आफैले आफैलाई टिका र जमरा लगाएको दशैं, यस्तो दशै कसैलाई नआओस् [अनुभूति]

अलि हल्का रुघा, अलि घाँटी खसखस झै भयो अफिस बाट बिदा लिएर घर बसें । निकै डर नि लागि रहेको थियो। तातो पानी, बेसार पानी, बाफ लिदै २/४ दिनमै ठिक भएको महसुस भयो तर अफिस जान थालौ भन्ने लागेपनि कता कता मनमा डर भने कायम रह्यो।

कतै मलाई कोरोना लागेको त छैन, लागेको भए त अरूलाई सर्ने सम्भावना हुन्छ। त्यसो भयो भने त म कसैले भने पनि नभने पनि अपराधी ठहर्न सक्छु। यस्तै यस्तै कुरा खेल्न थाल्यो।

घरमा त म केहीमहिना पहिले देखि नै परिवारका सदस्यभन्दा अलग्दै अाइसाेलेसन मा बसिरहेकी थिए। परिवारका सदस्यहरुले पटक–पटक भनिरहनु भयो -बैंकका कर्मचारीहरु निकै जोखिममा छन् तिमीलाई पनि कोरोना नलाग्ला भन्न सकिन्न अब छुट्टै बस्नु पर्छ। मलाई पनि लाग्यो -मैले नै भन्नुपर्ने कुरा अविभावकले भन्नुभएको छ। त्यसैले परिवारको सुरक्षाका लागि छुट्टै बस्नु पर्छ ।

छुट्टै बस्न पनि थालियो। तर, एक दिन होईन दुई दिन होईन यसरी कैलेसम्म छुट्टै बस्ने, यो कोरोनाको अन्त्य एक/दुई महिनामै होला र? भन्दै आफ्नो बालहठ देखाउन भने पछि पर्दिनथे।

झगडा गरिरहेपनि छुट्टै बस्ने क्रमलाई भने आचारसंहिता नै बनाएर बसेकि थिए। अफिसमा पनि सुरक्षित हुने प्रयार गरिरहेकै थिए। यसबीचमै लक्षण देखिएर ज्वरो ठिक भयो। ज्वरो ठिक भएपनि किन आएको थियो ज्वरो थाहा पाएर ढुक्कले हिड्न पाइन्छ नि भन्ने लागेर पीसीआर परीक्षण गर्ने निधो गरे र कार्तिक दुईगते परीक्षणका लागि काठमाडौ मोडल अस्पताल गएर स्वाव दिएर आँए।

स्वाव दिएर आएपछि मनमा खुल्दुली बढिरहेको थियो। रात भर निन्द्रा लागेन, समय समयमा उठेर मोवाइल हेर्थे- रिपोर्ट चाडै आउँछ भनिएकाले रिपोर्ट आयो कि भनेर।

तर, मेरो निन्द्रा मात्र विग्रियो रिपोर्ट आएन। आर्को दिन त रिपोर्ट आउँला नि भन्ने थियो तर दिन प्रतिक्षा गर्दैमा बित्यो त्य दिन पनि रिपोर्ट आएन। तेस्रो दिन अब त अति नै भयो भनेर आफै गए रिपोर्ट लिन।

त्यहाँ पुगेपछि त ओहो ! रिपोर्ट लाइन देखेँर अचम्ममा परे। रिपोर्ट मोवायलमा आउँछ भन्ने त विज्ञापन मात्र रहेछ। रिपोर्ट त आफै लिन जान पर्ने रहेछ। म्यासेज त कहाँबाट आउनू।

कता कता डर नि लागिरहेको भएपनि म ठिकै छु रिपोर्ट त नेगेटिभ नै आउँछ होला भन्ने लाग्थ्यो। डराइ डराइकन रिपोर्ट लिनेको लाइनमा उभिए। करिव आधा घण्टापछि मेरो रिपोर्टको पालो आयो- रिपोर्ट हेर्छु त पोजेटिभ।

रिपोर्ट देख्दा सुरुमा विश्वासै लागेन। त्यसपछि दिमागले काम नै नगर्ला जस्तो भयो। परीक्षण गरेको जानकारी दिएकी हुनाले घरपरिवार देखि अफिसका सहकर्मीहरुको फोन आएको आयै थियो। सबैको साझा जिज्ञासा -रिपोर्ट के आयो ?

घरमा डराई डराई भने रिपोर्ट त पोजेटिभ आयो। घरबाट ढाढस आयो -के भयो त पोजेटिभ आए, राम्रोसँग केयर गरेर बस्नुपर्छ पर्छ नेगेटिभ आइहाल्छ नि। यतिमात्र सुन्दा पनि धेरै राहत महसुस भयो। हिम्मत बढ्यो र सरासर घरमा आएर दुईमहिना अघि देखि बस्दै आएको कोठाभित्र पसे।

घरका सदस्य निकै सचेत हुनुहुन्थ्यो। राम्रो खानपिनसँगै निकै राम्रो हेरचाह पाएँ। तर नजिकिदै गरेको दशैं अर्को चिन्ताको विषय बन्यो। दशैमा पनि परिवारका सदस्यसँगै बस्न र रमाउन मात्र हैन टिका लाउन र आशिर्वाद थाप्न समेत पाइदैन भन्ने चिन्ताले मन बुझाउदासमेत छोडन मानेन।

मैले मन बुझाउदासमेत नछोडेको चिन्ताकै जीत भयो -विजया दशमीसको दिन सबैजना बसेर टिका लाउन थाले, म भने बन्द कोठामै बस्न बाध्य भए। सबैले टिका लाएको देख्दा मनले त मान्दै मानेन संक्रमितलाई मान्यजनले टिका लाइदिने कुरा पनि भएन।

टाढैबाट टिका र जमरा दिनुभयो अनि ऐना हेर्दै आफैँ आफैलाई टिका लगाए। मेरो जीवनमा यो नयाँ दशै बन्यो -आफूले आफैलाई टिका जमरा लगाएर मनाएको। यस्तो दशै विगतमा त आएको थिएन। भविश्यमा पनि नआओस् मलाई मात्र हैन कसैलाई नआओस्।

परिवारको राम्रो हेरचाह, आफुले पनि स्वस्थ जीवनशैली अपनाए। बिहान अलि छिटो उठेर योगाभ्यास, प्रणायाम गर्नु मेरो दैनिकी बन्यो। पानी तातो मात्र पिउने अभ्यास बन्यो, बेसार पानी पटक पटक पिउने गरे। दिनमा तीन/चार पटक बाफ लिनु पनि दैनिकी मै जोडियो।

खाना केही दिन नमिठो भएजस्तो भएनपि विस्तारै समान्य भन्दा धेरै भोक लाग्न थाल्यो। बनाइदिने मान्छे भएपछि म यसरी खान थालेकी परावारका सदस्य समेत जिस्क्याउन थाले -तलाई कोरोना लागेको कि अरु नै केहि भएको भन्दै।

खाना पानी अनि समय समयमा अक्सिजन लेभल हेर्ने काम। सुरुमा पट्यार लाग्दो दैनिक यिनै काम गरेर पनि व्यस्त जस्तै हुँदो रहेछ। परीक्षणको १२औं दिन फेरि खसखस बढ्यो र परीक्षण गराउने निर्णय गरे। १४ दिन पुरा गरेर परीक्षण गराउने धैर्यता मलाई किन पनि रहेन भने ज्वरो त परीक्षण अघि नै ठिक भइसकेको थियो अन्य लक्ष्यण पनि केही थिएनन्। त्यसैले परीक्षणका लागि पुन उहि मोडल अस्पतालतिर लम्किए।

टेस्ट गराए र आए रिपोर्ट ‘नेगेटिभ’ आयो। अनि मान्यजन साथिहरु र शुभचिन्तकलाई फोन र म्यासेजमार्फत जानकारी गराउन थाले ‘अव म कोरोना मुक्त भए/ थाहा पाउनुभयो -मैले १२ दिनमै कोरोना जिते। १२ दिन अघि मेरो होस हवास उडाउने कोरोना अव मेरो शाहस देखाउने विषय बनिसकेको थियो।

विज्ञानमा भएका अनुसन्धानले भन्छ कोरोना सामान्य रोग होइन। तर, मेरो अनुभवले भन्छ सावधानी अपनाए कोरोना पराजित गर्न गाह्रो छैन । हौसला र आत्मबल एकदमै महत्वपूर्ण हुँदोरहेछ। त्यही हौसला र आत्मबल दिने मेरा परिवारका सदस्यलाई हृदयदेखि नै धन्यवाद। शुभचिन्तक, कार्यालयका सहकर्मी र अग्रजहरुलाई पनि हौसला र न्यानो मायाका लागि धेरै धेरै धन्यवादसहित आभार।

अब म बैकको नियमित काममा फर्किएकी छुँ। सदाझैं सेवाग्राहिको सेवामा समर्पित भएकी छु। नागरिक सेवा मेरो धर्म हो। नियमित काम मेरो लागि पूजा हो। यिनै पवित्र काम मेरो जीवनको अभिन्नता।
लेखक जानु ओझा एक बैकमा कार्रत छन्।