१८ बैशाख २०८१, मंगलबार

घरमा हुने सुत्केरी शुन्य अभियानमा रोल्पाका स्थानीय तह, निषेधाज्ञामै १०२ गर्भवतीले लिए सेवा

प्रकाशित मिति :  23 May, 2021 1:01 pm


राेल्पा जिल्ला अस्पताल

उमा केसी-

रोल्पा । रोल्पाका जिल्लाका स्थानीय तहहरुले घरमा हुने प्रसुतीलाई शुन्यमा झार्ने अभियानलाई तिब्रता दिएका छन् । घरमा हुने सुत्केरीले आमा र नवजात शिसु दुवैलाई खतरा हुने पाइएकाले सतप्रतिशत संस्थागत सुत्केरी अभियान संचालन गरिएको हो ।

अभियानले निषेधाज्ञामा पनि निरन्तरता पाएको छ । दोस्रो चरणको कोरोना महामारी सुरु भएयता मात्र १ सय २ जना गर्भवतिले अस्पतालबाट सेवा लिएका छन् ।

जिल्लाको लुंग्री गाउँपालिका वडा नं. १ पाङलाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिसकेको छ भने गाउँपालिकाले चालु आर्थिक वर्ष वडा नं. ४ र ५ लाई पनि घरमा हुने सुत्केरी शुन्य वडा घोषणाको तयारीमा लागेको छ ।

७ वडा रहेको गाउँपालिकाले आगामी वर्षभित्र सवै वडालाई घरमा हुने शून्य प्रसुती वडा घोषणा गर्दै गाउँपालिका नै घरमा हुने शुन्य प्रसुती वडा घोषणाको तयारीमा लागेको हो ।

“स्वास्थ्यकर्मी, आमा समुह र महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरेर यसै वर्ष २ वटा वडा पनि सुत्केरी शून्य वडा वनाउदै छौं,” गाउँपालिकाका स्वास्थ्य संयोजक लेपेन्द्र वुढाथोकीले भने ।

समग्र गाउपालिकामा संस्थागत सुत्केरीको अवस्था कस्तो छ भनेर घरधुरी सर्वेक्षण गरि केही वर्ष भित्रै गाउँपालिकालाई नै घरमा हुने सुत्केरी शून्य घोषणा गर्ने तयारी रहेको उनले बताए ।

संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न सो गाउँपालिकाको ४ नम्वर वडाले सुत्केरी र गर्भ चेकजाँच गर्न स्वास्थ्य संस्था आउने गर्भवतीहरु लाई नुन तेल प्रदान गर्ने गरेको छ ।

अघिल्लो वर्षदेखि नै यो अभियान सुरु भए पनि यस वर्ष घरमा हुने सुत्केरी शून्य वडा घोषणा गर्ने गरि काम थालनी वडा कार्यालयको भनाई छ । जिल्लाका अन्य स्थानीय तहहरुले समेत यस्तो अभियान अघि वढाएका छन् ।

घरमा हुने सुत्केरीले आमा तथा शिसुमा स्वास्थ्य संक्रमण देखिदा मातृ र वालमृत्यु दर वढेको भन्दै सरकारले संस्थागत प्रसुतीलाई महत्वपूर्ण कार्यक्रमको रुपमा अघि सारेको हो ।

कोभिड १९ को दोश्रो लहर फैलिएसंगै भएको निषेधाज्ञाले जिल्लाको जनजीवन ठप्प छ । यातायातका साधनहरु नचल्दा अत्यावश्यकीय काम समेत प्रभावित भएका छन् । रोल्पाका स्वास्थ्य संस्थामा प्रसुती सेवाले भने निरन्तरता पाईरहेको छ । आमा वन्न स्वास्थ्य संस्था धाउने गर्भवतीहरुको संख्यामा गिरावट आएको छैन ।

स्वास्थ्यकर्मीले कोरोनाको रोकथाम तथा उपचारका साथै स्वास्थ्य संस्थाका नियमित कामलाई समेत निरन्तरता दिईरहेका छन् । राज्यको पहिलो प्राथमिकतामा रहेको आधारभूत स्वास्थ्य सेवा अन्तरगत प्रसुती सेवाले यस्तो समयमा पनि निरन्तरता पाएको हो ।

कोरोनाको दोश्रो लहर पछि भएको निशेषज्ञा अवधिमा रोल्पा अस्पतालमा ६२ जनाले गर्भवती सेवा लिएका छन । यसै अवधिमा अस्पतालमा १९ जनालाई प्रसुती सेवा दिएको रोल्पा अस्पतालका सिनियर स्टाप नर्स मीना कवरले जानकारी दिइन । यस अवधीमा अस्पतालले ७ जनालाई जिल्ला बाहिर रेफर गरेको थियो ।

सुनिलस्मृति गाँउपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा १८ जनाले गर्भवती सेवा लिएका थिए । यस अवधिमा प्रसुती सेवा लिनेको संख्या ८ जना रहेको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका स्टाप नर्स खिमा गिरीले बताइन् ।

माडी गाँउपालिकाको घर्तीगाउँ स्वास्थ्य चौकीले यस अवधिमा २२ जनालाई गर्भवती सेवा दिएको थियो । घर्तीगाउँ स्वास्थ्य चौकीका अनुसार यस अवधिमा स्वास्थ्य संस्थामा आएर प्रसुती सेवा लिनेको संख्या ४ रहेको छ ।

जिल्लाका यी तीन घना वसोवास भएका शहरोन्मुख स्वास्थ्य संस्थाका आँकडा अनुसार विपदको घडीमा पनि आधारभूत स्वास्थ्य सेवाले निरन्तरता पाएको देखाउछ ।

सुरक्षित मातृत्व सेवा अन्तरगत गर्भवती महिलाले सामान्य गर्भावस्थामा कम्तीमा चार पटक स्वास्थ्य चेकजाँच गर्नुपर्दछ । यसका साथै स्वास्थ्य स्याहार सम्बन्धि समुचित परामर्श सेवा लिने तथा गर्भावस्थामा अलवम्वन गर्नुपर्ने सुधारका उपाय तथा न्यूनतम सेवा गर्भवती सेवा अन्तरगत पर्दछन् ।

सुरक्षित प्रसुतीका लागी भन्दै सरकारले जिल्लामा ६३ वटा वर्थिङ सेन्टर संचालनमा ल्याएको छ । नागरिकको सुविधालाई मध्य नजर गर्दै सकेसम्म कम दुरी रहने गरि स्थापना भएका भनिएका ती वर्थिङ सेन्टरमा प्रसुती गराउने आमाहरुको संख्या भने आधा भन्दा कम छ ।

अघिल्लो वर्ष गर्भवती भएका मध्ये झण्डै ६३ प्रतिशत आमाले वर्थिङ सेन्टरमा पुगेर प्रसुती गराएका थिए । प्रसुतीका लागी वर्थिङ सेन्टर जाने गर्भवतीहरुको संख्यामा क्रमिक सुधार हुदै आए पनि अझै सुधार आउन जरुरी रहेको स्वास्थ्यकर्मीहहरु बताउँछन् ।

आर्थिक वर्ष ०६९/०७० मा संस्थागत सुत्केरी ३८ प्रतिशत मात्रै रहेको रोल्पामा आर्थिक वर्ष ०७४÷०७५ मा यो संख्या वढेर ५३.७ प्रतिशत पुगेको थियो ।

यसैगरि आर्थिक वर्ष ०७५/०७६ मा यो संख्या ६०.८ प्रतिशत रहेकोमा अघिल्लो आर्थिक वर्ष यो संख्या ६२.९ प्रतिशत रहेको स्वास्थ्य कार्यालय रोल्पाको प्रतिवेदनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !