२३ बैशाख २०८१, आइतबार

दुग्ध ढुवानीका साधनले लोगो प्रयाेग थाले, निषेधाज्ञामा पनि लाेगाे अंकित गाडी निर्वाध चल्न पाउने

प्रकाशित मिति :  16 June, 2021 5:55 pm


काठमाडौं । दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडिमा प्रयोग हुने लोगाेको औपचारिक वितरण भएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका गाडिमा लोगो प्रयोग गर्न आधिकारिकता प्रदान गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच संस्थानलाई लाेगाे हस्तान्तरण गरिएको हो ।

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले विभिन्न उद्योगबाट लाेगो प्रयोगका लागि माग भए बमोजिम प्रक्रिया पुर्याएर लोगो वितरण सुरु गरेको बताए ।

“पहिलो चरणमा संस्थानलाई लोगो प्रयोगको अनुमति दिएका छौं, क्रमशः नीजि क्षेत्रका डेरी उद्योगलाई मागका आधारमा लोगो हस्तान्तरण गर्दै जाने योजनामा छौं,” उनले भने । अब लोगो अंकित गाडि निषेधाज्ञा वा अन्य आपतकानीन अवस्थामा पनि विना अवरोध नेपालभर आवत जावत गर्न सहज हुने उनले बताए ।

दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिन्ह(लोगो) प्रयोग गर्ने सम्वन्धी कार्यबिधि, २०७७ बमोजिम बोर्डमा प्राप्त भएका आवेदनका सम्बन्धमा बोर्डबाट आवश्यक परीक्षण पश्चात वोर्डको मिति २०७८ जेठ ३० को निर्णय बमोजिम दुग्ध विकास सस्थान र हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह(लोगो) उपलब्ध गराउने निर्णय भएको थियो ।

गत २०७७ साल चैत्र १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह ९लोगो० को सार्वजनिक अनावरण गरेका थिए ।

संस्थानलाई लोगो वितरण गर्ने कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव डा. विमल कुमार निर्मल, बोर्डका कार्यकारी निर्देशक यादव, दुग्ध विकास सस्थानका अध्यक्ष बाबुराम पाण्डे, दुग्ध विकास संस्थानका महाप्रवन्धक रुद्र प्रसाद पौडेल लगायत मन्त्रालय, बोर्ड तथा संस्थानका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

नेपाल सरकारले दूध ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र यस्ता सवारी साधनलाई पहिचान खुल्ने गरी प्रतीक चिन्ह प्रदान गरिएको हुँदा प्रतीक चिन्ह अंकित सवारी साधनलाई अत्यावश्यकीय सवारी साधनको रुपमा बिना अवरोध सञ्चालनमा सहयोग गरिएमा दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम रही उपभोक्ताको गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ उपभोग गर्ने हक सनुश्चित हुने विश्वास लिईएको बोर्डले जनायो ।

कृषकहरुबाट उत्पादित दूधलाई प्रशोधन, भण्डारण तथा वजारीकरण गर्दा दूधमा पाईने सम्पूर्ण पौष्टिकतत्वहरुको संरक्षण गर्न दूधलाई चिसो तापक्रम ९४⁰ सेन्टिग्रेड कायम हुने गरी राख्नु पर्ने हुन्छ। किसानको गोठमा उत्पादित दूधलाई सकेसम्म छिटो चिस्यान केन्द्रमा पुर्याउँदा चिस्यान कायम गर्नुपर्ने भएकाले दुधका गाडि देशभर आवात जावत गर्दा कोरोनाको निषेधाज्ञा र बन्द जस्ता कार्यक्रममा अवरोध हुने गरेको थियो ।

ढुवानीमा कुनै रोकावट भएमा दूधको तापक्रम कायम राख्न नसकिने र यसबाट दूधको गुणस्तरमा ह्रास हुने भएकाले बोर्डले लोगोको अवधारणा अगाडि सारेको हो ।

नेपाल डेरी एसाेसिएशनका महासचिव प्रह्लाद दाहालले बाेर्डले सुरू गरेकाे लाेगाे वितरणकाे कार्यकाे प्रशंसा गर्दै लाेगाेकाे प्रयाेगलाइ देशव्यापी विस्तार गर्दै ढुवानी सहज बनाउनु पर्ने बताए ।

https://fb.watch/69LAsy6p-p/



प्रतिक्रिया दिनुहोस !