स्वास्थ्य राज्य मन्त्रीको सय दिने खोप अभियान
काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आम नेपालीलाई खोप लगाइसक्ने गरी सय दिने अभियान सार्वजनिक गरेका छन् ।
असोज मसान्तसम्म दुई करोड खोपको मात्रा ल्याइसक्ने उनले जनाए ।
सोमबार मन्त्रालयले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले ५ करोड मात्रा भन्दा बढी खोपको आपूर्तिका लाागि तयारी गरिएको जनाए ।
कोभ्याक्स सुविधाअन्तर्गत १ करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा १ करोड ५० लाखमध्ये ४० लाखको भुक्तानी भइसकेको र १ करोड १० लाखको भुक्तानी प्रक्रिया जारी रहेको विषयमा जानकारी दिँदै राज्यमन्त्री श्रेष्ठले बालबालिका लक्षित फाइजर कम्पनीबाट ६० लाख खोप गरी ३ करोड २३ लाख मात्रा खोप खरिद प्रक्रिया जारी रहेको जनाए ।
पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका १३ लाख ४८ हजार नागरिकलाई जापान सरकारको तर्फबाट अनुदानमा प्राप्त हुन लागेको एस्ट्राजेनेका खोप प्राप्त हुनासाथ ३ दिनभित्र वितरण गरिने उनले खुलाए ।
वयस्क तथा किशोर–किशोरीसमेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोन्सन एण्ड जोन्सन खोप ५० लाख, फाइजर ४० लाख र एस्ट्राजेनेका २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद प्रक्रिया सुरु भएको छ ।
खोपको १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले आइसीयू, एचडीयू, भेन्टिलेटरको उचित प्रबन्ध गरी कोभिड–१९ बिरामीका लागि आवश्यक हुने अक्सिजनमा शून्य नाफ कायम गर्ने नीति कार्यान्वयनमा ल्याइने विश्वास दिलाए ।








