९ आश्विन २०७८, शनिबार

५५ वर्षअघि रोल्पा जिल्लाकै पहिलो किताब ‘चेतन लहरी’ छापिँदाको संस्मरण [भाग १]

प्रकाशित मिति :  १६ श्रावण २०७८, शनिबार ०८:०६


बिक्रम सम्बत् २०२३ साउनबाट अहिले २०७८ सालको साउनसम्म औँला भाँच्दै गनेर ल्याउँदा पनि ५५ वर्ष त बिति सकेछ – अब ५ वर्षपछि त तीन बीस पुग्दो रहेछ । पछिल्लो इन्टरनेट पुस्तालाई त दन्त्य कथा जस्तो लाग्ला । समयका वर्तमान खण्डहरूले पुरानो समयका खण्डहरू कति कठिन थिए होलान् जाने बुझे राम्रै होला नि !  सबैका आ-आफ्नै कथा छन् । यो कथा भने “रोल्पा” नामको नयाँ जिल्लाकै पहिलो किताब छाप्दाको कथा हो । पढ्ने रुचि भाकाहरूले यो वर्णनको आँखीझ्यालबाट दिवङ्गत सर्जकको व्यक्तित्व, त्यस बखतको छापाखानाको कथा, यात्राका कठिनाइ, आर्थिक र सामाजिक जीवनका पाटा र प्रकाशनको इतिहासको एकमुस्ट झलक पाउन सक्लान् कि भन्ने ठानेर पनि लेख्दै छु । “बुझ्नेलाई श्री खण्ड, नबुझ्नेलाई खुर्पाको बिँड” पनि हुन सक्ला । तै पनि “बुढा मरै ,भाषा सरै” भन्छन् – भनेर पनि लेखि राखिएको हो । – लेखक ।

…………………………………

तत्कालीन प्यूठान जिल्ला थुम बाइसखुवाअन्तर्गत गजुलकोट दलङ्गा निवासी श्री खडानन्द सुवेदीको सामाजिक र राजनीतिक व्यक्तित्व निकै अग्लो थियो । चौतारीको घना-पिपल बोटको जस्तो छवि थियो उहाँको, जसको छहारीमा समकालीन हर कोही रहँदै शीतलता र महानता दुवै एकसाथ महसुस गर्न सक्थ्यो । जिल्लामा मात्र नभएर राप्ती अञ्चलभरि नै उहाँको गुणगान हुन्थ्यो ।

२००७ सालको क्रान्तिमा संलग्नता र २०१५ सालको पहिलो संसदीय आम चुनावमा क्षेत्र नम्बर ८३ बाट दुई तिहाइ भोटले चुनेको प्रतिनिधि सभा सदस्य (एमपी) भएको कारणले मात्र नभएर प्रजातान्त्रिक राजनीतिक सोच, क्रान्तिकारी उदारता, इमानदारी  विकास  तथा समाज उत्थान प्रतिको उच्च चेतनायुक्त नेतृत्व, निःस्वार्थ भाव र कर्मठ समर्पण जस्ता गुणहरूले गर्दा होला – उहाँको बेग्लै छवि थियो ।

श्री खडानन्द सुवेदीज्यूले निकैअघि देखि लेख्दै आएका गीति कविताहरूको सँगालो तयार गर्नु भएको रहेछ । आम चेतना जगाउने अभिप्राय बोकेको कविता संग्रहलाई ‘चेतन लहरी’ नामको पुस्तकका रूपमा प्रकाशित गर्ने चाहना हुँदाहुँदै पनि प्रकाशन हुन सकेको रहेनछ । प्रकाशन गर्न किन रोकिएको थियो कुन्नि? मैले थाहा पाइन र कारण जान्न पनि चाहिन ।

शैक्षिक उत्थानका प्रखर अभियन्ता उहाँमा शिक्षा प्रतिको अनुराग यति तीव्र थियो कि तत्कालीन प्यूठान अन्तर्गतका बाईसखुवा, कालाशेष भेगका सबै जसो पहिलो स्कूलहरू उहाँले आफ्नै पहलमा स्थापना गर्नु भएको थियो । शिक्षाको महत्व बुझाउँदै र स्कूल खोल्न प्रेरित गर्दै उहाँ गाँउ-गाउँमा पुग्नुहुन्थ्यो । आफू एमपी हुँदाका बखत बिसं २०१६-१७ सालमा मात्रै २५ वटा पहिलो स्कूल खोलेर सरकारी स्वीकृती गराउनु त्यो बेला सजिलो कुरा थिएन ।

त्योभन्दा पहिल्यै २००८ सालमै उहाँले ‘झ्याउरे कविता संग्रह’ प्रकाशित गरिसक्नु भएको थियो । चेतना, जागरण, र समाज उत्थानलाई समातेर लेखिएका ती गीति लयका कविताहरू पढे-लेखेका युवाहरू गुनगुनाउदै हिँड्थे । शिक्षाको महत्त्व बुझाउन त्यति बेलातिरै उहाँले नै लेखेको ‘सरस्वती बन्दना’ बिहानको प्रार्थनाका बखत स्कूलहरूमा गाइन्थ्यो ।

तारिख थाम्न र अड्डा अदालत धाउन बर्खामासको झिम्रुक नदी तर्दा बर्खे भेलमा २२खुवा र कालाशेषका जनताले अकालमा ज्यान गुमाउनु परेको जन पीडाको आक्रोश र बेदनाबाट अभिभूत भई जन-चेतनालाई ऊव्देलित गर्न उहाँले २०१०-११ सालतिर कविता लेखेर पुस्तिका छपाएर बाँड्नु भएको थियो । सम्बत् २०११ सालमा प्यूठानको गौँडा खलङ्गाबाट बिजुवार सार्न भएको सत्याग्रह सहितको जन-आन्दोलनलाई उहाँ लगायतका नेताले नेतृत्व गर्नु हुँदा उहाँले लेखी छाप्नु भएको त्यही गीति कविता ‘विजय नगरको कथा’ नै संघर्षमा ऊर्जा भर्ने वैचारिक हतियार भएको थियो । उहाँले नै जुटाएको थबाङदेखिको सारा भेगका हजारौंको जन–सहभागितामा प्यूठानमा भएको २१ दिन सम्मको आमरण अनशन सहितको अड्डा सार्ने आन्दोलनको सारा अवधिभरि नै आन्दोलनकारी र सत्याग्रहीहरूको ओठमा त्यस बखत उहाँकै गीति कविताको भाका झुन्डिएको थियो ।

माननीय खडानन्दजीले हालको रोल्पा, रुकुम, प्यूठान, सल्यान, दाङ देउखुरीको सम्पूर्ण भू-भाग आफ्नो राजनीतिक र सामाजिक अभियानका सिलसिलामा आफ्नै पाइला-पाइलाले नाप्नु भएको थियो । स्थानीय भूगोलबारे आफ्नो गहन र सम्पूर्ण जानकारी हिक्मतेश्वर आधार स्कूलका हेड मास्टर श्री टंकेश्वर गौतमलाई प्रदान गरी स्थानीय भूगोलको पुस्तक लेख्न हौसला र प्रेरणा दिनु भएको थियो । त्यो ‘प्यूठानको भूगोल’ नामक पुस्तक स्वीकृत पाठ्यपुस्तकको रूपमा निकै पछिसम्म पनि प्यूठान रोल्पाका प्राथमिक कक्षामा पढाइन्थ्यो ।

राेल्पा जिल्लाकाे सदरमुकाम लिवाङकाे पुरानाे तस्वीर ।

गीत, कविताका सर्जक मात्र नभई भौगोलिक र ऐतिहासिक खोज र जानकारीका धनी श्री सुवेदीज्यू भालुबाङ-चकचके-प्यूठान-भिङ्ग्री- खुङ्री- रोल्पा -लिबाङ मोटर बाटो निर्माणका राजनीतिक अभियन्ता पनि हुनुहुन्थ्यो । बाटो सर्भे गर्ने सिकारु र भूगोलको जानकारीविहीन प्राविधिकहरूले उहाँलाई पछ्याउँदै उहाँका पदचिन्हलाई पहिलो टेक्ने आधार बनाएर मोटर बाटोको धर्सो जमिनबाट नक्सामा उतारेका थिए । भीर पहरामा खर र रूखका बुटामा झुन्डिदैं जागिरदार ओभरसियरलाई लतार्दै मोटर बाटोको नक्सा उतार्ने अनि श्रमदानको लागि सयौं जनता परिचालन गरेर महिनौंसम्म ओडारमा बसेर धुलो माटो खाँदै बाटोको रूपरेखा तयार गराउने – आफ्नै खर्चमा सर्बजनका लागि पुल र साँघु हाल्न रातदिन खोला किनारमैं महिनौ बस्ने त्यस्ता समाजसेवी महापुरुष जस्ता राजनीतिज्ञको कुरा अब कस्ले गर्ने ? किन गर्ने ? गरे पनि इतिहासको तथ्यलाई तोडमरोड गर्ने र मजाक बनाउने प्रवृत्ति बढ्दो छ – कृतज्ञताहीनहरूको बोलवाला भएको जमाना छ ।

“कर्म चक्षुको लागि बाटो – ज्ञान चक्षुको लागि शिक्षा” आफ्नो विकास धारणालाई यत्ति थोरै शब्दमा अभिव्यक्त गर्न सक्ने उहाँले समाज चेतना र उत्थानको आह्वान, इमानदारी र कर्मठता अनि राष्ट्र प्रतिको निष्ठा र गौरवको भावले भरिएका आफ्ना सरल सिर्जनाहरूलाई यति सुललित स्वर र शैलीमा गाउनु हुन्थ्यो कि हामी युवाहरू सम्मोहित नै हुने गर्थ्यौ । अहिले आफैले चार बीस हिउँद काटी सक्दासम्म यो अञ्चलमै मैले न उहाँको जस्तो निःस्वार्थ नेतृत्व देखें न त जात,पात, समुदाय, वर्गभन्दा माथि ऊठेर राजनेता जसरी भावी नेतृत्वलाई तयार गर्ने समावेशी सोचको नेता नै भेटेँ भने त्यतिबेला झन् उहाँको प्रभाव कस्तो थियो होला ?

म मिझिङको चन्द् प्रभा प्राइमरी स्कूलको हेडमास्टर भएको बखतको कुरा हो । संबत २०२२ सालको चैत १५ गतेका दिन मिझिङ्गबाट उहाँलाई भेट्न गजुल आएको समयमा साँझपख श्री खडानन्द ज्यूबाट, “मेरो ‘चेतन लहरी’ किताब छाप्ने इच्छा छ । सोचेको त धेरै समय भयो अहिलेसम्म पनि छाप्न सकेको छैन । यो छाप्ने कामको जिम्मा हजुरलाई दिन्छु छपाइ गरि ल्याइ दिनुपर्‍यो, ” भनि आग्रह गर्नुभयो । बाबु समानको उच्च व्यक्तित्वले भनेकोमा मैले सो कुरा अस्वीकार गर्ने कुरै भएन, सहर्ष स्वीकार गरेँ । मैले भने-“हुन्छ, त्यो काम म गर्छु ।”

सामाजिक, शैक्षिक र सिर्जनाको क्षेत्रमा उहाँको ऐतिहासिक छविको पृष्ठभूमिमा यो किताब छाप्ने कुराले मलाई तुरुन्तै निकै उत्साहित बनायो । र, नव-निर्मित रोल्पा जिल्लाको पहिलो किताब छाप्न जाने उहाँको प्रस्तावले म उपर गहन जिम्मेवारी आएको पनि अनुभूत भयो । उहाँले आफ्नो हस्तलिखित कविता संङ्ग्रह “चेतन लहरी” पुस्तकका रूपमा छापेर ल्याउने कामको जिम्मा विश्वासका साथ मलाई दिनु भनेको मेरो लागि पनि गौरवको कुरा थियो ।

लिबाङमा जिल्ला सदरमुकाम स्थापना गर्नमा उहाँको निर्णायक भूमिका थियो । पानीको आपूर्तिको अभावमा पुराना गौँडाहरूले भोगेको कष्टकर जीवन देखी र भोगिसकेका उहाँले – पानीको छेलोखोलो भएको ठाउँमा सदरमुकाम राख्नु पर्छ र सदरमुकाम भइसकेपछि देशका विभिन्न भागका र कर्मचारीहरू विभिन्न कामको सिलसिलामा आउने हुँदा उनीहरूलाई बौद्धिक र सामाजिक रूपले अन्तरक्रिया गर्न सहज हुने बसोबास र भौगोलिक रूपले पुग्न पनि उपयुक्त हुने ठाउँको छनोट गर्नुपर्छ भन्ने आफ्नै व्यावहारिक विवेकका आधारमा आफूले लिबाङ चयन गरेको बताउनु हुन्थ्यो ।

“मेरो कुनै निहित र व्यक्तिगत स्वार्थ पूरा गर्न या टाढाको भेगलाई उपेक्षा गर्नका लागि मेरो यो चयन थिएन । म निहायती स्वार्थी भएको भए गजुलकोटमै सदरमुकाम राख्थेँ होला नि – लिबाङमै किन राख्थेँ र ?” यस विषयमा उहाँको  स्पष्ट धारणा थियो ।

२०१७ सालमा राजा महेन्द्रले प्रथम निर्वाचित संसद भङ्ग गरेर शासन-सत्ता आफ्नो हातमा लिएपछि उहाँको नाममा पक्राऊ वारेन्ट जारी भएकोले एकाध वर्षजति त निर्वासित अवस्थामै र जंगलमा भूमिगत अवस्थामै बितेको रहेछ । ठाउँअनुसार भेष बद्लेर हिड्नु हुन्थ्यो रे भन्ने चाहिँ अरूबाट सुनिन्थ्यो ।

निर्वासनमा के कसो भयो, को-को सँग भेट भयो भन्ने बारे उहाँले कुरै गर्नुहुन्न थियो ।  लेक-लेकमा र जंगलमा भूमिगत हुँदाका समयका कुराहरू पनि त्यत्ति बताउन चाहनु हुन्न थियो । सिद्धान्तका लागि कर्मठ नेताले भोकै बस्न र भुटेको तोरी खाएर गुजारा पनि गर्न सक्नुपर्छ भनेर कहिलेकाहीँ अनुभव सारमात्र बताउनु हुन्थ्यो- शायद त्यो उहाँको आफ्नै अनुभव थियो । गुप्तचरहरू पछि लागिराख्ने हुनाले पनि होला नबताउनु भएको ।

राजनीतिक र सामाजिक जीवनलाई अँगाल्दा उहाँको भावनात्मक अनुभूति अभिव्यक्त गर्ने सिर्जना “चेतन लहरी” भएको रहेछ ।

त्यो छाप्ने प्रसंगले- २०१५ सालमा नेपाली काँग्रेसबाट निर्वाचित सांसद (एमपी) के परिबन्धले जिल्ला पञ्चायत सभापतिमै अलमलिनु पर्‍यो होला – भन्ने मेरो अबोध जिज्ञासाले उहाँलाई आफ्नो जीवनमा सामाजिक सुधार- चेतना र त्यस्को प्रभावबारे सुदूर विगतको स्मृतिमा फर्कायो र भन्नु भयो-“मेरा मामा रुकुमकोटका टिकाराम गौतम आबाल ब्रम्हचारी हुनुहुन्थ्यो । सन्यास पछिको उहाँको नाम योगी बोधानन्द गिरी रहेको थियो । स्वर्गद्वारी महाप्रभुको साथमा यज्ञको पवित्र अखण्ड अग्निको सिर्जना बेद ध्वनिबाट मामाले नै गर्नु भएको हो । उहाँमा अप्रचारित तर तीव्र ब्रम्ह तेज थियो । मेरो घरमा उहाँको आवत जावतले बाल्यकालदेखि नै जगत कल्याणको आध्यात्मिक चेतको प्रभाव सुसुप्त थियो होला र नै त म चेतनाको खोजीमा निकै हिँडेँ- बनारस, काठमान्डु- कलकत्ता पनि पुगेँ । कलकत्ता त झन् महात्मा गान्धीको भाषण सुन्नलाई मात्र पनि पुगेको थिएँ ।

अन्ततः २००६ सालमा नेपालमा स्वतन्त्रताको बाहक नेपाली कँग्रेसमा संलग्न हुन पुगेँ- २००७ सालको क्रान्तिमा प्यूठान मोर्चाबाट लडेँ । त्यस पछिका हलो जोत्ने, तमसुक च्यात्ने आन्दोलनमा बुबाले रिन दिँदाका ३ पेटारा तमसुक च्यातेर २०० भन्दा बढी असामीहरूलाई रिन मुक्त गरिदिएँ । १४ जना बयस्क कमारा-कमारीहरूका परिवारसमेत गरी ५४ जनालाई मेरो बुबाले बिसं १९८१ मा करिया मोचन हुँदा मुक्त गरि दिनुभएको थियो – त्यो पनि, सरकारले दिने कबोल गरेको क्षतिपूर्ति रकम नलिएरै । अझै उनीहरूको बास र गाँसको व्यवस्था गरेरै मुक्त गरिदिएको बाल्यकालमै देखेकोले त्यसको प्रभाव पनि होला २००७ सालपछि मैले पनि पैतृक जग्गा कमाउनेहरूलाई बाँडिदिए ।

