१० फाल्गुन २०७७, सोमबार

लेखक, प्रकाशक र पाठकको अन्तरसम्बन्ध

प्रकाशित मिति :  १३ मंसिर २०७७, शनिबार ०९:४१


उठान :
ज्ञानको भण्डारण, वितरण र ग्रहणमा लेखक, प्रकाशक र पाठकको त्रिकोणात्मक अन्तरसम्बन्ध रहनु आवश्यक मानिन्छ । कल्पना वा अनुभूति जुन माध्यमबाट भए पनि लेखकले आफ्नो बौद्धिक लगानी गरेर ज्ञानको भण्डारण गर्छ भने त्यसरी भण्डारण गरिएको ज्ञानलाई प्रकाशकले आर्थिक लगानी गरेर पाठकसमक्ष पुर्‍याउने प्रयत्न गर्छ ।

गुणात्मक अन्तर होला तर संसारमा रहेको कुनै पनि मान्छे पीडारहित छैन । त्यसैले लेखक, प्रकाशक र पाठकहरू पनि पीडारहित हुन नसक्नु स्वाभाविक छ । कहिलेकाहीँ दुःख वा पीडाको पहिचान गर्न सकियो र विरेचन गर्ने प्रयत्न गरियो भने दुःख वा पीडामा पौडिरहे पनि सुखको अनुभूति गर्न सकिन्छ भने विरेचनकै अभ्यासले गर्दा मान्छे क्रमशः एकअर्काप्रति सशङ्कित हुन पनि छाड्दै जान सक्छ । लेखक, प्रकाशक र पाठकका एकअर्काबीच विद्यमान आशङ्काहरू हटाउँदै जान सकिएमा मात्र ज्ञानको उचित भण्डारण, वितरण र ग्रहण गर्न सम्भव देखिन्छ ।

लेखकमा सृजनशीलता :

ब्रह्माले झैं विभिन्न सृजना गर्ने भएका कारण लेखकलाई पहिला पहिला स्रष्टा भनिन्थ्यो । पूर्वीय वाङ्मयका अधिकांश ग्रन्थहरू पद्यात्मक रूपमा नै लेखिएका कारण लेखकलाई कवि भनेर पनि सम्बोधन गरिन्थ्यो । वर्तमानमा कवि भन्नाले कविता वा काव्य लेख्ने व्यक्तिलाई हामीले चिन्ने गरेका छौँ भने कतिपय लेखकलाई स्रष्टा वा सर्जक भनेर चिनाउन पनि हामीले छाडेका छैनौँ ।

स्रष्टा वा सर्जक स्वयं सृजनशील हुनुपथ्र्यो भने लेखकलाई प्रतिलिपिकार वा निर्देशनअनुसार लेख्ने लिपिक ठानिन्थ्यो तर वर्तमान समयमा अधिकांश व्यक्तिले स्रष्टा वा सर्जकभन्दा लेखक शब्दको नै प्रयोग गर्न रुचाउँदै आएका छन् । हरेक लेखक लिपिक वा प्रतिलिपिकार नभई सृजनशील हुनुपर्छ भन्ने दृष्टिकोण विकसित हुँदै गएका कारण लेखक, स्रष्टा र सर्जक शब्द पर्यायवाची शब्दका रूपमा प्रयोग गरिँदै आइएको  छ ।

लेखक कस्तो हुनुपर्छ ?

लेखकको मुख्य धर्म भनेको नव नव सृजना गर्नु नै हो तर वर्तमानका अधिकांश लेखकमा सृजनशीलताभन्दा आडम्बरी प्रवृत्तिले बढ्ता प्रश्रय पाउँदै जान थालेको देखिन्छ । स्वार्थ र आफ्नो सुखलाई विशेष महत्त्व दिन रुचाउने कुनै पनि लेखक महान् र लोकप्रिय बन्न सक्तैन । त्यस्ता स्वार्थी लेखकका सृजनाबाट समाजको उन्नति होइन अवनति हुने डर भएकाले हरेक पाठक सजग रहनुपर्छ ।

