३१ आश्विन २०७८, आईतवार

जीवन बिमाका चुनौती

राम्रा पक्षहरू हुँदाहुँदै पनि किन सबै जीवन बिमा गर्न स्वयम् उत्प्रेरित भइरहेका छैनन त ?
प्रकाशित मिति :  ४ आश्विन २०७८, सोमबार १४:०९


मानिसको जीवन मरणशील छ, यो शाश्वत सत्य हो । जीवनमा कुनै पनि बेला त्यस्तो घटना घट्न सक्छ जसले मानिसको जीवनचर्या नै बदलिन सक्छ । मानिसले त्यस्ता घटनाबाट हुन सक्ने आर्थिक क्षतिको न्यूनीकरण अवश्य गर्न सक्छ ।

जीवन बिमा त्यस्तो भविष्यमा घट्न सक्ने अप्रिय घटनाबाट आफू वा आफ्नो परिवारलाई हुन सक्ने आर्थिक क्षतिको रक्षावरणको उपाय हो । यसरी हेर्दा जीवन बिमा मुलतः जोखिमको रक्षावरण हो । तर हामी कहाँ जीवन बिमालाई जोखिमको रक्षावरणभन्दा पनि बचतको पाटोबाट हेर्ने गरिएको छ ।

जसले गर्दा जनमानसमा अहिले रकम जम्मा गर्दै गएमा अवधि समाप्तिमा कति रकम एकमुष्ट पाउँछु भनी सर्वसाधारणले जिज्ञासा राख्ने गरेको पाइन्छ । जुन पूर्णतः गलत पनि होइन किनभने सावधिक र आजीवन बिमाले अवधि समाप्तिमा निश्चित रकम पाउने सुनिश्चितता गरेको हुन्छ ।

यस्ता प्रकारका जीवन बिमाले बचतसँगै जोखिमको रक्षावरण, अनिवार्य लगानीको रूपमा तिर्नुपर्ने बिमाशुल्क, आवश्यक पर्दा कर्जाको व्यवस्था, जम्मा गरेको बिमाशुल्क नभइ कबुल गरेको रकम (बिमांक) को आधारमा पाउने प्रतिफलका कारण जीवन बिमालाई सर्वोत्तम बचत पनि भनिन्छ ।

मानिसले आफ्नो र आफ्ना प्रियजन तथा समुन्नत भविष्यको लागि दिनरात अथक प्रयास गरिरहेको हुन्छ । जीवन सुनिश्चितता र सहजताको लागि संघर्ष गरिरहन्छ । म भएपछि त मैले मेरा आश्रितहरूलाई मैले कल्पना गरेअनुसार पु¥याउँछु भनि दृढ संकल्पित पनि हुन्छ । हामी जीवनका योजनाहरू पनि पूर्ण बनाउँछौँ र त्यसैमा लागि रहन्छौँ । तर हामीले कहिले यो सोचेका छौँ – यदि म नभएमा मेरो प्रियजन र सन्ततिको के होला वा कुनै भवितव्यका कारणले मेरो शारीरिक अशक्तता भयो भने के होला वा ठूलो घातक रोग लागेमा उपचार खर्च कसरी पु¥याउने होला ? वन बिमाले भवितव्यबाट हुन सक्ने आर्थिक क्षतिको सुरक्षावरण गर्दछ ।

आफू नरहँदा आफ्नो प्रियजन तथा सन्ततिको लागि एकमुष्ठ रकमको जोहो गरी दिन्छ, केही गरी दुर्घटनाबाट अपाङ्गता बेहोर्नु परेमा/अशक्त भएमा एकमुष्ठ रकम सँंगसँगै नियमित आम्दानीको उपलब्धता सुनिश्चित गराउँछ, भविष्यमा तिर्नुपर्ने बिमा शुल्क छुट समेत भई अवधि समाप्तिमा पुुनः बिमांक रकम समेत पाउने अवस्था रहन्छ । घातक रोगको सुरक्षावरण लिएमा घातक रोग हुँदा उपचार खर्चको समेत सजिलै जोहो हुन्छ ।

जीवन बिमाका यस्ता राम्रा पक्षहरू हुँदाहुँदै पनि किन सबै जीवन बिमा गर्न स्वयम् उत्प्रेरित भइरहेका छैनन त ? जीवन बिमा व्यवसाय अधिकांश अभिकर्तामार्फत् हुने गर्छ । जब कुनै अभिकर्ता सम्भावित बिमित कहाँ पुग्छ, उक्त व्यक्तिले मैले जीवन बिमा गर्दा जोखिमको सुरक्षावरण सँगसँगै मेरो बचत पनि हुन्छ भनि नसोचिकन मैले गरेको जीवन बिमाबाट उसले कमिशन पाउँछ भनि सोच्ने गरेको पाइएको छ ।

जसले जीवन बिमालाई अपेक्षाकृत मौलाउन दिएको छैन । के हामीलाई कुनै कुरा खान मन लाग्यो र उक्त खानेकुरा पसलेसंँग किन्दा हामी पसलेले यति कमायो होला भनि सोच्छौँ र ? हामीले त त्यो पैसा तिरेबापत खानेकुरा पाएर मख्ख पर्छौ, हो त्यस्तै जीवन बिमाको लागि अभिकर्ताले प्रस्ताव गर्दा बिमा गर्ने व्यक्तिले यो कुरा त मेरो लागि हो नि भनि सोच्नुपर्दछ ।

जीवन बिमा अभिकर्ताले जीवन बिमा प्रस्ताव गर्दा प्रस्तावित बिमितको आयस्रोत, उसले गर्न सक्ने बचत वा तिर्न सक्ने बिमाशुल्क चाहेको जोखिमवरण जस्ता कुराहरूलाई ध्यानमा राख्दै उपयुक्त जोखिमवरणको बिमा प्रस्ताव गर्छ । त्यसैले नयाँ बिमा योजना प्रारम्भ गर्नुपूर्व ती कुरालाई ध्यानमा राख्दै बिमा योजना छनोट गर्नुपर्छ ।

जसरी कुनै सेवा प्रदायकको कार्यालयमा काम गरे बापत कर्मचारीले पारिश्रमिक पाउँछ, त्यसैगरी जीवन बिमा सल्लाह दिइ घर/कार्यालयमा बिमा सेवा पु¥याएबापत अभिकर्ता संकलित बिमा शुल्कको आधारमा कमिसन पाउँछ जुन बिमा ऐनले गरेको अभिकर्ताको नैसर्गिक अधिकार हो ।

अब प्रश्न उठ्छ बिमा गर्दा कसको बिमा गर्ने ? हामी बिमा गर्दा जसको बिमा शुल्क कम पर्छ, उसैको बिमा गरिरहेका हुन्छांै, जुन गलत हो । जीवन बिमा गर्दा घरपरिवारमा आयआर्जन गर्ने, जसको आयमा अरु सदस्य निर्भर हुन्छन् उसैको बिमा गर्नुपर्ने हुन्छ किनभने उक्त आयआर्जन गर्न सक्ने व्यक्ति नभएमा वा आयआर्जन गर्न नसक्ने भएमा सबैभन्दा बढी समस्या ऊमाथि निर्भर रहेका व्यक्तिहरूलाई हुन  जान्छ । जस्तो परिवारमा एकजना छोराको आयमा उसको बुवा/आमा तथा श्रीमती तथा बालबच्चाहरू आश्रित छन् भने हजुरबुबा/हजुरआमा वा नाती/नातिनालाई भन्दा बिमाको आवश्यकता छोरालाई हुन्छ ।

त्यसैले परिवारको मुख्य व्यक्तिको बिमा गर्नुपर्ने हुन्छ भने बिमाको रकम निर्धारण गर्दा उसको आम्दानीको गणना, चाहेको सुरक्षावरण आदिको सुक्ष्म अध्ययन गरी जीवन बिमा गर्नुपर्छ, जसले वास्तविक आवश्यकता परेको समयमा छातारूपी सुरक्षावरणले पूर्णरूपमा जोगाउन सकियोस् ।
अब प्रश्न उठ्छ जीवन बिमा कहिले गर्ने ? हाम्रो जीवनको उर्जाशील तथा आय आर्जन गर्ने समय २५ वर्षदेखि ५० वर्षको बीचमा रहेको हुन्छ । उक्त समयमा एक व्यक्तिलाई आफ्नो प्रियजन तथा सन्ततिको भविष्य उज्जवल बनाउने दायित्व हुन्छ भने आफ्नो बुवाआमाको पनि हेरचाह गर्नुपर्ने हुन्छ ।

तर बिमा सुविधा प्रायः यही समयमा अवधि समाप्ति हुने गरी लिएको पाइन्छ । के बिमाको सुरक्षावरण अवधि समाप्त पश्चात आवश्यक पर्दैन ? अवश्य पर्दछ । बिमा सुविधा जति पछि लिइन्छ त्यति नै जोखिम बापतको शुल्क बढ्न गइ बिमा शुल्क महँंगो हुन जान्छ भने उक्त अवधिमा स्वास्थ्यको कारणले बिमा स्वीकारयोग्य पनि नहुन सक्छ । त्यसकारण आफ्नो योजना अनुरूप सकभर लामो अवधिको जोखिमवरण हुने बिमा छनौट गर्नु पर्दछ, साथसाथै बिमाशुल्क भुक्तानी अवधिमा समेत विचार पु¥याउनु जरुरी हुन्छ ।

के जीवन बिमा बचत र लगानीको लागि नगरी जोखिम वहनका लागि गर्न मिल्दैन ? अवश्य मिल्दछ । म्यादी जीवन बिमाले एकदमै न्यून बिमाशुल्कमा जोखिमको मात्र सुरक्षावरण हुने सुविधा प्रदान गर्दछ ।

त्यसैले समयमै आफ्नो आवश्यकता तथा योजना अनुरूप बचत र लगानीसहितको सुरक्षावरण प्रदान गर्ने सावधिक वा आजीवन बिमा वा सुरक्षावरण मात्र प्रदान गर्ने म्यादी जीवन बिमा गरी सुनिश्चत होऔ । अनि मात्र हामीले आफू र आफ्नो प्रियजन तथा सन्ततिको लागि भविष्यको सुनिश्चतताको लागि संवेदनशील भएको र वास्तविक माया गरेको ठहरिनेछ ।

(पन्थी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लि.का नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।)

टक्सार म्यागजिन, बैशाख २०७८ बाट



प्रतिक्रिया दिनुहोस !