१८ बैशाख २०८१, मंगलबार

वन्यजन्तु व्यापारको अवैध व्यापारमा नेपाल ‘टप ट्वेन्टी’मा

प्रकाशित मिति :  20 March, 2021 1:05 pm


काठमाडौं ।

विश्वव्यापी वन्यजन्तुको अवैध तस्करी कारोबार हुने ‘टप ट्वेन्टी ‘ एसियाली मुलुकमध्ये नेपाल पनि परेको छ । अमेरिकाको सहयोग नियोग एएसएआइडीको संकट रहेका वन्यजन्तुको अवैध ओसारपसारको अवसर घटाउने साझेदारी (रुटस) अन्तर्गतको सेन्टर फर डिफेन्स स्टडिजले सार्वजनिक गरेको अध्ययनअनुसार एसियामा चीन वन्यजन्तुको अवैध कारोबार हुने मुलुकमा परेको छ भने नेपाल चौधौँ स्थानमा छ ।

सन् २०१६ देखि २०१८ का बीचमा हवाई माध्यमबाट भएका वन्यजन्तुको अवैध ओसारपसारको पक्राउ र बरामदका घटनामा चीनपछि भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, भारत, मलेसिया, फिलिपिन्स, पाकिस्तान, ताइबान र सिंगापुर ‘टप टेन’मा छन् ।

लागूऔषध र हतियारको अवैध कारोबार सम्बन्ध

सन् २०१९ को अप्रिल महिनामा बंगलादेशको राजधानी ढाकाका भन्सार अधिकारीहरूले ८० कछुवा र सुनका १२ टुक्रा थाइल्यान्डबाट आएका एक यात्रुसँग फेला पारेका थिए । अवैध रूपमा वन्यजन्तुलगायत अन्य अवैध उत्पादन लिएर यात्रु पक्राउ परेको भने यो पहिलो घटना थिएन ।

तर यो समाचारले वन्यजन्तुको अवैध व्यापार र अन्य अवैध वस्तुको ओसारपसारबीचको अन्तरसम्बन्ध सोचिए भन्दा गहिरो रहेको खुलासा गर्न मद्दत गर्‍यो ।

अमेरिकाको सहयोग नियोग एएसएआइडीको संकट रहेका वन्यजन्तुको अवैध ओसारपसारको अवसर घटाउने साझेदारी (रुटस) अन्तर्गतको सेन्टर फर डिफेन्स स्टडिजले सार्वजनिक गरेको अध्ययनबाट अवैध कारोबारको बाटो सञ्जाल र विधिहरूको खुलासा भएको छ । यसबाट वन्यजन्तुको अवैध व्यापारको अन्तरसम्बन्ध  लागूऔषध, हातहतियार लगायत अन्य अवैध वस्तुको ओसारपसारसँग रहेको खुलेको छ ।

अनुसन्धानकर्ताहरूले २०१५ देखि २०१९ सम्मको हवाई यतायातबाट भएको अवैध ओसारपसार र अवैध वन्यजन्तुको ओसार पसारलगायत अन्य गैर वन्यजन्तुको विश्लेषण गरे ।

उनीहरूको विश्लेषणका आधारमा  पाँच बाटोहरूमा एक बाटो,  त्यसलाई सहयोग गर्ने संगठन, सहर वा हवाई अड्डा उही रहेको फेला परेको छ ।

वन्यजन्तु वा अन्य अवैध वस्तुको ओसारपसार विश्वका दुई तिहाइ सहरहरूबाट हुने गरेको सन् २०१५ देखि २०१९ बीचमा अवैध कारोबारको अध्ययनबाट खुल्न आएको हो ।

चोरी सिकारीबाट वन्यजन्तु संरक्षणका लागि स्पेस फर जायन्टस र फ्रिल्यान्ड सक्रिय रहेका छन् । उनीहरूको अध्ययनबाट  मलेसिया र हङकङबीचका हवाई मार्गहरूको उपयोग हात्तीको दाँत, हेल्मेटेड हर्नबिल कास्कजस्ता वन्यजन्तुको अवैध कारोबार र हेरोइन मेथामफेटामाइन्स जस्ता लागू औषधको ओसारपसारका लागि फराकिलो बन्दै गएको देखिएको छ ।

अवैध ओसारपसारको झन्डै ९० प्रतिशत सिपमेन्ट यो दुई हवाई मार्गको बिन्दु बीचबाट हुने गरेको छ । तस्करहरूले हवाई पूर्वाधारहरूको उपयोग गरिएको पाइन्छ । अवैध कारोबारीहरूले फरक खालको कालो बजारलाई सञ्चालन गरिरहेका छन् । वित्तीय, सञ्चार र यातायात प्रणालीको उपयोग अवैध कारोबारका लागि गर्ने गरेको पाइएको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

यो अध्ययनका अगुवा लेखक बेन स्पेभाकले जनाए अनुसार अवैध गतिविधिहरूको डेटा हरेक स्तरमा मिलाएर हेर्दा अवैध ओसारपसारको सञ्चालनलाई दर्शाउँछ । यो अध्ययनले कानुन कार्यान्वयन अधिकारीहरूलाई यसबारे ध्यानाकर्षण गराएको छ । (एजेन्सीको सहयोगमा)



प्रतिक्रिया दिनुहोस !