आफ्नो कल्पना र अनुभूतिलाई आफ्नै मस्तिष्कले फिल्टर गरेर बाँड्न सक्ने लेखक नै सदैव दूबोझैं मौलाउँदै जान्छन् भने बाँड्न नचाहने र नसक्ने व्यक्ति क्रमशः ओइलाएर जान्छन् । त्यसैले हरेक लेखक निरन्तर अध्ययनशील र भ्रमणशील हुनुपर्छ ।

ससाना विषयलाई पनि विशेष महत्त्व दिएर तिनमा प्राणसञ्चार गर्ने काम लेखकले बाहेक अरू कसैले गर्न सक्तैन । हरेक लेखकले सत्यतालाई लेखनको मुख्य आधार बनाउनुपर्छ भने लेखक स्वयंले आफ्ना हरेक लेखनलाई आफै पाठक बनेर सर्वप्रथम मूल्याङ्कन गर्ने प्रयत्न पनि गर्नुपर्छ ।

लेखकीय समस्या :

हाम्रो जस्तो समाजमा एउटा सच्चा लेखक जन्मिनलाई निकै सङ्घर्ष गर्नुपर्छ । निकै साधनापूर्वक तयार गरेका फुटकर रचनाहरू प्रकाशन गर्न लेखक निकै भौंतारिनुपर्छ । प्रकाशन गर्नका लागि लामो प्रतीक्षामा बस्ता पनि आफ्ना रचना प्रकाशन नभइदिँदा लेखक थप रचनाहरू लेख्न अग्रसर नहुनु अस्वाभाविक होइन ।

प्रकाशन भइहाले पनि लेखकले आफ्ना रचनाको सामान्य पारिश्रमिक पनि पाउन सक्तैन तर सच्चा लेखकले आफ्ना रचनाहरूलाई उत्कृष्ट ठानेर पढ्ने र मन पराइदिने पाठकहरू भेट्न थाल्दा लेखकको विशेष हौसला बढ्दै जान्छ । लेखकलाई प्रत्यक्ष रूपमा नचिन्ने पाठकले पनि लेखकलाई हार्दिक सम्मान भने गरिरहन्छन् । त्यस्तै अदृश्य र अपरिचित पाठकहरू नै लेखकका अमूल्य सम्पत्ति हुन पुग्छन् ।

पुस्तकको आकार दिन पुग्ने केही प्रकाशित र केही अप्रकाशित फुटकर रचनाहरू सङ्कलित भएपछि लेखकका मनमा साहित्यिक सन्तान जन्माउने दृढ इच्छा जागृत हुन्छ तर जस्तोसुकै उत्कृष्ट कृति ठहरिन सक्ने सम्भावना रहे पनि कुनै पनि नयाँ लेखकको कृतिलाई प्रकाशकहरूले पत्याइदिँदैनन् ।

अन्ततः लेखकले आफू र आफ्ना परिवारका रहरहरू खुम्च्याएर भए पनि आफैले आर्थिक लगानी गरी पुस्तक प्रकाशन गर्छ । पठन संस्कृतिको विकास नभइसकेको हाम्रो समाजमा नयाँ लेखक भएका कारण उसको कृति किनेर पढिदिने पाठक भेटिँदैनन् र अन्ततः सित्तैमा पुस्तक वितरण गर्न नयाँ लेखकहरू बाध्य हुन्छन् ।

बाध्यतावश त्यसरी निःशुल्क वितरण गरिएको पुस्तक पढिदिने पाठक भेटिहाल्न पनि नयाँ लेखकलाई मुस्किल पर्छ र आफ्ना धेरैजसो पुस्तकहरू लेखकले आफ्नै घरमा थन्क्याउन बाध्य हुनुपर्छ । एउटा कृति प्रकाशन गरिसकेपछि आर्थिक लाभको त कुरै छाडौँ पाठकहरूसमेत प्राप्त हुन नसके पनि धेरैजसो लेखकहरू अर्को कृति प्रकाशन गर्ने रहरको खेती गर्न रुचाउँछन् ।

लेखकको आर्थिक स्थिति कमजोर हुँदै गए पनि कृति प्रकाशनको लहर फैलिँदै जान्छ, जसका कारण धेरैजसो नवलेखकहरू कृति प्रकाशन गरिरहने रहरबाट सन्न्यास लिन रुचाउँदैनन् ।

