११ बैशाख २०८१, मंगलबार

नेपालको शिक्षा–क्षेत्रको सुधार र प्राज्ञिक वातावरण निर्माणका चुनौती

प्रकाशित मिति :  16 January, 2021 12:22 pm


उठान :

सबै नीतिहरूको माउनीति राजनीति हो र त्यही नीतिले स्थायित्व प्राप्त नगरेपछि अन्य सबैजसो क्षेत्रहरू पनि अस्तव्यस्त हुन पुग्छन् । सामान्य बहुमत ल्याएको दल होस् वा दुई तिहाइ बहुमत प्राप्त गरेको दल नै किन नहोस् सरकारमा पुगेपछि सरकारमा रहेका र सरकारबाहिर रहेका सांसद तथा नेताहरूका बीचमा अन्तद्वन्द्व चर्किंदै जाँदा देशका सबैजसो क्षेत्रहरू अस्तव्यस्त हुँदा रहेछन् ।

त्यति मात्र होइन स्वायत्त संस्थाहरूमा समेत लाजैमर्दो किसिमले राजनीतिक हस्तक्षेप भइदिँदा त्यस्ता संस्थाहरूको स्वायत्तता कायम गर्न निकै गाह्रो हुँदो रहेछ । सरकारी संस्थाहरूभित्र बेथिति बढ्दै गएपछि गुणस्तरीय सेवा प्रदान गर्ने नाममा निजी संस्थाहरू नाफा कमाउने उद्देश्यले बढ्ता क्रियाशील हुँदा रहेछन् । त्यस्तै संस्थाहरूमध्ये शैक्षिक संस्थाहरू पनि एक मानिन्छन् र यसै सन्दर्भमा शिक्षा क्षेत्रलाई कसरी सुधार्ने ? भन्ने चिन्ता उब्जिनु अस्वाभाविक होइन ।

सरकारी शिक्षण संस्थाको दुरवस्था :

वर्तमानमा नेपालका अधिकांश सरकारी शिक्षण संस्थाहरूको गुणस्तरीयता खस्कँदै गएको छ । २०४६ सालको जनआन्दोलनपश्चात् स्थापित भएको प्रजातन्त्रपछि अन्य क्षेत्रमा जस्तै शिक्षण संस्थाहरूमा पनि बढ्ता राजनीतिक हस्तक्षेप हुन थाल्यो र २०६२।०६३ को जनआन्दोलनपछि आएको गणतन्त्रले त त्यस किसिमको हस्तक्षेप चरम सीमामा पुग्दै गएको चिन्ता शिक्षाप्रेमीहरूमा बढ्न थालेको छ ।

सरकारी शिक्षण संस्थाहरूमा दशकौँको अनुभव भएका तालिम प्राप्त दक्ष शिक्षकहरू नभएका होइनन् तर सरकारमा पुगेका र सरकारबाहिर रहेका सबैजसो राजनीतिक दलले विद्यार्थीलाई र शिक्षक-प्राध्यापकलाई समेत आआफ्ना दलको सदस्यता लिएर राजनीतिक गर्नैपर्ने बाध्यता निम्त्याए । जसका कारण सरकारी शिक्षण संस्थाहरूमा योग्य र दक्ष शिक्षक तथा विद्यार्थीको भन्दा राजनीतिक पहुँच बढी भएका शिक्षक र विद्यार्थीको बढ्ता कदर हुन थालेको छ भने विद्वत्ता र दक्षताको अघोषित रूपमा तिरस्कार हुँदै गएको छ ।

सहरबजार क्षेत्रमा रहेका केही सरकारी शिक्षण संस्थाहरूको अवस्था सन्तोषजनक रहेका कारण जनआकर्षण बढ्दै गए पनि सकेसम्म निजी शिक्षण संस्था नै राम्रा हुन्छन् भन्ने मानसिकता हाम्रा अभिभावकहरूमा मौलाउँदै गएको छ ।

यही मानसिकताका कारण सरकारी शिक्षण संस्था ओरालो लाग्दै जाँदा औँला ठड्याउनुपर्ने अभिभावकहरू मौन रहँदै गएका हुन् । जबसम्म अभिभावक स्वयं निजीभन्दा सरकारी शिक्षण संस्थाहरूको गुणस्तर बढाउनुपर्छ र राजनीतिक हस्तक्षेपको अन्त्य हुनुपर्छ भनेर अघि बढ्न सक्तैनन् तबसम्म सरकारी शिक्षण संस्थाहरूको यथोचित सुधार हुन सक्तैन ।

निजी शिक्षण संस्थाको व्यापारीकरण :

सरकारी शिक्षण संस्थाहरूमा शिक्षाको गुणस्तर खस्कँदै नगएको भए नेपालमा निश्चय नै यति धेरै निजी शिक्षण संस्थाहरू मौलाउँदै जाने थिएनन् । स्वस्थ प्रतिस्पर्धाबाट नै गुणस्तरीयताको विकास हुन सम्भव भएकाले सरकारी शिक्षण संस्थाका साथै केही मात्रामा निजी शिक्षण संस्थाहरू पनि खोलिनु समुचित नै हो तर सरकारी शिक्षण संस्थाका तुलनामा निजी शिक्षण संस्थाहरू बढ्ता खुल्दै जानु भनेको सरकारी शिक्षण संस्थाको गुणस्तर खस्किनु र निजी शिक्षण संस्थाप्रति जनविश्वास एवं जनआकर्षण बढ्दै जानु हो ।

सुरुसुरुमा खोलिएका निजी शिक्षण संस्थाहरूको मूल उद्देश्य शिक्षाको गुणस्तरीयता कायम गर्नु नै थियो होला तर पछि पछि खुल्दै गएका अधिकांश शिक्षण संस्थाहरू अघोषित रूपमा व्यापारिक प्रतिष्ठानजस्ता हुन थालेका छन् । शिक्षण संस्थाको ध्यान ज्ञानमा भन्दा धनतिर बढ्न थाल्दै जानाले अधिकांश निजी शिक्षण संस्थाहरू सेवामूलकभन्दा बढ्ता नाफामूलक हुन थालेका हुन् ।

निजी लगानीमा स्थापना गरिएका कारण हरेक निजी शिक्षण संस्थाले केही नाफा कमाउन खोज्नु अस्वाभाविक होइन तर अत्यधिक नाफा कमाउन खोज्दा शैक्षिक गुणस्तर खस्कँदै जाँदा समेत बेवास्ता गरिरहनु निश्चय नै उचित होइन ।

सेयरधनी र सेयरधनीका परिवार र नातागोतालाई नै पहिलो प्राथमिकता दिएर शिक्षक राख्ने परम्पराले निजी शिक्षण संस्थाको शैक्षिक गुणस्तर वृद्धि हुन सक्तैन । आर्थिक लाभांश लिने सन्दर्भमा जतिसक्तो सेयर धनीका परिवारको संलग्नता रहे पनि गुणस्तरीय शिक्षा प्रदान गर्न खुल्ला प्रतिस्पर्धाका आधारमा योग्य र दक्ष शिक्षकको नियुक्ति गर्ने प्रवृत्तिको विकास हुनु आवश्यक छ ।

मासिक र त्रैमासिक परीक्षाहरू सञ्चालन गर्नुको उद्देश्य विद्यार्थीसँग मासिक र परीक्षा शुल्क उठाउनका लागि नभएर विद्यार्थीको पढाइको स्तर केकस्तो रहेको छ ? भन्ने बारेमा मूल्याङ्कनका लागि लिनुपर्छ । विद्यार्थीको ‘होमवर्क’लाई लेखनमै मात्र सीमित नगरी मौखिक रूपमा समेत परीक्षण गर्नु आवश्यक छ ।

अनुभवी शिक्षक तथा प्राध्यापकको नाम राखेर अभिभावकहरूको ध्यान आकृष्ट गरी विद्यार्थी भर्ना गर्नतिर नलागी त्यस्ता शिक्षक तथा प्राध्यापकले सम्बद्ध शिक्षण संस्थामा केकस्तो पढाएका छन् ? भन्ने बारेमा हरेक अभिभावकले आफ्नै छोराछोरीसँग र विद्यालय प्रशासनसमक्ष जिज्ञासा राखिरहन छाड्नु हुँदैन । साथै हरेक अभिभावक आफ्ना बाबुनानीको शुल्क बुझाउनका लागि मात्र विद्यालयमा उपस्थित हुने होइन विद्यार्थीको पढाइलाई केकसरी गुणस्तर कायम गर्न सकिएला ? भन्ने बारेमा पनि आआफ्ना सुझाव तथा सल्लाह विद्यालयसमक्ष प्रस्तुत गर्न बिर्सनु हुँदैन ।

परिवर्तित प्रावधानअनुसार विद्यालय तहको निरीक्षण र नियमन गर्ने काम हरेक स्थानीय सरकारको भएकाले निजी शिक्षण संस्थालाई व्यापारीकरण हुनबाट बचाई गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाका रूपमा विकसित गर्न विशेषतः स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ ।

गुणस्तरीय पाठ्यसामग्रीको उपयोग :

गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय पाठ्यपुस्तक र सन्दर्भ सामग्रीहरूको उपयोग गर्नुपर्छ । केही वर्षयताका सरकारी पाठ्यपुस्तकहरूमा पर्याप्त त्रुटिहरू रहँदै आएकाले त्यस किसिमका त्रुटिहरूको निराकरण गर्दै जाने विषयमा पाठ्यक्रम विकास केन्द्रको तत्काल ध्यानाकर्षण हुनु आवश्यक छ ।

अधिकांश सरकारी विद्यालयहरूमा पनि निजी विद्यालयहरूमा झैँ अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुन थालेको हुँदा निजी विद्यालयमा पठनपाठन हुने पाठ्यसामग्रीको उपयोग गर्न थालिएको छ । विशेषतः निजी विद्यालयका लागि भनेर दर्जनौँ प्रकाशन संस्थाहरूले पाठ्यपुस्तक र सन्दर्भ सामग्रीहरू तयार गरेका  छन् ।

तीमध्ये कुन विद्यालयले कुन पुस्तक पठनपाठनका लागि छनौट गर्ने ? भन्ने बारेमा गुणस्तरीय पुस्तकको छनौट नगरी जुन प्रकाशकले विद्यालयलाई बढ्ता कमिसन (छुट) दिन्छ त्यही प्रकाशकको पाठ्यपुस्तकलाई लगाउन विद्यालयहरू अग्रसर भएको देखिन्छ । यस किसिमको कमिसनको चलखेलले गर्दा विद्यार्थीहरूको पढाइमा गुणस्तरीयता काम हुन सक्तैन भन्ने बारेमा सम्बद्ध विद्यालय र आम अभिभावकहरूले यथासमयमै ख्याल गर्नु आवश्यक छ ।

समग्र सिकाइमा जोड :

वर्तमान पाठ्यक्रम र शिक्षण प्रणाली एकाङ्गी छ तर हाम्रो व्यवहारले समग्र सिकाइको अपेक्षा राखिरहेको छ । हामी जुन विषय पढ्छौँ त्यसको केही प्रतिशत पनि हाम्रो व्यवहारमा लागू हुँदैन भने हाम्रो पढाइ नै हाम्रा लागि अपाङ्ग ठहरिनु अस्वाभाविक होइन ।

एउटा मूल विषय लिएर पढ्नु तर अर्कै विषय वा क्षेत्रको पेसा–व्यवसाय अँगाल्नुपर्ने बाध्यताले गर्दा हाम्रो एकाङ्गी शिक्षाले हामीलाई व्यावहारिक रूपमा साङ्ग बनाउन नसकेको हो । हुन त हामी सबैजसोले धेरै वा थोरै मात्रामा भए पनि आपूmमा राजनीतिक संस्कार हुर्काएकै छौँ । केही नजाने पनि सर्वस्व जानेको अभिनय गर्न हामीलाई राजनीतिक संस्कारले नै सिकाएको छ ।

एकाङ्गी वा एउटा ज्ञानले नेतृत्वदायी भूमिका वहन गर्न सक्तैन भन्ने कुरा हामीले ख्याल गर्न सकेका छैनौँ । ‘अल्पविद्या भयङ्करी’को रोगले हामी थलिएका छौँ । भरिएको गाग्री छचल्किँदैन भन्ने त हामीलाई थाहा छ तर हामी कहिल्यै भरिने प्रयत्न नगरी आफ्नो छिपछिपे अद्र्धज्ञानकै भरमा दाम्भिक शिखर चढिरहेका छौँ । हामी आफ्नै अपूर्ण ज्ञानमा एकाग्र भइदिँदा हामीले समग्र सिकाइमा जोड दिन नसकेका हौँ । हाम्रो पुस्ता त अल्पविद्याको रोगले थलियो थलियो तर हाम्रा सन्ततिको पुस्तालाई यस किसिमको रोग नलागोस् भनेर हामीले समग्र सिकाइमा जोड दिनु आवश्यक छ ।

प्राज्ञिक वातावरणको निर्माण :

हामीले प्राज्ञिक वातावरण कायम हुन सकोस् भन्ने त चाहन्छौँ तर स्वयम् अप्राज्ञिक क्रियाकलापमा संलग्न भएर सानोतिनो प्राज्ञिक वातावरणलाई पनि धमिल्याउने दुष्प्रयास गर्नबाट हामी पछि हट्तैनौँ । राजनीतिक हस्तक्षेप भइदिँदा सरकारी शिक्षण संस्थाहरू र सेयरधनीहरूको बढ्ता हैकम कायम रहँदा निजी शिक्षण संस्थाहरूमा प्राज्ञिक वातावरणले मौलाउने अवसर पाएको छैन ।

यदि हरेक शिक्षण संस्थाहरूमा प्राज्ञिक वातावरण कायम गर्दै जाने हो भने सर्वप्रथम राजनीतिक हस्तक्षेप र सेयरधनीको हस्तक्षेपबाट मुक्त गरी त्यस्ता व्यक्तिलाई शिक्षण संस्थाको नेतृत्व गर्न दिनु हुँदैन । सरकार, राजनीतिक दल र सेयरधनीद्वारा अनियन्त्रित तर विद्वान्हरूद्वारा नियन्त्रित शिक्षण संस्थाहरूमा प्राज्ञिक वातावरण मौलाउन धेरै समय पनि लाग्दैन । साथै जहाँ जुन शिक्षण संस्था छ त्यसका अभिभावक र शुभचिन्तकहरूमा सम्बद्ध शिक्षण संस्थाप्रति ममता जगाउँदै जाने हो भने पनि प्राज्ञिक वातावरण कायम गर्दै जान सजिलो हुनेछ ।

शिक्षण संस्थाहरूमा मात्र होइन हामीले कक्षाबाहिर पनि केही व्यावहारिक शिक्षा दिँदै जाने प्रयास गरेका खण्डमा हाम्रो परिवार र समाजमा समेत प्राज्ञिक वातावरण मौलाउँदै जान सक्नेछ ।

सृजनशीलताको विकास :

