन् ।

 

पाठकको वैयक्तिक प्रयास :

भाषाको विकासमा अवरोध खडा गर्न र गरिरहन चाहने तत्त्वलाई बारम्बार खबरदारी गर्नका लागि समेत सचेत पाठकको आवश्यकता पर्छ ।

दलीय झन्डा बोक्नभन्दा प्रबुद्ध लेखकका विचारहरू वहन गर्न रुचाउने सचेत पाठकले साहित्यिक, राजनीतिक, आर्थिक, सामाजिक आदि विभिन्न पक्षका लेखरचनाहरू पढेर वा समसामयिक घटनाक्रमहरूको अध्ययन–विश्लेषण गरेर सचेत पाठकले स्वतन्त्ररूपमा व्यक्त गरिएका आफ्ना विचारहरूमार्फत नेपाली भाषाको विकासका क्षेत्रमा मात्र होइन अन्य क्षेत्रको विकासमा पनि सहभागी हुन सक्छन् ।

विद्यार्थी, शिक्षक, लेखक र पाठकका अतिरिक्त स्वतन्त्र नेपाली नागरिकहरूले पनि नेपाली भाषाको विकासमा वैयक्तिक योगदान दिन सक्छन् । त्यति मात्र होइन वैयक्तिक प्रयासमा नेपाली भाषाप्रति गम्भीर चिन्ता र चासो प्रकट गरेर प्रवासी नेपालीहरूले पनि नेपाली भाषाको विकासमा महत्त्वपूर्ण योगदान दिइरहनसक्ने सम्भावना देखिन्छ ।

भाषाको विकासका लागि सामूहिक प्रतिबद्धता :

‘सङ्घे शक्तिः कलौ युगे’ अर्थात् कलियुगमा सामूहिक सङ्घसङ्गठनहरूमा शक्ति हुन्छ । वैयक्तिक प्रयासमा हुन नसकेका र सरकारले समेत गर्न नसक्ने काम सामूहिक सङ्घसङ्गठनहरूबाट पूरा गर्न सकिन्छ ।

स्वार्थरहित सकारात्मक काममा अग्रसर भइरहेका सङ्घसङ्गठनले सरकारका गलत कामकारवाहीहरूको विरोध गर्न सक्छन् र सरकारलाई पनि घुँडा टेकाउन सक्छन् । परन्तु वर्तमानमा गठन भएका सङ्घसङ्गठनहरू दलीय स्वार्थ, गुटगत स्वार्थ हुँदै वैयक्तिक स्वार्थमा सङ्कुचित भएका छन् । जसका कारण हरेक सरकारी क्षेत्रहरूमा विकासका पाइलाहरू अवरुद्ध हुँदै गएका छन् । हुँदाहुँदा नेपाली भाषाको विकास गर्ने निहुँमा भाषामा भाँडभैलो मच्चाएर क्रमशः नेपाली भाषालाई विनाशको खाडलमा पुर्याउने पक्षहरू पनि बारम्बार देखापर्ने गरेका छन् ।

तिनको प्रतिरोध गर्दै जनमानसले थाहा नपाउने गरी भाषामा हुने परिवर्तनलाई आत्मसात् गरेर नेपाली भाषाको विकासमा प्रतिबद्धता व्यक्त गर्नका लागि दलगत स्वार्थबाट पृथक् रहेका व्यक्तिहरू सामूहिकरूपमा एकत्रित भई नेपाली भाषाको विकासमा सामाजिक योगदान दिन अग्रसर हुनु आवश्यक छ । नेपाली भाषाको विकासमा निःस्वार्थ भावनाका साथ समर्पित हुने व्यक्तिहरूलाई समेटेर तिनका प्रयासहरूलाई मूर्त रूप दिनका लागि पनि सामूहिक एकता र प्रतिबद्धता आवश्यक देखिन्छ ।

भाषाको विकासमा सरकारको समुचित नीति–निर्देशन :

नेपाली भाषाको विकासका लागि वैयक्तिक प्रयास र सामूहिक प्रतिबद्धतासँगै सरकारको समुचित नीति–निर्देशन पनि आवश्यक हुन्छ । सङ्घीयता कार्यान्वयन भइरहेको वर्तमान परिस्थितिमा स्थानीय सरकार र प्रदेश सरकारले नेपालीबाहेकका अन्य मातृभाषाहरूलाई पठनपाठन र सरकारी कामकाजको भाषा बनाउन सक्छन् भने स्थानीयदेखि केन्द्रीय तहसम्मका सबै सरकारले मातृभाषाका दृष्टिले प्रथम स्थानमा रहेको नेपाली भाषालाई लिखितरूपमा सरकारी कामकाजको भाषाका साथै बोलीचालीमा सम्पर्क भाषाका रूपमा विकसित गर्नु अपरिहार्य छ ।

