१६ चैत्र २०८०, शुक्रबार

कृषि क्षेत्रको विकासमा संचार जगतको भूमिका उच्च छः कृषि सचिव कार्की

प्रकाशित मिति :  3 May, 2021 7:46 pm


अनाजकाे तर्फबाट सुझाव बुझ्दै कृषि सचिव डा. याेगेन्द्र कुमार कार्की ।

काठमाडौं ।

सुझाव पत्र बुझ्दै मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले नेपालमा कृषि क्षेत्रको विकासको लागि संचारकर्मीको भूमिका उच्च रहेको बताएका छन् ।

सोमबार एसोसिएशन अफ नेपाली एग्रीकल्चरल जर्नलिस्टस् (अनाज) को तर्फबाट सुझाव लिंदै कार्कीले कृषि क्षेत्रमा मिडियाले दिएको प्राथमिकताले कृषि विकासको गति बढेको प्रतिक्रिया दिएका हुन् ।

अनाज ले आगामी वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रम र कृषि बजेट निर्माणका लागि कृषि बजेटका कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसमक्ष सुझावपत्र पेस गरेको छ । अनाजका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक सुरेश कुमार यादवले सोमबार संस्थाको प्रतिनिधित्व गर्दै सुझावपत्र सचिव कार्कीमार्फत् मन्त्रालयलाई सुझाव पत्र बुझाएका हुन् ।

“मन्त्रालय र कृषिका निकायहरुमा संचारकर्मीको सहज पहुँच विस्तार भएको छ, कृषि पत्रकारले खेलेको भूमिका निकै जिम्मेबारपूर्ण रहेको मन्त्रालयको बुझाइ छ,” कार्कीले भने, “कृषि संचार प्रवद्र्धनका लागि मन्त्रालयले यो वर्ष विशेष व्यवस्था गर्ने योजनामा राख्छौं ।”

सुझाव पत्रमा कृषि पत्रकारको क्षमता अभिवृद्धि र कृषिलाई प्रमुख विधाका रुपमा लिएर कार्य गरिहेका मिडिया तथा कृषिलाई प्राथमिकता दिने अन्य मिडियालाई सहयोग पुग्ने कार्यक्रम ल्याउनुपर्ने लगायतका विषय समेटिएको छ ।

सुझाव पत्रमा संचार क्षेत्रका अलावा कृषक, उद्यमी र उपभोक्तासमेतको हित गर्ने विषय समेटिएको छ । कृषि क्षेत्रका संचारकर्मी तथा सरोकारवालाबीच विभिन्न चरणमा गरिएको औपचारिक, अनौपचारिक छफल तथा सुझाव संकलनपश्चात संस्थागत रुपमा सुझाव पेश गरिएको अनाजले जनाएको छ ।

स्थानीय उत्पादन, साना किसान र आत्मनिर्भरतालाई प्राथमिकता, कोरोना राहत कार्यक्रम, कृषकको वर्गीकरण र कृषि आत्मसम्मान कार्यक्रम, अनुदानमा एकद्वार प्रणाली, कृषक राहत कोष, कृषिमा संगठनात्मक सुधार, कृषि प्रसार सुधार र सूचना प्रविधिको उच्चतम उपयोग लगायत उपसिर्षकमा २५ बुँदामा सुझाव पेस गरिएको छ ।

एशोसिएसन अफ नेपाली एग्रीकल्चरल जर्नालिस्टस् (अनाज) लामो समयदेखि कृषि पत्रकारितामा संलग्न संचारकर्मीहरुले नेतृत्व गरेको गैर नाफामूलक संस्था (मुनाफा वितरण नगर्ने कम्पनी) हो । काठमाडौंमा रहेर मूल धारका विभिन्न मिडियामा संलग्न संचारकर्मीको समन्वयकारी निकायको रुपमा काम गर्ने उद्देश्यले स्थापित यस संस्थाले सातै प्रदेशमा कृषि संचार सुदृढ गर्न भूमिका खेल्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

अनाजले विशेष गरी कृषि संचारकर्मीको क्षमता अभिवृद्धि गर्ने, पत्रकारलाई सूचना प्रवाहमा सहयोग गर्ने र पत्रकार तथा मिडिया संचालकलाई कृषिका विषयमा समाचार सम्प्रेषणमा सहयोग पु¥याउने विषय संस्थाको प्रमुख प्राथमिकता रहेको छ । किसान, उद्योगी, सरकारी तथा गैरसरकारी निकायहरुसमेतलाई कृषि संचारमा अभ्यस्त बनाउने लगायतका उद्देश्य लिएर कार्य गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !