७ बैशाख २०८१, शुक्रबार

नेपालभित्रै नेपाली भाषाको अपमान

प्रकाशित मिति :  20 December, 2020 9:39 am


उठान :

आफ्नै आमाबुवाबाट तिरस्कृत भएका सन्तानले छरछिमेकबाट पनि मायाममता पाउन नसके जस्तै नेपालभित्रै नेपाली भाषाको सम्मान हुन नसक्ता नेपाली भाषाका आम प्रयोक्ताहरूबाट नेपाली भाषाको यथोचित सम्मान हुन सकेको छैन ।

विकसित र विकासोन्मुख अन्य देशहरू आफ्नो प्रमुख राष्ट्रिय भाषाको संरक्षण र संवद्र्धनमा पूर्णतः दत्तचित्त भएका हुन्छन् तर नेपालमा नेपाली भाषाको अवस्था दिन प्रतिदिन खस्किँदै गएको छ । नेपाली भाषाको दुरवस्थाका बारेमा चिन्ता र चासो प्रकट गरिरहने जिम्मा नेपाली विषयका गुरुहरूको मात्र हो भन्ने भ्रम पनि आम प्रयोक्ताहरूमा पर्न गएको छ । यस अवस्थामा नेपालभित्रै नेपाली भाषालाई केकसरी सम्मान गर्दै जान सकिन्छ भन्ने बारेमा नेपालीभाषी सबैले गम्भीर चिन्तन गर्नु आवश्यक छ ।

सरकारको उदासीनता :

राष्ट्रको मुख्य भाषा नेपालीलाई कसरी समृद्ध र स्तरीय बनाउँदै जान सकिन्छ भन्ने विषयमा नेपाल सरकारका तीनै तहको गम्भीर ध्यानाकर्षण हुनुपर्ने हो र तिनले दीर्घकालीन योजनाहरू बनाउँदै जानुपर्ने हो तर त्यसतर्फ चासो दिइएको पाइँदैन । पञ्चायतकालमा ‘एउटै भाषा एउटै भेष’को आधिपत्यले गर्दा अन्य राष्ट्रिय भाषाहरूको संरक्षण र संवद्र्धन हुन सकेन भनेर आवाज उठिरहेका बेला सरकारले नेपाली भाषाका लागि मात्र चासो राखिरहन असम्भव रहे पनि नेपाली भाषाप्रति सरकार उदासीन रहनु उपयुक्त हुँदै होइन ।

नेपाली भाषा अन्य मातृभाषीहरूको पनि साझा सम्पर्कको भाषा भएको र नेपाली भाषामा प्रयोग भएका अधिकांश शब्दहरू अन्य भाषामा पनि प्रयोग हुँदै आएका कारण नेपाली भाषा समृद्ध हुँदै जाँदा अन्य भाषाहरू पनि क्रमशः समृद्ध हुँदै जान सक्ने प्रबल सम्भावना छ तर नेपाली भाषाप्रति नै सरकार उदासीन भइदिँदा अन्य भाषाभाषीहरू पनि आफ्नो भाषा स्तरीय र समृद्ध हुँदै जानुपर्छ भन्ने बारेमा गम्भीर हुन सकेका छैनन् ।

भाषिक विवादमा गुरुहरूको अग्रसरता :

जुनसुकै विषयमा स्वस्थ र तर्कसङ्गत विवादहरू हुनु स्वाभाविक छ किनभने ‘वादे वादे जायते तत्त्वबोधः’ अर्थात् स्वस्थ र तर्कसङ्गत विवादद्वारा नै जुनसुकै विषयको वास्तविक सारतत्त्वको बोध गर्न सकिन्छ । नेपाली भाषाका सन्दर्भमा करिब एक शताब्दीदेखि यता देखापर्दै आएका भाषिक विवादहरू मुख्यतः वर्णविन्यास वा शुद्धाशुद्धिसँग सम्बद्ध छन् । भाषिक विवादको अन्त्य गर्नमा भन्दा नेपाली भाषाका वरिष्ठ गुरुहरूको अग्रसरता आआफ्ना गुट–उपगुटहरू निर्माण गर्दै जानमा देखिएको छ, जसले गर्दा नेपाली भाषाका प्रयोक्ताहरूमा एकातिर नेपाली भाषा कहिल्यै शुद्ध लेख्न सकिँदो रहेनछ भन्ने भ्रम पैmलिँदै गएको छ भने अर्कातिर नेपाली भाषा जसरी लेखे पनि हुँदो रहेछ भन्ने भ्रम पैmलाउने तत्त्वहरू पनि सक्रिय हुँदै गएका छन् । कुनै पनि भाषाको विकासका लागि वर्णविन्यासमात्र मुख्य कुरा नभएर त्यसका संरचनागत विभिन्न तत्त्वहरूका बारेमा विशेष चिन्तन गर्दै जानुपर्ने हो तर त्यसतर्पm हाम्रा वरिष्ठ गुरुहरूले प्रयोक्ताहरूको ध्यान आकृष्ट गर्न नसकी केवल वर्णविन्यासका झिनामसिना विवादहरूमा प्रयोक्ताहरूलाई अलमल्याइदिँदा नेपाली भाषाप्रति अधिकांश प्रयोक्ताहरूको सम्मानभाव क्रमशः घट्तै जान थालेको देखिन्छ ।

शुद्धलेखनमा उच्च निकायको बेवास्ता :

मुहान धमिलिँदा मुहानबाट बग्ने पानी पनि धमिलिए जस्तै नेपालका उच्च सरकारी निकायहरूले नेपाली लेखनमा शुद्धता कायम गर्नुपर्छ भन्ने बारेमा बेवास्ता गर्ने क्रम बढ्दै जान थालेका कारण तल्ला सरकारी निकायहरूले पनि शुद्धलेखनमा चासो दिन छाड्दै गएका छन् ।

उच्च सरकारी निकाय नै शुद्धलेखनमा गम्भीर बन्न नसकेका कारण गैरसरकारी निकायहरू पनि शुद्धलेखनमा गम्भीर बन्दै जान सकेको देखिँदैन ।

मन्त्रिपरिषद्का निर्णयहरूको भाषा, सर्वोच्च अदालतका विज्ञप्ति तथा परिपत्रहरूको भाषा, नगरपालिका वा गाउँपालिकाद्वारा जारी गरिएका लिखित सामग्रीहरूको भाषा, नेपाली भाषाकै वरिष्ठ प्राध्यापक तथा शिक्षकहरूको भाषा, विभिन्न टेलिभिजनको भाषा, राष्ट्रिय दैनिक पत्रिकाहरूको विज्ञापनको भाषा आदिमा पर्याप्त भाषिक त्रुटिहरू देखिँदै जाने क्रम वर्तमानमा रोकिएको छैन बरू दिन प्रतिदिन बढ्दै गएको छ र यस्ता निकायकै सिको गरेर जानाजान वा नजानेर अधिकांश प्रयोक्ताहरू अशुद्धलेखनमा अग्रसर हुँदै जान थाल्नु निश्चय नै गम्भीर चिन्ताको विषय हो ।

नेपालभित्रै नेपाली भाषाको सम्मान गर्न नसकिनुका कारणहरूमध्ये उच्च निकाय शुद्धलेखनमा अग्रसर नभइदिनु पनि एक हो ।

त्रुटियुक्त पाठ्यपुस्तक 

अन्य विषयका तुलनामा नेपाली विषयका पाठ्यपुस्तकमा त्रुटिहरूको पुनरावृत्ति भइरहेको देखिन्छ । उदाहरणका लागि कक्षा ११ र १२ का लागि निर्धारित अनिवार्य नेपाली विषयको ‘सबैको नेपाली’ नामक पाठ्यपुस्तकको २०६७ देखि २०७७ सम्म एघारौँ संस्करण निक्लँदासमेत ‘घोष’ उल्लेख हुनुपर्नेमा ‘सघोष’ (पृ. ५) तथा कथ्य वर्णमा नरहेको णकारको उच्चारण णकार नै हुन्छ भनेर ‘ऋण’ शब्दको उच्चारण ‘रिण्/रिन्’ (पृ.१३) र ‘विशेषण’ शब्दको उच्चारण ‘बिसेसण्’ (पृ.१४) भनेर त्रुटिपूर्ण उल्लेख गरिएको पाइन्छ । त्यसैगरी हालै नयाँ पाठ्यक्रमका रूपमा कक्षा ११ मा लागू गर्न तयार गरिएको अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकमा असङ्ख्य त्रुटिहरू रहेका छन् ।

उदाहरणका लागि ‘स्वरयन्त्रमुखी’ हुनुपर्नेमा ‘स्वरमन्त्रमुखी’ (पृ.८) उल्लेख गरिएको छ । पाठ्यपुस्तक त्रुटिरहित हुनुपर्छ र एकरूपता कायम गरिनुपर्छ भन्ने बारेमा सम्बद्ध लेखकहरू र पाठ्यक्रम विकास केन्द्रको समेत गम्भीर ध्यान आकृष्ट हुन सकेको छैन । जसले गर्दा नेपाली पाठ्यपुस्तकहरूमा शुद्धता र एकरूपता कायम हुन नसकेको हो । ‘सबैको नेपाली’ नामक पाठ्यपुस्तकमा ‘वत्स्र्य/दन्तमूलीय’ र ‘अतिकण्ठ्य’ भनेर उल्लेख गरिएका वर्णहरू कक्षा ११ को अनिवार्य नेपालीको नयाँ पाठ्यपुस्तकमा क्रमशः ‘दन्तमूलीय’ र ‘स्वरमन्त्रमुखी’ भनेर उल्लेख गरिएको छ ।

पाठ्यपुस्तकमा केकस्ता त्रुटिहरू र असमानता छन् भन्ने बारेमा शिक्षक स्वयंले मूल्याङ्कन गरी सच्याएर पढाउने र समानता कायम गर्न सम्बद्ध निकायमा अनुरोध गर्नुपर्ने हो तर त्यस किसिमको चिन्ता र चासो दिने शिक्षक वर्तमानमा भेटिन छाडेका कारण पनि हाम्रा पाठ्यपुस्तकमा त्रुटिहरू र असमानताका पक्षहरू देखिँदै जान थालेका हुन्, जसलाई निराकरण गर्न सम्बद्ध लेखक र पाठ्यक्रम विकास केन्द्रको ध्यान जानुपर्ने देखिन्छ ।

पाठ्यभारमा असमानता :

२०७७ सालदेखि लागू गर्न तयार गरिएको कक्षा ११ को पाठ्यक्रममा नेपाली विषयलाई प्रतिहप्ता तीन घण्टा र अङ्ग्रेजी विषयलाई प्रतिहप्ता चार घण्टा निर्धारण गरिएको छ । यस किसिमको असमानताले गर्दा हाल अधिकांश विद्यालयले अङ्ग्रेजीलाई हप्तामा छ पिरियड र नेपालीलाई हप्तामा तीन पिरियडमा सीमित राख्न खोजेका छन् ।

एकातिर नेपाली विषयलाई विद्यालयले मात्र होइन विद्यार्थीहरूले समेत उपेक्षा गरेर सौतेनी व्यवहार गर्छन् भने अर्कातिर पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम तयार पार्दा गरिएको पाठ्यभारको असमानताले गर्दा नेपाली विषयको नै अपमान भएको अनुभूति गर्न नेपाली विषयका शिक्षकहरू बाध्य भएका छन् । धेरैजसो विद्यालयले अन्य विषय शिक्षकलाई भन्दा नेपाली विषयका शिक्षकलाई उपेक्षा वा कम महत्त्व दिने गरेको पाइन्छ । यसकारण पनि नेपाली भाषाको नेपालभित्रै सम्मान हुन नसकेको हो कि भन्ने आभास नेपाली विषयका शिक्षकलाई हुने गरेको छ ।

नेपाली विषयको उपेक्षा :

अधिकांश हामी अभिभावकहरू आफ्ना बालबच्चालाई नेपाली माध्यमबाट पढाइ हुने विद्यालयमा भर्ना गर्न रुचाउँदैनौँ र सानैदेखि अङ्ग्रेजी माध्यमबाट पढाइ हुने विद्यालयमा महँगो शुल्क तिरेर भर्ना गर्न लालायित हुन्छौँ तर हामी नै आफ्ना सन्तति नेपाली विषयमा दक्ष हुन सकेनन् भनेर गुनासो गर्न पनि पछि पर्दैनौँ । हाम्रा सन्ततिहरू न अङ्ग्रेजी विषयमा दक्ष हुन सके न त नेपाली विषयमा नै ।

सानैदेखि नेपाली विषयको उपेक्षा गरेका कारण नेपाली विषयमा दक्ष नहुनु अस्वाभाविक नभए पनि सानैदेखि अपेक्षा गरिएको अङ्ग्रेजी विषयमा समेत दक्ष हुन नसक्ता हामीले वर्तमान शिक्षा प्रणालीलाई नै दोष दिने गर्छौं । शिक्षा प्रणाली र सम्बद्ध विद्यालयहरूमात्र होइन नेपाली विषयमा हाम्रा सन्ततिहरू दक्ष हुन नसक्नुमा हामीहरू पनि जिम्मेवार छौँ भन्ने कुरातर्पm हामी गम्भीर हुन सकेनौँ । देश छाड्न रुचाउने हाम्रा सन्ततिका लागि नेपालीमा भन्दा अङ्ग्रेजीमा बढ्ता दक्ष हुनुपर्ला तर देश छाड्न नचाहेर स्वदेशभित्रै रहने र स्वदेशकै सेवा गर्न रुचाउने हाम्रा सन्ततिका लागि अङ्ग्रेजीभन्दा नेपाली विषय नै बढ्ता व्यावहारिक ठहरिन्छ ।

नेपाली भाषा बचाउन आन्दोलन नै गर्नुपर्ने अवस्था :

नेपाली भाषाको विकासका लागि सबै नेपालीहरू एकजुट भएर अघि बढ्दै जानुपर्नेमा नेपालभित्रै नेपाली भाषाको क्रमिक रूपमा विनाश हुँदै जान लाग्यो भनेर नागरिकस्तरबाट बेलाबेलामा आन्दोलन नै गर्नुपर्ने विडम्बना नेपालमा छ । नेपालका प्राज्ञिक वर्गको नेतृत्व गर्ने आधिकारिक सरकारी निकाय मानिएको नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा नेपाली भाषाको शुद्धीकरणका बहानामा जबरजस्ती लागू गर्न खोजिएको ‘नेपाली बृहत् शब्दकोश’को नवौँ संस्करण (२०७२) को खारेजीका लागि गरिएको आन्दोलन सफल भएका कारण उक्त संस्करण खारेज हुनुले प्रज्ञा प्रतिष्ठानका प्राज्ञिकहरू नै नेपाली भाषाका बारेमा संवेदनशील रहेनछन् भन्ने कुरालाई प्रमाणित गरेको छ ।

त्यसैगरी सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषालाई पूर्णतः विस्थापन गर्न जारी गरिएको आदेशका विपक्षमा नेपाली भाषाप्रेमीहरूको आन्दोलन अद्यावधि जारी रहेको छ । तसर्थ नेपाल रहँदासम्म नेपालीको अस्तित्व रहिरहोस् र नेपाली जनताको अस्तित्व रहिरहनका लागि नेपाली भाषाको संरक्षण र संवद्र्धनमा नेपाल सरकारको नीतिगत योजना सार्वजनिक हुन सकोस् भन्ने कामना नेपाली भाषाप्रेमी जनसमुदायले गर्दै आएको छ ।

बैठान :

नेपालमा जन्मेर नेपालीमा तोतेबोली सिक्तै हुर्केबढे पनि कतिपय विद्यालयभित्र नेपाली भाषा बोल्दा जरिवाना तिर्नुपर्ने बाध्यता जबसम्म रहन्छ; जबसम्म भाषिक विवादमा हाम्रा वरिष्ठ गुरुहरू गुट र उपगुटमा विभक्त हुन अग्रसर भइरहन्छन्; जबसम्म हाम्रा सरकारी उच्च निकायहरूले शुद्धलेखनमा वास्ता गर्दैनन्; जबसम्म नेपाली विषयका पाठ्यपुस्तकहरू त्रुटिरहित हुँदैनन्; जबसम्म नेपाली विषयको पाठ्यभार अन्य विषयका तुलनामा न्यून राख्ने धृष्टता गरिरहिन्छ र जबसम्म नेपाली भाषा बचाउन नागरिकस्तरबाट आन्दोलन गरिरहनुपर्ने आवस्था हुन्छ तबसम्म नेपालभित्रै नेपाली भाषाको अपमान भइरहनेछ भन्ने कुरालाई हृदयङ्गम गरी तिनको निराकरण गर्न र नेपाली भाषाप्रति सरकार तथा आम जनसमुदायको सम्मानभाव जागृत गराउनु अत्यावश्यक छ ।
लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् ।



प्रतिक्रिया दिनुहोस !