२००६ सालमा आफ्नै खर्चमा घरैमा स्कूल स्थापना गरेँ –  बालबच्चाहरूको शिक्षकमा भारतमा पढेका स्थानीय युवा मंगल कामीलाई मास्टर बनाई शिक्षाको सर्वोच्चता नै सामाजिक समानताको माध्यम हो भनी नमुना देखाउन प्रयास गरेँ । बाटो घाटो खनाएँ – सुधार विरोधीहरूको धेरै कठिनाइ गाली र आक्रमण गाउँ गाउँमा पनि बेहोरेँ ।  प्यूठानको गौँडा सार्ने आन्दोलन सुरू भयो- वारन्ट काटिएपछि भूमिगत बसेँ । २०११ सालमा राजकाज मुद्दा लगाएर प्यूठानबाट जेल चलान गरेर सल्यानको जेलमा १ वर्ष बस्नु पर्‍यो – मोहन विक्रम पनि जेलमै थिए – म छुटेपछि पार्टी बेग्लै भए पनि म आफैँ जमानी बसेर उनी पनि जेलबाट छुटे । चेतना र ज्ञानको खोजीको प्यासले समाज उत्थानको चेत जगायो- त्यो चेतले समाज उत्थान र सुधारका क्रान्तिकारी गतिविधि र राजनीतिक अभियानमा मन- बचन- कर्मले नै समर्पित बनायो ।

तत्कालीन जिल्ला पञ्चायत भवन ।

आफ्नो मात्र होइन कम्युनिस्ट पार्टीका लागि प्रचार सभामा पनि मानिस जुटाई दिँदैं २०१५ सालको नेपालकै पहिलो आम-चुनाव लडेँ । पहिलो पटक भोट हाल्ने अधिकार पाएको जनताले मेरो मात्र होइन अरूका विचार पनि सुनुन्, बुझुन् र चित्त बुझेकोलाई भोट हालुन् भन्ने मेरो धारणा हो । फेरि राजनीतिक सहनशीलता भएन भने त डिक्टेटरशीप भयो नि- मैले त स्वतन्त्रता र प्रजातन्त्रको लागि लडेको हो नि – त्यसलाई रोक्ने काम गर्नै हुँदैन भन्ने मेरो विश्वास भएकाले पनि उनीहरूको भाषण सुन्नका लागि स्रोता जुटाइदिएको – छान्न पाउने अधिकार त छ नि त ।

पहिलो प्रजातान्त्रिक र संसदीय संविधान अन्तर्गत भएको पहिलो आम चुनावबाट म पहिलो संसदमा उत्कृष्ट जनअनुमोदनसहित एमपी बनेर पुगेँ । नयाँ लक्षका लागि योजना- आर्थिक सुधार- प्रजातान्त्रिक शासन पद्धतिसँग तादात्म्य राख्ने एड्मिनिस्ट्रेसन जस्ता कुराहरूले रफ्तार समात्न थालेको मात्र के थियो महेन्द्र राजाले १८ महिना पुग्दा नपुग्दै पद्धती माथी नै खुडाँ हाने ।”

चियाका शौखिन उहाँ र मैले गुँड हालेर पकाएको चिया घुट्कायौँ र  फेरि उहाँले २०१७ साल पुस १ गते पछिको खण्ड सम्झदैँ स्मृतिमा रहेका कुराहरूको सिलसिलालाई जोड्न थाल्नु भयो ।

सम्बन्धित समाचार :


 ‘रोल्पाका बा’

  रोल्पाको प्रकाशन इतिहासमाथि सिंहावलोकन


“पार्टी र नेताहरू सँगको सम्पर्क सम्बन्ध टुट्यो – राजाले संविधान भंग गरेर दलमाथि प्रतिबन्ध गरेपछि पार्टीको कुनै निर्देशन या नीति प्राप्त हुने सुविधा पनि थिएन, अवस्था पनि थिएन । न त अब के गर्ने भन्ने कुनै राजनीतिक दिशा नै उपलब्ध थियो । नजिकको राजनीतिक मित्र प्यूठानका एमपी अनिरुद्ध शर्माजी पनि सम्पर्कविहीन भए । राजनीतिक अन्योल बढेको र पक्राउबाट बच्ने उपक्रममै समय बित्दै गयो । राजा महेन्द्रको सत्ता माथिको पकड बढेसँगै नेपाली कांग्रेसका नेताहरूको घाँटीमा राजाको राजकाज महत्वाकांक्षाको प्रत्यक्ष रूप – प्रशासनिक सनासो झन्‌झन् कसिन थाल्यो ।

जग्गाजमिन रोक्का भए र सरकारले जफत पनि गर्न सक्ने सूचना पुलिसले घरमा टाँसे । परिवार र नजिकका राजनीतिक सहयोगीहरूलाई पुलिस आउने धम्काउने- घर-गाँउ खानतलासी भइरहने – मेरो नाममा वारेन्ट काटिएको सूचना कट्वालले दमाहा बजाएर गाउँ गाउँमा हाँक हाल्ने – गाउँमा पुलिसको गस्ती रमण भइरहने जस्ता दबाबै-दबाब र दहसत पैदा गरे ।  घरपरिवार हताश भई तारन्तार के गर्ने कसो गर्ने भनि खबर पठाउन थाले । भारतबाट कोइलाबास नाका छिचोलेरबाहेक दाङ देउखुरी पुगिने अर्कोबाटै थिएन । त्यो बाटो जाँदा ‘मलाई समात’ भने सरह हुन्थ्यो– जंगलै–जंगल हिँड्दा कति हन्डर खाइयो कुरै नगरम् ।

भारत नगई काठमान्डु जाने बाटै थिएन । त्यसमाथि त्यहाँ काठमान्डुमा नै बीपी, गणेशमान थुनिनु भएको छ, कस्लाई खोज्न जाने? कस्लाई भेट्न जाने ? सबै भागाभाग छन् ।

