१७ बैशाख २०८१, सोमबार

उफ्फ अफगानिस्तानमा महिला, तालिवानी सेनाले महिलालाई काम गर्न दिने छैन

प्रकाशित मिति :  18 August, 2021 3:12 pm


अमेरिकन सेनाहरूले छोडेपछि अहिले समय समयमा अफगानिस्तानमा गोली चलेको समाचार हेरिरहेकी छु । आजका दृश्यहरू देख्दा म १८ वर्ष अघि कसरी त्यहाँ बसेछु, सम्झँदा पनि अत्यास लाग्छ ।

मलाई लाग्छ- तालिवानी सेनाले अब महिलालाई काम गर्न दिने छैन । १८ वर्ष अघि म त्यहाँ जाँदा अफगानिस्तानका गाउँहरू अस्तव्यस्त देखिन्थे । भत्किएका घर र कति ठाउँमा रसियनले देश छाडेपछि फ्याँकेका बन्दुकहरू भेटिन्थे । हिलो र माटोले गर्दा गाडी भासिएका सडकहरू देखिन्थे । मानिसहरू उदास, चुपचाप, मौन देखिन्थे । मानौं उनीहरू मसानमा छन् जस्ता ।

त्यो बेलामा पनि महिलाहरू घर बाहिर निस्कन र पढ्न बन्देज थियो । विवाहित महिलालाई बाहिरका मानिससँग कुरा गर्न बन्देज थियो । नेपालबाट त्यहाँ पुगेकी मेरो लागि यी सबै छक्क पर्ने विषय थियो ।

‘तिमीहरूमाथि यस्तो अत्याचार हुँदा पनि किन नबोलेर बसेको ? कसरी यस्तो अत्याचार सहेको होला, कस्ता साहस नभएका मानिसहरू तिमीहरू त,’ मैले अफगानिस्तानमा रहँदा एक डाक्टर सहकर्मीलाई भनेकी थिएँ ।

‘किन तिमीहरू यस्तो अत्याचारको विरुद्धमा र आफूलाई परेको पीडाको विरुद्धमा बोल्दैनौ ?,’ मेरी सहकर्मी डाक्टर नजिमा, तालिवान शासनको समयमा दुःख खपेर आएकी एक अफगानी महिला थिइन् । नजिकै बसेका उनका श्रीमान् पनि डाक्टर थिए । महिला सहकर्मी डा. नजीमाले मलाई हेरिन् तर, केही बोलिनन् । मुस्कुराइन् मात्र ।

किनभने उनलाई अङ्ग्रेजी भाषामा बोल्न आउँदैन थियो, तर उनी भाषा बुझ्थिन् । डा. नजीर अर्थात् नजिमाको पतिचाहिं पाकिस्तानमा केही समय बसेकाले अङ्ग्रेजीको बढी ज्ञान थियो । उनले भने– ‘तिमीहरूलाई के थाहा ? हतियार हातमा भएका मानिसहरूको अगाडि बोल्दा कति सतर्क हुनुपर्छ ।’

‘तालिवानको शासनमा महिलालाई बाहिर काम गर्न नदिइने भएको हुनाले यसले अफगानी समाजको शिक्षा, राजनीति र स्वास्थ्यलाई नराम्रोसित भत्काइदिएको छ,’ ताहिराले भनिन् ।

मलाई एकजना डाक्टर साथीले आफ्नो तीतो अनुभव सुनाएका थिए । उनको अनुभव थियो– ‘एकपटक म क्लिनिकमा काम गर्दै थिएँ । एक महिला आफ्नो बिरामी बच्चा लिएर मकहाँ आइन् । उनी बाहिर कुरिरहँदा केही तालिवान् पुलिस मेरो क्लिनिकभित्र आएर बाहिर ती महिला के गर्दैछन् भनेर केरकार गरे । मैले भनेँ कि उनको बच्चा बिरामी छ र मकहाँ जँचाउन ल्याएकी हुन् । तर उनीहरूले मलाई ती महिलालाई नजाँच्न आदेश दिए र भने कि म एक पुरुष भएको हुनाले मैले उसलाई जाँच्न पाउने छैन । म निराश भएँ । मैले ती बच्चा लिएर फर्किन आग्रह गरेँ । उनी पनि धेरै दुःखी भइन् र मेरो सामु रोइन् पनि । मलाई यति एकदमै बेसहारा र ग्लानी अनुभव भयो कि मैले मेरो डक्टरी पेशा र अफगानिस्तान नै छोडेँ ।’ ती साथी अहिले पाकिस्तानमा छन् ।

ती डाक्टर एक्लो व्यक्ति होइनन्, जसले यस्ता तीता अनुभवहरू सङ्गालेका छन् । तालिवानहरूले अफगानिस्तानमा राज्य गर्दा उनीहरूका विरुद्धमा बोल्ने त के कुरा आँखामा आँखा मिलाएर हेर्न पनि सकिँदैनथ्यो । कडा धार्मिक कानून लागू गरेर उनीहरूले देशलाई एउटा जेल बनाएका थिए । कसैले उनीहरूको विरुद्धमा बोल्यो कि गोली खानुपर्थ्यो वा जेल जानुपर्थ्यो । अनि को बोल्ने ?

‘तर अब त बोले हुन्छ नि,’ मैले भनेकी थिएँ, ‘तालिवानहरू गए अब तिमीहरू कहाँ सुरक्षा गर्ने फौज छ र जुन तिमीहरूको धार्मिक कानून छैन ।’

‘त्यस्तो लाग्छ बाहिरबाट हेर्दा,’ डा.नजिरले भने– ‘तर स्थितिमा त्यति धेरै सुधार छैन । तालिवानहरू गाउँ–गाउँमा अझै छन् । उनीहरूको पालामा भनेका कतिपय कानून तोड्न हामीले सकेका छैनौं । अनि फेरि शक्तिशाली भएर उनीहरू आए भने आज हामीले बोलेका गरेका कुरालाई लिएर नै गोली ठोक्न बेर छैन ।’

त्यहाँ बस्दाँ लेख्न र बोल्न डर लाग्यो अफगानिस्तानको बारेमा । तालिवानको हातमा बन्दुक र गोली भएकोले उसले जे चाहन्छ, त्यही नै हुन्छ । अफगानिस्तानमा कसैले तालीवानको आलोचना गर्ने साहस गर्दैन । शायद अब अफगानिस्तान १०० वर्षपछि जान्छ होला ।



प्रतिक्रिया दिनुहोस !