२० बैशाख २०८१, बिहिबार

विश्व दूध दिवसमा कृषि मन्त्रीको प्रतिवद्धता, ‘दूग्ध क्षेत्रकाे समस्या समाधान हुन्छ, निराश हुन दिन्नाैं’

प्रकाशित मिति :  1 June, 2021 9:28 pm


काठमाडौं ।

कोरोना महामारीकाबीच नेपालमा पनि विश्व दूध दिवस मनाइएको छ । हरेक वर्ष जून १ तारिकमा मनाइने यो दिवस मंगलबार भर्चुअल कार्यक्रम गरेर मनाइएको हो ।

राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्व र दुग्ध क्षेत्रका सरोकारवाला संस्थाहरुको सहकार्यमा मनाइएको कार्यक्रममा दुध तथा दुग्ध पदार्थको महत्वका बारेमा चर्चा गरियो ।

कार्यक्रममा बोल्दै बोर्डकी अध्यक्ष, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्यमा अर्यालले कोरोना महामारीले दुग्ध क्षेत्रमा ठूलो प्रभाव पारेको चर्चा गर्दै दुग्ध मूल्य श्रंखलामा संलग्न सबैलाई धैर्यधारण गर्न अनुरोध गरेकी छिन् ।

निषेधाज्ञाका कारण बजार बन्द हुँदा किसान र उद्योगी दुबैले क्षति व्यहोर्नु परेको चर्चा गर्दै मन्त्री अर्यालले क्षतिको क्षतिपूर्ति हुने गरी सरकारले योजना अगाडि बढाइसकेकाले घाटा भयो भन्दैमा पेशाबाट पलायन हुने सोंच नराख्न आव्हान गरेकी छिन् ।

“हाम्रो प्राणको सुरुवात दूधबाट भएको हो, मानव जीवनमा दुधको महत्व ठूलो छ,” उनले भनिन्, “जीवनका लागि चाहिने खाद्य पोषणको खानी रहेको दुध आपूर्ति गर्ने दुग्ध क्षेत्रको समवद्र्धनमा सबैको संकल्प जरुरी छ ।”

कोरोनाका कारण करिव ५० प्रतिशत दुग्ध आपूर्ति घटेको र किसान तथा उद्यमीसमेत समस्यामा परेको बोर्डकै अध्ययन प्रतिवेदनले देखाएको छ ।

मन्त्री अर्यालले किसानले नपाएको भुक्तानी दिलाउन, दुग्ध आपूर्तिमा देखिएको समस्या हटाउन मन्त्रीपरिषद्मा पनि छलफल भएको र समस्या समाधानका लागि प्रक्रिया अगडि बढिसकेको बताइन् ।

“असहजतालाई विशेष अवस्थाको रुपमा बुझेर धैर्यता गर्नुपर्छ, किसान दाजु भाइले पनि हेक्का राख्नुपर्छ, व्यवसायबाटै पछि हट्ने सोंच बनाउनु हुदैन,” उनले भनिन् ।

दुग्ध क्षेत्रको प्रवद्र्धनका लागि दुग्ध नीति मन्त्रालयले अगाडि बढाएको उनले जानकारी गराइन् । अबको दुई वर्ष भित्र दूधमा आत्मनिर्भर बन्न गरी कार्यक्रम अगाडि बढाइएकाले एफएओको मापदण्ड अनुसार प्रति नेपाल प्रतिवर्ष अपुग रहेको ११ लिटर आपूर्ति दुई वर्षमा भइसक्ने उनले बताइन् ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्की, निमित्त सचिव (पशुपंक्षीतर्फ) डा. विमल कुमार निर्मल, बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादव लगायतले दुग्ध क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका लागि नीतिगत व्यवस्था तथा कार्यक्रम प्राथमिकतमा राखेर काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा बोर्डका उप निर्देशक बाबुकाजी पन्त, डाइटिसियन रमा सुब्बा, डेरी विज्ञ डा. विनाेद गुप्ता लगायतले दुग्ध पदार्थको महत्वका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रस्तोताहरुले पूर्ण खाद्यको रुपमा मान्यता पाएको दूध कोरानो विरुद्धको लडाइमा सरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोगी हुने भएकाले दैनिक दूधका उपभोग गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रिय दुग्ध सहकारी संघ लि, नेपाल डेरी एशोशिएसन, डेरी उद्योग संघ, केन्द्रिय पशुपन्छी पालन सहकारी संघ, नेपाल डेरी साईन्स एशोशिएसन लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिले दुग्ध क्षेत्रले भोगेको समस्या समाधान गर्दै यसको प्रवद्र्धनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए ।

यो वर्षको दूध दिवसको नारा दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरस विरुद्ध दीर्घ जीवन रहेको छ ।



प्रतिक्रिया दिनुहोस !