वर्तमान नेपालको संविधानभन्दा पूर्ववर्ती संविधानमा नेपाली भाषालाई मात्र बढ्ता प्रश्रय दिँदा नेपाली भाषाले अन्य भाषाहरूको संरक्षण र संवद्र्धन गर्न व्यवधान खडा भएको भए पनि वर्तमान समयमा नेपालीबाहेकका अन्य भाषाले पनि विकासको समान अवसर पाउन थालेका   छन् । यति हुँदाहुँदै पनि वर्तमान युवापुस्ताले प्रायः आफ्नो मातृभाषा बोल्न नरुचाउँदा अधिकांशले नेपालीलाई नै मातृभाषाका रूपमा बोल्न थालेको देखिन्छ ।

नेपालको पछिल्लो जनगणनामा प्रत्येक जातजाति र भाषाभाषीले आआफ्नो भाषाप्रति मोह देखाएर विवरण भरे पनि व्यवहारमा प्रत्येक जातजातिमा आआफ्नो मातृभाषा बोल्ने युवापुस्ताहरूको सङ्ख्या घट्तै जाँदा समग्रमा नेपाली भाषालाई मातृभाषाका रूपमा बोल्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।

फलस्वरूप त्यस्तो युवापुस्तालाई कसरी आआफ्नै मातृभाषा बोल्न प्रेरित गर्ने ? भन्ने चुनौती थपिएको छ भने आफ्नो मातृभाषालाई छाडेर नेपाली भाषालाई मातृभाषाका रूपमा बोल्न चाहने युवापुस्तालाई नेपाली बोल्न प्रोत्साहन नगरिँदा अङ्ग्रेजीलगायत विदेशी भाषालाई मातृभाषा ठान्न युवापुस्ता विवश नहोस् भन्ने विषयमा पनि नेपाल सरकार सचेत हुनु जरुरी छ ।

नेपालका अन्य भाषाहरूको विकास गर्ने नाममा नेपालको सम्पर्क भाषा र अधिकांश नेपालीले मातृभाषाका रूपमा अङ्गीकार गरेको नेपाली भषाालाई सरकारका तर्फबाट उपेक्षा गर्न सुहाउँदैन । त्यति मात्र होइन नेपाली भाषामा समयसमयमा भाँडभैलो मच्चाएर नेपाली भाषाको वास्तविक विकास गर्न अवरोध खडा गर्ने पक्षलाई पनि सरकारले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रोत्साहन गर्नु हुँदैन ।

दलगत र गुटगत स्वार्थको खाडलमा नफसेका नेपाली भाषाका विज्ञहरूको आवश्यक परामर्श लिएर सरकारले समुचित नीति र निर्देशन प्रदान गर्न सकेमा निश्चय नै नेपाली भाषाको विकास अवरुद्ध हुने छैन ।

बैठान :

जंगबहादुर राणाले वि.सं. १९१० मा इस्तिहार जारी गरी नेपाली भाषाबाहेक अन्य भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न बन्देज लगाए भने चन्द्र शमशेरले १९६२ मा सनदपत्र जारी गरेर उक्त बन्देजलाई पूर्ण समर्थन गरे ।

रेडियो नेपालको स्थापना भएपछि नेपालीसहित हिन्दी र नेवारी भाषामा समाचार प्रसारण हुँदै आएकामा २०२१ मा त्यसमाथि प्रतिबन्ध लगाइयो भने २०५४ मा काठमाडौ नगरपालिकाले नेवारीमा र राजविराज नगरपालिका एवं धनुषा जिल्ला विकास समितिले मैथिली भाषालाई नेपालीका अतिरिक्त स्थानीय सरकारी कार्यालयको कामकाजको भाषा बनाउने निर्णय गरे तापनि २०५६ जेठ १८ मा सर्वोच्च अदालतले त्यसलाई बदर गरेपछि नेपालीबाहेकका अन्य भाषाभाषीहरू रुष्ट भएर प्रत्येक वर्ष जेठ १८ लाई कालो दिवस मनाउन बाध्य भए ।

