१७ बैशाख २०८१, सोमबार

‘मित्र ! यहाँ(अफगानिस्तान)मा हरेक दिन नयाँ जीवन सुरु हुन्छ र साँझमा सिद्धिन्छ’

प्रकाशित मिति :  14 August, 2021 1:34 pm


तालिवानले पुनः अफगानिस्तानका अधिकांश भू–भाग कब्जागरिरहेको वर्तमान स्थितिले संयुक्त राष्ट्रसंघीय सहायता ( राजनैतिक) मिसन अन्तर्गत अफगान नेशनल पुलिसको पुनःसँरचना, सुधार र पुनर्निर्माणको प्रकृयामा सिनियर पुलिस एडभाईजरको रुपमा अफ्गानिस्तानमा काम गरेका देवेन्द्र सुवेदीलाई अतितका दिनहरूको सम्झना दिलाउँछ । अफगानिस्तानमा रहदाँ उनले लेखेका डायरी समयको यो खण्डमा मार्मिक एवं सान्दर्भिक हुने भएकाले प्रस्तुत गरिएको छ:

“ हल्लिन्छन् लालुपाते छायाँ
तरुनीका मर्करी गालामा“
– भूपी शेरचन

भुपीले पोखराका लागि लेखेका यी हरफहरू सन् २००६ जनवरीको कान्दाहारको हकमा ठ्याक्कै मेल खाँदैनन ।

सन् १९७३ मा राजा जहीर शाहलाई आफ्नै भतिजा पर्ने जनरल दाऊदले अपदस्थ गरे । शाही भ्रमणमा रोम पुगेका जहिर उताको उतै भए–फर्कनै पाएनन् । अफगानिस्तान गणतन्त्रको आवरणमा सैनिक शासनमुनी पुग्यो ।

लगत्तैको नेशनल डे परेडको समारोहमा राजकाजवालाका पत्नी र भद्र महिलाहरू नाटकीय ढँगमा बुर्का खोलेर सहभागी गराइए ।

अफगानिस्थानको परम्परागत सत्ताको परिवर्तनसँगै राष्ट्र र समाज आधुनिक युगमा प्रबेश भएको सन्देश दिन मञ्चन गरिएको त्यो घटना अहिले किम्बदन्ती मात्रै भै सकेको छ ।

किनकि, त्यस यता अमु दर्या र हेल्मान्द नदी दुबैमा धेरै पानी मात्रै त्यत्तिकै मानब रगत पनि बगिसकेको छ ।

कान्दाहारमा लालुपातेको त के कुरा हरियो हेर्नका लागि मुल्लाह ओमारको मिनी दरबार रहेको नाङ्गो डाँडो मुन्तिरसम्म आखाँ तन्काउनु   पर्छ । जहाँ ठिङ्ग उभिएका केही थान धुपीका हरिया बोटहरूले अहिले अमेरीकी सेनालाई ताजा हावा फ्याँक्ने गर्दछन् ।

तालीवानको मुखिया मुल्लाह ओमार कान्दाहरबाट भागेपछि पारीको त्यो अत्यास लाग्दो खुलखुले रातो चट्टाने डाँडो मुनिको सेतो दरबारमा अहिले नेटो सेनाको ब्यारेक छ ।

शहर बिहानमा ब्यूँझन्छ तर छिन भरमै आत्मघाति हमलाको संत्रासमा निछाम्मे भैदिन्छ । यसरी शहर ब्युझिने र मुर्छित हुने क्रम चलिरहन्छ । जीवन आफैँ नै पनि आत्मघाती बमको ट्रिगर पिन जस्तो छ यहाँ ।

कति बेला के हुने हो कसैले भन्नै सक्दैन । तैपनि, राग नमिलेको बेसुरा गीत झै गाईरहन्छ–जीवन । मानौ यो एउटा अन्त्यहीन मृत्यु गीत हो । गाउने गाइरहन्छ र सुन्नेले पनि सुनि नै रहनेछ र मृत्यु धुन बजाउनेले बजाईरहनेछ ।

सन् २००६ को जनवरीमा काबुलको भूईँ छोपेको हिउँ छोडेर माथि माथि उडेको ८ सिटको लियर जेटले लमतन्न हिम पहाडको श्रृंखला छिचोलेर जब अफगानिस्तानको दक्षिणी पहाडको काखमा पुर्‍यायो  मैले ती उराठ लाग्दा पहाडहरूमा अकस्मात ‘थ्रील’ महशुस गरे ।

कान्दाहारको एयरपोर्ट ठ्याक्कै उस्तै थियो जस्तो काठमाडौंबाट उडेपछि अपहरणमा परेको आई सि ८१४ बिमान कान्दाहारबाट मुक्त हुदाँ तलिबान अपहरणकारीहरू उत्तर पहाडको तर्फ लागेको दृश्य टेलिभिजन देखेको थिएँ । मेरो मुखवाट अनायसै शब्द फुत्किए – “माई गड,यो कस्तो ठाउँ हो ? “

जनवरीमै पनि लु चले झै तातो हावाले गुम्म परेको कान्दाहार एयरपोर्ट ४० वर्ष अघि अमेरिकीहरूले बनाई दिएको सुविधा सम्पन्न विमानस्थल तर युद्धका घाउहरू सहेर खण्डहर जस्तै बनेको यो विमानस्थल शान्ति निर्माणका जिम्मवाल देशहरुका रङ्गीचङ्गी झण्डाहरूका फर्फराहटमा पनि गुमसुम छ ।

सुदूरउत्तरका नाङ्गा र उराठलाग्दा पहाडहरूको पृष्ठभूमिमा यो ठाउँ एउटा विरानो प्रदेश झै लाग्छ ।

पौराणिक महाभारतकालको गान्धार नरेश सकुनीको राज्य लमतन्न मेरो अगाडी छ । मलाई लाग्छ म महाभारतमा वर्णित सँजय हुँ र मेरो अगाडि दृष्टिविहिन राजाहरू धृतराष्ट छन्, जसलाई स्वजनहरू बीचको आपसी संहारको कथा मैले सुनाउनु छ ।

यस कलीयुगको ‘महाभारत’ चाहिँ म डायरीका पानाहरूमा लेखिरहेको छु ।

आज मात्रै एउटा आत्मघाती आतंकी हमलामा क्यानेडेली कूटनीतिज्ञ सहित क्यानेडेली सैनिकहरू मारिएकाले शान्ति त्रसित छ । राष्ट्रसंघको सेतो गाडी भित्र रेजा मलाई भन्छ, ‘मित्र ! यहाँ हरेक दिन नयाँ जीवन सुरु हुन्छ र साँझमा सिद्धिन्छ र भोली फेरी नयाँ जीवनको सुरुवात हुन्छ । लडाइँ मात्र हो यहाँको निरन्तरता भन्नु।’

अनिश्चितता मात्र छ यहाँको जीवनमा – चाहे आज होस् वा भोली ।

अकाशमा हुत्तिएको बादलले प्रचण्ड सूर्यलाई छोप्छ । र, तालीवानी छाँया मुनि हावामा दियो लक्पकाए झैँ कान्दाहार लक्पकाउछ ।
३० वर्ष लगातार द्वन्दमा होमिएको मुलुकको के हालत होला? म मनमनै प्रश्न गर्छु। हाम्रो त १० वर्ष मात्रमा बेहाल छ ।

बम र बन्दुक बेगरको जीवन त सोच्नै नसक्ने भईसकेको जस्तो लाग्छ यहाँ अफगानिस्तानमा । मानिससहरू बीच हुने कुराकानीको विषय कि लडाइँ हुन्छ, कि अफिमको व्यापार । अरु धेरै कुरा त बिर्सिसकेको छ एक पछि अर्को पुस्ताले, किनकि ऊ ए फर ए.के.४७ र एम फर मिसाईल को वर्णमाला पढ्दै हुर्किरहेको छ ।

सन् १९७१ मा लोया जिर्गा (संविधानसभा)ले बनाएको संविधानले राजपरिवारका अन्य सदस्यहरूलाई राजनैतिक पदबाट वञ्चित गरेपछि शुरु भएको शाही पारिवारको अन्तरिक असन्तुष्टी छिट्टै चरम उत्कर्षमा पुग्यो ।

राजा जहिर शाहलाई काकाको छोरा जनरल दाउदले अपदस्थ    गरे । दरबारवाट शुरू भएको आगोको झिल्काले छिट्टै सारा मुलुकलाई लपेट्यो र खल्की र पर्चमीको आवरणमा त्यो आगो सल्किदैँ गयो ।

शीत युद्धको चरणले भू–राजनैतिक शक्तिहरूका स्वार्थ खर्लप्पै ओइरिए । बर्टिश साम्राज्यको ताकतलाई लाचार पार्ने दुरुह अफगानिस्तान आफै भने आधुनिक युगको नाममा कहिल्यै उम्कन सकेन हिँसात्मक द्वन्द्वबाट।

सोभियत कम्युनिष्ट पार्टीको परम्परागत छिमेक नीति सम्बन्धी निर्देशक सिद्धान्तले सोभियत संघले अफगानिस्तानमाथि कम्युनिष्ट सिद्धान्त बिस्तार गर्ने गल्ति नगर्नु भनेको खिलाप गएर पछिको सोभियत सत्ता जब अफगानिस्तानमा प्रत्यक्ष हस्तक्षेपमा पुग्यो त्यस पछिका बिदेशी हस्तक्षेपहरू एक पछि अर्को झन् जटील बन्दैगए ।

हुदाँ हुदाँ तालिवानको कब्जासम्म आई पुग्दा अफगानिस्तानको कहानी एउटा सीमाहीन दुखान्त फिल्म भन्दा केही छैन । उदारीकरण र कठमुल्लाकरणको एउटा जिउँदोजाग्दो उदाहरण हो अफगानिस्थान । हजुर आमा स्कर्ट लगाउने तर समयको उल्टो प्रवाहसंगै नातिनी पुस्ता बुर्काभित्र छिर्ने ।

सपाट रातो चट्टाने भूभाग ! म फेरी अत्तासिन्छु । एउटा गम्भीर प्रकृति चेतनाले मलाई गाँज्छ, के प्रकृति अनुरुप नै मान्छेको प्रवृत्ति हुन्छ ? किनकि, टाढा टाढा सम्म पनि म कतै प्रकृतिको हरियोपना देखिरहेको छैन ।

“फ्राग्मेन्टेसन अफ अफ्गानिस्थान” – काबुलदेखि बोकेको बहुचर्चित किताब अझै मेरो झोलामा छ ।

यो चट्टाने भूपरिवेशमा मलाई कता कता डर लागेर आउछ।

मन मनै म प्रार्थना गर्छु हे , भगवान कसैले पनि “फ्राग्मेन्टेसन अफ नेपाल” नाम भएको किताव यो जुनीमा कसैले नलेखोस् ।

मर्करी गालाहरू फेरि बुर्का भित्र छोपिएका छन् र छोपिई नै रहनेछन् नजाने कहिलेसम्म ?

म मनमनै भूपीको हरफ दोहोर्याउछु, तर यसरी :

“हल्लिदैँनन लालुपाते छायाँ
तरूनीका मर्करी गालामा ।”

सुवेदी नेपाल प्रहरीबाट सेवा निवृत्त अतिरिक्त महानिरीक्षक(एआइजी) हुन् ।



प्रतिक्रिया दिनुहोस !