१३ बैशाख २०८१, बिहिबार

निषेधाज्ञाभित्र रोल्पामा घरेलु हिंसा बढ्दो

प्रकाशित मिति :  17 May, 2021 8:35 am


उमा केसी-

रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नं. २ हरिगाउँकी ३४ वर्षीया हरिमाया मगर (नाम परिवर्तन) ले आफ्नो श्रीमान परस्त्रीसँग लागि आफुमाथि पटकपटक कुटपिट, डरधम्की तथा गालीगलौज गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रोल्पामा लिखित उजुरी दिईन् ।

रोल्पा नगरपालिका वडा नं. ९ रिसवाङकी ४० वर्षीया ममता थापा (नाम परिवर्तन) ले बहिनी नाता पर्ने बाट पटक पटक हिंसामा परेको भन्दै जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी गरिन् ।

बहिनीले आफूलाई पटक पटक अश्लिल शब्द प्रयोग गरी गाली गलौज गरेको, ढुंगा दाउरा समाई हान्छु मार्छु भनेको तथा व्यहोराको लिखित निवेदन दिएकी थिईन् ।

रोल्पा नगरपालिका-९ ह्वामाकी ४० वर्षिया रमिता केसी (नाम परिवर्तन) भतिज नाता पर्नेले आफूलाई अप शब्द प्रयोग गरी गाली गलौज गरेको तथा डरधम्की दिएको व्यहोरा सहित जिल्ला प्रहरी कार्यालय रोल्पामा लिखित उजुरी दिइन् ।

कोरोनाको दोश्रो लहर फैलिएसँगै जिल्लामा भएको निषेधाज्ञा अवधिमा जिल्ला प्रहरी कार्यालय रोल्पामा परेका घरेलु हिंसाका घटनामा पिडितहरुले दिएको लिखित उजुरी तथा उजुरीमा उल्लेखित व्यहोराहरु हुन् यी ।

निषेधाज्ञा अवधिमा महिलाहरुमाथि लैंगिक हिंसा तथा घरेलु हिंसाका घटनाहरु अत्यधिक भएपनि उनीहरु न्यायको पहुँचमा आउन निकै समस्या हुने गरेको देखिएको छ ।

लैंगिक हिंसा पिडितहरुलाई अल्पकालीन आश्रय दिईरहेको सगरमाथा महिला महिलामाथि कुटपिट गर्ने, गाली गलौज तथा डरधम्की दिएर घरमा वस्न नसक्ने अवस्था भएका महिलाहरुले न्यायका लागि आफूहरुलाई फोन गर्ने गरेको आचार्यले बताइन् ।

यसबीच सामान्य अवस्थाको हिंसा ७ र जटिल अवस्थाको हिंसा २ गरि ९ वटा हिंसाका पिडितहरुहरु सम्पर्कमा आएको आचार्यले जानकारी दिइन् । “सामान्य हिंसा पिडितहरुलाई फोनवाट परामर्श गरि अहिले मिलेर वस्न वा छिमेकको सहयोग लिन परामर्श गरेका थियौ भने घरमा वस्नै नसक्ने २ जना जटिल किसिमका हिंसापिडितहरुलाई अल्पकालीन आश्रय गृहमा वस्ने व्यवस्था गरेका छौ” उनले भनिन् ।

सामान्य अवस्थामा दिनहुँ २-३ वटा घरेलु हिंसाका उजुरी आईरहने जिल्ला प्रहरी कार्यालय रोल्पा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा ३ वटा मात्रै यस्ता उजुरी परेका छन् ।

प्रहरीका अनुसार लिखित उजुरी कम परे पनि अरु थप ५ वटा मुद्दा फोनबाट टिपोट भएका छन् । “प्रहरीको पहुँच नजिक भएका पीडितहरु आफै आएर उजुरी दर्ता गरे पनि प्रहरीको पहुँच बाट टाढा रहेकाहरुले फोनबाट उजुरी दिने गरेका छन्,” जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक सन्तोषकुमार केसीले भने ।

निषेधाज्ञा अवधिमा घरेलु हिंसाका घटना वढ्ने कुरामा प्रहरी सजग रहेको केसीको भनाइ छ । उनले उपस्थित हुन नसके पनि अफ्यारो नमानेर निषेधाज्ञामा पनि घर बाटै उजुरी गर्न पीडितलाई अनुरोध गरे ।

“घरेलु हिंसा र लैंगिक हिंसाका घटनाको बारे प्रहरी युनिटहरुलाई चौविसै घण्टा सहज रहन र घटना भएको थाहा पाए तत्काल समाधानका लागि निर्देशन गरेका छौ,”

हिंसाका घटनाको वारे टोल फ्री नम्वर तथा जिल्ला प्रहरी कार्यालयका अन्य नम्बरमा आएका फोनका आधारमा नजिकको प्रहरी चौकीलाई खटाएर समस्या हल गर्ने गरेको केसीले बताए ।

कोरोनाका कारण सिर्जित निषेधाज्ञाको समयमा पनि हिंसा पीडित महिलाहरुलाई सेवा दिन महिला अयोगको टोलफ्री नम्वर ११४५ र नेपाल प्रहरीको टोलफ्री नम्वर १०४ चौविसैघण्टा खुला रहने गर्दछ ।

जिल्लामा पनि महिला संजालहरुमा लैंगिक हिंसा न्यूनिकरणको संयन्त्र वनाइएको हुदा नजिकको संजालहरुमा खवर गर्न सकिने अधिकारकर्मी दिलकुमारी वुढाको भनाईछ ।

“हिंसा पिडितहरुका लागी जिल्लामा संचालित अल्पकालीन आश्रय गृहमा पनि सम्पर्क गर्न सकिने सयन्त्र बनाएका छौं” बुढाले भनिन् ।
कोरोनोको आर्थिक तथा मनोवैज्ञानिक प्रभाव भोगिरहेका महिलाहरुले हिंसाको जोखिम समेत वहन गर्न बाध्य भएकाले उनीहरुको मानवअधिकार रक्षाका लागि सरोकारवाला सबै लाग्नु पर्ने बुढाको भनाइ छ ।

 



प्रतिक्रिया दिनुहोस !