१४ बैशाख २०८१, शुक्रबार

‘कोराना संकटपछि अब विदेश अध्ययन गर्न जाने वातावरण बन्दैछ’

प्रकाशित मिति :  8 February, 2021 12:04 pm


प्रकाश पाण्डे- अध्यक्ष, नेपाल शैक्षिक परामर्श संघ

नेपाल शैक्षिक परामर्श संघ(इक्यान) विदेशमा पढ्न जाने विद्यार्थी र उनका अभिभावकलाई उचित जानकारी दिने, सहजिकरण गर्ने र मार्गदर्शन गर्ने शैक्षिक परामर्शदाता संस्थाहरुको संगठन हो । नेपालमा शैक्षिक परामर्श केन्द्रको रूपमा रहेको महत्वपूर्ण निकाय मानिने यसका संघ मातहतका संस्थाले अन्तर्राष्ट्रिय शिक्षाका लागि देशभित्र वातावरण तयार गर्ने र विद्यार्थीहरूलाई सहयोग गर्ने गर्दछ ।

साथै देशभित्र अवसर र भविष्य खोज्नेहरूका लागि पनि परामर्श प्रदान गर्दछन् । तर, कोभिड-१९ पछि भने यो क्षेत्रपनि ठप्प छ । अझैपनि शैक्षिक संस्थाहरू खुलेका छैनन् भने औपचारिक रुपमा सरकारले शैक्षिक परामर्श संस्था खोलेको बताएको छैन ।  विभिन्न देशहरूलेपनि कोभिड-१९ को कारण देखाउँदै आफ्ना सीमाहरू खोलेका छैनन् । यद्दपी केही वातावरण भने निर्माण हुँदैछ । कोभिड—१९ पछि नेपालमा शैक्षिक परामर्श संस्थाहरूको अवस्था र यसको भविष्यबारे नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डेसँग लुम्बिनी सञ्चार डटकमले गरेको कुराकानी :

कोरोना(कोरोना-१९)ले निम्ताएको संकटपछि शैक्षिक संस्थाहरुको शैक्षिक परामर्श संंस्थाहरूको अवस्था के छ ?

मुख्यतःकोभिड—१९ ले गर्दा समग्र विश्वमै कसैले नसाेंचेको असर भैरहेको छ । हाम्रो शैक्षिक परामर्श क्षेत्र विशेष गरी नेपालभित्र विद्यार्थीहरूले नेपाल भित्रकै अवसर वा नेपालभन्दा बाहिर पढ्न चाहिने अवसरका बारेमा बुझ्ने क्षेत्र हो ।

नेपाल भित्रकै अवसर भन्दा पनि नेपाल बाहिरकै अवसरका बारेमा हामी कहाँ बुझ्न आउने र प्रक्रिया पुराएर विदेश पढ्न जाने गर्दछन् । सबै देशको अन्तराष्ट्रियरुपमा सबै देशको बोर्डर खुलिसकेको छैन ।

विशेष गरी नेपाली विद्यार्थीहरूको अत्याधिक चाहाना हुने गरेको देशमा नेपालीहरू सहजरुपमा जान सक्ने स्थिति नभएका कारणले गर्दा पनि अहिले हामीलाई अत्याधिक गाह्रो भएको छ । नेपालमा सरकारले लकडाउन गरिसकेपछि यो व्यवसाय एकदम शून्य अवस्थामा थियो । ‘नोअब्जेक्सन लेटर’ सरकारले जारी गर्न बन्द गरेको थियो ।

सीमा बन्द थियो । भिजाका प्रक्रिया पूर्णरुपमा बन्द थिए । अहिले त्यो परिस्थिति भन्दा हामी अगाडि आइसकेका छौं । नेपाली विधार्थीहरूले आज ‘नो अब्जेक्सन लेटर’ आवेदन दिएर लिन सक्ने परिस्थिति फेरी निर्माण भइसकेको छ ।

नेपालमा कार्यालय खोलेर बसेका कैयौँ देशका भिजा अफिसहरूले निवेदन लिने प्रकृया अगाडि बढाइसकेका छन् । भिजाका निर्णयहरु पनि आउन थालेका छन् । केही देशहरूले भिजा लागिसकेका विद्यार्थीहरूलाई फेरि लान नसक्ने परिस्थिति बनेको छ । त्यसको कारण भनेको अहिले तत्काल लकडाउन गरेर सीमा बन्द गरिएको छ । एक हिसाबले कयौँ विषयहरू भने खुलिसकेका छन् ।

हिजो हामी कोभिड-१९ का कारण अनलाइन कक्षा सञ्चालन गर्ने परिस्थिति थियो । अहिले हामी स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरेर भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न लागेका छौं ।

त्यसैगरी प्लस टु सकियो र नतिजा पनि प्रकाशित भयो । विदेश जान चाहने विद्यार्थीको संख्यामा ठूलो मात्रामा वृद्धि हुन सक्ने सम्भावना छ । नेपाल आफैँ पनि राजनीतिक अस्थिरता तर्फ धकेलिएको कारणले गर्दा कयौँ विद्यार्थी र अभिभावक माझ पनि नेपाल भित्रै शिक्षाका अवसरहरू खोज्ने कुरामा पनि अलि बढी वितृष्णा आउने होकी भन्ने छ ।

अहिलेको परिस्थितिले अब अवसरहरू बढ्न सक्छन् भनेर सोंच्ने अभिभावक र विधार्थीको धारणामा पनि प्रहार भएको छ । तसर्थ यो क्षेत्रको सेवा लिएर विदेश जान चाहने विद्यार्थी र पठाउन चाहने अभिभावकको संख्याको वृद्धि हुने देखिन्छ । आजको परिस्थितिमा पूर्णरुपमा अन्तराष्ट्रिय यात्रा, विशेषगरी एयर ट्राभल नभइसकेकाले यो व्यवसाय अत्यन्त गाह्रो अवस्थामा छ ।

विगतमा सहज स्थितिमा कुन देशमा नेपाली विद्यार्थीको चासो थियो । नेपाली विद्यार्थीहरूको बढी चासो भएको देशको अवास्था कस्तो छ । ति देशहरू विद्यार्थी लैजान तयार छन् कि छैनन् ?

मुख्यतः विगतमा नेपालबाट विदेश जाने विद्यार्थीको संख्या थाहा पाउने तथ्याङक भनेको ‘नो अब्जेकसन लेटर’ हो । शिक्षा मन्त्रालयले जारी गरे अनुसार आधार मान्ने हो भने सबैभन्दा धेरै अष्ट्रेलिया, त्यसपछि जापान लगायत देशहरू जाने चलन बढी थियो ।

नो अब्जेक्सन लेटर लिनुपर्ने चलन छ तर भारतसँग खुल्ला सीमा भएका कारण नलिई पनि जान सकिन्छ । भारतमा नो अब्जेक्सन लेटर नलिई पढ्ने विद्यार्थीको संख्या पनि धेरै छ भन्ने आँकलन गर्न सक्छौँ । वर्षमा १०-२० हजारसम्म विद्यार्थी भारत गएर पढ्छन् भन्ने लाग्छ । विशेषगरी सीमा छेउका तराई भेगका विद्यार्थीहरू अत्याधिकमात्रामा भारत गएर पढ्ने गरेका छन् ।

आजको परिस्थितिमा आउँदै गर्दा नेपाल र भारत बीच यात्रा सुरु भइसकेको छ । नेपाली विद्यार्थी भारत गएर पनि पढ्न सक्ने परिस्थिति छ । तसर्थ धेरै भारत पढ्न जाने विद्यार्थी नेपालमै बसेर अनलाइन पढिरहेका छन् कि भारतनै गएर पढिरहेका छन् ।

जापान जाने विद्यार्थी पनि जापानको भिजा प्रक्रिया सुरु भइसकेपछि कयौँ विद्यार्थीहरू गइसकेका छन् भने अहिले फेरि जापानमा लकडाउन भएका कारण भिजा प्रक्रिया रोकिएको छ ।

आगामी दिनमा जापानमा कोभिड-१९ को सुधार हुने बितिकै लकडाउन खुल्ने र भिजा प्रक्रियाका आवेदनहरू खुल्ने र जान सक्ने परिस्थिति हुन सक्ने देखिन्छ । अहिले तत्कालको लागि केही रोकिएको छ ।

हामीले नेपालमा रहेको जापानी दूतावास र जापानमा रहेको नेपाली दूतावाससँग मार्फत त्यहाँको अवस्थाको बारेमा बुझिरहेका छौँ । यसैगरी, पछिल्लो पाँच सात वर्षमा अष्ट्रेलिया नेपाली विद्यार्थी धेरै जान रुची भएको गन्तव्यको रुपमा विकास भएको छ । अष्ट्रेलियामा भिजा आवेदन दिन सक्ने, आवेदन लिएर बस्न सक्ने तर तत्काल अहिले जान नसक्ने अवस्था छ ।

अष्ट्रेलियाको सीमा नखुलेको कारण गर्दा विद्यार्थीहरू माझ अहिले जान पाइँदैन भने अहिल्यै आवेदन किन दिई हाल्ने भन्ने अन्योलता छ । तर, अष्ट्रेलियन सरकारले भिजा लिएर नेपालमै बसेर अनलाइन पढ्ने र भोली त्यहाँ गएर पढेपछि पाउने सबै सुविधा र अधिकारहरू दिने भनेको छ । त्यसको पनि फाइदा नेपाली विद्यार्थीे लिन सक्ने देखिन्छ ।

नेपालमै अनलाइन माध्यमबाट पढ्दै गर्दापनि केही लागतहरू पनि सस्तो पर्न सक्ने केही आधार दिइएको छ । विद्यार्थीहरूले यात्रा गर्न मिल्ने भएपछि मात्र जान्छु भन्ने सुविधा छ ।

यसमा नेपाल सरकारले सहजिकरण वा सहयोग गर्ने ठाउँ छ कि छैन ?

नेपाली विद्यार्थीहरूको इच्छा चाहना आकाङ्क्षा लगानी सबै हिसाबले हेर्दा सरकारको तर्फबाट विदेश जान चाहने विद्यार्थी जसले प्रक्रिया पुरा गरेका छन्, पाइसकेका छन्, जान चाहनेहरूलाई पठाउने सवालमा सरकारको सहजिकरण हुनुपर्दछ ।

त्यसमा हामीले पनि सरकारलाई अनुरोध गरेका छौँ । हामी संस्थागतरुपमा पनि विभिन्न देशका कूटनीतिक नियोगहरूसँग आफ्नो हिसाबको पत्राचार गर्ने र सूचना दिने काम निरन्तररुपमा गरिरहेका छौँ ।

हिजो हाम्रै प्रयत्नका कारण कयौं देशले भिजाका आवेदनहरु छिटो खोल्ने र प्रक्रियाहरू अगाडी पुराउने काम गरे ।

नेपाल सरकारले नै निरन्तर हाम्रा पहलका कारण नो अब्जेक्सन लेटर बन्द भएको फेरि सुरु गर्‍यो । तसर्थ एक हदसम्म हामीले त्यो वकालत गर्ने र पठाउने कुराका लागि सहजीकरण गर्ने काम गरिरहेका  छौँ । तर फेरि स्वास्थ्यसँग जोडिएको विषय भएकाले गर्दा सम्बन्धित देशको सरकारले लिन तयार नहुँदै गर्दा विद्यार्थीलाई गाह्रो भयो, हाम्रो लगानी त्यहाँ फस्यो, त्यो भएको कारणले गर्दा तिमीले आजै लानुपर्दछ, भोलीनै लानुपर्दछ भनेर नेपाल सरकारले भन्ने अवस्था छैन ।

तसर्थ हामी दुबैलाई बराबर हुने गरि विद्यार्थीहरू यहाँ रहँदा पनि र अर्को देशमा रहँदा पनि सुरक्षित हुने वातावरण छ कि छैन भन्ने कुरा हेर्दछौं । सुरक्षित वातावरण निर्माण गरेर मात्र बल्ल जाने पठाउने परिस्थितिको विकास गर्ने सवालमा हामी सबै जना सजग हुनु पर्दछ । आज त कम्तिमा अभिभावकको काखमा बसेका छन्, छोराछोरी । यहाँ त केही गाह्रो अप्ठेरो हरेक कुरा नजिकबाट हेर्न पाईरहनु भएको छ । भोली उहाँहरू बाहिर गइसकेपछि त्यहाँ सहज नहुन पनि सक्छ । त्यसको बारेमा पनि परिकल्पना गर्न जरुरी छ ।

हिजो विगतमा समान्य समयमा विदेश पढ्न जाने वा पठाउने परिस्थिति र आज यो कोभिडको परिस्थितिमा विदेश पढ्न जाने वा पठाउने विषय पेचिलो छ । अझ धेरै संवेदनशील छ । तसर्थ विद्यार्थी जाने,पठाउने विषयमा अभिभावक या कन्सलटेन्सी सबैको जिम्मेवारी पहिले भन्दा बढेको थपिएको छ । आर्थिक रुपमा पनि हिजो भन्दा अझ खर्च बढ्ने भन्ने देखिन्छ । हिजो यात्राका लागि सस्तो थियो होला आज टिकट महङ्गो छ ।

हिजो क्वारेन्टिनमा गएर बस्नु पर्दैन थियो आज गएर बस्नुपर्दा त्यसमा थप लागत आउँछ । सुरक्षा सावधानीका कारणले स्वास्थ्यसँग जोडिएका त्यस्ता कयौं चिजबिज किन्नुपर्ला हिजो मास्क किनिराख्नु पर्दैन थियो आज मास्क किनिराख्नु पर्ला, सेनिटाइजर किनिराख्नु पर्ला, सामान्य हिसाबले हेर्दा सानो कुरा हो तर भने त्यसले पनि लागत जोडिन्छ ।

यी सबै विषयमा हामी पनि सजग हुनुजरुरी छ । त्यही भएर जाने पठाउने विद्यार्थी अभिभावक, शैक्षिक परामर्शदाता सरकार लाने सरकार सबैले अत्यन्त ध्यान पुराएर सुझबुझका साथ सुरक्षा सावधानी सबै अपनाएर गर्नु पर्ने भएको छ । कहिलेकाँही विद्यार्थी अभिभावक गाह्रो अप्ठेरो पिर मर्कामा पर्दापर्दै पनि यसलाई त्यो संवेदनशीलता बुझेर मात्र होइन कि स्वास्थ्यको विषयलाई पनि बुझेर नै अगाडि बढ्नुपर्ने देखिन्छ ।

एउटा विद्यार्थी म विदेशमा अध्ययन गर्न जान्छु भनेर यो बेलामा तयार हुने कि नहुने ?

हामी के भनिरहेका छौं भने म मेरो छोरा वा छोरीलाई विद्यालय पठाउन सवालमा आज कतै राज्यले प्रतिकुल निर्णय गर्ला कि ? जानै पर्छ भन्ला कि ? भन्ने कुरामा म सजग छु भने अरुको अभिभावकसँग बसिरहेका छोराछोरीलाई जानै पर्छ,  गइहाल्नुपर्छ भन्ने धारणा हामीले बनाएका छैनौं । तर, हामी के चाँही कुरामा सचेत छौं र अभिभावकसँग कुरा गरिरहेका छौं भने कोभिडका कारणले जति यहाँ असर भएको छ अवसरहरू पनि छ ।

आज नेपालमा नै बसेर अनलाइन माध्यमबाट कतिपय विषयहरू सस्तोमामा पढ्ने सक्ने बाटो पनि छ । छात्रवृत्ति हिजोको भन्दा धेरै पाउने अवस्थापनि छ । जसले गर्दा हिजो भन्दा थोरै लागतमा पनि पढ्न सक्ने सम्भावना छ । आज घरमै बसेर पढेर भोली अलि सहज परिस्थिति आइसकेपछि मात्र गएर बाँकी कोर्स सक्ने बाटो पनि छ । त्यो भएर विदेश जानै पर्ने छ भन्ने होइन । अनि फेरि जानै पर्छ भन्ने होइन । सबै कुरा सुझबुझ सहित परिवारले आर्थिकरुपमा लगानी गर्न सक्ने क्षमता छ भने त्यहाँ गएर पढ्दा हुन्छ । जबरजस्ती होइन विदेशै जानुपर्छ भन्ने होइन ।

हाम्रो व्यवसाय जेनतेन हिजो जसरी टिकिराखेको थियो र टिकाउँला । सके राम्रो गरौंला नसके टिकेर बसौंला या छोडौंला तर हामी नेपाली विद्यार्थीहरूको भविष्यसँग सम्झौता गर्न चाहँदैनौँ । आज हाम्रो प्रयत्न भनेकै उनीहरूको समय बचत गर्ने, उनीहरूको पैसा बचत गर्ने र यहीँ बसेर पढेर पनि उनीहरूले भोली त्यहीँ गए भौतिक रुपमा पढ्दाखेरी पाउने सुविधाहरू पाउन सक्नेबाटोहरूको लागी पनि देखाइदिने हो ।

एउटा कतै अज्ञानताका कारणले त्यो बाटो अवलम्वन गर्न तयार विद्यार्थी रहेको अभिभावकले जानकारी पनि नपाउने परिस्थिति बन्ने हो भन्ने हिसाबले हामी अहिले व्यवसायलाई सञ्चालन गर्ने सही सूचना पुर्‍याउने काम गरिरहेका छौँ । यसबाट उहाँहरूलाई पनि सहजीकरण हुन्छ ।

समग्रमा अहिलेको परिस्थितिमा शैक्षिक परामर्शदाता संस्थाहरूको गतिविधि कसरी अगाडि बढ्दैछ ?

लकडाउन पछाडि करिब करिब एकमहिनाबाट अलिअलि थोरै आर्थिक गतिविधि गर्न सकिन्छ कि भन्ने हिसाबले प्रयत्न गर्दैछौँ । गत वर्ष फागुन २० गते यही कोभिडकै कारण देखाएर नो अब्जेक्सन लेटर बन्द गर्‍यो । चैत ५ गतेतिरबाट जब लकडाउन सुरु भयो त्यसपछि हामी करिब करिब शून्य कारोबारमा छौँ ।

तसर्थ हाम्रो क्षेत्रलाई बुझेर नै हाम्रो पहलकदमीलाई बुझेर नै नेपाल राष्ट्र बैंकले पनि हामीलाई अति प्रभावित क्षेत्रमा सूचीकृत गरेको छ । त्यही अनुरुप हामी व्यवसयीहरू केही सकिन्छ कि सहुलियत दरमा ऋण प्राप्त गरेर व्यवसायहरू टिकाउन केही आधार हुन्छन् कि भनेर अहिले प्रयत्न गरिराखेका छौँ ।

त्यसो भए सरकारको भूमिका सकारात्मक नै छ ?

एक हिसाबले राष्ट्र बैंकले हाम्रो क्षेत्रलाई बुझेर जुन हिसाबले हामीलाई सहयोग गर्ने काम गरेको छ । त्यो हिसाबले हेर्दा केहीहदसम्म हाम्रो क्षेत्रको बारेमा सहयोग पुगेको छ । हामीले यही देश र यहाँकै अर्थतन्त्रमा टेवा पुर्‍याएका छौँ । नेपालीहरूलाई दक्ष जनशक्ति बनाउने कुरालाई पनि हामीले मद्दत पुर्‍याइराखेको छौँ ।

नेपालीहरू दक्ष जनशक्ति हुँदै गर्दा विश्वको जुनसुकै कुनामा पनि बसेर पनि नेपाल र नेपालीको अर्थतन्त्रमा सहयोग पुर्‍याइरहेका हुन्छन् । तसर्थ एउटा तहमा यसको सकारात्मक पक्ष देखेर होला सरकारले पनि यसको केही हदसम्म हामीलाई सहयोग गर्ने काम गरिराखेको छ ।

शैक्षिक परामर्श संस्थाले त्यस राहतबाट फाइदा लिन कति सक्छन् ? सरकारले दिएको सहुलियतलाई टेकेर अगाडि बढ्न सक्ने अवस्था कस्तो छ ?

