८ माघ २०७७, बिहीबार

मन्दिरभित्र जुत्ताको रजाइँ

प्रकाशित मिति :  ११ पुष २०७७, शनिबार ११:४९


उठान :

हामी मन्दिरभित्र प्रवेश गर्दा जुत्ता बाहिरै फुकाल्छौँ तर जुत्ता किन फुकाल्दा रहेछौँ भन्ने कुरामा हामीले गम्भीर विचार नै गरेका छैनौँ । जुत्ता अशुद्धताको संवाहक वा प्रतीक हो । यद्यपि जुत्ताले हाम्रा कोमल गोडाहरूलाई सुरक्षा प्रदान गर्दछ ।

जुत्ताकै सुरक्षाकवच पाएर हाम्रा गोडाहरूसँग काँडाको जम्काभेट हुन पाउँदैन र हाम्रा गोडाहरू रगताम्य हुनबाट बच्ने गर्छन् । जुत्ता लगाएर हिँड्दा हामी निश्चिन्त हुन्छौँ र गोडाहरूले पनि बढ्ता सुरक्षित भएको अनुभूति गर्छन् । जुत्ताले हाम्रा गोडाको आयु पनि बढाइदिन्छन् । तथापि जुत्ताको महत्त्व बाहिरी दुनियाँमा मात्र छ । तसर्थ जुत्तालाई हामीले पुज्न सक्तैनौँ र हाम्रो मनले पवित्र मन्दिरभित्र जुत्तालाई प्रवेश गर्न दिँदैन ।

खराउको पूजा :

यति विशाल संसारको कुनै कुनामा जुत्ताको पनि पूजा हुन्छ होला तर हामी त्यसबारेमा अझसम्म अनभिज्ञ छौँ । जुत्ताको पूजा भइरहने ठाउँका बारेमा हामी बेखबर भए पनि खराउको पूजा गरिएको कथा भने हामीहरू धेरैले सुनेका र पढेका पनि छौँ । राजाका रूपमा राज्याभिषेक हुन लागेका राम वनवास जानुपर्ने अवस्था र भरतले राज्य सञ्चालन गर्नुपर्ने बाध्यता आइपरेपछि भरतले रामका खराउलाई राजसिंहासनमा राखेर पूजा गरी आफू निमित्तमात्र भएर राज्यसञ्चालन गरेका थिए ।

खराउ काठबाट निर्माण गरिन्छ र खराउ लगाउँदा ब्रह्मचर्यको पालना गर्न सघाउ पुग्ने विश्वास गरिन्छ । जुत्ताजस्तै खराउ लगाएर जताततै हिँड्न पनि सकिन्न र खराउले जुत्ताजस्तै फोहोरी वस्तुहरूको सङ्गत पनि गर्नु पर्दैन । भरतले खराउ पुज्नुको तात्पर्य रामकै पाउ पुज्नु हो र रामका गुणहरूलाई आत्मसात् गरेर अघि बढ्नु  हो । खराउ शुद्धताको प्रतीक भएकाले त्यसलाई घरभित्र पनि प्रवेश गराउन सकिन्छ तर जुत्ताको प्रवेश घरभित्र हुँदैन । घरभित्र जुत्ताको प्रवेश गराउनेहरूले पनि जुत्ताको वासस्थान उपेक्षित कुनामा मात्र गराएका हुन्छन् । आजकल खराउ लगाउने व्यक्तिहरू देखिन छाडेकाले खराउलाई चिन्ने व्यक्तिहरू पनि रित्तिँदै गएका छन् ।

भान्सामा जुत्ता :

शुद्धवस्त्र फेरेर भोजन पकाइने र भोजन गरिने भोजनालयहरू पनि वर्तमानमा क्रमशः जुत्तालयमा परिणत हुँदैछन् । जुत्ता लगाएर पकाउनु र जुत्ता नफुकालीकन भोजन गर्ने संस्कारमा वर्तमान पुस्ता किन रमाउन थाल्यो होला ? भन्ने बारेमा हाम्रो ध्यान जान सकेको छैन किनकि हामीहरू पनि जुत्ताकै पछि लाग्न थाल्यौँ, जुत्तालाई नै पुज्न थाल्यौँ । जुत्ता नपुजिएका ठाउँमा अब हाम्रा भगवान्हरू पनि पुजिन छाड्ने अवस्था आइसकेको छ ।

जुत्ताको रजाइँ बढ्दै :

