१३ बैशाख २०८१, बिहिबार

खडानन्द सुवेदीका दुई कविता

प्रकाशित मिति :  9 October, 2021 1:37 pm


पछिल्ला दशकमा दश वर्षे जनयुद्धको केन्द्रको रुपमा विश्वभर रोल्पा जिल्लाको पहिचान बनेको छ । रोल्पा जिल्ला भाषा, साहित्य, संस्कृति, धार्मिक तथा प्राकृतिक रुपमा पनि उत्तिकै चिनिनु पर्ने जिल्ला हो । रोल्पा जिल्लाका संस्थापक  मध्येका एक षडानन्द सुवेदी राजनीतिज्ञ, समाजसेवीसँगै  साहित्यिक व्यक्तित्वको रुपमा उत्तिकै परिचित व्यक्तित्वका रुपमा लिइन्छ । हालसम्म भेटिएका ऐतिहासिक तथ्य अनुुसार चेतन लहरी रोल्पाको पहिलो प्रकाशित कृति हो । चेतनलहरीका लेखक  स्व: षडानन्द सुवेदीको जन्म नवदुर्गाभित्र भएको थियो। यही सन्दर्भ पारेर सुवेदीद्वारा लिखित दु्ई कविता यहाँ प्रकाशन गरेका छौं । – सम्पादक

 

अनीति लोभ

थुन काटी दूध धेरै झार्दामा

सुक्दछ कल्चौडो परी पीरमा

अन्यायी रकम बटुलेर धेर

सौख्य नलिइ त्यसै जान्छ खेर  ।

हिउँ देख्दामा नजर लोभिन्छ,

प्रभाव उसको त्यो कसले जान्दछ ?

परको राम्रो देखेर लोभिँदा

ज्यानै लिन्छ कि लालचले अगाल्दा  ।

अनीति लोभ लिई चल्दा धेर

वस्तु विछोड भै जान्छ पर–पर

पापको पिता लोभ लालच ठानी

नैतिग्य भै छोड्नु अनीति लोभानी  ।

कर्मेंद्रिय शत्रु सधैको छुच्चो,

ज्ञानेन्द्रीय राख्नु सदैव उँचो

होशियारले लिन्छ उचित बानी,

आत्मा अगाल्नु अति बुद्धिमानी ।

 

————–

 

समय र शक्ति

काममा कवचले झल्काउ तरबार

चमक्क चल्ने विश्व व्यवहार

प्रयोग नजाने बिग्रन्छ धार

त्रास मात्र दिइ सब काम टार ।

समय र शक्ति तुलनामा तार

शक्ति छैन त समय नछाड

शक्तिका भरमा समय नपार

शक्ति र समयमा को छ जोड़दार ?

आफ्नो शक्ति आफै गर संहार

सङ्कटकालमा शक्ति गर प्रहार

चल्दा बेहोसमा हुने मारामार

शक्ति र समय दुवै छन् अपार ।

जसका साथ छ होस् हतियार

जगतमा पर्ने उसैको पत्यार

गर्दा नबुझी शक्तिको प्रहार

फर्की आफैमा खुवाउछ मार ।

प्रयोग छ शक्ति जो छ अत्याचार

शक्तिको बलले निर्दोषी नमार

शक्ति सम्हाल्नु यत्नले बार–बार

शक्ति बिना छ समय बेकार ।

जसमा छ शक्ति– उसैमा कार्य–भार

सत्य र शक्ति लाई भोरमा नपार

शक्तिले दिन्छ समयको वार

तरबार फाटे हुन जान्छ हार ।

 

षडानन्द सुवेदी र राेल्पा जिल्लासँग सम्बन्धित सामग्रीहरूः



प्रतिक्रिया दिनुहोस !