५ असार २०७८, शनिबार

राष्ट्र बैंकले भन्यो,‘४ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुँदैन’

प्रकाशित मिति :  ४ जेष्ठ २०७८, मंगलवार १७:३८


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७/७८ मा केन्द्रीय तथ्यांक विभागले अनुमान गरेअनुसार ४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल नहुने बताएको छ ।

“केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४ प्रतिशत रहने अनुमान गरेको छ । तर, कोभिड–१९ महामारीको कारण शिथिल भएको अर्थतन्त्र पूर्ण रुपमा पुनरुत्थान हुन नपाउँदै यसको दोस्रो लहरले अर्थतन्त्र प्रभावित हुन गई अनुमानित आर्थिक वृद्धि हासिल गर्न समेत कठिन हुने देखिएको छ,” राष्ट्र बैंकले भनेको छ ।

कोभिड–१९ को पहिलो लहरको संक्रमण कम हुँदै गएकोले लकडाउन क्रमशः खुकुलो गर्दै पूर्ण रुपले हटाइएकोले अधिकांश आर्थिक गतिविधिहरू चलायमान हुन थाले पनि कोभिडको दोस्रो लहरको संक्रमणसँगै व्यापार/व्यवसायहरु पुनः प्रभावित भएको राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उल्लेख छ ।

विस्तृत मुद्रा प्रदायको चिन्तालाग्दो विस्तार

पुसपछि निजी क्षेत्रतर्फ जाने कर्जाको अनुपात ठूलो अनुपातमा बढेसँगै विस्तृत मुद्र्रा प्रयाय (एमटू) राष्ट्र बैंकले सोचेभन्दा ठूलो अनुपातमा बढेको छ । सर्वसाधारणसँग भएको नगद, ंबैंक तथा वित्तीय संस्थामा कायम रहेको चल्ती निक्षेप र आवधिक निक्षेप जोडेर विस्तृत मुद्रा प्रदाय निकालिन्छ ।

राष्ट्र बैंकले चालू वर्षमा विस्तृत मुद्रा प्रदाय १८ प्रतिशतमा कायम राख्ने लक्ष्य राखेकोमा यो बढेर झन्डै २४ प्रतिशत पुगेको छ । विस्तृत मुद्रा प्रदाय बढ्दा त्यसले मुद्राको मागजन्य मुद्रास्फीति सिर्जना गर्छ भने समग्र वित्तीय स्थायित्व नै जोखिममा पार्छ ।

राष्ट्र बैंकको औपचारिक तथ्यांकले मुद्रास्फीति दर कम देखाए पनि बजारमा मूल्यवृद्धिदर उकालो लाग्नुको मुख्य कारण पैसा अर्थात् मुद्राको प्रवाह बढेकै कारणले हो । राष्ट्र बैंककै अधिकारीहरू यसको प्रभाव अब क्रमसः देखिँदै जाने बताउँछन् ।

निजी क्षेत्रतर्फ जाने कर्जा बढेसँगै त्यसले माग बढाइ आयात पनि बढाएको छ । जसका कारणले गत पुसमा १ खर्ब २५ अर्ब रुपैयाँमा कायम रहेको शोधनान्तर बचत चैतमा आइपुग्दा ४२ अर्ब ५४ करोड रुपैयामा झरेको छ ।

यदि विदेशबाट आउने रेमिट्यान्सले नथेगेको भए यही कारणले नेपालको विदेशी विनिमयको भण्डार निकै न्यून तहमा पुगिसकेको हुन्थ्यो ।
कुल विदेशी विनिमय सञ्चिति पुस मसान्तमा रु.१४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँबराबर रहेकोमा चैत मसान्तमा रु.१४ खर्ब ३३ अर्ब २७ करोडमा झरेको छ, अर्थात् तीन महिनामै विदेशी मुद्राको सञ्चितिमा रु ६० अर्ब ४८ करोडले कमी आएको छ, जबकी यही अवधिमा रेमिट्यान्स आयमात्रै २ खर्ब ३४ अर्बले बढेको देखिन्छ ।

 



प्रतिक्रिया दिनुहोस !