स्वार्थले प्रश्रय पाउँदै गएको परोपकार

उठान:

दुनियाँ दिनप्रतिदिन स्वार्थी बन्दै गएको छ । भौतिकवादमा बढ्ता रमाउन थाल्दै जाँदा आज प्रत्येक मान्छेले आफैलाई चिन्न छाडिसकेको छ भने आफ्नो परिचयसमेत गुमाउँदै जान थालेको छ । मानवजीवन स्वार्थका लागि नभई परार्थका लागि हो भन्ने कुराको चिन्तन र मनन गर्ने फुर्सद आजका मान्छेले निकाल्नै सकिरहेको छैन ।

खोल्न त परार्थ वा परोपकारका लागि भनेर अनेकौँ संघसंस्थाहरू नखोलिएका होइनन् तर त्यस्ता अधिकांश संघसंस्थाहरूभित्र पनि परार्थभन्दा स्वार्थले नै बढ्ता प्रश्रय पाउँदै गएको देखिन्छ । स्वार्थ र आत्मसुखका लागि परपीडन गर्न रमाउँदै जान थालेको वर्तमान दुनियाँमा परार्थ र परोपकार दिनप्रतिदिन महँगिदै गएको छ । यस विषम परिस्थितिमा परोपकारका कुराको चर्चा–परिचर्चा गर्नु सान्दर्भिक नभए तापनि मौन समर्थन गर्न नसक्नेहरूले परोपकारको चर्चा गर्नु अत्यावश्यक छ ।

परोपकारका लागि प्रकृतिको प्रेरणा :

प्राकृतिक चीजहरूले हामीलाई परोपकार गर्न प्रेरित गर्दै आएका छन् । सूर्यले स्वार्थका लागि नभएर परोपकारका लागि प्रकाश छर्दै आएको छ, अन्धकारलाई नष्ट गर्दै आएको छ । चन्द्रमाले पनि रातको अन्धकारलाई मेट्तै शीतल प्रकाश फिँजाउँदै आएको छ । वृक्षहरूले पनि आपैmले उपभोग गर्न र आफ्नै लागि नभएर परार्थ वा परोपकारका लागि फलफूलहरू प्रदान गरिरहेका छन् । नदीहरू पनि आफ्नो स्वार्थका लागि होइन, परार्थका लागि नै बगिरहेका छन् ।

वर्षा हुँदा पनि आफ्ना लागि नभएर लोककल्याणका लागि भइरहेको छ । त्यति मात्र होइन अचेतन ठानिएका गाईभैंसीले पनि स्वार्थका लागि नभई परार्थ वा परोपकारका लागि दूध दिइरहेका छन् । चेतनशील मान्छेको संसार जतिसुकै स्वार्थी र परपीडनका लागि रमाउँदै जान थाले पनि अचेतन पशुपंक्षी, नदीनाला, फलफूल, चन्द्रसूर्य आदिले मानव जीवन स्वार्थ र परपीडनका लागि नभएर परार्थ र परोपकारका लागि हो भन्ने बारम्बार प्रेरणा र मार्गदर्शन गर्दै आएका छन् ।

पुण्यका लागि परोपकार:

सबैजसो धर्मग्रन्थहरूमा परोपकारको विशेष महत्त्व बताइएको छ । परोपकार नै सम्पूर्ण उपदेशको सार मानिन्छ । परोपकारद्वारा नै संसारको कल्याण हुन्छ भने शान्ति र सुख पनि परोपकारकै माध्यमद्वारा प्राप्त हुन्छ । महर्षि वेदव्यासले अठार पुराणहरूको रचना गरे । ती सबै पुराणहरूको सारका रूपमा उनले पुण्य कमाउनु छ भने परोपकार गर र पाप आर्जन गर्नु भने परपीडन वा अर्कालाई दुःख देऊ भन्ने दुई कुरा बताएका छन् ।

वर्तमान दुनियाँमा भित्रभित्रै परपीडन गर्न रुचाउनेहरू नै आडम्बरका रूपमा परोपकार गर्ने व्यक्ति ठहरिँदै जान थालेका छन् । वास्तविक परोपकारी व्यक्ति को हो र परपीडन गर्न रुचाउनेहरू को को हुन् भनेर पहिचान गर्न अत्यन्त कठिन छ तापनि हामीले गम्भीर भएर विचार गर्ने प्रयत्न गरिरह्यौँ भने त्यस्ता व्यक्तिलाई चिन्न गाह्रो हुने छैन ।

परोपकारको भावनाले नै दधीचिले देवताको हितका लागि आफ्ना हड्डीहरूसमेत दान दिए । शिवि राजाले परेवाको रक्षा गर्नका लागि व्याधालाई आफ्नो मासु प्रदान गर्न पछि परेनन् । यसरी अर्काको हितका लागि आफ्नो सर्वस्व त्याग गर्न सक्ने महान् व्यक्तिहरू संसारमा अत्यन्त थोरै    छन् ।

यस्ता व्यक्तिहरूबाट हामीले आफ्नो प्राण र आफ्नो धन नै त्याग गरेर पनि परोपकार गर्नुपर्छ भन्ने नैतिक सन्देश त प्राप्त गरि नै रहेका छौँ र सयौँ यज्ञयागादि गर्नुभन्दा परोपकार गर्नु सबैभन्दा ठूलो धर्म हो भन्ने कुरा पनि हामीले सुन्दै आएका छौँ । तसर्थ हामीमा अन्तर्हृदयदेखि नै परोपकारको भावना जागृत हुनुपर्छ र आपूmभित्र त्यस्तो भावना जागृत हुन सकेका खण्डमा मात्र हामीले आफ्नो परिवार र समाजमा परोपकारको व्यावहारिक सन्देश पनि प्रवाहित गर्दै जान सक्नेछौँ ।

अर्काको उन्नतिमा प्रसन्नता :

आफ्नो उन्नति र प्रगति हुँदा त सबै खुसी र प्रसन्न हुन्छन् नै । जो अर्काको उन्नतिमा पनि आफ्नै उन्नति भएको देखेर रमाउन सक्छन् वास्तवमा त्यस्तै व्यक्तिलाई परोपकारी व्यक्ति भनेर हामीले चिन्न सक्नुपर्छ । हामी आफ्नै उन्नतिमा मात्र रमाउन र अर्काको उन्नति हुँदा ईष्र्या गर्न थाल्यौँ भने हामीमा कहिल्यै पनि परोपकारी भावनाको उदय हुन सक्तैन ।

प्रत्युपकारको अपेक्षाविहीन परोपकार :

हामी दिनप्रतिदिन स्वार्थमा मात्र केन्द्रित हुँदै जान थाल्यौँ । हामीले गर्ने हरेकजसो कर्महरूको प्रतिफल चाख्न हामी निकै लालायित हुन थाल्यौँ । हामीले बाह्य रूपमा कसैको परोपकार गरिहाल्यौँ भने पनि त्यस्तो परोपकार विनिमयको अपेक्षा राख्ने खालको हुन थाल्यो । प्रत्युपकारको अपेक्षा राखेर गरिने जुनसुकै परोपकारलाई वास्तवमा परोपकार नै ठान्न सकिँदैन । कुनै अपेक्षा राखेर गरिने कर्मले हामी आपैmलाई दुःखी बनाउँदै जान्छ । तसर्थ निरपेक्ष भावले हामी आआफ्ना कर्ममा र कर्तव्यमा संलग्न भइरहनु आवश्यक छ ।

जति लियौँ त्यति दिन सकौँ

हामीमध्ये धेरैले लिन मात्र जान्यौँ तर दिन सकेनौँ, दिने संस्कार बसाल्नै सकेनौँ । हामीले लिन जानेपछि दिन पनि जान्नुपथ्र्यो, हामीले धेरै दिन नसके पनि यस संसारबाट जति अहिलेसम्म लियौँ कमसेकम त्यति त दिन सकौँ भन्ने भावना आफूमा विकसित गर्नु जरुरी छ । लिने मात्र बानी बस्ता हामी कृतघ्न ठहरिनेछौँ । दिने पनि बानीको विकास गर्न सक्यौँ भने हामीमा कृतज्ञ भाव विकसित हुँदै जान सक्नेछ । हामीले यस संसारबाट जति लिन्छौँ त्यो सबै यही संसारमा बाँचुन्जेल उपयोग गर्ने हो तर हामीले जति दिने बानीको विकास गर्न सक्छौँ त्यति हामी यस संसारबाट बिदा भएर पनि जीवन्त रहन सक्नेछौँ ।

त्यसैले लिनु क्षणिक हो भने दिनु दीर्घकालीन मानिन्छ । त्यसो नहुँदो हो त महान् व्यक्तित्वहरूले आफू बाँचुन्जेल निकै दुःखकष्ट सहेर पनि आफू नरहँदा आफूलाई बचाउने योगदानका कारण जीवन्त भइरहन सक्ने थिएनन् । लिनु भनेको खर्चिनु रहेछ भने दिनु भनेको बैँकको बचत वा मुद्दती खातामा जम्मा गरेको रकमजस्तै बचत भइरहँदो रहेछ भन्ने कुराको चिन्तन गर्नु आवश्यक छ । हामीले लिनका लागि सयौँ हातको उपयोग गर्‍यौँ भने दिनका लागि हजारौँ हात पैmलाउनुपर्नेमा आफ्ना दुवै हात मात्र पनि फैलाउन सकेनौँ ।

दिएर बिर्सन सकौँ

दान दिनु भनेको कुनै यज्ञ वा पूजापाठ लगाएर ब्राह्मणलाई निर्धारित चीजहरू मात्र दिनु भनेको होइन, दानलाई त विशाल अर्थमा लिन र व्याख्या–विश्लेषण गर्न हामी तत्पर हुनुपर्छ ।

हामी दिनप्रतिदिन स्वार्थी बन्दै गएका कारण हामीमा दिएर सम्झिरहने तर लिएर बिर्सिहाल्ने बानी बसिसकेको छ । जब हामी आपूmमा क्रमशः परार्थी वा परोपकारी भावना जागृत गराउन थाल्छौँ तब हामी दिएर बिर्सन र लिएर कहिल्यै नबिर्सन थाल्नेछौँ ।

कसैको कुनै चीज लिइहाल्यौँ भने त्यसलाई प्रत्यक्ष वा प्रकारान्तरले फिर्ता गर्न हामी तत्पर हुनुपर्छ तर आफूले सानो वा ठूलो जेजस्तो दान र योगदान दिए पनि त्यसको कुनै चर्चा–परिचर्चा गर्नु हुँदैन किनभने कुनै पनि दान र योगदानको हामी आफैले जति चर्चा–परिचर्चा गर्छौं त्यसको महत्त्व र गरिमा पनि त्यत नै क्रमशः न्यून हुँदै जान्छ । तसर्थ हामी आफूले दिएर बिर्सन र अरूलाई पनि त्यस्तै किसिमको परोपकारी भावना जागृत गराउँदै जानुपर्छ ।

मनुष्य जीवन अरूकै लागि:

हामी सबै प्राणीहरूभन्दा श्रेष्ठ र चेतनशील ठानिन्छौँ । अचेतनशील प्राणीहरूमा त प्राकृतिक रूपमा नै परार्थी वा परोपकारी भावना जागृत भइरहेको हामीले देखेका छौँ भने हामी चेतनशील प्राणीमा त्यस्तो भावना जागृत हुन अपरिहार्य छ ।

