२० बैशाख २०८१, बिहिबार

सरकारलाई डेरी उद्याेगीकाे पाँच बुँदे ध्यानाकर्षण, सहुलियत ऋणदेखि दूध किसानलाई अनुदानसम्म

प्रकाशित मिति :  19 May, 2021 4:09 pm


काठमाडौं । कोरोना महामारीकाबीच दुग्ध उत्पादन, प्रशोधन र बजारकरणलाई सहजीकरण गर्न डेरी उद्योग संघले सरकाकाे ध्यानाकर्षण गरेकाे छ ।

संघले बुधबार सरकारले सहजिकण गर्नु पर्ने पाँच वटा ध्यानाकर्षणका बुँदासमेटेर विज्ञप्ति सार्वजनिक गरेको हो । विज्ञप्तिमा उद्योगीहरु मूल्य नबढाइ आपूर्ति व्यवस्था सहज रुपमा गर्न प्रतिवद्ध रहेकाे तर सरकारले पनि सहजीकरणमा भूमिका खेल्नुपर्नेमा जाेड दिइएकाे छ ।

“यस्तो विषम परिस्थितीमा रोग प्रतिरोधि क्षमता बढाउन अति आवश्यक दूध तथा दुग्धजन्य पदार्थहरु सुरक्षात्मक उपाय अप्नाई सहज आपूर्ति गरिने र कुनै मुल्यवृद्धि हुन नदिने प्रतिवद्धता प्रकट गर्दछौ,” अध्यक्ष राजकुमार दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

दुधको खपत घट्न गई कतिपय डेरीले सामान्य अवस्थाको जस्तो दुग्ध संकलन गर्न नसक्दा किसानहरु मारमा परेको र यस्ता समस्या समाधान सरकारसमेतको सहयोगले मात्र सहज हुने संघको धारणा छ ।

निषेधाज्ञाको कारण दुधको खपत ३० प्रतिशतमा झरेको संघले जनाएको छ । संघले धुलो दूध, बटर तथा अन्य पदार्थ गरी उद्योगीहरुको स्टक मात्र ४ अर्व २५ करोड पुगेको जनाएको छ ।

“हाल देशव्यापी रुपमा फैलिएको नयाँ भेरीएण्ट सहीतको कोभिड–१९ को दोश्रो माहामारीमा दिनानुदिन सक्रमण बढिरहेको र मृत्युदर पनि उच्च हुँदा आफु, आफ्ना कर्मचारी संक्रमण मुक्त राख्न हर सम्भव प्रयासरत रही सुरक्षात्मक उपाय अपनाएर दैनिक उद्योग संचालन भए पनि निषेधाज्ञा कारण खपत भने ३० प्रतिशतको हाराहारीमा छ,” विज्ञप्तिमा भनिएको छ ।

संघले उद्योगीहरुको तर्फबाट विगतमा जस्तै नियमित आपूर्ति सहज बनाउन लागि परेको बताउँदै सरकारले दुग्ध क्षेत्र जोगाउन गर्नुपर्ने पाँच बुँदे सहयोग तथा सहकार्यको अपिल गरेको छ । यस्तो छ संघले सरकारसँग गरेको मागः

१. हालको विषम परिस्थितिमा ज्यु ज्यानको प्रवाह नगरी दूध जस्तो अत्यावश्यक वस्तुको सेवा प्रदान गर्ने देश भरिकै दूध संकलन, प्रशोधन र विक्रि वितरणको अग्र भागमा काम गर्ने कर्मचारी व्यवस्थापक कोभिड विरुद्धको खोप पाउन नसकेकाले सहज रुपमा तत्काल खोप दिने व्यवस्था गर्ने ।

२.चालू पूँजीको अभावमा किसानको नियमित भुक्तानी, धुलो दूध कन्भरसन ज्याला र कर्मचारीको तलव दिन समेत समस्या आएकाले डेरी उद्योगहरुमा भएको मौज्दातको आधारमा रु. १० करोडसम्म सहुलियत कृषि कर्जा उपलब्ध गराउने ।

३. स्वदेशी दुग्धजन्य पदार्थको मौज्दातले आन्तरिक बजार धान्न सक्ने भएकोले तत्काल आयातित सम्पूर्ण दुग्धजन्य पदार्थहरु जस्तै धुलो दूध (स्कीम मिल्क पाउडर), होल मिल्क पाउडर, स्प्रेड मिल्क पाउडर, वटर, घिउ, बटर आयल, चीज, पनीर, दही, आइसक्रिम, फ्रोजन डेर्जट र दूधबाट बनेका मिठाई एवं परिकारहरु पूर्ण रुपमा प्रतिवन्ध लगाई देशको उत्पादनलाई स्वदेश मै खपत गर्न प्रोत्साहित गर्ने ।

४. .कोभिड १९ को पहिलो तथा दोश्रो लहरमा किसानको विक्रि हुन नसकी खेर गएको दूधमा प्रति लि. रु. १० अनुदान दिने । डेरी उद्योगहरुले झोल दूधबाट धुलो दूध बनाउदा प्रति लि.  १६ देखी २१ सम्म नोक्सान व्यहोर्नु परिरहेकोले धुला् दूध बनाई मिल्क होलिडे समस्या अन्त गर्न रु. ६।- अनुदान दिने व्यवस्थ गर्ने ।

५. डेरी उद्योग तथा सहकारीहरुले प्रयोग गर्ने विद्युतमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गर्ने ।

६. गत वर्षको विषम परिस्थितिमा छिमेकी देश चीन र अष्ट्रेलिया लगायतका देशहरुले स्वच्छ एवं प्रशोधित दूध तथा दुग्धजन्य पदार्थको सेवनबाट मानव सुस्वास्थ्य एवं रोग प्रतिरोधि क्षमता अभिवृद्धि हुने दर्शाइ कम्तिमा प्रति व्यक्ति दैनिक ३०० मि.लि. दूध सेवन गर्न अभिप्रेरित गरेको र यी देशहरुमा हालको दोश्रो लहरमा जटिल समस्याहरु छैनन् । यसर्थ स्वच्छ स्वदेशी दुग्धजन्य पदार्थ उपभोग अभिवृद्धिका प्रचार प्रशार गरी खपत अभिवृद्धि गर्ने ।



प्रतिक्रिया दिनुहोस !