८ बैशाख २०८१, शनिबार

हाप्किडो खेलमार्फत देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने अठोट गरेका छौँ : अध्यक्ष घर्ती

प्रकाशित मिति :  21 November, 2020 12:57 pm


नेपाल मार्शल आर्ट्स हाप्किडो संघ एक सक्रिय खेल संघ हो । स्थापना भएको छोटो समयमै हाप्किडोले नेपालमा राम्रो सञ्जाल विस्तार गरिसकेको छ । नेपालमा हाप्किडो खेल र यसको विकासबारे संघका संस्थापक अध्यक्ष  तथा दक्षिण एसिया हाप्किडो महासंघको समेत अध्यक्ष रहेका  कालीबहादुर घर्ती मगरसँग गरिएको कुराकानी :

हाप्किडो कस्तो खेल हो ? यो खेल कसरी खेलिन्छ ?

हाप्किडो कोरियाली मार्शल आर्ट्स हो । दक्षिण कोरियाबाट सुरु भएको यो खेल कला विश्वका प्रायः देशमा संस्थागत रुपमा अघि बढिरहेको    छ । यो एउटा आधुनिक खेल कौसल हो । हाप्किडोलाई मार्शल आर्ट्समा एक नरम शैलीको खेल मानिन्छ । जसले बलकोबिरूद्ध बलको प्रयोगको अभ्यास गर्दछ । हाप्किडो खेलमा जोइन्ट लक, थ्रोइङ, फलिङ, स्ट्राइकिङ, किक, पन्च, चाकु, नान चाकु र हतियारको प्रयोग हुन्छ ।

यो खेलमा आत्मा रक्षाको विभिन्न कौसल सिकाइन्छ । यो खेलले अनुशासन, विकास र गतिशीलतामा विश्वास गर्दछ । यो खेल विश्वभरमा आत्मारक्षा गर्ने खेलको रुपमा परिचित छ । एकपटक तपाईले हाप्किडो सिक्नुभयो भने तपाईं प्रायः जस्तो सुकै अवस्थामा आफैलाई बचाउन सक्नुहुनेछ ।

नेपालमा यो खेल भित्रिएको धेरै भएको छैन, अहिलेसम्म कति जिल्लामा शाखा गठन भयो ?

केन्द्रीय संघ अन्तर्गत सातै प्रदेशमा शाखा स्थापना भइसकेको छ । यस्तै, ५४ जिल्लामा पनि कार्यसमिति तय भएका छन् । आगामी दिनमा ७७ जिल्लामै शाखा विस्तार गर्ने योजना छ । यो चाढै नै पूरा गर्ने छौं । सबै जिल्लामा संघ गठन भएपछि प्रत्येक जिल्लामा जिल्ला प्रशिक्षकहरुबाट प्रशिक्षण हुने छन् । हामी खेल र खेलाडीको विकासका लागि आगामी दिनमा अझ सशक्त रुपमा लाग्ने छौं ।

भौतिक पूर्वाधारको बारेमा पनि केही सोच्नुभएको छ ?

हामीले भौतिक पूर्वाधार निर्माणमा पनि प्रयास थालिसकेका छौं । हामीले विभिन्न जिल्लाहरुमा कभर्डहल र आधुनिक सुविधा सम्पन्न भवनहरु निर्माण गर्ने तयारी गरेका छौं । हामीले संघ स्थापना गरेर मात्रै हुँदैन, खेलाडी र उनीहरूले अभ्यास गर्ने ठाउँको पनि विकास गर्नुपर्छ भन्ने बुझेका छौँ । हामी यही उद्देश्यले काम गर्ने छौं ।

हाप्किडो खेलको लक्ष्य र उद्देश्य के हो ?

हाप्किडो खेलको माध्यमबाट स्वस्थ, सक्षम र अनुशासित खेलाडी र नागरिक तयार गर्ने हाम्रो उदेश्य हो । यसले खेलकुद क्षेत्रलाई मर्यादित र प्रतिस्पर्धात्मक त बनाउने नै छ । यसले देशको युवा जनशक्तिमा ठूलो योगदान पुर्‍याउने छ । हामी हाम्रा खेलाडीहरुलाई नियमित रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी गराउने छौं ।

खेलकुदमा लागेर भविश्य बिग्रन्छ भन्ने मानसिकता अहिलेपनि छ । हाप्किडोमा लागेका खेलाडीलाई के भन्नुहुन्छ ?

हामीले ‘स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारालाई आत्मसाथ गरेका छौं । हामी खेलमार्फत नै चेतना, जागरण, उत्पादन, व्यवसायीकरण, रोजगारी, परिवर्तन, विकास, समृद्धि र सिक्षामा जोड दिने छौं ।

शिक्षाविना खेलकुद र खेलाडीको भविस्य सुनिश्चित गर्न मुस्किल छ । खेल खेल्न इच्छा र चाहना हुनेहरुलाई आर्थिक कारणले खेलबाट बिमुख हुन नपरोस् भन्ने हाम्रो उदेश्य रहेको छ । यस संघले विभिन्न प्रतियोगिता, सेमिनारहरू शहरमुखी मात्रै होइन, गाउँमुखी पनि बनाएका छौं । हरेक खेलको विकास कुनै पनि ठाउँमा एक दिनमा हुने होइन ।

लामो समयसम्म सबैको त्याग, समपर्ण, अनुशासन र मिहेनतले स्थापित हुने गर्दछ । त्यसैले हामीले हाप्किडो खेलमार्फत देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने अठोट गरेका छौँ।

हाप्किडो खेललाई जनजीवनको अभिन्न अंग बनाउन चाहन्छौं, जसबाट खेलाडीको वर्तमान र भविश्य पनि सुनिश्चित हुने छ । शारीरिक, मानसिक, बौद्धिकता र नैतिकताासँग जोड्न चाहन्छु । हाप्किडो खेलबाट आम युवा खेलाडीमा सकारात्मक सोचको विकास बनाउने उद्देश्य लिएका छौं । यसबाट खेलाडी आफै पनि भविष्य खोज्न सक्षम हुने छन् ।

नेपालमा मार्शल आर्ट्सका अरु धेरै खेलहरु छन् । तपाईंले यस हाप्किडो खेललाई नै अनुसरण गर्नुको कारण चाही के हो ?

पहिलो कुरा म सामाजिक अनुशासन र आत्मरक्षाका लागि मार्शल आर्ट्स आवश्यक हो भन्ने कुरामा विश्वास गरेको छु । हाप्किडो खेलबाट हरेक मान्छे प्रशिक्षित हुँदै जादा समाव सुरक्षित राख्न मद्धत पुग्ने छ । यो एकदमै अनुशासित मार्शल आर्ट्स हो । यसले विकाससँगै सामाजिक अनुशासन पनि कायम हुने छ ।



प्रतिक्रिया दिनुहोस !