हाम्रो जीवन त केवल हाम्रै लागि होइन रहेछ, हाम्रो जीवन त अरूकै लागि समर्पण गर्नुपर्दो रहेछ किनभने जब हामी स्वार्थमा केन्द्रित हुन्छौँ तब हामी अत्यन्त दुःखी र निराश हुँदै जान्छौँ तर जब हामी परार्थ वा परोपकार गर्न अग्रसर हुन थाल्छौँ तब हामीमा क्रमशः सुख र आशावादको सञ्चार हुँदै जान्छ । तसर्थ हामीले आफ्नो जीवन अरूकै उपकारका लागि समर्पित गरेर मात्र हामी जीवन रहँदा र नरहँदा पनि जीवन्त बनिरहन सक्नुपर्छ ।

प्रार्थनाभन्दा सेवा नै उत्तम :

हामीले कुनै देवीदेवता वा व्यक्तिको प्रार्थना गर्नु भनेको आपैmले केही न केही पाउनका लागि हो, आफ्नै स्वार्थपूर्तिका लागि हो भने सेवा गर्नु भनेको आफ्ना लागि नभएर अर्काका लागि हो ।

कुनै पनि व्यक्तिको स्तुतिगान गर्न थाल्यौँ भने हामी आफै कमजोर हुन सक्छौँ अनि हामीमा विद्यमान उत्साह र जाँगर नै क्रमशः विलीन हुँदै जान सक्छ तर हामी कसैको सेवा वा परोपकार गर्न आफूलाई क्रियाशील बनाइरह्यौँ भने हामीमा कुनै पनि नकारात्मक भावनाको उदय हुने अवसर नै आउँदैन, हामीमा सदैव उत्साह र जाँगर सञ्चार भइरहन सक्छ, हामी स्थितिशील होइन गतिशील भइरहन सक्छौँ अनि हामीले आफ्नो जीवनमा ‘सेवा नै परम धर्म हो’ भन्ने मूलमन्त्र जपिरहन सक्छौँ ।

बैठान :

स्वार्थ पूरा गर्न हामीलाई कसैले मार्गदर्शन गरिरहनु पर्दैन तर अर्काको उपकार वा भलाइ गर्न हामीलाई अरूले नै बारम्बार प्रशिक्षित गरिरहनुपर्छ । हामीले कसैले परोपकार गर्न प्रेरित नगरे पनि नदीनाला, फलपूmल आदि प्रकृतिको दर्शन, मनन र चिन्तन गरेर हामीले आपूmमा परोपकारको भावना जागृत गर्न सक्छौँ ।

अर्काकै उपकार गरेर हामीले महान् पुण्य कमाउन सक्छौँ । अर्काकै उन्नति भएको देखेर प्रसन्न हुन सक्छौँ । प्रत्युपकारको अपेक्षा नराखीकन अर्काको भलाइ गरिरहन समर्पित हुन सक्छौँ । यस संसारबाट जति लिएका छौँ त्यसभन्दा बढ्ता यही संसारलाई दिन सक्छौँ । लिएर सम्झन र दिएर सधैँ बिर्सन थाल्छौँ ।

मनुष्य जीवन अर्काकै लागि रहेछ भनेर आफूभित्र स्वार्थको उदय हुनै दिने छैनौँ । परोपकार वा सेवा नै सर्वोत्तम धर्म रहेछ भनेर हामीले आफ्नो जीवन परोपकार वा सेवामै समर्पित गर्न सक्नेछौँ । त्यसपछि मात्र हाम्रो परपीडनको दुनियाँ क्रमशः परोपकार गर्न ब्युँझनेछ र परोपकार सस्तो हुँदै परपीडन महँगो हुनेछ ।

कोभिड–१९ जस्ता महामारीमा अलपत्र परेका व्यक्तिहरूलाई निःशुल्क खाना खुवाउँदा ठूलो वा सानो कुनै पनि सरकारले बन्देज लगाउने दुस्साहस गर्ने छैन । तसर्थ हामीले आफ्ना पाइला सदैव परपीडनतर्पm होइन परोपकारतर्फ बढाइरहन सक्यौँ भने आफ्नो परिवार अनि समाजका पाइला पनि परोपकारतर्फ नै अग्रसर गराइरहन सक्नेछौँ ।

लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् ।