१२ श्रावण २०८१, शनिबार

नेपालले बासमती धानमा आफ्नो अधिकार दाबी गर्दै युरोपियन युनियनलाई पत्र पठायो

प्रकाशित मिति :  10 December, 2020 7:36 am


काठमाडौं,२५ मंसिर ।

नेपालले बासमती धानको भौगोलिक संकेत(Geographical indication) मा आफ्नो हक अधिकार दाबी गरेको छ । भारतले आफ्नो एकल अधिकारका लागि युरोपियन युनियनमा निवेदन पेश गरेपछि नेपाल सरकार विरोध जनाउँदै आफ्नो अधिकार रहेको जिकिरसहित दाबी विरोध गरको हो ।

भारत र पाकिस्तानबीच यस विषयमा १४ वर्षदेखि लडाइँ जारी छ । युरोपियन युनियनले भने सन् २००६ मा आफ्नो विशेष नियम अनुसार भन्दै बासमती चामललाई भारत र पाकिस्तानको संयुक्त उत्पादनको मान्यता दिएको थियो । तर, भारतले यसलाई अस्वीकार गर्दै आफ्नो एकल स्वामित्व दाबी गरेपछि पाकिस्तानसँग विवाद चर्किएको छ भने नेपालले समेत आफ्नो दाबी विरोधसहित निवेदन पेश गरेको छ ।

नेपालले कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय कृषि आनुवंसिक श्रोत केन्द्र मार्फत दाबी गरेको हो । दाबी गर्ने समय आजसम्म थियो । बासमती धानको भौगोलिक संकेत(Geographical indication) हक अधिकार स्थापित गर्न भारतले युरोपियन युनियनमा निवेदन पेश गरेपछि अस्ति मात्रै उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकारवालाको बैठकले बाममतीमा नेपालको समेत हक स्थापित हुनुपर्ने भएकाले सो प्रयोजनका लागि नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक श्रोत केन्द्र,खुमलटार मार्फत तोकिएको म्यादभित्र दाबी विरोध गर्ने निर्णय गरेको थियो ।

कृषि सचिव योगेन्द्रकुमार कार्कीले बासमती चामलमा नेपालको हक स्थापित गर्ने बताए । उनले भने “यसको उत्पादन नेपालको तराईंदेखि पहाडी भेगसम्म उत्पादन हुन्छ । हामीले छलफल गरेपछि अन्तराष्ट्रिय कानुन अनुसार कुनैपनि व्यक्ति,संस्था वा सरकारले दाबी विरोध गर्ने सक्ने अधिकार रहेकाले हाम्रोपनि हक छ भनेर दाबी गर्ने निर्णय गरेका हौं । अरु देशको के छ भन्ने भन्दापनि हामीले हाम्रो देशकोपनि बासमती धानमा हक हुनुपर्छ भन्ने हो ।”

उनले नेपाल सरकार बासमती धानमाथी हाम्रो हकमा कहिँकतै कमी नहुँने गरि अझै बढी सजग र सचेत भएर लाग्ने बताए ।

पाकिस्तानले पनि यसै हप्ता त्यहाँका प्रधानमन्त्रीका वाणिज्य सल्लाहकार अब्दुल रजाक दाउदको अध्यक्षतामा बसेको बैठक बसेर बासमती धानमा भारतले भौगोलिक संकेत हक दाबीविरुद्ध उजुरी गर्ने निर्णय गरेको थियो । पाकिस्तानले बासमती धानमाथी आफ्नो अधिकार दाबी गर्ने निर्णयपनि गरेको छ । पाकिस्तानमा बासमती चामल ठूलो परिमाणमा उत्पादन हुने गरेको भन्दै यसमा दिल्लीलाई दाबी गर्ने अधिकार नभएको बताएको छ । भारतले एकल रुपमा बासमती धानको भौगोलिक संकेत हक अधिकार स्थापित गर्न गत सेप्टेम्बर ११ मा युरोपियन युनियनमा निवेदन पेश गरेको थियो ।

भारतले बासमती चामल भारतमा उत्पति भएको यद्यपी यस्तै खाले धान पाकिस्तानमा उत्पादन हुने गरेकाले उसको हक नहुने तर्क गरेको छ । पाकिस्तानको वाणिज्य मन्त्रालयले भने ५ लाख देखि ७ लाख टन बासमती चामल विश्वका विभिन्न देशहरुमा निर्यात गर्ने गरेकोमा युरोपियन युनियन मुलुकहरुमा मात्रै २ लाखदेखि २ लाख ५० हजार टन निर्यात हुने गरेको तथ्य सार्वजनिक गरेको छ ।

बासमती धानबारे नेपालको दाबीमा के छ ?

नेपालले विभिन्न १३ वटा कारणसहित बासमती धानमाथी भौगोलिक संकेत दाबी गरेको छ । बासमती चामल नेपालमा परापूर्वकालदेखि नै उत्पादन विक्रि र प्रयोग हुने गरेको भन्दै यहाँकै रैथाने भएको दाबी युरोपियन युनियनमा गरेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय बैज्ञानिकहरुले नेपालको तल्लो भागमा बासमती चामलको उत्पति भएको विषय प्रकाशित गरेको पनि दाबी विरोधमा उल्लेख छ ।

बासमती धानको सम्बन्ध नेपालको सांस्कृतिक तथा सामाजिक मुल्यसँग समेत जोडिएको उल्लेख गरिएको छ । नेपालमा सन् १९६० देखि नै बासमती धानसँग सम्बन्धित परियोजना सञ्चालन भएको र यसको उत्पादनका लागि नार्कलेसमेत स्थानीय तहमा काम गरिरहेको उल्लेख छ ।

बासमती धानको एउटा मात्रै जात नहुँने भन्दै नेपालले इयूलाई भनेको छ, “सन् १९७० को को प्रारम्भमा नेपालका विभिन्न भागबाट मात्रै संकलन गरिएका ४७ प्रकारशका बासमती धान अन्तराष्ट्रिय आनुवंसिक बैंकमा संरक्षण गरिएको छ ।”



प्रतिक्रिया दिनुहोस !