वर्तमान शिक्षाले क्रमशः सृजनशीलताको विनाश गर्दै गएको अनुभूति त धेरैले गर्न थालेका छन् तर सृजनशीलताको संरक्षण र विकास केकसरी गर्ने ? भन्ने बारेमा शिक्षण संस्थाका सञ्चालक र शिक्षक स्वयंले समेत गम्भीर भएर विचार गर्ने गरेको पाइँदैन । हाम्रो परिवारले र समाजले मलजल गरेर हुर्काएको विद्यार्थीको सृजनशीलतालाई हाम्रा शिक्षण संस्थाहरूले क्रमशः विनाश गर्दै गएका छन् भन्ने तीतो सत्यको सम्परीक्षण गर्नका लागि हामीले आफ्नै बालबच्चाहरूलाई पढ्न   सक्छौँ ।

धेरैजसो शिक्षक–शिक्षिकाले आफ्ना विद्यार्थीलाई अति नियन्त्रणमा राख्न खोज्छन्, जसका कारण उनीहरूमा मनोवैज्ञानिक रूपमा त्रासको वातावरण सृजना हुन  पुग्छ । साथै उनीहरूले बासी नोट लेखाइदिने गरेका कारण विद्यार्थीले आफू भित्रै रहेको सृजनात्मक क्षमताको विकास गर्न पनि पाउँदैनन् ।

फलस्वरूप विद्यार्थीको सृजनात्मक प्रतिभा क्रमशः कुण्ठित भएर मर्दै जान्छ । शिक्षकहरूले आफ्ना विद्यार्थीलाई आपैm गन्तव्यमा पुग्नका लागि सिकाउने र हिँड्ने बाटाको दिशानिर्देश मात्र गर्दै जाने हो तर हामी अधिकांश शिक्षक–शिक्षिकाले विद्यार्थीलाई आफै हिँड्न नदिई उनीहरूको हात समातेर गन्तव्यमा पुर्‍याइदिने ठेक्का लिन खोज्छौँ ।

जसका कारण विद्यार्थीले आफ्नो जीवनका अनगिन्ती परीक्षाहरूमा आफू कहाँ लड्छु र कसरी उठ्नुपर्छ ? भन्ने वास्तविकताको बोध वा पूर्वानुमान गर्नै पाउँदैन । जबसम्म विद्यार्थीमा सृजनशीलताको विकास कसरी गर्ने र सृजनशीलताको ह्रास किन हुन नदिने ? भन्ने बारेमा हामी गम्भीर चिन्तन र बहस गर्न सक्तैनौँ तबसम्म नेपालको शिक्षा–क्षेत्रलाई वास्तविक रूपमा सुधार गर्न पनि सकिँदैन ।

बैठान :
‘जग बलियो भएमा घर बलियो हुन्छ’ भन्ने उखान त हामी सबै नेपालीले सुनेबुझेकै छौँ तर हाम्रा विद्यार्थीको पढाइको जग किन बलियो हुन सकिरहेको छैन र विद्यार्थीले दिन प्रतिदिन विद्यालयबाट केही न केही नयाँ कुरा सिकेर घर आउनुपर्नेमा हाम्रा विद्यार्थीहरू जति कक्षा चढ्दै जान्छन् त्यति तल ओर्लंदै गएको अनुभूति गर्न किन हाम्रा अभिभावकहरू बाध्य छन् ?

यी र यस्तै गम्भीर विषयमा शिक्षा मन्त्रालयको मात्र मुख ताक्ने होइन, सम्बद्ध विद्यालय र अभिभावकको समेत बेलाबेलामा संयुक्त अन्तरक्रिया कार्यक्रम भइरहनुपर्छ र त्यस्ता कार्यक्रमबाट प्राप्त सुझाव एवम् सल्लाहबमोजिम सम्बद्ध सरकारी र निजी शिक्षण संस्थाहरूले समेत आआफ्ना दुष्प्रवृत्तिहरूको अन्त्य गर्दै जानु आवश्यक देखिन्छ ।

– लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् ।



प्रतिक्रिया दिनुहोस !