जुत्ताको रजाइँ बढ्दै गएपछि विचारका लडाइँहरू पनि बन्द हुँदै जाँदा रहेछन् । ‘वादे वादे जायते तत्त्वबोधः’ अर्थात् वैचारिक लडाइँ हुँदै गएपछि तात्त्विक पक्षको विजय हुनसक्छ भन्ने उक्ति पनि वर्तमानमा टुहुरिएको छ । जुत्ता लगाएर हिँड्नुपर्ने ठाउँमा जुत्ता लगाउँदा जुत्ताले पनि सम्मान पाउँछ र जुत्ता लगाउनेको पनि इज्जत नै बढ्छ तर जहाँ जहाँ जुत्ता फुकाल्नैपर्छ त्यहाँ त्यहाँ जुत्ता नफुकालीकन हिँड्न थालियो भने जुत्ताको र जुत्ता लगाउने व्यक्ति दुवैको अपमान हुन्छ भन्ने कुरा बरू अचेतन जुत्तालाई थाहा होला चेतनशील प्राणीलाई थाहा हुन छाडिसकेको छ । कतिपयले त थाहा पाए पनि जुत्ताकै रजाइँ गर्न खोज्छन् र विचारलाई थला   पारिदिन्छन् ।

लासमाथि पनि जुत्ताकै रजाइँ :

नेपाल यस्तो देश हो जहाँ अधिकांश सरकारी निकायहरू राजनीतिक जुत्ताको रजाइँमा रमाइरहेका देखिन्छन् । त्यतिमात्र होइन राजनीतिक जुत्ता नलगाईकन हामी हाम्रो समाजमा बाँच्नै नसक्ने भएका छौँ र मरिसकेपछि पनि हाम्रा लासमाथि त्यही राजनीतिक जुत्ताको प्रहार भएको हामीले देखिरहनुपरेको छ । राजनीतिक जुत्ताको प्रहारबाट बचेर हाम्रो लासको पनि दाहसंस्कार हुन नसक्ने भएको छ ।

जीवनभर राजनीतिक जुत्ता नलगाउने वा लगाउन नरुचाउने प्रतिबद्धता गरेर त्यसमै जीवन समर्पण गरेका व्यक्तिको लासलाई पनि हाम्रो समाजले राजनीतिक जुत्ता पहिर्‍याइदिएर श्रद्धाविहीन देखावटी श्रद्धाञ्जलि व्यक्त गर्दै आएको छ । मृतकका चार भाइ छोराहरू चारवटै राजनीतिक दलमा आबद्ध रहेछन् भने आफ्ना बुबाको लासमाथि तेरो र मेरो दलको झन्डा ओडाउन पाउनुपर्छ भन्ने लडाइँ हुन थाल्दा मृतकले कहिल्यै पनि शान्ति र श्रद्धाञ्जलि पाउन सक्तैन भन्ने हेक्का हाम्रो समाजले राख्न सकेको छैन ।

जुत्ता खियाउने कि दिमाग ?

जुत्ता लगाउने सीमित क्षेत्रमा जुत्ता पनि पोइल र जोइल जानु अस्वाभाविक होइन तर शैक्षिक र प्राज्ञिक क्षेत्रमा समेत त्यस्तो प्रवृत्ति दूबोभैंm मौलाउनु गम्भीर चिन्ताको विषय हो । दिमाग खियाउनुपर्ने ठाउँमा जुत्ता खियाएर तलुवा नै फटाउन थालियो भने दिमागको उपयोग कुन क्षेत्रमा गर्ने ? भन्ने बारेमा हाम्रा बुद्धिजीवीहरूको ध्यान जान सकेको छैन ।

राजनीतिक दलैपिच्छे देखिने तथाकथित बुद्धिजीवीहरू पनि कति प्रतिशत बुद्धिले जिएका होलान् ? भनेर अनुसन्धान गर्दै जाने हो भने प्रतिशतको मात्राले निकै ओरालो लाग्ने सम्भावना वर्तमानमा प्रबल हुँदै गएको छ । बुद्धि र विकेकमाथि जसले जुत्ताको रजाइँ गर्न मन परायो त्यस्तो व्यक्तिभन्दा अर्को शून्य र अविवेकी व्यक्ति भेट्न गाह्रो हुन्छ ।

जुत्ताको रजाइँले कर्मठ व्यक्ति थलिँदै :

‘जय नेपाल’ वा ‘लाल सलाम’ भनेर अभिवादन गरेपछि जस्तोसुकै कठिन काम पनि तत्काल फत्ते हुने संस्कार जहाँ जहाँ मौलाएको छ त्यहाँ त्यहाँ कर्मठ व्यक्तिहरू थलिँदै गएका छन् । राजनीतिक मैदानभन्दा बाहेक जहाँ पायो त्यहीँ राजनीतिक चस्मा लगाएर जुत्ता बजार्न थालियो भने त्यस्ता क्षेत्रहरू क्रमिक रूपमा क्यान्सरभन्दा पनि महामारी रोगबाट थलिने कुरा सुनिश्चित छ ।

क्यान्सर रोगको उपचार वा रोकथामका लागि त औषधिहरू निर्माण भइरहेका छन् तर राजनीतिक क्यान्सरले रोगाएका क्षेत्रहरूको उपचार वा रोकथामका लागि कहीँ कतै औषधि उत्पादन भएको छैन र उत्पादन हुने लक्षण पनि वर्तमानसम्म देखिएको छैन ।

