१५ चैत्र २०८०, बिहिबार
भाषाका कुरा

भाषाको मूल सुकाएर भौँतारिँएका हामी

प्रकाशित मिति :  23 January, 2021 10:35 am


उठान :

जरा सुक्तै गएपछि कुनै पनि रूखका हाँगाबिँगा हरिया हुन सक्तैनन् र त्यस्ता रूखमा कुनै फल पनि लाग्न सक्तैन । जरा नसकून् भनेर समयसमयमा जलले सेचन गरिरहनुपर्छ र रूखमा बढ्ता हरियाली छाइरहोस् भनेर जराकै वरिपरि मल पनि राखिदिनुपर्छ ।

सदैव मलजल गर्दै आए पनि जराहरू काटिन थालियो भने त्यस्ता रूखमा हाँगाबिँगाको हरियाली र फलको कल्पना पनि गर्न सकिँदैन । त्यसैले हाम्रा पूर्वजहरूले हामीलाई ‘छिन्ने मूले नैव शाखा न पत्रम्’ (चाणक्यनीति १०।१३) भनेर प्रशिक्षित गरेका थिए तर हामी वर्तमानमा यस किसिमको प्रशिक्षणबाट वञ्चित हुँदै आएका छौँ र मूल सुकाएर वा जरा कटाएर हामी मृगतृष्णामा भौँतारिइरहेका छौँ ।

मूलको पहिचान :

‘वेदोखिलो धर्ममूलम्’ (मनुस्मृति २।६) अर्थात् सम्पूर्ण वेद धर्मको मूल मानिन्छ । संसारको सर्वप्राचीन ग्रन्थ नै ऋग्वेद मानिएको छ । ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद चार वेदमध्ये ऋग्वेद नै मूल वा जेठो ठानिएको छ ।

ऋग्वेदको प्रभाव अन्य वेदहरूमा पर्नु र सबै वेदको प्रभाव पुराण, उपनिषद्, महाभारत, गीता आदि ग्रन्थमा पर्दै गएका कारण वेदलाई सबै ग्रन्थहरूको मूल मानिएको हो । सबै वेद संस्कृत भाषामा लिपिबद्ध छन् । वेदको भाषालाई वैदिक संस्कृत भनिन्छ भने वेदबाहेक संस्कृत वाङ्मयका ग्रन्थको भाषालाई लौकिक संस्कृत भनिन्छ ।

यही लौकिक संस्कृत भाषाबाट प्राकृत, अपभ्रंश हुँदै नेपाली, हिन्दी, मैथिली, भोजपुरी, दरै, कुमाल, थारू आदि राष्ट्रिय भाषाहरूको जन्म भएको हो । त्यसैले नेपालमा बोलिने अधिकांश राष्ट्रिय भाषाको संरक्षण र संवद्र्धन गर्नका लागि आंशिक मात्रामा भए पनि संस्कृत भाषाको ज्ञान लिनु आवश्यक ठानिएको हो ।

अङ्ग्रेजी भाषाको मूल पनि संस्कृत भाषा नै मानिएका कारण संस्कृत भाषाको अध्ययन र अनुसन्धान गर्दै गएका खण्डमा अङ्ग्रेजी भाषाको पनि संरक्षण र संवद्र्धनमा ठूलो टेवा पुग्नेछ भन्ने बारेमा धेरैको ध्यान आकृष्ट हुन सकेको देखिँदैन । विभिन्न भाषा र वाङ्मयको मूल मानिने वेद र संस्कृत भाषालाई बेवास्ता गरेर मृगतृष्णामा अन्यत्र भौँतारिँदा वर्तमान विश्व नै बाहिरबाट हेर्दा सुखीजस्तो देखिए पनि अध्यात्मचिन्तनको अभावमा आन्तरिक रूपमा दुःखी नै देखिन थालेको छ ।

वेदो रक्षति रक्षितः

‘धमो रक्षति रक्षितः’ यो भनाइ हामीले धेरै सुनेका र पढेका पनि छौँ । निश्चय नै हामीले धर्मको रक्षा गर्न सक्यौँ भने त्यसले हाम्रो पनि रक्षा गर्दछ तर आआफ्नो धर्मलाई नै हामीले नष्ट गर्दै गयौँ भने हामीलाई कसैले पनि रक्षा गर्न नसक्ने भएकाले हाम्रो वास्तविक अस्तित्व पनि रहन सक्तैन ।

सम्पूर्ण वेद धर्मको मूल मानिएका कारण ‘वेदो रक्षति रक्षितः’ अर्थात् वेदको रक्षा गरिएका खण्डमा त्यसले हाम्रो पनि रक्षा गर्न सक्तछ भन्ने चिन्तन गर्नु अपरिहार्य  छ  । कतिपय विकसित देशहरूले वेदको मात्र होइन समस्त संस्कृत वाङ्मयको अध्ययन र गम्भीर अनुसन्धानतफू आफूलाई अग्रसर गराएका छन् तर कर्मकाण्डमा मात्र सङ्कुचित गरेका कारण हामी संस्कृत वाङ्मयबाट पर्याप्त मात्रामा लाभान्वित हुन सकेनौँ ।

बत्तीमुनि अँध्यारो हुन्छ भन्ने थाहा भएर पनि हामीले बत्तीमुनि उज्यालो छर्ने प्रयत्न गरेका छैनौँ । हामीलाई कर्मकाण्डमात्र संस्कृत वाङ्मय हो जस्तो लाग्यो र संस्कृत वाङ्मयका ज्ञानकाण्ड र उपासना काण्ड पनि उत्तिकै जीवनोपयोगी छन् भन्ने कुराको ख्याल गर्ने फुर्सद नै भएन । फलस्वरूप हामीले वेद र त्यसका शाखाप्रशाखाहरूको यथोचित रूपमा संरक्षण गर्न नसकेका हौँ ।

विद्वान् बन्ने कि ज्ञानी ?

तोतेबोली फुट्न नपाउँदै विद्यालय धाउन थालेर स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधिसम्मको प्रमाणपत्रीय ज्ञान हासिल गरेर धेरैजना विद्वान् भएका होलान् तर वास्तविक रूपमा ज्ञानी बन्न सकेका छैनन् । धेरैजसो व्यक्तिहरू धेरै जान्न उत्सुक त भए तर आपूmले जानेबुझेका कुरामा रमाउनचाहिँ सिकेनन् । सैद्धान्तिक रूपमा सिकेको ज्ञान प्रयोगात्मक क्षेत्रमा वा व्यवहारमा उतार्न नसकेपछि धेरै जान्नुभन्दा थोरै जान्नु राम्रो मानिन्छ ।

थोरै जान्ने व्यक्तिले ‘मैले बुझिनँ’ भनेर प्रतिप्रश्न गरिरहन्छ, आपूm रित्तो भएको अनुभूति गरेर भरिने प्रयासमा लागिरहन्छ र त्यस्तै व्यक्ति कृतज्ञ पनि बन्न सक्छ । विद्वान्हरू सबै कृतज्ञ नहुन पनि सक्छन् तर सबैजसो ज्ञानी व्यक्तिहरू कृतज्ञ हुन्छन् किनभने कृतज्ञ नहुने व्यक्तिले कुनै कुरा आर्जन गर्न सक्तैन र कहिल्यै ज्ञानी पनि बन्न सक्तैन ।

विद्वान् बन्दैमा सबैले मुक्ति वा मोक्ष प्राप्त गर्दछन् भन्न पनि सकिँदैन तर ज्ञानी बन्ने सबैजसो व्यक्तिहरूले मोक्ष प्राप्त गर्न सक्छन् । त्यसैले हाम्रा पूर्वजनहरूले ‘ऋते ज्ञानान्न मुक्तिः’ अर्थात् ज्ञानविना मुक्ति प्राप्त हुन सक्तैन भन्ने कुराको उद्घोष गरेका थिए । भौतिक विज्ञानले विद्वान् बन्न त सिकाउला तर ज्ञानी बनाउन सिकाउने विज्ञान भनेको अध्यात्म विज्ञान नै हो ।

हाम्रो अस्तित्व कहिलेसम्म ?

मूलको पानी शाखाप्रशाखाहरूमा पुगिरहँदासम्म हामीले अनजानमै भए पनि मूलको संरक्षण गरिरहेका हुन्छौँ तर मूल नै सुक्न थालेपछि वा शाखाप्रशाखाहरूमा कहाँबाट पानी आउँछ भन्ने थाहा नभएपछि हामीले मूलको संरक्षण र संवद्र्धन गर्न सक्तैनौँ । वेदरूपी मुहानमा पानी नसुकुन्जेल हाम्रो अस्तित्व रहिरहन्छ तर जब मूल नै सुक्छ तब हामी मृगतृष्णामा भौँतारिन थाल्छौँ ।

त्यसैले हाम्रा धर्म, संस्कृति, रीतिरिवाज, सनातन परम्परा आदि के थिए र हामी तिनमा अग्रसर भइरहेका छौँ कि छैनौँ भन्ने कुराको ख्याल गर्दै जान सकेका खण्डमा मूल सुक्ने छैन र कोही पनि मृगतृष्णामा भौँतारिनुपर्ने अवस्था आउँदैन ।

मूललाई बग्न दिने कि थुन्ने ?

जहाँ पानीको मूल पलाएको छ त्यो जमिन जसरी कुनै व्यक्ति वा संघसंस्थाको हुन सक्तैन त्यसै गरी धर्मको मूल मानिने वेद पनि कुनै जाति र वर्गविशेषको हुन सक्तैन । त्यसैले पानीको मूलमा र वेदको मूलमा सबैको समान अधिकार हुनु आवश्यक छ । यसका विपरीत कुनै जाति र वर्गविशेषको पेवा ठानेर वेदमा विद्यमान गहन विचारहरूलाई निरन्तर बग्न नदिई तिनलाई थुन्ने दुष्प्रयास भयो भने त्यसको सर्वत्र प्रतिकूल प्रभाव पर्न सक्छ ।

वर्तमान समयमा मूललाई बग्न नदिने र मृगतृष्णामा भौँतारिन रुचाउनेहरूको सङ्ख्या बढ्दो छ तापनि मूललाई थुन्न होइन यथासम्भव बग्न दिइरहनु आवश्यक छ । ‘नदी वेगेन शुध्यति’ (चाणक्यनीति ६।३) अर्थात् नदी बग्दै जानाले शुद्ध हुन्छ । नदी वा ससाना खोलाहरू अनि विचारहरू पनि बग्न पाएनन् र थुनिएर बसिरहनुपर्ने अवस्था आयो भने तिनले बाँध भत्काएर ठूलै विनाश निम्त्याउने सम्भावना प्रबल रहन्छ ।

बैठान :

हामी वेद र वेदाङ्गलाई त मूल मान्न तयार हौँला तर हामीहरू तिनबाट कति मात्रामा प्रेरित छौँ भन्ने बारेमा मूर्त रूपमा तत्काल बताउन सक्ने सामथ्र्य हामीसँग छैन । हामी जुन देश र परिवेशमा बाँचिरहेका छौँ त्यसलाई सुहाउँदो धर्म, संस्कृति र नैतिक शिक्षाका प्रशस्त सामग्री संस्कृत वाङ्मयमा भेटिन्छन् भन्ने कुरा हामीले बुझेका त छौँ तर तिनको दोहन गर्ने फुर्सद निकाल्न भने हामीले सकिरहेका छैनौँ ।

जसले जतिसक्तो छिटो त्यस्तो फुर्सद निकाल्न सक्छन् उनीहरूको जीवन पनि त्यति नै छिटो मृगतृष्णा बनेर भौँतारिनबाट मुक्त हुनेछ ।

उनीहरूमात्र होइन उनीहरूका सन्ततिहरू पनि मूलकै पानी पिएर स्वदेशभित्रै रमाउन सक्नेछन् र विशेषतः धनको मृगतृष्णामा परिवार, समाज अनि देश नै छाडेर कुनै पनि सन्तान विदेशी रमझममा हराइरहन रुचाउने छैनन् ।

लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् ।



प्रतिक्रिया दिनुहोस !