गोर्खा परिषद्का नेता भरत शम्शेरलाई भेट्न काठमान्डु जाने कि भन्ने पनि मनमा आएको थियो । त्यो किन मनमा आयो त भन्दा त्यसको पनि कहानी छ ।

१५ सालको संसदीय आम चुनावभन्दा अघिको कुरा हो । गोर्खा परिषद्का नेता भरत शम्शेरले भेटौँ भन्ने खबर पठाए । बबर महलमा भेट भयो – “तपाइको प्यूठान-सल्यानतर्फ अति राम्रो प्रभाव छ भन्ने सुनें- चुनावको लागि भने जति पैसा दिन्छु- मेरो दलले जितेमा मन्त्री पनि बनाउँछु- नेपाली कांग्रेस छोडिदिनुस्- गोर्खा परिषद्को झुपडी चिन्हबाट चुनाव लड्नुस्- मसँग राम्रो उम्मेदवारै छैनन् । जनताले पत्याएको नेता भएनन् – मेरो आग्रह छ खडानन्दजी’ उनले भने ।

“राणा शाहीविरुद्ध क्रान्तिमा लागेको म जस्तो मानिसलाई तपाईँले यो कुराको प्रस्ताव गर्नु नै पनि बेमुनासिब हो – भरतशम्शेर बाबु साहेब । चुनाव लड्ने पैसा मैसँग छ – पार्टीका लागि पनि २००६ सालदेखि नै सकेको खर्च गर्दै आएको छु । तर चुनाव पैसाले हैन – जनताको बलले जितिन्छ बाबु साहेब । म प्रजातन्त्रको सिद्धान्तका कारण नेपाली कँग्रेसमा अडिग छु – त्यसैले हजुरको आग्रहलाई अस्वीकार गर्छु ।’ भनेर प्रत्युत्तर दिँए, त देख्छु कि भरत शम्शेर त कुर्सीबाट जुरुक्क ऊठेर – “क्या बात खडानन्दजी । तपाईँ जस्तो नेता भए पो मेरो पनि दल राजनीतिक बन्थ्यो – मेरा साथमा त गाउँमा पार्टी खोल्न पैसा ल्याउ भन्ने- चुनावमा पैसा बाँड्नु पर्छ भन्ने – सुधार विकासका कुरै नगर्ने – मबाट पैसा लगेर गाउँमा खेत किन्ने, घर हाल्ने, स्वास्नीलाई गहना किन्ने नेताहरू छन् । हेर्नुस् – यस्ताले चुनाव जितिदेलान् भनेर म यहाँ दंगदास छु । लौ, तपाई जस्तो नेता भएको कँग्रेसले नजिति हामीले के जितौंला ? दलको राजनीति हो- राम्रो नेता सबैलाई चाहिने भएकोले तपाईँलाई पनि अनुरोध गरेको हुँ- यस्तो छलछामको कुटनीति गर्‍यो भनेर अन्यथा लिएर चित्त नदुखाउनु होला’ – भने ।

खडानन्द सुवेदी ।

फेरि छेउको टेबलबाट एउटा सानो बट्टा ऊठाए र मलाई दिनका लागि हात लम्काएर भन्छन् कि- “लौ यो मेरो चिनो त लिनोस्- ओमेगा घडी हो-  तपाईँ जस्तो लोभ-पाप नभएको नेतालाई सुहाँउछ । मैले आफ्नो नाडीको घडी उन्लाई देखाएर भने- ‘यो नै काफी छ बाबु साहेब- यो घडीले अहिलेसम्म गलत समय दिएको छैन ।’

म उनीसँग बिदा हुदाँ हुँदै उनले भने, “खडानन्दजी, कुनै दिन यो भरत शम्शेरले केही गर्न सक्छ कि भन्ने लागेमा, भन्नु होला है । प्यूठानको डाँडापाखामा पनि यस्ता स्वाभिमानी र सच्चा नेता छन् र ती कँग्रेससँग छन् भन्ने प्रष्ट भयो । र तपाईँलाई भेट्दा त बरू म पो आफैँ कँग्रेसबाटै चुनाव लडौँ कि जस्तो पो बनाई दिनु भयो- तपाईँले त ।’

सम्बन्धित समाचार :


नयाँ जिल्लाको रुपमा रोल्पा निर्माण गर्दा

मुक्ति सेनाको स्कूलले जुराएका कम्युनिष्ट


म सँगको भेटमा त्यसो भनेका भरत शम्शेरलाई प्रधानमन्त्री बीपी कोइरालाले प्रमुख विपक्षी दलको नेताको हैसियतमा संसदमा बडो इज्जत दिनुहुन्थ्यो र उनको भूमिकालाई सक्रिय र संसदीय तुल्याउने कोसिस गरिरहनु हुन्थ्यो । गोर्खा परिषद्का नेता उनै भरत शम्शेरलाई पनि राजाले जेल हालेको भन्ने खबर थियो ।

समय बित्दै गयो । राजाबाट अधिकार सम्पन्न दौडाहामा कीर्तिनिधि बिष्ट प्यूठानबाट मसँग राजनीतिक भेटघाट गर्न २२ खुवा गजुलकोट आउने भन्ने खबर आयो । भेट्न जाँदा र फर्कदा सम्म पक्राउ गर्न नपाउने मेरो सर्त मानेर पक्राउ नगर्नू भनि बडाहाकिमलाई हिदायत दिइएको खबर पाएँ । विकासप्रेमी बडाहाकिम रत्नबहादुर गुरुङजी मेरो अत्यन्तै शुभचिन्तक र पुराना साथी भएकाले मलाई झुक्यानमा पार्ने जस्तो अधम काम त नगर्लान् भन्नेमा म पनि ढुक्क भएँ ।

त्यस बखत मेरो बास गजुलकोटको पश्चिममा पर्ने थामलेकको जंगलमा हुन्थ्यो । कहिलेकाहीँको खाना र बासको लागि वचनका पक्का नातेदार- मित्र कुवापानीका ठकुरीहरूको घरमा ओर्लन्थेँ ।

भेटवार्ताको लागि म थामलेकबाट झरेँ – कीर्तिबाबु र मबीच गजुलकोटको पाटभिरस्थित पाटेश्वरी भगवती मन्दीरमा चर्को घाममा चर्को नै भेटवर्ता भयो ।

“तपाईँ  मन्त्री हुन चाहेमा तत्कालै मन्त्री पद दिने- तत्काल राजाले दिएको मन्त्री पदमा बस्न अप्ठ्यारो छ भने नयाँ व्यवस्थामा राजाबाट नियुक्त हुने गरि शक्तिशाली पदमा राख्ने चाहना राजाबाट गरिबक्सेको छ । तर राजाको पुस १ गते २०१७ को कदम राजी खुशीले स्वीकारेको स्टेटमेन्ट मलाई हातमा पारी दिनु भएको खण्डमा मात्र तपाईँको इच्छा अनुसारको पद मौसुफ सरकारबाट बक्सन्छ – तपाईँको बिचार र ईच्छा जान्नका लागि तपाईँलाई भेट्न घरदैलोमै आइपुगेको – के विचार छ ?’ कीर्तिबाबुले सामान्य भलाकुसारी गरिसके पछि सीधै मलाई सोधनी गरे ।

“म पनि प्रजातन्त्रकै लागि लडेको मान्छे हुँ कीर्तिबाबु । राजाबाट संसदीय व्यवस्था भंग नभएको हुँदो हो त आज यो भागम् रे भागको स्थितिमा म पनि हुँदैन थिए होला । यो पनि सुन्नुस्- २०१७ सालको संसदको बर्खे अधिवेशन सकिएपछि दशैँ मान्न घर फर्किनु अघि बीपीलाई भेट्न प्रधानमन्त्री निवास त्रिपुरेश्वर गएको थिएँ । कुराकानीको क्रममा प्रधानमन्त्री बीपीले – खडानन्दजी, अब अर्को पटक हाम्रो भेट यही अवस्थामा होला नहोला अनिश्चित छ । मौलिक प्रजातन्त्रको विरुद्धमा भयानक बितन्डा चलाइएको तपाईँ  पनि जानकार नै हुनुहुन्छ – परिस्थिति बिग्रन सक्ने हुन सक्छ- साथीहरूलाई होसियार र चनाखो राख्नु होला । हेरौँ- बिग्रिएन भने अर्को हेरफेर हुँदा तपाईँ  पनि मन्त्रिमण्डलमा समावेश हुनु पर्दछ- त्यसको लागि पनि आफ्नो तयारी गर्नु होला । निकै गम्भीरताका साथ भन्नु भएको त्यो स्वर मेरो कानमा ताजै छ । यस्उस्ले पनि अहिले नै मन्त्री पदको प्रस्तावले मलाई लोभ्याई नै पनि हाल्दैन । समय परिस्थिति यस्तो भएर आयो र मात्रै हो ।’

“राजालाई दिल्लीबाट काँधमा बोकेर फिर्ता ल्याएको कँग्रेसलाई थुनेर, लखेटेर राजा-प्रजा बीचको विश्वासको कडी मात्र टुट्दैन कि यसले प्रजातान्त्रिक विधि प्रणाली मात्र हैन, नेपालको भविष्य पनि सँधै अनिश्चित हुने क्रम सुरू होला कि भन्ने डर लाग्छ । हाम्रा नेता- निर्वाचित प्रधानमन्त्री वीपी लगायत सारा नेता जेलमा – साथीहरू भागाभाग – यस्तो बेला म अवसरवादी बनेर पदका पछि पोइल जान मेरो राजनीतिक इमानले दिँदैन – मेरो विवेकले पनि धिक्कार्छ । राजाले पनि कहिले यता पल्टिने कहिले उता पल्टिने पिपल पाते र बेइमान नेताहरूलाई साथ लिएर कस्तो व्यवस्था चलाउन सक्लान् र कीर्तिबाबु ?”

“लौ के भन्नु भएको खडानन्दजी ? बीपीले मन्त्री बनाएका डाक्टर तुलसी गिरी समेत आइसके, विश्वबन्धु थापा आइसके, ऋषिकेश शाहजी आए – ती सबै बीपीकै खास राजनीतिक सहयोगी होइनन् र ? ती त राजाका विश्वासपात्र बफादार बनेर राजकाज सम्हालिसके – नयाँ व्यवस्थाको ढाँचा कोर्न राजाका दाहिने हात भएका छन् भने तपाई किन अटेर गरेर बस्नुहुन्छ ? तपाई त झन् गाऊँ र केन्द्र दुवै बुझेको-  देश विकासको सुझबुझ भएको नेता – जनताले पत्याएको नेता – दुई तिहाइ भोटले एमपी चुनिएको । राजाले पनि पत्याएर न रोजेको पद दिन खोजिबक्सेको होला नि त ! कहाँबाट तपाईँलाई भनिकन तपाईको दैलोमै म आएँ- राजा आफैँ आउने कुरा त भएन नि ! कुरा बुझिदिनुस् र एक मनले आउनुस् – राजाको एक छत्र नेतृत्वमा देश विकासमा लागौँ दुविधा नलिनुस् – मेरो बचन खाइदिनुस् ।” कीर्तिबाबुले अल्ली चर्केको स्वरमा भने ।

“राजाको कदमको खिलाफमा छिमेकी देशहरू भारत र चीन पनि छैनन् । बाहिर जे जसो भने पनि भित्रभित्रै राजाको कदमलाई सघाउन तयार छन् । परिस्थिति बदलिई सक्यो – खडानन्दजी ।”

कीर्तिबाबु जवान थिए, अग्ला, खाइलाग्दा । राजाबाट परिकल्पना गरिएको नयाँ शासन- प्रणालीमा गाउँदेखि केन्द्र सम्मको खाका यस्तो हुनेछ भनेर रूपरेखा भनेर सर्सर्ती बताए-  यो प्रजातन्त्र नै हो मात्रै रूप फरक भएको र त्यसमा सबैलाई अट्ने र बढ्ने ठाउँ हुने कुरा थपे । र, फेरी तपाईँले रोजेको पद राजाबाट दिलाउने ग्यारेन्टी मेरो भनेर पनि दोहोर्‍याए । बडो मिहिन भाषा र मर्यादित शैलीमा तत्कालीन परिस्थितिको विवरण – आफ्ना विचार र दृष्टिकोण राखे, मलाई सुझाव पनि दिए र पदको प्रस्ताव पनि राखे । अन्यथा, जेलमा बस्न पर्ने र सम्पत्ति पनि जफतसम्मको स्थिति रहेको बताउँदै विनम्र भाषामा राज-धम्की पनि सुनाए ।

तत्कालको मन्त्री वा पछि कुनै शक्तिशाली राजनैतिक पद- मैले कुनै पद रोजे पुग्थ्यो तर मैले त्यो चाहनामा राजनीतिक बेइमानी रोज्न चाहिनँ । मलाई आज पनि लाग्छ कि मैले रोजेको पद राजाले मलाई दिन्थे – जुन प्रकारले कीर्तिबाबुको मसँग दृढ र इमान्दार अनुनय थियो -त्यो सम्झँदा त्यसमा छलछामको या ढाँट- कपटको नियत बिलकुलै थिएन ।

“इमान-जमानको संस्कारमा लागेको जननेता हुँ । विचार, सिद्धान्तप्रति बफादारी भएन भने के को लागि राजनीतिको ढोङ्ग गर्ने ? कीर्तिबाबु, लोभानी पापानीमा लाग्ने भएको भए पर्याप्त पैतृक सम्पत्ति समाजका लागि भनेर किन बगाएर हिँड्थे ? म जे जस्तो विचार र परिस्थितिमा छु – अहिलेलाई त्यसैमा रहन दिनुस् । २०१५ सालमा आफैँ दिएको संविधानले थिति बसाउन नपाउँदै २ वर्षमै च्यात्नु पर्ने खण्ड राजालाई किन पर्‍यो ? – राजाले पनि हाम्रो जस्तो दुईतिर च्यापिएको मुलुकमा ‘जुध्नुभन्दा बुझ्नु भलो’ भनेर बुझी बक्से हुने । यति टाढा सम्म उकाली ओह्राली खोलानाला घोडाको सवारीको तोडमा मलाई नै भनीकन आउनु भयो- दु:ख नमान्नु होला कीर्तिबाबु, राजनीतिको मर्म यस्तै हो- र पनि, राजाले नयाँ संविधान ल्याएको खण्डमा त्यो हेरेर नयाँ परिस्थितिमा के गर्ने म फेरि विचार गरूँला,” -मैले कुराको बीट मारे ।

चरेशको ठूलो बटुकामा हालेर उनका अगाडि टक्राएको महको सर्बत कीर्ति बाबुले एक सासमै तनक्क पिए – मलाई हेरेर निधार खुम्चिएको अमिलो हाँसो हाँसेर राजा महेन्द्रका सर्वशक्तिमान दौडाहा कीर्तिनिधि बिष्टजी सेतो घोडा माथि कसेको काँठीमा उक्लिए । मसँग बिदा भएर बडाहाकिम रत्नबहादुरजी पनि घोडा माथि चढे । पुलिसका सिपाहीहरू पछि लागे ।

आँधीसरी आएको ऊच्चस्तरीय दौडाहा तुफान जसरी फर्कियो ।

म थामलेखको उकालो लागेँ ।

समय बित्दै गयो । राजनीतिक शक्ति परिवर्तनको असर समाजमा देखिन थाल्यो । मानिसहरूको स्वभावै हो, मौजुदा सत्ताको पछि लाग्ने । कस्तो पद्धति? किन? कसका लागि ? भन्ने चासो राखेर प्रश्न उठाउनु भनेको संकट मोल्नु हो भन्ने आम जनतामा त्रास र राजाको आशले सामान्य जनजीवनलाई प्रभावित गर्दै गयो । बिस्तारै राजनीतिक प्रणाली नै परिवर्तित भएकोले साथीहरू पहिलेजस्तो एक मनले मसक्कै साथ दिनुपर्दा डराएको, आत्तिएको, छट्पटिदै गएकोले एक प्रकारको दबाब एकातिर र अर्कोतिर ४०-५० जनाको ठूलो परिवारको अभिभावकत्व र सञ्चालन दायित्वले स्थिति दिन दिनै सकसपूर्ण भइरहेको मेरो परिस्थितिबीच राजा महेन्द्रले २०१९ साल पुस १ गते नयाँ सम्बिधान जारी गरे । र, निर्दलीय पञ्चायती व्यवस्थाको संरचनाका लागि चुनाव पनि लगत्तै सुरु नै गराई हाले ।

नयाँ संविधान राजाले जारी गरेछन् भने त्यति बेलै सोचौला भनेर कीर्तिबाबुलाई दिएको बचन सम्झनामा थियो तापनि तत्काल समर्पण गरी हाल्न मन लागेन । बरु, जनता बीचको मेरो लोकप्रियता र मेरो नेतृत्वउपर आम जनताको भरोसा र विश्वास जस्तो परिस्थिति बीच पनि टुट्न दिन नहुने सोचाई बलियो भयो । प्रजातन्त्रको पहिलो अधिकार भनेकै आफ्नो प्रतिनिधि चुन्न भोट हाल्ने अधिकार भएकोले त्यो चुनावको पद्धति प्रतिको लगावलाई भने इन्कार गर्न सकिन ।