२०६२/०६३ को आन्दोलनपश्चात् प्राप्त उपलब्धिले नेपाली भाषासहित नेपालमा बोलिने सबै भाषाको संरक्षण र संवद्र्धनमा चासो दिन थालेको हुँदा नेपालीबाहेकका भाषाहरूको संख्यामा वृद्धिसँगै तिनको अध्ययन–अनुसन्धानमा तत्परता देखिएको छ ।

नेपालमा बोलिने अन्य भाषाहरूको विकास गर्ने सन्दर्भमा नेपाली भाषालाई बेवास्ता गर्नुपर्छ, नेपाली सीमित जातजातिको भाषा हो, नेपाली भाषाले विगतमा अन्य भाषाहरूलाई दमन गरेर विकसित हुन नदिएको हो भन्नेजस्ता दुष्प्रचारले गर्दा नेपाली भाषालाई मातृभाषाका रूपमा प्रयाग गर्ने नेपाली र नेपाली भाषालाई सम्पर्क भाषाका रूपमा प्रयोग गर्ने नेपालीहरूको मनमा चोट पुग्नु अस्वाभाविक होइन ।

नेपाली भाषाको वर्णविन्यासका क्षेत्रमा समयसमयमा देखापर्ने अनावश्यक विवादले पनि नेपाली भाषाका प्रयोक्ताहरू अन्योलमा परिरहेका छन् र यही अन्योलका कारण पनि नेपाली भाषाको यथोचित विकास हुन सकेको छैन । नेपाली भाषाका क्षेत्रमा जसले जसरी प्रयोग गरे पनि हुने भन्ने बेथिति मौलाउँदै जाँदा र संस्थागत विद्यालयमा मात्र होइन सामुदायिक विद्यालयहरूमा समेत अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेकाले नेपाली विषयमा विद्यार्थीहरू दिनानुदिन कमजोर बन्दै गएका छन् ।

फलस्वरूप १२ कक्षा उत्तीर्ण गर्ने विद्यार्थीले समेत नेपाली भाषामै निवेदन, निमन्त्रणा कार्ड, तमसुक आदि राम्रोसँग लेख्न नजान्ने अवस्थाको सिर्जना भएको हो ।

बेलाबेलामा नेपाली भाषामाथि हुने गरेको प्रहार र उपेक्षाभावले गर्दा विशेषतः नेपाली विषय पढाउने गुरुहरू र नेपाली भाषामा कलम चलाउने स्रष्टाहरू नेपालभित्रै नेपाली भाषा बचाउन आन्दोलनमा उत्रनुपर्ने बाध्यात्मक परिस्थिति आउनुलाई विडम्बना नै मान्नुपर्छ ।

नेपाली भाषा नेपाली पढाउने गुरु र लेखकहरूको मात्र पेवा होइन आम नेपालीको साझा भाषा हो भन्ने कुराको अनुभूति सबै नेपालीलाई नहुँदासम्म नेपाली भाषाको वास्तविक विकास हुन सक्तैन तापनि यसका लागि यथासम्भव विद्यार्थी, शिक्षक, लेखक र पाठकको वैयक्तिक प्रयास, सामूहिक प्रतिबद्धता र सरकारको समुचित नीति–निर्देशन मात्र हुन सक्यो भने पनि नेपाली भाषाको विकासका पाइलाहरू अवरुद्ध हुने छैनन् ।

फलस्वरूप राजनीतिक भागबन्डाको सिकार भएका नेपाल प्रज्ञा प्रतिष्ठान वा साझा प्रकाशनहरूले नेपाली भाषाको विकासका निम्ति विगतमा झैँ नेतृत्वदायी भूमिका वहन गर्लान् भनेर नेपाली भाषाप्रेमी जनताले उनीहरूकै मुख ताकिरहनुपर्ने परिस्थिति आउने छैन । सङ्घीय संरचनासँग केन्द्रीकृत शासन व्यवस्थाको अहङ्कारको अवसान हुँदै गएको सङ्क्रमणकालीन वर्तमान अवस्थामा स्थानीय र प्रादेशिक रूपमा नेपाली भाषालाई कसरी विकास गर्ने भन्ने विषयमा गम्भीर बहसहरू पनि चलाउँदै जानुपर्ने नितान्त आवश्यक देखिन्छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस !