१३ बैशाख २०८१, बिहिबार

पेप्सीकै शैलीमा ‘ट्रेड डिस्काउन्ट’ का नाममा भ्याट छल्दै कोक

प्रकाशित मिति :  29 September, 2021 2:06 pm


काठमाडौं । कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट बोटलर्स नेपाल लिमिटेडले पेप्सीको बोटलर वरुण बेभरेजकै शैलीमा ‘ट्रेड डिस्काउन्ट’ का नाममा मूल्य अभिवृद्धि कर (भ्याट) छल्ने गरेको पाइएको छ ।

बोटलर्स नेपालले बिक्रेतालाई विभिन्न ‘स्किम’का नाममा दिने छुटलाई सुरूको बिक्री बिलमै ‘ट्रेड डिस्काउन्ट’का रुपमा समावेश गरेर बीचको तहबाट संकलन हुने भ्याट छल्ने गरेको पाइएको हो ।

भ्याट भनेको अन्तिम उपभोक्ताबाट संकलन हुने कर हो, जुन वस्तुको अन्तिम बिक्रीका चरणमा संकलन हुन्छ । उत्पादकबाट थोक बिक्रेता, थोक बिक्रेताबाट खुद्रा बिक्रेता हुँदै अन्तिम तहमा कायम हुने बिक्री मूल्यमा यो कर जोडिएको हुन्छ ।

बोटलर्स नेपालले विगतमा अन्तिम बिक्रेतालाई दिने ‘स्किम’मा मात्र ‘ट्रेड डिस्काउन्ट’ दिने गरेकोमा अहिले माथिल्लो तह (थोक बिक्रेता/स्टकिस्ट) कै तहमा ‘स्किम’ मा छुट दिएर बीचको तहको भ्याट छलेको पाइएको हो । थोक बिक्रेताले खुद्रा बिक्रेताका नाममा दिने ‘अतिरिक्त छुट’लाई ‘क्रेडिट’मा देखाउने गरिएको आन्तरिक राजस्व विभागले फेला पारेको हो ।

कर छल्नका लागि प्रयोग गरिएको आन्तरिक बिल, जसमा भ्याट जोड्नुभन्दा माथि छुट दिएको देखिन्छ । यो कोकले थोक बिक्रेतालाई दिएको हो ।

आन्तरिक राजस्व विभाग स्रोतका अनुसार सुरु बिलमा नै ‘ट्रेड डिस्काउन्ट’ देखाइ तल्लो तहबाट संकलन/प्राप्ति हुनुपर्ने भ्याट छल्ने गरेको पाइएको हो । “बोटलर्स नेपालले थोक विक्रेता/स्टकिस्टका नाममा दिने अतिरिक्त छुटलाई अन्तिम लेखापरीक्षणमा अन्य सेवा खरिद शीर्षकमा देखाइ उपभोक्ता तहबाट संकलित कर छलेको हो,” विभागका एक अधिकारीले भने ।

कोकाकोलाले गर्मीयाम, दशैं लगायतका विभिन्न पर्व र अवसरमा तथा अन्य महोत्सवका नाममा वर्षमा तीनदेखि चार पटकसम्म बिक्री प्रवर्धनका योजना चलाउने गरेको छ, जसमा बिक्रेतालाई नगद छुटदेखि अतिरिक्त बोतल (प्रति कार्टुन/प्रतिकेस एउटा निःशुल्क) ‘बिक्री प्रवर्धन’का नाममा दिने गरिएको छ ।

“मूल्य श्रृङ्खलामा तल्लो तहबाट संकलन हुनुपर्ने भ्याटबापतको रकम एकीकृत रुपमा देखाउने तर माथिल्लो पंक्ति- (थोक बिक्रेता/स्टकिस्ट) कै तहमा ‘ट्रेड डिस्काउन्ट’का नाममा भ्याटसमेत संकलन नगरि अतिरिक्त छुट दिने गरेको पाइयो,” विभाग स्रोतले भन्यो ।

बोटलर्स नेपालको बिक्री तथा वितरण खर्च वार्षिक करिब डेढ अर्ब रुपैयाँ छ भने वार्षिक ३० करोड रुपैयाँ विज्ञापन तथा प्रवर्धन शीर्षकमा देखाउने गरेको छ भने करिब १ अर्ब २० करोड रुपैयाँ बिक्री प्रवर्धनबापत देखाउने गरेको छ । यी शीर्षकमा ‘ट्रेड डिस्काउन्ट’ र व्यापार प्रोत्साहन खर्च देखाइए पनि विगत तीन वर्षदेखि उपभोक्ताको तहमा  ‘ट्रेड स्किम’अन्तर्गत बेचिएको कोकाकोला, फेन्टा, स्प्राइटलगायतका उत्पादन बिक्री तहबाट संकलन हुने वार्षिक २० देखि ३० करोड रुपैयाँको भ्याट छल्ने गरेको देखिएको हो ।

कोकाकोलाको विगत तीन वर्षको बिक्री तथा प्रवर्धन खर्च

पछिल्ला केही वर्षयता कोकले प्लास्टिकका पेट बोतलमा बिक्री हुने कोकाकोला, फेन्टा, स्प्राइटलगायतका कार्बनयुक्त पेयमा ‘ट्रेड स्किम’ सञ्चालन गर्दै आएको छ ।

पेप्सीको बोटलिङ प्लान्ट, वरुण बेभरेज नेपाल प्रालिले पनि यसअघि आर्थिक वर्ष २०६२/६३ देखि २०६७/६८ सम्म ‘ट्रेड स्किम’अन्तर्गत ‘ट्रेड डिस्काउन्ट’ र व्यापार प्रोत्साहन खर्च दिएको झूटो विवरण पेस गर्दै आय कम देखाएर कर छलेको प्रमाणित भएपछि राजस्व न्यायाधीकरणले जरिवानासहित कर तिराउने आदेश दिएको थियो । भ्याट छली प्रकरणमा पेप्सीको नेपालका प्रबन्धक पक्राउ नै परेका छन् भने यो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ ।



प्रतिक्रिया दिनुहोस !