८ माघ २०७७, बिहीबार

दाङको राप्ती गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सुरु

प्रकाशित मिति :  २४ पुष २०७७, शुक्रबार १८:२३


दाङ । नागरिकलाई आयुर्वेदिक पद्धतिद्धारा उपचार सेवा दिनका लागि दाङको राप्ती गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सुरु गरिएको छ ।

सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेदिक पद्धतिद्धारा नागरिकको उपचारमा सहयोग पुराउन राप्ती गाउँपालिकाको कार्यालय मसुरीया, राप्ती आयुर्वेदिक चिकित्सालय, तुल्सीपुर, प्रादेशिक आयुर्बेदिक चिकित्सालय विजौरीको पहलमा वडा नं २ को लालमटियामा कविराज सहितको सेवा केन्द्र उद्घाटन गरिएको हो ।

निरोगी व्यक्तिलाई रोग नलागोस् भनेर स्वास्थ्य रक्षा गर्ने र रोग लागिसकेपछि उपचार गर्ने आयुर्वेद चिकित्सा पद्धतिको सुरु राप्ती क्षेत्रमा निशुल्क हुन थालेकोमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले खुसी ब्यक्त गरेका छन् ।

अध्यक्ष सुवेदीले बिरामी भइहालेमा उपचार गर्ने प्रक्रिया मानव जातिको सभ्यताको सुरुवातसँगै आयुर्वेद चिकित्साको उत्पत्ति भएकामा पौराणिक ग्रन्थ, वेदहरूमध्ये अथर्ववेदमा आयुर्वेद चिकित्सा पद्धतिको वर्णन अनुसार अन्य चिकित्सा पद्धति पनि विकास भएका र ती सबैको आधार भनेको आयुर्वेद चिकित्सा पद्धति रहेकोले यो भरपर्दो र उपलब्धि पुर्ण रहेको बताए ।

नागरिक आरोग्य सेवा केन्द्र सबै रोगका बिरामी चेकजाँच गरिने र खासगरि विरामीको प्रकृति अनुसार सम्भव हुने रोगहरूको मात्र उपचार गरिने साथै काया चिकित्सा पेटका रोगहरू, जन्डिस, सलाक्य नाक–कान र घाँटी, शय चिकित्सा शल्य चिकित्सा, श्वास, कास छातिसम्बन्धी रोग, एनोरेक्टल रोग पायल्स, फिस्टुला, स्त्री चिकित्सा महिनावारी गडबडी लगायतका रोगहरूको उपचार गरिने चिकित्सक मदन कुमार विसीले जानकारी दिए ।

प्रारम्भिक चरणमा सामान्य उपचार संगसंगै तत्कालै विशेष उपचार पद्धति सुरु गरिने चिकित्सक मदन कुमार विसीले जानकारी दिए । देउखुरी उपत्यकामा चौथो आयुर्वेदिक सेवा केन्द्र र दाङमा पहिलो नागरिक आरोग्य सेवा केन्द्रको रुपमा रहेको यस नागरिक आरोग्य सेवा केन्द्रले खासगरि राप्ती गाउँपालिका तथा आसपासका क्षेत्रका सेवाग्राहीलाई समेट्ने छ ।

राजपुर गाउँपालिकामा दुई वटा र गढवा गाउँपालिकाको गोवरडिहामा एक वटा कविराज सहितको आयुर्वेदिक सेवा केन्द्र सञ्चालनमा रहेको र ति सेवाकेन्द्रको सेवा गुणस्तर सुधार गर्दै लैजाने योजना समेत बनेको छ ।



प्रतिक्रिया दिनुहोस !