आफैले केही कृतिहरू प्रकाशन गरिसकेपछि लेखकहरू कृति प्रकाशनका लागि नाम चलेका प्रकाशकको ढोका ढक्ढक्याउन पुग्छन् तर लेखकस्व पाउनुपर्नेमा उल्टै प्रकाशकस्व दिएर कृति प्रकाशन गर्नुपर्ने बाध्यतामा पनि लेखकहरू रहेका देखिन्छन् ।

वैयक्तिक प्रकाशनबाट लेखकका रूपमा स्थापित भइसकेका लेखकलाई प्रकाशकले पत्याएर कृति प्रकाशन गरिदिए पनि लेखकस्व पाउने सन्दर्भमा धेरैजसो लेखकहरूले आफू प्रकाशकबाट ठगिएको गुनासो गर्छन् ।

नाम चलेका राम्रै प्रकाशकले आफ्नो कृतिका हजारौँ प्रतिहरू प्रकाशन गरे पनि आफूलाई एक हजार प्रति पुस्तक मात्र प्रकाशन भएकाले त्यसको न्यूनतम लेखकस्व दिएर पन्छिने गरेको गुनासो पनि लेखकहरूले सुनाउने गर्छन् भने पुस्तक खरिद गर्ने पाठकले पनि ‘यति महँगो पुस्तक’ भनेर गुनासो गरिरहन भने छाड्दैनन् । लेखकको क्षमता र दक्षतालाई विचार गरेर प्रकाशकले बजार सुहाउँदो मूल्य राखी कृतिलाई पाठकसमक्ष पु¥याउँदै जाने हो भने लेखकीय केही समस्याहरू निराकरण हुँदै जाने थिए ।

इमानदार प्रकाशकको अपेक्षा :

हाम्रा आदिकवि भानुभक्त आचार्यका पालासम्म प्रकाशकको अत्यन्त खडेरी परेको थियो तर मोतीराम भट्टका पालादेखि प्रकाशकहरू जन्मिन थालेकाले नेपाली लेखकका कृतिहरू सहज रूपमा हजारौँ पाठकहरूसमक्ष पुग्न पाएका हुन् । थोरै लेखक र थोरै प्रकाशक हुँदा पाठकका दृष्टिमा लेखक र प्रकाशक दुवै अत्यन्त सम्मानित हुँदै आएका थिए तर जब लेखक र प्रकाशकहरू बढ्दै गए तब प्रकाशकहरू पाठकीय सेवाभावभन्दा आर्थिक आर्जनमा बढ्ता केन्द्रित हुन थाले ।

यद्यपि कुनै पनि प्रकाशकले आफ्नो जीविका चलाउनकै लागि प्रकाशन संस्थामा आर्थिक लगानी गरेको हुन्छ तथापि लेखकको बौद्धिक श्रमको शोषण गरेर चर्को मूल्य राखी पाठकबाट समेत आर्थिक शोषण गर्ने केही प्रकाशकको दुष्प्रवृत्तिले गर्दा प्रकाशकप्रति लेखक र पाठक दुवै वर्गको उपेक्षाभाव देखिनु अस्वाभाविक होइन । कतिपय कृतिहरू यस्ता पनि हुन्छन् जो बढ्ता विज्ञापन गरिएकै भरमा पाठकले किन्न त रुचाउँछन् तर दुईचार पृष्ठ पढ्दा पाठकको मनलाई आकृष्ट गर्न नसक्ता ‘यो किताब त व्यर्थैमा किनिएछ’ भन्ने पश्चात्ताप गर्न पाठकहरू बाध्य हुनुपर्छ । कतिपय यस्ता कृतिहरू विमोचन कार्यक्रममा उपस्थित हरेक सहभागीले किनिदिनैपर्ने बाध्यताका कारण सहभागीले किन्न त किनिदिन्छन् तर रुचिकर नभएका कारण नपढिएरै दराजको शोभा बढाउन सीमित हुन्छन् ।

