५ असार २०७८, शनिबार

कोभिडले भन्दा नकारात्मक समाचारले कमजोर बनाउँदो रहेछ

प्रकाशित मिति :  १९ जेष्ठ २०७८, बुधबार ०८:४३


मलाई गत वैशाख २० गते कोरोना पुष्टिको रिपोर्ट आयो । तीन दिनको घरकै आइसोलेनमा बस्दा-बस्दै ज्वरोले ग्रस्त भएपछि १९ गते पाटन अस्पतालमा चेकजाँचका लागि पुगेँ ।

विषम परिस्थितिमा सरकारी अस्पतालको सेवा राम्रै होला भनेर त्यहाँ पुग्दा पाएको व्यवहार र असामान्य अवस्थामा दुःखी बन्नु पर्‍यो । किनभने बिहान ९ बजे पुगेको विरामी अवस्थाको मानिस अस्पतालका कर्मचारी र चिकित्सकबाट पाएको व्यवहार र सास्तीले दिनहीनजस्तै बन्नु पर्‍यो ।

ज्वरो चेकजाँच र स्बाव दिएर त्यस दिन फर्किएँ, तर घरमा केही भनिन् । ज्वरो छ, औषधी दिएको छ, मात्र भनेँ । घरमा दुई साना सन्तान (नानी/बाबु) छन् । उनीहरूकी आमामा पनि संक्रमणको सिकायत देखिँदै थियो । पिक –संक्रमणको बेला भएकाले अवस्था सोच्नै पर्ने खालको छ । अस्पतालको व्यवहारको कुनै बेली-बिस्तार नलगाई घरमा छुट्टै बस्ने निर्णय गरे ।

त्यसो त लक्षणले संक्रमण भएकै हो भन्ने विश्वस्त थिएँ । तर पनि रिपोर्ट नआउँदै भन्दा त्यसको असर अर्कै पर्न सक्थ्यो । नभन्दै भोलिपल्ट (२०गते) जे भएको थियो, रिपोर्टमा त्यही आयो ।

बाहिरको आवरण अर्कै बन्दै गइरहेको थियो मानिसहरू संक्रमणबाट तड्पी रहेका थिए । अक्सिजनको अभाव छ । अस्पतालमा बेड पनि पाउन सक्ने अवस्था थिएन । ज्वरो नाप गर्दा १ सयभन्दा माथि छ। अक्सिजनको मात्रा ९४ छ । त्यसले केही आत्मबल प्रदान गरिरह्यो ।

सावधानी र चिकित्सकसँगको परामर्शमा निर्भर रहनुको विकल्प थिएन । सामाजिक सञ्जालमा एक किसिमको भयावह नै थियो ।
मन भुलाउन मोबाइल साथै भए पनि समाजिक सञ्जालतिर आँखा नचाउँदा आउने तस्विर अर्कै बन्थ्यो ।

त्यही बीचमा श्रीमती (सपना) पनि ग्रस्त भएपछि उनलाई पनि संक्रमण हो, वा हैन् भन्ने चेकजाँच गरायौं । उनलाई त्यही नतिजा आयो, शरीरमा जे प्रवेश गरेको थियो, त्यही देखियो ।

उनको साथमा ६ वर्षकी छोरी र ३ वर्षको छोरो पनि रहेकाले, संक्रमणबाट कसरी बचाउने भन्ने समस्या आइलाग्यो । घरमा तल्लो तलमा बस्ने भाइ विशाल र बहिनी बुनु थिइन् । बुनुलाई पनि पोजेटिभ देखियो । त्यसले एक किसिमको भयावह अवस्था निम्तायो ।

दुई सन्तान विशालको जिम्मा लगाएर बुनु छुट्रटै सबैभन्दा माथिल्लो तलामा, म र श्रीमती पनि फरक तलामा बस्न थाल्यौं । रोगको संक्रमण देखिएपछि त्यसै पनि मनोबल कमजोर हुने रहेछ । छिनछिनमा अक्सिजन नाप्नु र चिकित्सक डा.अविश अधिकारीलाई रिपोर्टिङ गरिरह्यौं ।

उनको परामर्शले शारीरिक अवस्था कमजोर भए पनि संक्रमण नियन्त्रणमा छ, भन्ने लागि रह्यो । तातो (ज्वानो) पानी पिउनु, चिकित्सकको परामर्शमा आवश्यक औषधी लिनु, योग, प्रणायाम र शारिरिक क्रिया गर्नु दैनिकी बनायौं । नौ-दस दिनको ग्रस्त त्यसपछि ज्वरो ओरालो लाग्यो । अक्सिजन पनि चढ्दो ग्राफमा देखिन थाल्यो । तर पनि स्वाथ्य सर्तकता अपनाउनु र आत्मबललाई दृढ बनाउनुको विकल्प थिएन ।

घरमा परिवारलाई सान्त्वना दिनुछ, तर आफूलाई बनाएको कमजोरी लुकाएर मलाई त केही भएको छैन भनिरहे ।
भित्रभित्रै मनमा कताकता डर पनि पैदा भइरहेको थियो । शरीर कमजोर भइरहेको थियो । त्यसलाई जसरी हुन्छ आत्मबलले जित्नु थियो ।

चिकित्सकको परामर्शमा रहेर अस्पताल भने जानु परेन् । घरकै आइसोलेसनमा करिब २१ दिन पार गर्‍यौं । धन्न दुई सन्तानलाई कुनै किसिमको भयावह भएन् । घरमै रहेका भाइ विशालले उनीहरूलाई गरेको हेरविचार आफैमा सान्तवना योग्य रह्यो । तर उनलाई पक्कै कठिन कार्य थियो । किनकी कम्युटर सफ्वेयर ईन्जिनियर मानिस अझै त्यसैमा ‘वर्कफर्म हाउस’बाट गर्नुपर्नै काम थियो ।

तर पनि उनले आफ्ना सबै काम सम्हाल्दै साना भाइ-बहिनालाई स्याहरसुसार गरिरहे । त्यसले पनि एक किसिमको आत्मबल पैदा गरिरहेको थियो । किनकी घरमा आएर सघाउने अवस्था पनि थिएन ।

अरु कोही उनीहरूलाई अन्यत्र लैजान र जान सक्ने अवस्था पनि थिएन् । त्यस्तो बेलामा आफ्नो भन्दा पनि सन्तान र परिवारको चिन्ता धेरै हुँदो रहेछ । घरकै आइसोलेस्नमा तीन जना थियौं । सबैको अवस्था सामान्य हुदै गयो ।

अन्ततः जेठको ९ गते पीसीआर चेकजाँच गरायौं, नगेटिभ आयो । त्यसपछि पनि स्वास्थ्य सर्तकर्ता अपनाउँदै आएका छौं । कोभिडले भन्दा धेरै मानिस भयावहयुक्त समाचारले कमजोर हुने रहेछ । त्यसलाई परास्त गर्न दह्रो आत्मबल नै पहिलो औषधी रहेछ । साथै, चिकित्सकीय परामर्श र आहार, विहार र शारीरिक कर्म आदि आवश्यक उपचार साबित हुँदो रहेछ । त्यसैले कसैले पनि कोरोनालाई ए, त्यो सामान्य त होनी भनेर हेलचक्रायाई नगरौं ।

स्वास्थ्य सर्तकता अपनाऔं । आफूलाई संक्रमण भएपछि अर्कालाई सर्छ कि भनेर ध्यान दिऔं । यदि परिवार र आफन्तजनमा संक्रमण भएको रहेछ भने मनोमल प्रदान गरौं । आत्मबल नै सबैभन्दा उच्च हो, रहेछ भन्ने मेरो करिब २१ दिनको संक्रमित अवस्थाको अनुभव रह्यो ।

अरूलाई पनि भन्न चाहन्छु, सबैलाई एकै किसिमको लक्षण नहुन सक्छ, लक्षण भए पनि उच्च आत्मबल राखौँ , चिकित्सकको सम्पर्कमा रहौं । उहाँहरूको परामर्शमा रहेर सुझाव अपनाउनु यति बलाको सबैभन्दा ठूलो उपचार हो । अन्त्यमा यस विषम् अवस्थामा सहयोग गर्ने र आत्मीयता प्रदान गर्नै सबै जनालाई धन्यवाद भन्न चाहन्छु ।



प्रतिक्रिया दिनुहोस !