वर्तमानमा पुस्तकको उपयोगिता

उठान

आफ्नो तोतेबोली फुट्न नपाउँदै हामीले रहरले होइन करले पुस्तक समाउँछौँ र पुस्तकको भारी बोकेर ज्ञानको ज्योति बाल्ने प्रयासमा जीवनको एक तृतीयांश उमेर बिताउँछौँ । कक्षा चढ्दा ज्ञानको खुट्किला चढेको अनुभूति गर्छौं ।

हामीले पढ्ने पुस्तक र चढेको ज्ञानका खुट्किलाले हामीलाई कहिल्यै जीवन खोज्न सिकाएन; केवल जागिर खोज्न सिकायो र पैसासँग जीवन साट्न हामी अभ्यस्त भयौँ । शैक्षिक प्रमाणपत्र हात पर्नासाथ हामीले पुस्तक नहेर्ने बानीको विकास गर्‍यौँ । यही बानीले गर्दा हामी पोखरीमा जमेको पानीझैँ दुर्गन्धित भएको कुरा हामीले ख्याल गर्न सकेनौँ ।

पुस्तकले हामीलाई निरन्तर बग्न त सिकाएको थियो तर पुस्तकसँगको नाता तोड्दै गएकाले हामी बग्न सकेनौँ; प्रवाहित भइरहन असमर्थ भयौँ । हामीलाई पुस्तकले नै सभ्य बनाउने प्रयत्न गरेकै हो तर हामी वास्तवमा सभ्य बन्ने यात्रामा हिँड्न सकेनौँ; बिस्तारै हिँड्ने प्रयास गरे पनि त्यस किसिमको अभ्यासलाई निरन्तरता दिन नसक्ता हाम्रो हिँडाइको शृङ्खला टुट्यो । हामी मूर्त कुराहरूमा बढ्ता विश्वस्त हुन थाल्यौँ तर पुस्तकले प्रतिनिधित्व गर्ने अमूर्त कुराहरूको ख्याल गर्नै छाड्यौँ ।

हामी बस्ने आफ्नो घरमा त झ्यालैझ्याल भइदिए हुन्थ्यो भन्ने अपेक्षा गर्‍यौँ तर पुस्तकसँग सम्बन्धविच्छेद गर्दा हामी झ्याल नै नभएको घरमा बसिरहेका रहेछौँ भन्ने कुराको अनुभूति हामीलाई हुनै सकेन । हामीलाई नयाँ कोट किन्ने रहर पलाइरह्यो, जसले गर्दा हामी पुरानै पुस्तक वा मागेर पुस्तक पढ्न लजाएनौँ । जसले गर्दा हाम्रो पढाइ पनि मगन्ते जस्तै बन्यो; स्वावलम्बी बन्न सकेन ।

हामीलाई राम्रो पुस्तक पढ्न झ्याउ वा अल्छी लाग्न थाल्यो तर हामीले कुसङ्गत गर्न आफ्नो जाँगर देखायौँ । पुस्तकले हामीलाई गुरु बन्न त सिकायो तर कर्तव्यनिष्ठ बनाएको बाटो हामीले बिर्सियौँ । त्यसैले हामी गुरु भएर पनि कर्तव्यनिष्ठ गधाभन्दा बढ्ता बुद्धिमान् बन्न सकेनौँ । पुस्तकले हामीलाई प्रतिष्ठित त बनायो तर पुस्तकलाई हामीले प्रतिष्ठित बनाउन सकेनौँ । खोलो तरेर लौरो बिर्सिएझैँ पुस्तक हामीलाई अज्ञानको सागर तर्न सहयोगी बनेको कुरा बिर्सियौँ । तसर्थ पुस्तकको उपयोगिताका बारेमा हामी कृतज्ञ हुन नसके पनि हाम्रा सन्ततिहरू पुस्तकको उपयोगिताका बारेमा सचेत र जागरूक हुन सकून् भन्ने कुरामा हाम्रो ध्यान आकृष्ट हुनु जरुरी छ ।

विगतमा पुस्तकको महत्त्व

प्राचीन कालमा ज्ञानको वितरण र ग्रहण श्रुतिपरम्पराबाट हुने गर्दथ्यो । त्यसैले वेदलाई श्रुति भनेर चिनिन्छ । ज्ञान गुरुकै अधीनमा रहन्थ्यो र त्यतिबेला गुरुविना ज्ञान लिने कल्पना पनि गर्न सकिँदैनथ्यो । वैदिक वाङ्मयलाई लिपिबद्ध गरेर सुरक्षित राख्नुपर्ने अवश्यकताको अनुभव गरिएका कारण ज्ञान मूर्त रूपमा वा पुस्तकाकारमा पढ्न पाइने व्यवस्था भयो ।

वैदिक संस्कृत, लौकिक संस्कृत हुँदै आधुनिक युगसम्म आइपुग्दा पुस्तक लेखक र पुस्तक प्रकाशकहरूको सङ्ख्यामा उत्तरोत्तर वृद्धि हुँदै गयो । फलस्वरूप पुस्तकका माध्यमले नै अध्ययन–अध्यापन हुन थाल्यो । यद्यपि गुरु नथापीकन प्राप्त गरिएको ज्ञान जारको गर्भजस्तै सदैव लज्जित भइरहनुपर्ने स्थिति रहन्छ तापनि गुरुविना आपैm पुस्तक पढेर ज्ञान प्राप्त गर्न चाहने पाठकहरूको सङ्ख्यासमेत बढ्दै गयो ।

अत्याधुनिक सूचना र प्रविधिको विकास नहुन्जेल पुस्तकको अत्यधिक महत्त्व सुरक्षित थियो तर सूचना र प्रविधिको द्रुततर विकाससँगै ज्ञानका लागि पुस्तकमै निर्भर रहिरहने पाठकहरूको सङ्ख्यामा क्रमशः ह्रास आउन थालेको भए पनि पुस्तकको पृथक् महत्त्व अझसम्म सुरक्षित नै   छ ।

लेखक बढे तर पाठकको रुचि घट्यो

ज्ञानलाई लिपिबद्ध गर्दै जाने सन्दर्भमा ताडपत्र, भुजपत्र आदि हुँदै पुस्तकपछि ई–पुस्तकसम्मको यात्रा जारी छ । यस यात्राका क्रममा लेखकहरूको सङ्ख्यामा पर्याप्त वृद्धि हुँदै गएको छ भने पाठकको सङ्ख्या अपेक्षाकृत सन्तोषजनक छैन । एकाध प्रकाशन गृहहरू हुँदा थोरै पुस्तकहरू प्रकाशित हुन्थे र त्यतिबेला पुस्तक प्रकाशन गरेर लेखकका रूपमा परिचित हुनु निकै गौरवको विषय मानिन्थ्यो ।

जस्तातस्ता व्यक्ति लेखकका रूपमा उदाउन सक्तैनथे र त्यस्ता लेखकलाई रुचाउने पाठकहरूको सङ्ख्या पनि अत्यधिक हुन्थ्यो । प्रकाशन गृहहरूको वृद्धिसँगै लेखक र तिनका कृतिहरूको सङ्ख्यामा पनि वृद्धि त हुँदै गयो तर तिनलाई पढिदिने पाठकको सङ्ख्यामा ह्रास आउन थाल्यो । लेखक बढ्नु तर पाठकको सङ्ख्या अपेक्षाकृत दुब्लाउँदै जानु गम्भीर चिन्ताको विषय हो । धेरैजसो लेखकहरू अझै पनि पाठकको रुचि कस्तो छ भनेर सर्वेक्षण नगरीकनै कृतिलेखनमा अग्रसर हुने गर्छन् । पाठकको सङ्ख्यामा क्रमशः वृद्धि गर्दै जाने हो भने लेखक र प्रकाशक दुवैले पाठकको रुचिलाई पनि अध्ययन–विश्लेषण गरेर लेखन र प्रकाशनमा ध्यान दिनु आवश्यक छ ।

नवलेखकमा पुस्तक उपहारको मोह

लेखक जन्मिन निकै गाह्रो हुन्छ र अझ स्रष्टा जन्मिन त झनै मुस्किल हुन्छ तर वर्तमानमा स्रष्टा र लेखक दुवैलाई एउटै कोटिमा राख्ने गरिएकाले वास्तविक स्रष्टाहरूलाई पाठकले चिन्नै नसक्ने परिस्थिति निम्तिएको छ । महाभारतका स्रष्टा व्यासजी हुन् भने महाभारतका लेखक गणेशजी मानिन्छन् । स्रष्टा जति सृजनशील हुनुपर्छ लेखकमा त्यस्तो सृजनशीलता अपेक्षित हुँदैन ।

यस किसिमको अन्तर केलाउने विषयमा न आजका पाठकले चासो दिएका छन् न त प्रकाशक नै यसबारे गम्भीर बन्न सकेका छन् । त्यसैले गुणस्तरीय कृति कुन हो वा कुन कृति बढ्ता सृजनशील छ भन्ने कुरा सोच्ने फुर्सद नै नहुँदा नयाँ नयाँ लेखकहरू जन्मिन वर्तमानमा केही गाह्रो छैन तर नयाँ लेखकले मात्र होइन पुराना लेखकले पनि सच्चा पाठक पाउन गाह्रो छ ।

यस परिस्थितिमा उदाएका नवलेखकहरूले आफ्ना कृतिको मूल्यबोध नै गर्न नचाहेर वा नसकेर पुस्तक उपहार दिन रुचाउने शृङ्खला बढ्दो छ । उपहारमा हात लागेका वा सित्तैमा प्राप्त भएका चीजको विशेष महत्त्व नहुने भएका कारणले त्यस्ता कृतिहरू अत्यन्त कम मात्रामा पढिन्छन् ।

नवलेखकहरूले मात्र होइन आपैm प्रकाशक भएर छापिएका पुस्तकहरू पनि स्थापित लेखकहरूले उपहारमा दिन रुचाएको पाइन्छ । त्यसरी उपहारमा दिइएका पुस्तकहरू एकदुई महिना वा वर्ष दिनपछि चनाचटपटेका हातमा पुगेको पनि कतिपय लेखक स्वयंले देख्ता पीडाबोध गर्नुपरेको परिस्थिति छ । आपैmले सृजना गरेका कृतिहरू आफ्नै छोराछोरीजस्तै प्रिय हुन्छन् र तिनलाई उपेक्षापूर्वक रछ्यानमा फालिएको देख्ता जुनसुकै लेखकको मन दुःखी हुनु अस्वाभाविक होइन ।

तसर्थ संस्थागत पुस्तकालयलाई लेखक स्वयंले आफ्ना कृतिहरू उपहार स्वरूप प्रदान गर्नु समुचित नै भए पनि व्यक्तिगत उपहारको मोहलाई नवलेखकले मात्र होइन स्थापित लेखकहरूले पनि अन्त्य गर्दै जानुपर्छ ।

गुलाबको फूलको सट्टा पुस्तक उपहार

प्रत्येक वर्ष फेब्रुअरी १४ का दिनलाई भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस भनेर विश्वभर चिनिन्छ । त्यस दिन नेपालमा मात्रै करोडौँ रुपैयाँका गुलाबका पूmलहरू बिक्री हुन्छन् । प्रेमी–प्रेमिकाहरूद्वारा त्यस दिन वितरण गरिने रातो गुलाबको फूलको आयातमा करोडौँ नेपाली रुपैयाँ विदेशिन्छ ।
रातो गुलाबको फूल प्रेमको प्रतीक मानिने भएकाले प्रेमी–प्रेमिकाले एकआपसमा साटासाट गर्नु नराम्रो त होइन तर रातो गुलाबको पूmलमा नेपाल आत्मनिर्भर नभएका कारण रातो गुलाबको फूलकै लागि ठूलो रकम विदेशिनु निश्चय नै राम्रो होइन । सन् २०१२ देखि प्रत्येक वर्ष प्रेम दिवसका दिन अन्तरराष्ट्रिय पुस्तक दिवस पनि मनाउन थालिएको छ भने नेपालमा यस किसिमको दिवस मनाउने परम्पराले २०१५ देखि निरन्तरता पाउँदै आएको छ ।

प्रेम दिवस केवल प्रेमी र प्रेमिकाका बीचमा सीमित रहन्छ भने पुस्तक दिवसले समुदायसँग सम्बन्ध राख्छ र पठन संस्कृतिको विकासमा विशेष सहयोग पु¥याउँछ । पाठ्यक्रममा निर्धारण गरिएका पाठ्यपुस्तक त क्रमशः पढ्न छाड्दै गएको हाम्रो समाजमा पुस्तक दिवसले निकै चेतना पैmलाउनेछ भने प्रेम दिवसका नाममा भित्रिँदै गएका कतिपय विकृतिहरूलाई निराकरण गर्न पनि सघाउनेछ ।

संस्थागत पुस्तक उपहार अभियान

प्रत्येक वर्ष नेपालमा हजारौँ लेखकका हजारौँ कृतिहरू प्रकाशन हुन्छन् र लेखक स्वयंले प्रकाशन गरेका धेरैजसो पुस्तकहरू व्यक्तिगत उपहार दिँदादिँदै सकिने स्थिति पनि छ । व्यक्तिगत रूपमा उपहार दिइएका पुस्तकहरूको सम्बन्धित धेरैजसो व्यक्तिले पूर्णतः उपयोग गरेको पनि देखिँदैन । त्यसैले हरेक लेखक स्वयंले प्रकाशन गरेका एक एक प्रति पुस्तक संस्थागत पुस्तकालयलाई उपहार स्वरूप दिने अभियान थाल्नु आवश्यक छ ।

हालै यस्तै किसिमको अभियानको थालनी पोखरास्थित पृथ्वीनारायण बहुमुखी क्याम्पसको नेपाली विभागले गरेको पाइन्छ । नेपालका हरेक लेखकसँग सम्पर्क गरी प्रत्येक क्याम्पसमा विषयगत विभागीय पुस्तकालयहरू खोल्दै जाने हो भने त्यसबाट सम्बन्धित विषयका विद्यार्थी तथा अनुसन्धाताहरू पनि निकै लाभान्वित हुनेछन् ।

त्यसका साथै लेखक स्वयंले विगतमा प्रकाशन गरेका पुस्तकको आफ्नै जीवनकालमा एक प्रति पुस्तक पनि आपैmसँग नहुने परिस्थिति ननिम्तियोस् भन्नका लागि समेत संस्थागत पुस्तक उपहारको अभियानमा हरेक लेखकले अवश्य पनि सहयोग नपु¥याउलान् भन्न सकिँदैन ।

ई–पुस्तकालयप्रति बढ्दो आकर्षण

सूचना र प्रविधिको द्रुततर विकासका कारण दिन प्रतिदिन पाठकहरूको रुचि छापा पुस्तकभन्दा ई–पुस्तकप्रति बढ्दै जान थालेको छ । सङ्ग्रह गर्न सहज, बोकेर हिँड्नुपर्ने झन्झटबाट मुक्त, जति बेला चाहे पनि सहजै पढ्न सकिने, आफूले पढ्न चाहेको पुस्तक सहजै खोज्न सकिने, स्वदेश वा विदेशका जुनसुकै कुनामा पनि पहुँच पुग्ने आदि कारणले गर्दा ई–पुस्तकप्रति पाठकहरूको रुचि बढेको हो ।

त्यसैले प्रत्येक लेखकले आफ्ना प्रकाशित कृतिहरू साझा ई–पुस्तकालयजस्ता ई–पुस्तकालयहरूलाई पाठकीय सेवाका लागि उपलब्ध गराउन उपयुक्त देखिन्छ भने ई–पुस्तकालयहरूले पनि यथासम्भव लेखकहरूलाई लेखकस्व उपलब्ध गराउँदै जाने सोचको विकास गर्नु आवश्यक   छ ।

पुस्तकालय छन् तर पाठक छैनन्

केही वर्ष अघिसम्म शैक्षिक संस्थाअन्तर्गतका पुस्तकालयमा र सार्वजनिक पुस्तकालयमा पाठकहरूको बढ्ता भीड लाग्ने गथ्र्यो तर सूचना र प्रविधिको द्रुततर विकाससँगै ‘पुस्तकालय छन्, पाठक छैनन्’ भन्ने समाचारहरू पढ्न सबै बाध्य हुनुपरेको छ । हाल क्याम्पस तहका पुस्तकालयबाट विद्यार्थीले आफ्नो पाठ्यक्रममा निर्धारण गरिएका पुस्तकबाहेक अन्य पुस्तक पढ्न छाडिसकेका छन् भने सार्वजनिक पुस्तकालयमा पनि प्रायः सेवानिवृत्त शिक्षक र कर्मचारीको न्यून उपस्थिति देख्न सकिन्छ ।

पठन संस्कृति नै हराउँदै जान थालेका कारण विद्यमान पुस्तकालयहरू नै बन्द हुन लागेको वर्तमान अवस्थामा पनि नयाँ नयाँ पुस्तकालयहरू खोल्ने क्रमसमेत रोकिएको छैन । जबसम्म विद्यालय तहदेखि नै पाठ्यक्रममा राखिएका पुस्तकबाहेक अन्य सन्दर्भ पुस्तकहरू पनि पढ्नु आवश्यक छ भन्ने चेतना फैलाइँदैन र पुस्तकालयमा नयाँ पुस्तक मात्र थपिरहनुभन्दा पुस्तकालयप्रति पाठकलाई कसरी आकृष्ट गर्न सकिन्छ भन्ने विषयमा गम्भीर विचार–विमर्श गरिँदैन तबसम्म नयाँ पुस्तकालयहरू खोल्नुको औचित्य रहँदैन भने विद्यमान पुस्तकालयको सदुपयोग पनि गर्न सकिँदैन ।

बैठान

ज्ञानको वितरण र ग्रहणको मुख्य माध्यम ठानिएका पुस्तक र पुस्तकालयहरू क्रमशः उपेक्षित हुँदै जानु निश्चय नै गम्भीर चिन्ताको विषय हो । सूचना र प्रविधिको द्रुततर विकासले ई–पुस्तक पढ्न र श्रवण गर्नसमेत सकिने सुविधा उपलब्ध हुनुलाई सकारात्मक कदम ठान्न सकिए पनि त्यसकै प्रभावले छापा पुस्तक र पुस्तकालयको महत्त्वलाई न्यून हुँदै जानु विचारणीय छ ।

छापा पुस्तकबाट जति प्रभावकारी पढाइ ई–पुस्तकबाट हुन सक्तैन । गम्भीर अध्ययन र अनुसन्धानमा प्रवृत्त हुनका लागि छापा पुस्तक र पुस्तकालयकै उपयोग गर्नुपर्ने हुँदा पुस्तक र पुस्तकालयको उपयोगिताका बारेमा व्यापक जनचेतना अभिवृद्धि गर्दै जानु आवश्यक छ ।

लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् ।