सरकारले दिएका अहिले केही अवसरहरू भनेको अत्यन्त विकटदेखि लिएर व्यवस्थितरुपमा सञ्चालित कम्तिमा पाँच जना भन्दा बढी कर्मचारी राख्ने कम्पनीहरूको लागि मात्र छ । ति भन्दा साना कम्पनीहरूका लागि अहिले पनि पहल गरिरहेका छौँ । तर, त्यस्ता कम्पनीहरूको लागी कुनै राहतको विषय सरकारबाट आइराखेको छैन ।

तसर्थ हामीले हेर्दै गर्दा आजको परिस्थितिमा हामी कयौं कन्सल्टेन्सी कम्पनीहरू, फर्महरु चाँही उहाँहरू अहिले झोलामा भइसक्नुभयो । अहिले भौतिक कार्यालय छैन । भोली कुनै दिन फेरि सहज वातावरण भयो भने मात्र फेरि व्यवसायमा फर्किनुहुन्छ । उहाँहरू फेरि व्यवसायमा फर्किने अवस्था छैन । उहाँहरू पूर्णरुपमा पलायन हुने अवस्था छ ।

हामी अझै पनि त्यो परिस्थिति थप नबढोस् र थप पलायन हुनुपर्ने साेंच विकास गरिसक्नु भएकाहरुलाई कसरी हुन्छ फर्काउन सकिन्छ कि यसलाई व्यवस्थितरुपमा अगाडि बढाउन सकिन्छ कि भन्ने हिसाबले इक्यानले पहल गरिरहेको छ । तर आजको हाम्रो परिस्थिति भनेको राम्रो छैन । यो व्यवसाय पक्कै अगाडी बढ्छ ।

यसमा भोलीका सम्भावना पनि अधिक छन्, राम्रा छन् । तर पछिल्लो एक वर्षको समय भनेको यो हामी कसैले परिकल्पना नगरेको समय हो । त्यहीँ भएर कुनै एउटा व्यवसाय परीक्षण गरेर,विगतमा कमाएका पैसा पनि बचत गरेर भोली यस्तै गाह्रो अप्ठेरो पर्यो होला भनेर हामीले पनि छुटट्एर राखेनौं । कमायौं होला । पैसा खर्च गर्‍यौँ । बचेका पैसा राज्यलाई कर तिर्‍यौँ । अन्य क्षेत्रमा लगानी गर्‍यौँ तर हामीसँग आजको मितिमा नगद रकम छैन । यहीँ कारणले गर्दा हाम्रो व्यवसायलाई निरन्तररुपमा अगाडी बढाउने सवालमा समस्या देखिएको छ ।

संस्थागतरुपमा हामी इक्यानको तर्फबाट हाम्रो व्यवसायलाई जोगाउन सकिन्छ भनेर सरकारसँग निरन्तर पहल कदमी गरिरहेका छौँ । आएका कुराहरू सकारात्मक छन् तर त्यो पर्याप्त छैन । सरकारले हिजो काम गर्दा कमाएको जुन तहमा एउटा २५ प्रतिशत वा लाभांशकर सहितको कुरा गर्दा करिब २८.७५ प्रतिशत बिना लगानीको सरकारको साझेदारी थियो । त्यो साझेदारी अनुसारको भुमिका वास्तवमै निर्वाह गरिरहेको छैन ।

लकडाउन पछि संघ पनि बन्दै गर्नु भयो कि अथवा कृयाशील रहनुभयो ?

हामी भर्चुअल्ली सक्रिय रह्यौँ । नेपाल शैक्षिक परामर्श संघले यसरी पनि हामी आफ्ना गतिविधिलाई अगाडी बढउन सक्छौं भन्ने एउटा नमूनानै बनाउने काम      गर्‍यो । हामी इतिहासमै एक वर्षमा करिब ८० भन्दाबढी कार्यक्रम गर्‍यौँ । धेरै त्यस्ता तालिम छलफलका कार्यक्रम गर्‍यौँ । हाम्रा सदस्यहरूलाई सचेत बनाउने काम गर्‍यौँ ।

अन्तराष्ट्रिय फोरमहरुमा आफ्ना धारणाहरू राख्ने,इक्यानको वकालत गर्ने लगायतका कार्यक्रमहरूमा समावेश भयौँ । राज्यका विभिन्न अङ्गसँग निरन्तर रुपमा छलफलमै रहेर यो व्यवसायलाई कसरी अगाडी बढाउन सकिन्छ व्यवस्थित गर्न सकिन्छ ? त्यतिमात्र होइन हामीले हाम्रो साधारण सभा भर्चुअल्ली गर्‍यौँ । हामीले हाम्रो मेलालाई भर्चुअल्ली सम्पन्न गरिसकेका छौँ ।

हामीले गतिशीलरुपमा कोभिडले ल्याएका अवसरहरुलाई पनि भर्चुअल माध्यमबाट कसरी लिन सकिन्छ भनेर सँधै सक्रियनै रह्यौं । मलाई लाग्छ नेपालमा भएका सबै धेरै मध्ये सक्रिय संस्थामा पर्दछ इक्यान ।

र, अन्त्यममा तपाईको केही भनाई छ भने …

मुख्यत यो शैक्षिक परामर्श क्षेत्रकै हिसाबले यो अत्यन्त नविन क्षेत्र हो । यसले विद्यार्थीको भविष्य उनीहरूको सपना आकाङ्क्षालाई पूरा गर्न अभिभावकको सपना लगानीलाई सही बाटो दिन लाग्ने क्षेत्र हो । त्यही हिसाबले हामी विद्यार्थी र अभिभावकहरूलाई सेवा पुर्‍याउन सँधै लागिरहेका छौँ । विद्यार्थी र अभिभावकहरूको पनि आफ्नै किसिमका जिम्मेवारी हुन्छन् ।

एउटा परामर्शदात्रीमा पुग्ने मात्र गर्ने होइन कि एउटा परामर्शदात्री छनोटमै पनि उहाँहरुले ध्यान दिनुपर्दछ । सेवा लिनु पहिलेनै परामर्शदात्रीहरूले दिएका जानकारी कति सत्य छन् भन्ने विषय पनि जाँच गर्नु पर्दछ । शिक्षा मन्त्रालयबाट स्विकृत प्राप्त हो कि होइन हेर्नु पर्‍यो । अथवा इक्यानको सदस्य हो कि होइन हेर्नु प¥यो । जसले गर्दा एउटा किसिमको गुणस्तरको रुपमा स्थिापित गर्ने काम गरेका छौं । विदेश जाने विषय यो सामान्य विषय होइन ।

अत्यन्त जटिल विषय हो । महत्वपूर्ण विषय हो । यहाँ घर छोडेर जाने अर्को देशको मौसम संस्कृति फरक वातावरणको हुन्छ । जाने निर्णय आफैमा अत्यन्त ठूलो निर्णय हो । त्यसैले विद्यार्थीले जानु भन्दा पहिले अभिभावकले पठाउनुभन्दा पहिले अत्यन्त धेरै सजग भएर मात्र तयारी गरेर बुझेरमात्र जानु र पठाउनु पर्दछ ।

हाम्रो भूमिका हाम्रो जिम्मेवारी विद्यार्थी र अभिभावकको जुन जिम्मेवारीको बारेमा राम्रोसँग बुझेर विदेशी जीवनशैली विदेशको शिक्षा त्यसले दिने अवसरहरुको बारेमा लगानी गर्ने परिवारको क्षमता छ कि छैन ? यो सबै कुरा बुझेरमात्र अगाडी बढ्नलाई अनुरोध गर्न चाहन्छु ।



प्रतिक्रिया दिनुहोस !