ग्रामीण महिला दिवसः जलवायु परिवर्तन, कोभिड-१९ को प्रभाव र ग्रामीण महिलाको अवस्था

अन्तराष्ट्रिय दिवसहरु विश्वव्यापी मुद्दा र चासोको विषय अनि समस्यालाई सम्बोधन गरि सुधार ल्याउन जिम्मेवार निकायलाई ध्यानार्कषण गराउन शिक्षा प्रदान गरि मनवीयता कायम गर्न मनाउने गरिन्छ ।

विश्वमा ८० प्रतिशत ग्रामिण क्षेत्र छ भने विश्वको कुल जनसंख्या मध्ये ५४ प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रमा बसोवास गर्दछन् । ग्रामिण क्षेत्रमा बस्ने कुल जनसंख्याको ६५ प्रतिशत मानिसले कृषि कर्म (पशुपालन र खेतीपाती) गर्ने गर्दछन् । त्यस मध्य पनि कृषि कर्ममा सहभागी महिलाको संख्या ८० प्रतिशत रहेको छ ।

विश्वको तथ्याड्ढ जस्तै दक्षिण एशियाली मुलुक लगायत नेपाल कै अवस्था पनि उस्तै रहेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने पनि नेपालको ग्रामीण क्षेत्रको सामाजिक अवस्थालाई हेर्दा पुरुषहरु नगद आर्जन हुने काममा सहभागी हुने जस्तै (बैदेशिक रोजगार, अन्य पेशा व्यवसाय नोकरी) जस्ता कृयाकलापमा सहभागी हुने र महिलाहरु प्राय घरपायक खेतीपाति, बस्तुभाउ, बालवच्चा स्याहार सुसार गर्दै गर्न सकिने कृयाकलापमा सहभागी हुने हुनाले उनीहरु दैनिक १६ घण्टासम्म पनि कृषि कर्ममा सहभागी छन् तर पनि उनीहरुको कृषि कृयाकलापलाई अनुत्पादन कृयाकलापको स्तरमा राखिएको छ ।

बिहान परिवारका सवै सदस्य भन्दा अगावै उठ्नु, पशुवस्तुलाई दाना पानी खुवाउनु, परिवारको लागि खाना तयार गर्नु, र वनजंगलबाट घाँस दाउरा संकलन गर्नु, मेलापात अर्मपर्म गरेर दिन विताउनु उनीहरुको जीवनको दैनिक हो भने महिला तथा किशोरीहरु कै योगदानमा प्रत्येक परिवारमा खाद्य सुरक्षामा महत्वपूर्ण भूमिका हुँदा पनि महिला र किशोरीहरु नै परिवारको सदस्यहरुलाई अघाएपछि मात्र आफूले खानु पर्ने संस्कृतिका कारण कुपोषणको शिकार हुने गरेका छन् ।

विश्वव्यापी समस्याको रुपमा रहेको जलवायु परिर्वतनको असर सवै भन्दा धेरै महिलाहरुलाई नै परेको छ । तर, जलवायु परिवर्तन हुनुमा ग्रामीण महिलाहरुको भूमिका ज्यादै न्यून रहेको छ, किनभने महिलाहरु नै प्राकृतिक स्रोतहरुको संरक्षणमा उनीहरुको भूमिका सकारात्मक रहेको हुन्छ । वनजंगलको संरक्षण, पानीको मुहानहरुको संरक्षणमा, ग्रामिण महिलाहरुको भूमिका उल्लेखनीय पाउन सकिन्छ । उनीहरुको मौलिक प्रविधिले प्राकृतिक स्रोत संरक्षण ठूलो योगदान पुर्‍याएको छ ।

तर, जलवायु परिवर्तनको प्रभावले भने ग्रामीण महिलाहरुलाई नराम्ररी असर पुर्‍याएको छ । जलवायु परिवर्तनको कारण वनजंगलमा डडेलो लाग्नाले, गाई बस्तुको लागी घाँस वनचरन क्षेत्र कम हुनु, जसले गर्दा पशु आहार संकलनको लागि टाढा टाढासम्म महिला तथा किशोरीहरुलाई समय तथा मेहनत धेरै लाग्ने, खाना पकाउने, दाउरा संकलन गर्न टाढा टाढा पुग्न पर्ने ।

खडेरीको कारण पानीको मुहानहरु सुक्दै जानाले पानि संकलनको लागि निकै टाढासम्म पुग्न समय र मेहनत धेरै खर्च हुने, बाढी पहिरोको जोखीम पनि ति ग्रामीण क्षेत्रमा बसोवास गर्ने महिला तथा किशोरीहरुले नै व्यहोर्नुपर्ने जस्ता कारण महिलाहरुको काम बढी जोखिम पूर्ण तथा शारीरिक बल प्रयोग गर्नु पर्ने साथै बच्चा जन्माउनु पर्ने र बच्चालाई दूध चुसाउनु पर्नेे बेलामा आवश्यक पर्ने पोषण युक्त आहार खानेकुरा र आराम समेत नपुग्ने हुँदा अनेकौ रोगहरु पाठेघर खस्ने, स्तन क्यानसर जस्ता रोगका शिकार समेत हुनु परेको छ तर पनि कृषि उत्पादनको एक तिहाई योगदान ग्रामिण महिलाको रहेको छ ।

अर्काेतिर खेतीपातिमा प्रयोग गरिने रसायनको विषादीको असर पनि महिलाहरुलाइै नै धेरै छ । किनकि ग्रामिण क्षेत्रमा युवा तथा पुरुष श्रमिक उपलब्ध नहुने कारण उत्पादन बृद्धिको लागि बाली संरक्षणको लागि रासायनिक विषादीको प्रयोग महिला आफैले गर्ने गर्दछन् । तर, उनीहरुले रासायनिक विषादीको प्रयोग गर्दा अपनाउनु पर्ने कुनै पनि सुरक्षाको विधि (बुट लगाउने, माक्स लगाउने पञ्जा लगाउने, लामो कपडा लगाउने र प्रयोग पश्चात तुरुन्त नुहाउने) जस्ता प्रयोग गरेको हुँदैनन् । जसले गर्दा उनीहरुको स्वास्थ्यमा रासायनिक विषादीको नराम्रो असरले विभिन्न रोगहरु ज्स्तै टाउको दुख्ने, बान्ता हुने पाठेघरमा ट्युमर पलाउनृ, नपुसंक हुन, अपाङ्ग सन्तान जन्मने, क्यानसर हुने, जस्ता समस्या भोग्न बाध्य छन् ।

विश्व व्यापी विकासको प्रकृतिलाई हेर्ने हो भने ग्रामीण महिला शक्ति हो । महिला र किशोरीको भूमिकालाई गणना गरी नयाँ कृषि ज्ञानको रुपमा प्रयोगमा ल्याउन सकेमा हरित उर्जाको रुपमा विश्वव्यापी खाद्य संकट कम गर्न ठूलो मद्यत पुग्छ । महिला र किशोरीहरुको भूमिकाले ग्रामिण समुदायको दिगो विकासलाई निर्धारण गरेको हुन्छ । उनीहरुले नै कृषि श्रमिकको पर्याप्तता गरेका छन् । तर, पनि उनीहरुको श्रमलाई आर्थिक उपार्जनको रुपमा गणना गरिदैन । महिलाहरु नै गरिबीको कुचक्रमा छन् ।

उनीहरुको नाममा जमिन छैन उनीहरुले आफूले उत्पादन गरेको अन्न फलफूल, पशु धन आफ्नो निर्णयले विक्री गर्न आफ्नो लागत मुल्यमा बेच्न बजार पाउदैनन् अथवा बजार (जानै पाउदैनन्) बजारमा महिलाको पहुँच छैन । कृषि औजार महिलामैत्री छैन कृषि बजार महिला मैत्री छैन (महिला मैत्री सौचालयको अभाव) महिलामैत्री यातायात ढुवानीको साधन छैन । महिलालाई आर्थिक आर्जनमा सहभागिता भएको सामाजिक मान्यताले अस्वीकार गरेको जस्ता यावत समस्याले ग्रामीण महिला तथा किशोरीहरु पीडित छन् ।

महिलाको नाममा जमिन नहुने कारण महिलाले उद्यमशिलताको लागि आवश्यक ऋण तथा अनुदान पनि प्राप्त गर्न सक्दैनन् । विश्वमा १ बिलियन मानिस गरिबीको चपेटामा परेको छन् भने सवै भन्दा वढी गरिवीको प्रभाव ग्रामीण क्षेत्रमा परेको छ । ग्रामिण क्षेत्रमा महिला र किशोरीको संख्या नै बढी छ । त्यसैले गरिबीको प्रभाव महिला र किशोरीलाई परेको छ ।

विश्वको ८०% ग्रामीण क्षेत्र, त्यहाँको उत्पादनले २.५ बिलियन मानिसको जीवन निर्वाह भएको छ र यसको योेगदान ग्रामिण क्षेत्रको महिला र किशाोरीको रहेको छ । त्यसकारण ग्रामिण क्षेत्रमा रहेका महिला र किशोरीको योगदानको कदर हुनु पर्दछ । संयुक्त राष्ट्र संघको २००७ को साधारण सभाबाट अक्टोवर १५ तारिकलाई अन्तराष्ट्रिय ग्रामीण महिला दिवसका रुपमा मनाउने निर्णय गरेको हो । त्यस बेलादेखी नै विश्वभर योग दिवश मनाइँदै आएको भए पनि नेपालमा भने राष्ट्रिय कृषक समूह महासंघ नेपालले २०१४ बाट पहिलो पटक मनाउन शुरु गरेको    थियो । २०१४ बाट प्रत्येक वर्ष अन्तराष्ट्रिय ग्रामिण महिला दिवश विभिन्न कार्यक्रम गरि मनाउदै आएको छ ।

कृषि, खाद्य सुरक्षा र पोषणका लागि दैनिक जीवनमा संघर्ष गर्दै आएका ग्रामिण महिला तथा किशोरीहरुमा कोभिड—१९ को प्रभावबाट थप समस्या थपिएको छ । कोभिड-१९ संग सामना गर्न ग्रामिण समुदायमा गुणस्तरीय स्वास्थ्य सेवाहरु, आवश्यक औषधिहरु र खोपहरुको पहुँच कम छ । प्रतिबन्धात्मक सामाजिक मापदण्डले ग्रामिण महिलाको स्वास्थ्य सेवामा पहुँचको क्षमतालाई थप सिमित पारिदिएको छ ।

नियामित घरेलु कार्य एवं कृषि कार्यलाई समेतलाई कोभिडले प्रभाव पारेको छ । यि सबैको बाबजुदपनि ग्रामिण महिलाहरु महामारीसंग जुध्न अग्रणी भूमिकामा छन् । यसर्थ यस वर्षको अन्तराष्ट्रिय ग्रामिण महिला दिवसलाई संयुक्त राष्ट्रसंघले कोभिड—१९ पछि ग्रामिण महिलाको अनुकुलन क्षमता निर्माण गर्नु एवं महिलाहरुको संघर्ष योगदानबारे सामाजिक रुपमा जागरुकता श्रृजना गर्नु रहेको छ ।

तसर्थ, कृषि क्षेत्रमा यति धेरै योगदान पुर्याउने ग्रामीण महिलाहरुको अनुहारमा खुसी ल्याउनको लागी यो दिवस सफल बनोस, शुभकामना !