१५ बैशाख २०८१, शनिबार

‘सरकार हामी एम्बुलेन्स चालक, यो देशका अपराधी हौं ?’

प्रकाशित मिति :  4 June, 2021 1:39 pm


म विष्णु भट्टराई । कपिलवस्तु जेसिजद्वारा सञ्चालित एम्बुलेन्सको चालक । करिब ८ वर्षदेखि एम्बुलेन्स चालक छु । अहिलेको कोरोना महामारीमा पनि मैले आफ्नो सेवा प्रवाह गरिरहेको छु । यस अवधिमा अग्र पंक्तिमा खट्ने पेशाकर्मीमध्ये हामी एम्बुलेन्स चालक पनि हौं ।

प्रत्येक यात्राका फरक–फरक अनुभव, अनुभूति छन् । तर पछिल्ला डेढ महिनाको अवधि स्वास्थ्य जगतका लागि भयावह रह्यो । कोरोना महामारी कालको अनुभूति आफैंमा पीडादायी हुन पुग्यो ।

हामी एम्बुलेन्स चालकलाई मानवीय संवेदनाका हिसाबले होस वा समाजिक विभेद (दुव्र्यवहार) का कारणले अकल्पनीय रह्यो । अनुभवको प्रतिनिधि घटनाका रुपमा एउटा अनुभूति प्रस्तुत गर्न चाहन्छु ।

करिब ३२ दिनअघि कोरोना पाजेटिभका बिरामी, वाणगंगा नपा–८, कपिलवस्तुका नारायण राना (४२) लाई कपिलवस्तु सामुदायिक अस्पताल (४ नम्बर) जीतपुरबाट एम्बुलेन्समा बुटबल पु¥याए । बुटबल अञ्चल अस्पतालमा भर्ना लिइएन । त्यसपछि, गौतम बुद्ध मुटु अस्पताल पु¥याउन भनियो । त्यहाँ पनि भर्ना लिइएन ।

त्यसपछि मणिग्राम क्रिमसन अस्पताल पु¥यायौं । त्यहाँ पनि भर्ना लिइएन । त्यसपछि भैरहवा मेडिकल कलेज (युसिएमएस) पुर्यायाैं । त्यहाँ पनि लिइएन । फेरि बुटबल चौराहा कुनै निजी अस्पतालमा लिन्छ कि भनेर ल्याउँदा ल्याउँदै बाटैमा एम्बुलेन्सभित्रै उनको मृत्यु भयो ।

बुटवलका अस्पतालमा भर्ना गरेर उपचार उपलब्ध गराएको भए उनी बाँच्न सक्थे । उक्त घटनालाई पोजेटिभ बिरामीको अवस्था र मृत्युको अवस्था देख्न र भोग्न पाए । अस्पताल पुग्दा पनि एम्बुलेन्समा बिरामीको मृत्यु हुनुलाई हाम्रो स्वास्थ्य अवस्थाको प्रतिविम्ब भन्छु ।

एम्बुलेन्स चालकको काम बिरामीलाई अस्पताल पु¥याउनु हो । तर बिरामीलाई अस्पतालले भर्ना नै नलिदिएर बिरामीको मृत्यु भएको दृश्य आफैमा भयावह बन्दो रहेछ । रानाको मृत्युमा नजिकबाट मैले त्यही अनुभूत गरेँ ।

त्यो दृश्य स्मरण गर्दा देशलाई नै धन्न भन्न मन लाग्छ । साथै, यति बेला भगवान मानिएका चिकित्सकहरूमध्ये कतिपयलाई स्मरण गर्दा धन्य, भन्न मन लाग्छ । अस्पतालका ज्यादती र क्रुरता यति बेला सबै बिर्सिदिउँ किनकी बाँच्ने र उपचार पाउनेहरुका लागि चिकित्सक र स्वास्थ्यकर्मी भगवान नै हुन् ।

यस अवधिमा तीन जनाले बुटवलका अस्पतालमा पुर्याउँदा भर्ना नपाएरै एम्बुलेन्समा मृत्युवरण गरे । ती दृश्य आफैमा कारुणिक र कहालीयुक्त रहे । यस अवधिमा तीनजनालाई कपिलवस्तु, बुटबल र भरतपुरमा पनि शैय्या नपाएर काठमाडौं पुर्याउनु पर्याे ।

तीमध्ये कि एक हुन प्रनिशा पोखरेल (कपिलवस्तु) । उनलाई काठमाडौंमा रिङरोड भित्रको अस्पतालमा शैय्या नपाए पछि ललितपुरको चापागाउँमा रहेको मिसन अस्पतालमा पु¥याएर फर्किनु पर्याे ।

कतिसम्म भने विरामीलाई अस्पताल पुर्याउने साधन हुन्छ, एम्बुलेन्स । तर त्यही एम्बुलेन्स चालकलाई यति बेला होटलमा समाजले दुव्र्यवहार गरिरहेको छ । होटलमा खाना पनि दिइदैन् । छि–छि र दूरदूर गराइन्छ । त्यस्ता घटनाको भुक्तभोगी र साक्षी म आफैं भइरहेको छु । देशभरमा सबै किसिमका गरी करिब ६४ सय एम्बुलेन्स चालक छन् । एम्बुलेन्स चालकको पीडा करिब–करिब उस्तै छ ।

कतिसम्म बिरामीलाई दिनरात नभनी अस्पताल पु¥याउनु पर्छ । सडक किनारमा एम्बुलेन्स रोकेर पसलमा पानी किन्न जाँदा पसल नै बन्द गर्छन् । अरुले खाइरहेको होटलमा गएर खान छ, भन्दा ए, तिमी एम्बुलेन्स चालकलाई यहाँ खाना छैन् भनिदिन्छन् । खाना,पानी, बाँस कतै केही पाइँदैन् ।

समाजबाट नसोचेको त्यस्तो व्यवहार सामना गर्दा एक दिन त ‘यो देशका महा–अपराधी हामी एम्बुलेन्स चालक नै रहेछ्यौं’ भन्ने लाग्यो । हुन पनि हो, अभियुक्त र अपराधीले बन्दी जीवनमा खान, बस्न र सुत्न पाएका छन् तर हामी एम्बुलेन्सले त्यो पनि पाएका छैनौं ।

गर्मीका बेला पनि पीपी सेटको दैनिकी, परिवारको चिन्ता । ८०–९० को स्पीडमा यात्रा गर्नु छ । रफ्तारको यात्रा गर्नु पर्दाको क्षण आफैमा भयावह हुन्छ । यात्रा अरुका लागि ‘ढिलो गए अवश्य पुगिन्छ, तर चाँडो गए भन्न सकिन्न’ भन्ने भनाइ हामी एम्बुलेन्स चालकका सन्र्दभमा ठिक उल्टो लागू हुन्छ । ‘चाँडो गए बचाउन सकिन्छ, ढिलो भए भन्न सकिन्न’, भइरहेको हुन्छ ।

त्यसैले वेगमा एम्बुलेन्स चलाउनु बाध्यता हुन्छ । वर्तमानमा त झनै दिनरात भन्न पनि पाइएको पनि छैन । फोन आउनसाथ भनेको सम्भावित स्थानमा पुग्नु पर्छ । बिरामीलाई अस्पतालमा पु¥याउँदा अस्पतालले पोजेटिभ भन्ने वित्तिकै बवास्ता गरिदिन्छ । अन्य विरामी रुघा, खोकी र ज्वरो भन्ने वित्तिकै भर्ना नै लिइदिन्न । अस्पताले भर्ना नलिएपछि सहर घुमाउदाँ घुमाउदै विरामीको मृत्यु भइरहेको हुन्छ ।

यस अवधिमा कपिलवस्तुबाट बुटवल र भरतपुर विरामी पु¥याउनु दैनिकी जस्तै भएको छ । यही अवधिमा दुई साताअघि मात्र वाणगंगा–सिउटीका एक (चौधरी) महिलालाई प्रसुती व्यथा लागेर (डेलिभेरीका लागि) बुटवल पु¥याउँदाको अनुभव आफैमा दर्दनाक छ ।

उनलाई व्यथाले चापेको छ । अस्पताल पु¥याउँदा पीसीआर ल्याऊ भन्छ । अस्पतालमा पीसीआर सुविधा छैन । अन्यत्र लगेर पीसीआर गराएर फेरि अस्पताल ल्यायौं । अनि मात्र, अस्पतालले भर्ना लियो । अपे्रशन गर्नुपर्ने भयो रगतको आवश्यक पर्याे।

त्यो परिवारले ल्याउन सक्ने अवस्था रहेन् । ‘ओ पोजेटिभ’ रगत चाहिएको थियो । धन्न मेरो पनि त्यही समूहको थियो । तत्काल उनलाई दिए । अप्रेशन हुने भयो । भाग्यबस् अप्रेशन सफल भयो । मैले नदिएको भए अवस्था के हुन्थ्यो भन्न सकिदैन् !

त्यस्ता कैयौं घटनाको साक्षी हुन परेको छ । साथै ,परोपकारी पनि । सम्झिदा सन्तोष पनि पनि लाग्छ । विरक्त पनि लाग्छ । तर समाजले हाम्रो सेवा बुझिरहेको छैन वा बुझेर बुझ पचाई रहेको छ ? थाह छैन् ।

समाजबाट यस्तो विषम अवस्थामा हामीलाई अपराधीको व्यवहार भइरहको छ । कुनैकुनै बेला आत्मग्लानी हुन्छ । कति बेला आफैलाई पोजेटिभ हुने हो, थाह छैन ! बेलामा खानु छैन, पानी पिउनु छैन । सुत्न छैन । गाडीको स्टेरिङमै निदाउनु पर्छ । घरमा खाना पाकिरहेको हुन्छ । खानु छैन । तर पनि समाजले दुव्र्यवहार गर्छ ।

कस्तो विडम्बना ! बोली र व्यवहारले पनि सम्मान गर्न जान्दैन । केही दुराशय भावनाका ड्राइभरले एम्बुलेन्सबाट गरेको धन्दा त्यस्ता समाचारको सिकार दिनरात नभनी खट्ने हामी जस्ता चालकले खप्नु पर्दा झनै धिक्कार लाग्छ । न पर्याप्त वेतन छ ।

सरकारले न्युनतम पारिश्रमिक १५ हजार पुग्यो भन्छ, तर हामी एम्बुलेन्स चालकले अधिकत्तम १२ हजार सुख्खा काम गर्नु परेको छ । अन्य कुनै सुविधा छैन् ।

अपवादका रुपमा सरकारी अस्पतालका चालकलाई भए पनि अरुलाई कुनै सुवधिा छैन । सरकारी एम्बुलेन्सको संख्या बढीमा ३ भन्दा छैन । बाँकी ६१ सय सामुदायिक, प्रतिष्ठान वा निजी नै हुन् ।

दुःख–पीडाका वावजूद पनि यस अवधिमा मानव सेवाका लागि खटिरहेका छौं । घरका परिवार र सन्तान बिर्सिएका हुन्छौं । त्यसैमा पनि अचानो बनेर हामी एम्बुलेन्स चालकले दुव्र्यवहार सहनु परिरहेको छ । साथै, मानसिक पीडा पनि सहनु परिरहेको छ ।

यो समस्या व्यक्त गर्ने म प्रतिनिधि चालक हँु । देशभरमा करिब ६४ सयको साझा अनुभूति हो । लुम्बिनी प्रदेशमा मात्र ३ सय भन्दा धेरै एम्बुलेन्स चालक छौं ।

यही बेला (जेठ १५ गते) सरकारले बजेट ल्यायो । स्वास्थ्य क्षेत्रको बजेट पर्याप्त वृद्धि भयो भन्छन । तर हामी बिरामी बोक्ने एम्बुलेन्स चालकलाई ‘कागलाई बेल पाक्यो, हर्ष न बढाई’ जस्तै भएको छ । स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब पुगे पनि हाम्रो स्वास्थ्य बिमाको ग्यारेन्टीसम्म गरिएको छैन ।

स्वास्थ्य बिमा र स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुका लागि अतिरिक्त भत्ता उपलब्ध हुन्छ, भन्ने समाचार सुनियो तर हाम्रा बारेमा कुनै सुजिधा उद्घोष भएन । हामी के यो देशका नागरिक हैनौं ?

सरकारले भोटकै लागि भए पनि गाउ–गाउँमा रहेका (५० हजार) महिला स्वास्थ्य स्वयम् सेविकालाई पनि (वार्षिक १२ हजार) भत्ताको व्यवस्था ग¥यो । तर हामी एम्बुलेन्स चालकलाई स्वास्थ्य बिमा हुनेछ, भन्न पनि सकेन् । जीवन बिमाको त कुरा छोडौं । भइपरि आउने अन्य विपतको (दुर्घटना) झन् के कुरा ?

एम्बुलेन्स चालकले दिनरात नभनी सेवा प्रवाह गर्नु परिरहेको हुन्छ । तर पनि हाम्रा समस्यामा सम्बोधन वा प्रोत्साहन गर्न समाज र सरकार किन चुकिरहेको छ ? यस्तो विषम अवस्थामा दिनरात नभनी सेवा प्रवाह गर्ने एम्बुलेन्स चालकलाई सरकारले बजेट भाषणमा सम्बोधन गर्नुपर्ने हैन ? त्यसैले फेरि पनि भन्छु ‘सरकार हामी एम्बुलेन्स चालक, अपराधी हौं ?’

प्रस्तुतीः सञ्जय पन्थी



प्रतिक्रिया दिनुहोस !