लेखकले पाठकको रुचिलाई ध्यानमा राखेर पनि कृतिहरू तयार गर्नुपर्ने हो र लेखकले त्यस विषयमा कम ध्यान दिए भने पनि लेखकलाई सल्लाह र सुझाव दिएर प्रकाशक कृति प्रकाशनका लागि अग्रसर हुनपर्ने हो तर त्यसो नहुँदा पाठकका दृष्टिमा प्रकाशकले आफ्नो इमानदारी गुमाउँदै गएको देखिन्छ । स्थापित लेखक वा मदन पुरस्कार पाएका सबै लेखकका थप कृतिहरू उत्कृष्ट नै हुन्छन् भन्ने भ्रममा प्रकाशक नपरिदिने हो भने पनि पाठकका दृष्टिमा प्रकाशकले इमान गुमाएको जस्तो ठहरिने थिएन ।

स्थापित लेखकलाई एउटा हातले लेखकस्व बाँड्ने र नयाँ लेखकबाट अर्का हातले प्रकाशकस्व लिएर कृति प्रकाशन गर्न खोज्दा पनि लेखकका दृष्टिमा प्रकाशकले आफ्नो इमान कायम गर्न सक्तैनन् । पहिलो मात्र होइन दोस्रो र तेस्रो संस्करणमा समेत हजारौं कृति प्रकाशन गर्दा विक्री वितरण राम्रो भइरहे पनि ‘तपाईंको पुस्तक त एक हजार प्रति मात्र छापिएको हो र पहिलो संस्करण नै राम्रोसँग विक्री भइसकेको छैन’ भनेर लेखकलाई झुक्याउने प्रकाशकले लेखकबाट क्रमशः आफ्नो इमान गुमाउँदै जान्छन् ।

एकदुई जना प्रकाशकले इमान गुमाउँदै गएपछि अधिकांश लेखकले सबैजसो प्रकाशकप्रति नकारात्मक दृष्टि राख्तै जाने भएकाले लेखकका दृष्टिमा मात्र होइन आम पाठकका दृष्टिमा समेत आफूले आफ्नो इमान त गुमाउँदै गएको छैन ? भनेर हरेक प्रकाशकले आत्मसमीक्षा गरिरहनु आवश्यक छ ।

अध्ययनशील पाठकको अपेक्षा :

लेखक र प्रकाशकले पाठकसम्म पुर्‍याउने उद्देश्यले कृतिको लेखन र प्रकाशन गर्छन् । उपभोक्ताहरू भइदिएनन् भने जसरी जतिसुकै राम्रो सामानको पनि महत्त्व हुँदैन त्यसैगरी पाठकको अभावमा कृति जतिसुकै महत्त्वपूर्ण भए पनि त्यसले व्यापकता र आफ्नो अस्तित्व सुरक्षित गर्न सक्तैन ।

यदि लेखकले जीवन्त कृति लेखेको छ भने त्यसका पाठकहरू सयौं वर्षपछि पनि भेटिन सक्छन् तर नेपाली साहित्यका सन्दर्भमा भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, माधव घिमिरे आदिले जस्तै सबै लेखकलाई सदैव पाठक पाइरहने सौभाग्य भने प्राप्त हुँदैन । तसर्थ नवलेखकले मात्र होइन स्थापित लेखकले पनि समसामयिक विषयवस्तुमाथि मात्र होइन दूरदर्शी बनेर जीवन्त विषयवस्तुमाथि कलम चलाउने प्रयास गर्दै जानु आवश्यक छ र त्यस्तो प्रयास जारी राख्तै जान सकेका खण्डमा पाठकले कुनै पनि लेखकका कृतिलाई तिरस्कार होइन पुरस्कृत गर्दै जानेछन् ।

पठन संस्कृतिको योजनाबद्ध समुचित विकास नभइरहेका कारण हाम्रो समजामा पुस्तकको मूल्य र महत्त्व स्थापित हुन सकिरहेको छैन । त्यसका लागि किन पढ्ने ? कस्तो पुस्तक पढ्ने ? कसरी पढ्ने ? केका लागि पढ्ने ? जस्ता जिज्ञासाहरूको उठान गर्ने पाठकहरूको पहिचान र विस्तार गर्दै जानु आवश्यक छ ।

