१६ चैत्र २०८०, शुक्रबार

बुटवलका १६ वर्षीय जुम्ल्याहा दाजुभाईले बनाए ट्राफिक रोबोट,यसरी सघाउँछ ट्राफिकलाई

प्रकाशित मिति :  19 November, 2020 3:59 pm


रुपन्देही,४ मंसिर ।

बुटवलका जुम्ल्याहा दाजु भाई हुन्– लव र कुश पन्थी । यी दाजुभाईले सानै उमेरमा प्रविधिको क्षेत्रमा छलाङ मारिसकेका छन् । विशेषगरी रोबोट निर्माणमा पोख्त यी दाजुभाईले अहिलेसम्म ४ वटा रोबोट बनाइसकेका छन् । अहिले उनीहरु ट्राफिक रोबोट निर्माणमा व्यस्त छन् । जुन अन्तिम चरणमा पुगेको लवकुश बताउँछन् ।

उमेरले भर्खरै १६ वर्ष पुगे । तर, उनीहरुको लगाव र सक्रियता भने एउटा वयस्क युवा भन्दा कम छैन । त्यही लगावकै प्रतिफल मान्नुपर्छ उनीहरुले निर्माण गरेको रोबोटले सफलता पाउँदै आएको छ । अहिले निर्माणाधिन ट्राफिक रोबोटले पनि सर्वत्र चर्चा पाइरहेको छ ।

केही समय अघि बुटवलमा उनीहरुको घरमा प्रहरीहरु भाडामा बसेका थिए । ट्राफिक प्रहरी दैनिक सडकमा उभिएर दिनरात खटिएका देख्दा रोबोटको माध्यमबाट कतै सहज बनाउन त सकिँदैन भनेर उनीहरुले सोचे । त्यसपछि उनीहरुले ट्राफिक रोबोट बनाउने निधो गरे । त्यसका लागि इस्टिमेट गर्न थाले । बजेट एकदमै धेरै निस्कियो । रोबोट तयार गरेर सडकमा राख्ने बेलासम्मको बजेट करिव १५ लाख रुपैयाँ निस्कियो । त्यसपछि उनीहरुले परिवार, आफन्तलाई ट्राफिक रोबोटको कन्सेप्ट सुनाए । परिवार भित्र र आफन्तले गरी करिव ८ लाख रुपैयाँ सहयोग जुट्यो । त्यसपछि उनीहरु ट्राफिक रोबोट बनाउन खटिए ।

सुरुमा पहिला रोबोट बनाउँदा ल्याएका सामान प्रयोग गरेर बनाउन थालेको लव बताउँछन् ।”सुरुमा हामीले पहिला बनाएका सामानहरु प्रयोग गरेर बनाउन सुरु गर्‍यौं,”उनले भने, ‘रोबोट बनाउन सुरु गरेको केही महिनामै कोरोना कहर आयो, त्यसपछि भने हामीलाई सामान जुटाउन केही समस्या भयो । अनलाइनमार्फत भएपनि सामान अर्डर गरेर अहिले अन्तिम चरणमा आइपुगेका छौं ।”

उनीहरुले बनाउन लागेका ट्राफिक रोबोटका लागि बुटवल उप–महानगरपालिकाले केही दिन अघि मात्र २ लाख रुपैयाँ अनुदान दिएको छ । अन्तिम चरणमा पुगेको ट्राफिक रोबोट पूर्ण तयार भएर सडकमा राख्नका लागि अझै ५ लाख रुपैयाँ लागत लाग्ने लवकुश बताउँछन् । “हामीले सुरुमा आफन्त परिवारको आर्थिक सहयोगमा रोबोेट बनाउन सुरु गरेका हौं, पछि हामीलाई बुटवल उपमहानगरपालिकाले पनि २ लाख रुपैयाँ अनुदान दियो,”उनीहरु भन्छन्,”यो तयार भएर सडकमा राख्न अझै ५ लाख रुपैयाँ खर्च हुन्छ । यदि कोहि दाताले हामीलाई सहयोग गर्नुभयो भने छिट्टै सञ्चालनमा ल्याउँछौं ।”

उनीहरुले यो रोबोटको नाम “लवकुश ट्राफिक रोबोट’ राखेका छन् । यो रोबोटलाई बुटवलबाटै सुरु गरेर देशभर राख्ने उनीहरुको सोच छ । जसका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक कार्यालय, वुटवल इलाका प्रहरी प्रशासन लगायका विभिन्न निकायमा रोबोटबारे जानकारी दिइसकेको लवकुश बताउँछन् ।”हामीले रोबोटका बारेमा सम्बन्धित निकायहरुमा प्रिजेन्टेसन गरिसकेका छौं,”उनीहरु भन्छन्, “हामीले यी निकायहरुबाट आवश्यक अनुमति पनि पाइसकेका छौं र सबै हाम्रो कार्यप्रति निकै सकारात्मक र उत्सुक हुनुहुन्छ ।”

४–५ कक्षामा अध्ययन गर्दा देखि नै सूचना प्रविधिमा चासो राख्ने उनीहरुले कक्षा ९ मा अध्ययन गर्दा नै गो–गो रोबोट बनाएका थिए । त्यसपछि उनीहरुले गो–गो रोबोट–टु बनाए, त्यसपछि नेपाली भाषामै बोल्न सक्ने रोबोट बनाए । यस्तै कोरोना कहरकै बीचमा यी दाजुभाईले गो कोरोना रोबोट बनाए । जसले आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई खाना, औषधि पुर्‍याउने काम ग¥थ्यो । अहिले उनीहरुले बनाएको यो ट्राफिक रोबोटले सडकमा दिनरात खटिने ट्राफिक प्रहरीलाई धेरै राहत पुग्ने र ट्राफिक नियमको जनचेतना फैलाउन समेत यसले ठूलो भूमिका खेल्ने उनीहरुको विश्वास छ ।

लवकुश ट्राफिक रोबोटका विशेषता

ट्राफिक प्रहरीले हातको इसाराबाट २४ सै घन्टा ट्राफिक व्यवस्थापन गर्नुपर्ने हुँदा प्रहरीमा देखा पर्ने मानवीय समस्या, थकान, धुलो धुवाँबाट स्वास्थ्यमा पार्ने असर, मानसिक तनाव व्यवस्थापन, क्षमता विकास नहुने, व्यक्तिगत असुरक्षा जस्ता समस्या समाधान गर्ने र सडकमा खटिने ट्राफिक प्रहरी जनशक्तिको बचत गर्ने यसको मूख्य विशेषता हो । यस्तै, यसले ट्राफिक नियम उल्लंघन गर्नेलाई हाल कारवाही गर्दा ट्राफिक प्रहरीले देखे भेटमात्र कारवाही गर्ने अवस्थामा रहेकोमा यस रोबोटको माध्यमबाट सवारी साधनको फोटो खिची कन्ट्रोल रुममा पठाउने, पैदल यात्रीलाई बाटो काट्दा जेब्रा क्रसिङ वा आकाशे पुलको मात्र प्रयोग गर्न लगाउँछ । जसले गदा प्रभावकारी तरिकाले कारवाहीको दायरामा ल्याउन सकिन्छ ।

ट्राफिक रोबोटको माध्यमबाट ट्राफिक जनचेतना जगाउन सकिने, तीव्र गतिमा सवारी चलाउने, ट्राफिक संकेत इसारा उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कारवाही गर्न सहयोग पु¥याउने, रोबोटले ट्राफिक प्रहरीलाई सूचना दिई कार्यालयमै बसेर काम गर्न सक्ने समग्र सूचना प्रविधिको व्यवस्थापनमा सहयोग गर्नेछ । रोबोटले सडकमा गुडिरहेका सवारीको संख्या यकिन गर्ने र ट्राफिक जामलाई व्यवस्थापन गर्न सहयोग पु¥याउने यसका मूख्य विशेषता रहेको उनीहरु बताउँछन् ।-नेपाल अटो डटकमबाट

 



प्रतिक्रिया दिनुहोस !