१७ बैशाख २०८१, सोमबार

अर्थमन्त्रीले भने ‘३७ लाखले सेयर कारोबार गरेपनि लाभ लिने सय जना मात्रै’

प्रकाशित मिति :  20 August, 2021 5:14 pm


काठमाडौं । धितोपत्र बोर्डमा भएको के हो भनेर यथार्थ बुझ्न पाँच सदस्यीय छानबिन समिति बनाएर छानबिनको काम अगाडि बढेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । धितोपत्र बोर्ड र स्टक एक्सचेन्जलगायतमा देखिएका समस्याहरूको छानबिनबाट सत्य तथ्य बाहिर ल्याउने उनले बताएका छन् ।

नियामक संस्थाकै अधिकारीहरूले आफ्नो परिवार भित्रै सेयर खरिद बिक्रीका ठुलाठुला कारोबार भएका खबरहरू सार्वजनिक भएसँगै अर्थ मन्त्रालयको ध्यानाकर्षित भएको उनले भने ।

मन्त्री शर्माले भने , “आर्थिक नीति घोषणासँगै करिब साढे २१ अर्बको कारोबार भएको थियो । एकातिर यसले सकारात्मक दिशा लिइरहेको अवस्था छ भने अर्कोतिर पुँजीबजारलाई सही ढंगले नियमन गर्नका लागि र आम जनतालाई यथार्थसमेत सुसूचित गर्नका लागि हामीले थप प्रयास गर्नुपर्ने देखेको छु” ।

धितोपत्र बोर्डमा भएको के हो भनेर सत्य तथ्य जानकारी छानबिन समितिले दिएपछि आम नागरिकलाई जानकारी गराउने र सोही अनुसारको मन्त्रालयले आवश्यक कारबाही गर्ने उनले बताएका छन् ।

अनियमितताको बारेमा यहीनै भएको हो भनेर भन्न नसकिने छानबिन समितिको प्रतिवेदन आएपछि मात्र भन्न सकिने उनले भने ।

“अहिले दिनानुदिन पूँजीबजार बढ्दो छ । धेरै आम सर्वसाधारणले पनि यसमा व्यापक लगानी गरेका छन् । त्यो लगानीको संरक्षण गर्ने र जनताको हितको संरक्षण गर्नलाई मन्त्रालय प्रतिबद्ध छ । सार्वजनिक रूपमा मैले यो कुरा भन्दै आइरहेको छु । आम लगानीकर्ताको हितमा मन्त्रालयले आवश्यक कदमहरू चाल्नेछ । यो कुरा बारम्बार भन्दै आइरहेको छु । ” उनले भने ।

स्पष्टीकरण संस्थालाई किन लेखियो भनेर उठेको प्रश्नमा मन्त्री शर्माले भने, “संस्थालाई चिठी लेख्दा अपूर्ण भएकाले व्यक्तिलाई फेरि चिठी लेखियो । व्यक्तिको स्पष्टीकरणले पनि हामीलाई चित्त नबुझेको हुँदा छानबिन समिति बनाइएको हो । छानबिन समितिलाई पनि हामीले धेरै समय दिएका छैनौँ । अब केही दिनमै समितिले हामीलाई रिपोर्ट बुझाउनेछ ।”

यस किसिमका समस्यालाई समाधान गर्न कानूनमा भएका ‘लूप होल’हरूलाई समेत टाल्नुपर्ने अवस्था आएको मन्त्री शर्माले भने ।
उनले अब नयाँ कानूनको पनि खाँचो देखिएको बताएका छन् । पूँजी बजार बढ्नुको विषयमा अर्थमन्त्री शर्माले कोरोनाका कारण भएका निषेधाज्ञाले गर्दा अन्य लगानीका वैकल्पिक बाटाहरू नभएका कारण र इन्टरनेको पहुँच भएका आम मानिसहरूको ध्यान यतातिर आकर्षित भएको बताएका छन् ।

अर्थमन्त्रीले भने “करिब ३७ लाखले कारोबार गरिरहेको रेकर्ड छ । त्यो ३७ लाखमध्ये अत्यधिक मानिस सामान्य हुन् । सय जना जति मात्रले यसको लाभ लिइरहेका छन् । त्यसैले ती सामान्य मानिसहरूको लगानी पनि नडुबोस् भन्नेमा हाम्रो ध्यान गम्भीर ढङ्गले गएको छ ।”

त्यस्तै उनले इन्साइडर ट्रेडिङसँग प्रविधिको समस्या पनि होला, हिजो कतिले कारोबार गर्थे, आज कतिले कारोबार गरिरहेका छन् भन्ने कुरामा पनि प्रविधि परिष्कृत गर्नुपर्ने आवश्यकता रहेको बताए ।

अर्थमन्त्रीकाअनुसार बजारसम्बन्धी समस्याका यावत विषयमा हाम्रो ध्यानाकर्षण भएको छ भन्दै मन्त्रीले “यी सबै विषयमा छानबिन गर्न छानबिन समितिलाई कार्यादेश दिएका छौँ । यो छानबिन आम लगानीकर्ताको हितमा हुनेछ । ढुक्क हुन म माननीय सदस्यहरूलाई माननीय सभापति मार्फत आग्रह गर्न चाहन्छु । यो कुरा काम भएपछि देखिनेछ ।”

त्यस्तै, मन्त्री शर्माले विद्युत नियमन आयोगले सूचना जारी गरेकोले लगानीकर्ताहरूलाई कम्पनीको बारेमा सत्य तथ्य बुझेर मात्र लगानी गर्न आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !