जिल्ला सभापति भेला : असन्तुष्ट समूह उत्साहित

काठमाडौं, २४ पुस । सभापति शेरबहादुर देउवाको कदम सच्याउनका लागि दबाब दिन केन्द्रीय कार्यालयमा तीन दिनसम्म चलेको जिल्ला सभापतिको भेलापछि कांग्रेसको असन्तुष्ट पक्ष उत्साही भएको छ । अब पार्टी सुधारको कार्यक्रमलाई पार्टीको तल्लो तहसम्मै लैलाने भएको छ ।
कांग्रेसका ४७ जिल्ला सभापतिले बहुमत र अल्पमतका आधारमा अगाडि बढ्दा पार्टीलाई नै घाटा हुने भन्दै सहमतिका आधारमा पुनः १४औँ महाधिवेशनको कार्यतालिका ल्याउन माग गरेपछि असन्तुष्ट पक्ष उत्साही भएको हो । कांग्रेस नेता रामचन्द्र पौडेलले आफूहरूको पनि यही चाहना रहेको जनाउँदै भेलाबाट उत्साही भएको बताएका हुन् ।
सभापति देउवाले ११ पुसमा बहुमतको आधारमा १४औँ महाधिवेशनको कार्यतालिका ल्याएको, सदस्यता सम्बन्धमा विधानको महत्वपूर्ण धारा निलम्बन गरेको, विधानविपरीत विभाग गठन गरेको भन्दै संस्थापनइतर पक्ष असन्तुष्ट बनेको थियो । ‘१४औँ महाधिवेशनलाई धरापमा पार्नेगरी मंसिरबाट फागुनमा महाधिवेशन सक्छु भनेर कार्यतालिका ल्याउनु अव्यवहारिक थियो ।
विभाग ४७ वटा बनाउने, विधान निलम्बन गरेको कुरामा पनि सुधार गर्न र पार्टी विधिसम्मत चल्नुपर्छ भन्ने माग गर्दै आयौँ,’ भेलापछि पौडेलले भने, ‘सभपातिको कदमपछि ७७ मध्ये दुईतिहाइ सभापतिलाई बोलाएर परामर्श गर्यौँ । उहाँहरूको सुझाब पनि पार्टी विधि, पारदर्शी, न्याय र निष्पक्ष आधारमा चल्नुपर्छ भन्ने आएको छ । बहुमतकोे निर्णय सच्याउनुपर्छ भन्नेमा जिल्ला सभापतिले बल थप्नुभएको छ ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ ।