९ आश्विन २०७८, शनिबार

‘भ्रमण गर्दा बन्ने धारणा सबैभन्दा ठूलो उपहार हो’

प्रकाशित मिति :  २६ भाद्र २०७८, शनिबार १४:०७


ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजेकेशन(गेट)कलेज नेपालको हस्पिटालिटी क्षेत्रमा नेतृत्वदायी शैक्षिक संस्था  हो । हस्पिटालिटी क्षेत्रमा एसियामै पहिलो स्वीस डिग्री दिने तथा नेपालमा अन्तराष्ट्रिय वल्र्ड हस्पिटालिटी अवार्ड जित्ने पहिलो कलेजपनि हो । सन् २००७ मा स्थापना भएको कलेजमा अध्ययन गर्न बिदेशबाट समेत विद्यार्थी आउने गर्दछन् । विद्यार्थीले ‘कमाउदै पढ्दै, पढ्दै कमाउदै’ गर्ने अवधारणा अन्तगर्त चलिरहेको कलेजको संस्थापक सीईओ हुन् खेम लकाई ।
लकाईको सपना छ,‘आमा–बुवाले मेरो छोरा त्यहाँ पुग्यो र फर्केर आएर यहीँ गर्दैछ भनेको कुरामा गर्व हुने र मेरो छोरो छोरी उहीँ बेपत्ता भयो भन्दा लाज हुने दिन आएको हेर्न ।’यसपटक हामीले उनै सीईओ लकाईको जीवनशैली प्रस्तुत गरेका छौं:

आफ्नो दैनिकी कसरी सुरुवात गर्नुहुन्छ ?

उठ्ने समय एकदम फरक–फरक हुन्छ । मलाई उठ्न मनलाग्ने समय भनेको बिहान ५ बजे हो । तर विशेषगरी यो जाडो महिनामा, यो प्रदूषणको कारणले समस्या हुन्छ । कहिलेकाहीँ अल्छी लागेर ७ बजेसम्म पनि सुतिन्छ । औसतमा ५ देखि छ बजेको बीचमा उठिसक्छु ।

त्यसपछि म सकेसम्म बिहान मर्निङवाक जान्छु । तरकारी आपैलाई किन्न मन लाग्छ । मर्निङवाक जाँदा वास्तविक नेपालको तस्बिर पनि देखिन्छ ।

सिन्धुपाल्चोकको मान्छेले आआफ्नो बारीको बेसार बेचिरहेको हुन्छ । कति रुपैँया किलो भन्दा १ सय रुपैँया किलोमा दिइराखेको हुन्छ । मलाई यस्तो लाग्छ कि यस्तो राम्रो बेसार सय रुपैँया किलोमा बेचेर पनि ऊ किन दंग भइरहेको छ ? मलाई अनौठो लाग्छ । एकै पटक ४–५ किलो किनेर लिएर आउँछु । मलाई वर्षभरी पुग्छ । यस्ता अनेक उदारण छन् ।

कहिले काहीँ छोराछोरीलाई लिएर जान्छु कहिले काहीँ एक्लै जान्छु । अनि, फर्केर आएपछि आफ्नो घरमा भएको खाना खाजा खाने अनि कसरत गर्ने गर्छु ।

मनपर्ने खाना ?

मेरो बगैँचामा मलाई चाहिने आधारभूत कुराहरू प्रायः उमार्ने र फलाउने गर्दछु । मैले धेरै फलफूलका बिरुवा उमारेर साथीभाइहरूलाई दिएको छु । सकिने कुराचाहीँ गरौं भन्छु । खानेकुराचाहीँ मेरो विचारमा के छ भने प्रकृतिमा उम्रिएर प्राकृतिक रुपमा उम्रिएको छ भने त्यसलाई कसरत गर्नु पर्दैन । सकेसम्म काँच्चै भन्दा पनि, कोही त काँचै खानेकुरा पनि खानुखानुपर्‍यो, पकाउँदा पनि त्यो गलेर त्यसका सबै त्यसको नेचर नै चेन्ज हुने खाना मलाई मनपर्दैन ।

खाना बनाउन आउँछ ?

बनाउन मज्जाले आउँछ । म राम्रो सेफ पनि हो । तर कहिलेकाहीँ समय अवधिले गर्न भ्याइँदैन तर मलाई आफूलाई  पकाउन साह्रै मन   पर्दछ ।

घुम्न कतिको मनपराउनु हुन्छ ?

घुम्ने प्रसंगकै कुरा गर्दा अहिले विदेशका कुरा गर्ने हो भने म अहिलेसम्म ६२ देश घुमेको छु । नेपालको पनि म पूर्वदेखि पश्चिमसम्म घुमेको    छु । जिल्ला छुटे पनि क्षेत्र छुटाएको छैन । छुटेको ठाउँहरू पनि मेरो पकेट लिस्टमा छन् । अब म हिड्ने डुल्ने कुराका सन्दर्भमा सहज हुने वित्तिकै आफ्नै देश घुम्नेमा कुरालाई प्राथमिकतामा राख्छु ।

मलाई एकदमै हुम्ला जान मन छ । जुम्ला जान मन छ । डडेलधुरा जाजरकोट जान मन छ । सुदूरपश्चिमप्रति मेरो असाध्यै लगाव छ । पूर्वतिर धेरै ठाउँ पुगिसकेको छु । नपुगेका विकट ठाउँहरू घुम्ने मेरो सूचीमा छन् ।

घुमेका ठाउँमध्ये मनपरेको देश अथवा ठाउँ कुन हो ?

आफुले धेरै समय खर्च गरेको मुलुकमा अलिकति भावनात्मक विषय पनि गाँसिएको हुन्छ । नेपाल भन्दा बाहिर सबैभन्दा धेरै समय बिताएको स्विट्जरल्यान्ड, क्यानडा, बहराइन हुन् ।

त्यसपछि चौथोमा जापान र धेरै पटक गएको चाइना हो । भारत पनि पर्छ । मन पर्नका लागि मापन गर्ने आधार त छैन । कुनै ठाउँको के मन पर्छ, कुनै ठाउँको के ? तर, मलाई साह्रै मनपर्ने मुलुक मध्येमा एउटा न्यूजील्यान्ड हो ।

उनीहरूको जीवन शैली र जीवन दर्शन खुब मन पर्छ । अष्टे«लिया पनि मलाई मनपर्ने देश हो । तान्जानिया अर्को मलाई मनपर्ने देश हो । अनि नजिकैको सानो मनपर्ने देश भनेको भुटान हो । नेपाल भित्रको ठाउँ चाहिँ सबै भन्दा धेरै गएको पोखरा हो तर मलाई मनपर्ने ठाउँ मुस्ताङ र लमजुङ पनि हो भने पूर्वमा इलाम हो ।

घुम्नकै लागि भनेर समय निकाल्नुहुन्छ अथवा कामका सिलसिला पारेर घुम्नु हुन्छ के छ ?

म घुम्नकै लागि भनेर पनि गएको छु । तर मेरो मान्यता अलि फरक छ । काम र व्यक्तिगत जीवन छुटउनुपर्छ भन्ने मान्यता अलि कम राख्छु । काममै व्यक्तिगत जीवन जोडिएको छ भने त्यो आनन्दमय हुँदैन । घुम्ने पनि र काम पनि गर्ने बानी छ मेरो ।

परिवारलाई पनि लिएर जान्छु । मेरो काम भयो भने जान परिहाल्यो । अनि त्यसैमा बच्चाहरूको टिकट पनि काट्यो । मेरो अन्य कुनै खर्च छैन र पछुतो हुने गरि खर्च गर्नुपर्ने केही छैन । लाउनमा मलाई त्यति सोख छैन ।

मेरो लगानी परिवारलाई घुम्न फिर्नमा सबैभन्दा ठूलो खर्च हो । मेरो घुमाइ कामसँग जोडिइ हाल्छ । मौका पर्यो कि त्यहाँ अलिकति बल गर्ने वित्तिकै परिवारलाई पनि भइहाल्छ ।

अध्ययनप्रतिको रुचि कत्तिको छ ?

अध्ययनप्रति मेरो रुचि छ । अध्ययनका लागि किताबमात्रै होइन विभिन्न माध्यम छन् । तर मलाई भ्रमण नै सबैभन्दा ठूलो अध्ययन हो भन्ने लाग्छ । अनि, भ्रमण गर्दा बन्ने धारणा सबैभन्दा ठूलो उपहार हो ।

मानौ बर्दियामा गए भने बर्दियामा के कुराको पूरै जानकारी हुन्छ भने त्यहाँका मान्छेले के खान्छन् ? के लाउँछन् ? त्यहाँको चुनौती के छ । त्यहाँ कस्तो अवसर हुन्थ्यो होला ? जस्तो लाग्छ र यी सबै विषय मेरो निमित्त अध्ययन हुन् ।

अनि, त्यहाँ बसेको कोही पनि मान्छेसँग म कुरा गर्न थालेपछि म भुल्छु । जो मान्छेसँग कुरा गर्न लागे पनि गफ गर्न थाली हाल्छु । अनि त्यो समयको मतलब नै हुँदैन । मेरो निमित्त त्यो अध्ययन हो । त्यो भनेको मलाई साथी हुनु भन्दा पनि उनीहरूले भन्ने हरेक कुरा मेरो निमित अध्ययन हो ।

पुस्तकबाट पनि धेरै कुरा सिकिन्छ तर मैले ‘युनिभर्सिटी’बाट भन्दा ‘युनिभर्सल’बाट धेरै सिकेको छु ।

गीत–संगीतप्रति कत्तिको चासो छ ?

मलाई गीत–संगीत असाध्यै मनपर्छ । मलाई क्लासिकल र पुराना गीतहरू मनपर्छ । संगीतको कुनै राष्ट्रियता हुँदैन । मलाई सबै भाषाका गीतहरू मन पर्छन् ।

गीत संगीत पनि एउटा उपहार जस्तो लाग्छ । मानव जीवनमा संगीत कसैले कत्रो साधना गरेर बनाइदिएको हुन्छ अनि हामी आनन्द मानेर सुन्छौ । यस कारण गीतसंगीतप्रति मलाई गर्व पनि लाग्छ । नाच्ने गाउने कुरामा पनि म अलि पछाडि छु । नाँच्न मलाई आउँदैन, गाउन मन लाग्छ । तर आफ्नै लागि मात्रै गाउने हो । मादल बजाउँछु । युवा हुँदा सोख थियो तर मेरो लागि छुटेको कुरा म्युजिक पनि हो ।

चलचित्र हेर्नु हुन्छ कि हेर्नु हुन्न ?

पहिला एकदम हेर्थे तर अहिलेचाहिँ असाध्यै मन परे पनि हेर्नका अलि समय कम छ । मलाई सामाजिक विषय वस्तुको चलचित्रहरू मनपर्छ । कुनै बेला थियो जे आए पनि हेर्ने । तर अहिले भने मैले कुनै चलचित्रलाई एकदमै बढी समय दिन्छु भने, एक घण्टा समय दिन्छु । त्यसको अर्थ, मैले केही न केही सिक्नु पर्दछ ।

नायक नायिका चाहीँ जुन भूमिकामा आफूलाई साँचै नै डेडिकेटेड गराएर साधक भएर माया गर्न लायक सबै जना मनपर्छ तर को कस्तो देखियो भनेर मनपराउन मेरो उमेर नाघिसक्यो (हाँसो) ।

आफ्नाे बानी आफैलाई मन नपर्ने केही त्यस्तो छ ?

मलाई समय ख्याल गर्न निकै गाह्रो हुन्छ । मलाई केही मनपरेपछि त्यो चिजमा एकदम ध्यान दिएर लाग्छु । एक, डेढ, पाँच घण्टा वितेको पनि थाहा हुँदैन । यो आफैलाई मन नपर्ने आफ्नो बानी हो । ठयाक्कै यति समयभित्र यति काम गरिहाल्ने भन्ने पावन्दीमा बस्नै सक्दिन । त्यो मेरो मन नपर्ने बानी हो ।

तपाईंलाई अलि छिटो दुःखी बनाउने विषय ?

हामी मानव सबै जनाको सम्भावना एउटै हो । कुनै विषयमा कसैले एकदम मौका पाएको साधक साधना गर्न पाएको र त्यो ठाउँमा उसले आफ्नो एकदमै धेरै मेहनत गरेको कारण अब्बल हुने हो । त्यो सम्भावना सबै मानवसँग हुनसक्छ भन्ने लाग्छ । तर अधिकांश मानिसले त्यो सम्भावनालाई वास्ता गर्दैनन् । कसैले कसैलाई बेवास्ता गर्ने शैली मलाई एकदमै मन नपर्ने विषय हो ।

इग्नोरेन्सचाहिँ मलाई सबै भन्दा चाडैँ रिस उठाउने विषय हो । एउटा मान्छेले अर्कोलाई मूल्यांकन गर्छ नि, आजको जमानामा पनि जातको आधारमा, छालाको आधारमा, रङको आधारमा, भूगोलको आधारमा । यसले मलाई अचम्म बनाउछ । मलाई विभेद पनि पटक्कै मन पर्दैन ।

र, सबै मान्छेको आफ्नो सपना हुन्छ, लक्ष्य हुन्छ । तपाईको सपना लक्ष्य के छ ?

अहिले विदेश जानका लागि नेपालका युवाहरू मरिहत्ते गर्छन् । हाम्रा युवाहरू त्यो ठाउँमा पुग्न पाए हुन्थ्यो भन्छन् । तर म ती ठाउँको भित्रबाहिर सबै ठाउँ घुमेर हेरेर आएको छु । आजको दिनसम्म मेरो छोरा त्यहाँ छ, यहाँ छ, वहाँ छ भन्दा गर्वको कुरा हुन्छ । तर नेपालका आमा–बुवाले मेरो छोरा त्यहाँ पुग्यो र फर्केर आएर यहीँ गर्दैछ भनेको कुरामा गर्व हुने र मेरो छोरो छोरी उहीँ बेपत्ता भयो भन्दा लाज हुने दिन आएको हेर्न मन छ । –टक्सार म्यागजिनबाट

 



प्रतिक्रिया दिनुहोस !