जुत्ताको रजाइँमा बौद्धिक वर्गको अपमान :

सच्चा राजनीति र सफल राजनेताको उदय हुन नसक्ता दलनेता, दलनीति, व्यक्तिनीति र स्वार्थनीतिहरूले मौलाउँदै जाने अवसर प्राप्त गरेका हुन् । सामान्य साक्षर व्यक्ति पनि राजनीतिको भ¥याङ चढेर उच्च पदमा पुग्छ, उसैले देशको ऐन, नियम र नीति पनि बनाउँछ, उही सर्वज्ञ ठहरिन्छ भने एमए, पिएचडी गरेका र शैक्षिक एवम् प्राज्ञिक क्षेत्रमा लामो समयसम्म संलग्न रही अनुभव आर्जन गरेका व्यक्तिहरू राजनीतिलाई पेसा बनाएर अघि बढेका तिनै व्यक्तिका पछि लाग्नु, तिनैलाई भगवान् ठानेर पुज्नु र तिनकै परिक्रमा नगरेसम्म आफ्नो जीवन नै रहँदैन कि भन्ने मानसिकता मौलाउँदै गएकाले नेपालमा शैक्षिक एवम् प्राज्ञिक व्यक्तित्वहरूको अवमूल्यन हुँदै जान थालेको हो । जबसम्म देशको बौद्धिक वर्ग अबौद्धिक व्यक्तित्वकै पछि लागेर आपूmलाई दासजस्तै ठानिरहन मन पराउँछ तबसम्म नेपालको वास्तविक मुहार पनि फेरिन सक्तैन ।

शैक्षिक क्षेत्र राजनीतिक खेलमैदान :

जुनसुकै र जस्तोसुकै विकृतिलाई पनि सुधार्न सक्ने क्षमता शिक्षक, प्राध्यापक र शिक्षालयहरूमा हुन्छ तर विडम्बना नेपालका अधिकांश सरकारी शिक्षक र प्राध्यापकहरूले आफ्नो पदीय र पेसागत हैसियत नै बिर्सिएर राजनीतिक झोला बोक्न र कसैको भरिया हुन मन पराइरहेका छन् भने शिक्षालयहरू पनि राजनीत्यालय वा राजनीतिक खेलमैदानमा परिणत भइरहेका छन् ।

यसरी सरस्वतीको मन्दिरमा राजनीतिक जुत्ता लगाएर निर्लज्ज रूपमा प्रवेश गर्न रुचाउनेहरूको भीड बढ्दै जाँदा विद्याका मन्दिरहरूमा सच्चा देवतारूपी योग्य विद्यार्थीहरू भेटिन मुस्किल पर्दै गएको छ । देवताविनाका मन्दिरहरूमा पुजारी भएर बस्नेहरूले पनि लाज पचाएर जागिर पकाइरहेका छन् । जबसम्म ज्ञानका मन्दिरहरूभित्र जुत्ताको रजाइँ चलिरहन्छ तबसम्म ज्ञानका मुहानहरू सुकिरहने छन् । तसर्थ देशभक्त र दूरदर्शी प्रत्येक नागरिकले विद्याका मन्दिरहरूभित्र प्रवेश गर्दा र मन्दिरको पुजारी भएर जीविकोपार्जन गरिरहँदा राजनीतिक जुत्ताहरू बाहिरै फुकाल्ने र शैक्षिक उन्नयनका लागि सदैव प्रतिबद्ध रहिरहनु आवश्यक छ भनेर समयसमयमा खबरदारी गरिरहन छाड्नु हुँदैन ।

बैठान :

राजनीतिक जुत्ता फुकालेर शिक्षालयहरूमा पस्न र बस्न रुचाउनेहरू त भित्रभित्रै धेरै होलान् तर जुत्ता फुकाल्दा आफ्नो जागिर नै जाने हो कि अथवा बढुवा रोक्का भई सजाय स्वरूप नसोचेका ठाउँमा सरुवा पो भइदिने हो कि भन्ने भयले गर्दा धेरैजसो शिक्षक एवम् प्राध्यापकहरू पिल्सिएर बसिरहन विवश छन् ।

त्यसैले त्यसरी पिल्सिएका व्यक्तिहरूको मनोबललाई उच्च बनाउन सकियो र जुत्ता फुकालेर विद्यामन्दिरमा प्रवेश गर्नेहरूलाई सम्मानित एवम् पुरस्कृत गर्न सकियो भने मन्दिरभित्र देखिएको जुत्ताको ताण्डव नृत्य न्यूनमात्र हुने छैन निर्मूल पनि हुनेछ र हाम्रा सबै शिक्षालयहरू वास्तविक शिक्षालयमा रूपान्तरण हुनसक्ने छन् ।
लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् ।



प्रतिक्रिया दिनुहोस !