यस किसिमका जिज्ञासु पाठकहरूलाई नै क्रमशः अध्ययनशील बनाउँदै जान सकिन्छ । जिज्ञासा नै ज्ञानको जननी भएकाले जिज्ञासु पाठकको पहिचान र विस्तार गर्दै जान सकेका खण्डमा कुनै पनि लेखकले ‘मेरो कृतिका पाठकहरू नै पाइएनन्’ भन्ने परिस्थिति रहिरहने छैन भने हरेक प्रकाशकले पनि ‘तपाईंको कृति छाप्न त हुन्थ्यो तर यस्ता कृति पढ्ने पाठकहरू नै भेटिन छाडिसके’ भन्ने गुनासो लेखकहरूसँग गरिरहनुपर्ने छैन ।

बैठान :

सूचना र प्रविधिको द्रुततर विकासले गर्दा पुस्तक पढ्ने बानीमा क्रमिक रूपमा ह्रास आउन थालेको छ भने अनलाइन पत्रिका र ई–पुस्तकालयप्रति पाठकको रुचि बढ्दै जान थालेका कारण छापा पुस्तकप्रति रुचि देखाउने पाठकहरूको सङ्ख्यामा कमी आउँदै गएको हो । यस परिस्थितिमा ई–पत्रिका, ई–पुस्तकालय र सुन्ने पुस्तक (अडियो बुक)–लाई पढाइ र ज्ञानका वैकल्पिक स्रोत मान्न सकिए पनि उपलब्ध भएसम्म पढाइ र ज्ञानका लागि छापा पत्रिका र छापा पुस्तकजस्तो भरपर्दा स्रोत अरू भेट्टाउन सकिँदैन ।

त्यसैले सूचना र प्रविधिले छापा पत्रिका र छापा पुस्तक पढ्ने संस्कारमा ह्रास आउन थाल्यो भनेर लेखक र प्रकाशक बढ्ता चिन्तित भइरहनुपर्दैन । कस्ता कृतिहरू तयार गर्दा मैले वर्तमान र भावी पाठकहरूको मन जितिरहन सक्छु ? भन्ने चिन्तन गरेर हरेक लेखक निरन्तर अध्ययनशील भई लेखनरूपी तपस्यामा संलग्न भइरहने हो भने प्रकाशक र पाठकले कुनै पनि लेखकका कृतिलाई मन पराउन छाड्ने परिस्थिति आउँदैन ।

पाठकहरूले पनि मन पराएर खोजी खोजी पुस्तक पढिदिन थाले भने प्रकाशकहरूसमेत व्यापारी सोचमात्र नराखेर लेखकीय सम्मान र पाठकीय सेवाभावमा समर्पित हुनेछन् अनि प्रकाशकबाट लेखकहरूले आफ्नो बौद्धिक श्रमशोषण हुँदै गएको गुनासो पनि गरिरहनुपर्ने छैन । त्यसै गरी पाठकहरूले पनि लेखकले हाम्रो रुचिलाई ध्यानमा राखेर लेखिदिएनन् अनि प्रकाशकले पनि पुस्तकको बढ्ता मूल्य राखेर हामीलाई सकी नसकी पुस्तक किन्न बाध्य बनाए भनेर गुनासो पोखिरहनुपर्ने अवस्था आउँदैन ।

जब लेखक, प्रकाशक र पाठकका बीचमा सुमधुर रूपमा त्रिकोणात्मक अन्तरसम्बन्ध पुष्पित र पल्लवित हुँदै जान्छ तब मात्र हरेक लेखकले आफ्नो लेखनलाई आफ्नो जीविकोपार्जनको माध्यम बनाउन सक्नेछन्, प्रत्येक प्रकाशकहरू आफ्नो व्यवसायप्रति सन्तुष्ट र इमानदार हुँदै जानेछन् अनि हाम्रा लागि लेखक र प्रकाशकले कहिले कुन कृति हातमा पारिदेलान् ? भनेर नयाँ नयाँ कृति पढ्न पाठकहरू पनि व्यग्र प्रतीक्षामा बस्तै जानेछन् भन्ने कुरामा आशावादी हुन सकिन्छ ।

– लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् ।

 



प्रतिक्रिया दिनुहोस !