त्यसैले २०१५ को चुनावमा नेपाली कँग्रेसको झन्डा बोकेर मेरो पछि-पछि हिँडेका किशोरहरू जसलाई मैले नै राजनीतिको मन्त्रदान दिएको थिएँ, त्यस्ता आशलाग्दा र इमानदार प्रवृत्तिका युवाहरूलाई पञ्चायती चुनावमा समावेश हुन ऊत्प्रेरित गरेँ । नयाँ तर, पिछडिएको जिल्लाको विकास र नव-निर्माणलाई तरुणहरूको बलमा सघाउ पुर्‍याउने विचारले बालाराम घर्ति मगरलाई केन्द्रीय राजनीतिको लागि र रेगबहादुरलगायत अरु युवाहरूलाई जिल्लाको नेतृत्वको लागि तयार पारेँ ।

र, पछि  २००६ सालदेखि सक्रिय मेरो राजनीतिक जीवनको भित्री ऊर्जा – मेरो चेतनामा रहेको समाज ऊत्थानको क्रान्तिकारी ब्रम्हले  शून्यता महशुस गर्न थाल्यो । प्रजातान्त्रिक विकल्प निकै पर धकेलिएको महसुस हुँदा अवसाद जस्तो हुन थाल्यो । या त निष्क्रिय भएर हराउने या जे जस्तो प्रणाली भए पनि जनताकै बीचमा बसेर जनता र समाज उत्थानका लागि इमानदारीपूर्वक प्रयास र योगदान गर्ने भन्ने सकसका बीच जनतासँगै बसेर सकेको उत्थान गर्न विबेकले अह्रायो ।

२०१७ सालपछि मेरो राजनीतिक जीवनका तीन वर्ष निर्वासन, भूमिगत र अर्ध-भूमिगत अवस्थामा बिते । र त्यसपछि जहाँ रहेर भए पनि जनताकै विकास र सेवा गर्ने भन्ने विचारका साथ आफ्नै प्रजातान्त्रिक चेतनालाई साक्षी राख्दै पञ्चायती चुनाव प्रणालीमा भाग लिएँ ।

राेल्पा जिल्लाकै पहिलाे पुस्तक चेतन लहरीकाे कभर पेज ।

चुनावको पद्धतिप्रति म बहुतै लगाव राख्छु – चुनावले मलाई ऊर्जा प्रदान गर्छ-  जित्नु या हार्नु भन्दा पनि जनताले भोट हालेर विश्वासलाई अनुमोदन गर्ने प्रकृयाप्रति मलाई बडा श्रद्दा लाग्छ- नेपालको पहिलो आम चुनाव दुई तिहाइ मत ल्याएर जितेकोले पनि होला ।  म चुनावको प्रक्रियालाई आंशिक रूपमा भए पनि प्रजातन्त्रको स्वरूपमा लिन्छु – मताधिकारै नभएको रैतीबाट आफैँ संलग्न क्रान्तिको बलबाट भोट हाल्ने जनतामा परिणत भएको कारण ले पनि यस्तो लागेको होला ।

म खुशी के मा छु भने कीर्तिबाबुमार्फत् आएको राजाको मन्त्री पदको लोभमा आत्मसमर्पण त गरिन । तर नयाँ जिल्लालाई बनाउने र समाजको विकासका लागि केही योगदान गर्न सकिन्छ कि भन्ने लागेका कारण नयाँ संवैधानिक परिस्थितिलाई पूर्णत: इन्कार गर्न पनि  सकिएन । सामाजिक रूपमा उभिने र राजनीतिक रूपले जसरी-तसरी बाँच्ने – सम्झौताको बिन्दुमा परिस्थितिले पुर्‍यायो ।”

………………………………..

त्यो समयमा श्री खडानन्द सुवेदी रोल्पा जिल्ला पञ्चायतको निर्वाचित सभापति हुनुहुन्थ्यो । व्यवस्था नै परिवर्तन भइसकेको भए पनि आम रूपमा सबैले उहाँलाई श्रद्दापूर्वक “एमपी” नै भन्ने गर्दथे । र, साना उमेरकाहरूले “एमपी बाजे” भनेरै सम्बोधन गर्थे । उहाँको पृष्ठभूमि थाहा नपाएका र सभापतिको रुपमा देखेका र सरकारी कर्मचारीले मात्रै उहाँलाई “सभापतिजी” भन्थे, नत्र उहाँलाई एमपी (मेम्बर अफ पार्लियामेन्ट) भनेरै साराले चिन्थे, नयाँ पञ्चायती व्यवस्थामा पनि ।

चेतन लहरी छाप्ने प्रसंगबाट उठेको  २०१५ सालमा नेपाली कांग्रेसबाट निर्वाचित सांसद-एमपी आफू किन र कसरी कुन परिबन्धमा पञ्चायती संविधान अन्तर्गतको चुनावमा संलग्न हुनुपर्‍यो  भन्ने घटना- परिघटना, कारण, तत्कालीन परिस्थिति र धारणालाई वर्णन गर्दै खडानन्द सुवेदीज्यू ले राती अबेरसम्म खुला रूपमा मसँग लामो कुरा गर्नु भयो ।

मैले दन्त्य कथा सुने जस्तै आश्चर्य भावले सुनिरहेँ ।

म आफैँ कति परिपक्व थिएँ र कति बुझेँ हुँला- तर अहिले पनि उहाँका हरेक शब्दको सम्झना छ र जुन भावमा उहाँ अभिव्यक्त भइरहनु भएको थियो- अहिले ती सबै सम्झदै जाँदा लाग्छ कि – उहाँमा प्रजातन्त्रको व्यवहारिकता प्रतिको चेत अत्यन्तै गहिरो थियो र प्रखर थियो ।

“तपाईँको काम गराइमा पनि तारिफलायक सेवा भाव देखिरहेको छु । पक्कै पनि तपाईँको यो समाज सेवाभावले कदर दिलाउँछ बाबु, राजनीतिमा लागे पनि सेवाभाव सहितको कर्म नछोड्नु होला । राजनीति त माध्यम मात्र हो, सेवाभाव बलियो नभएको राजनीतिमा पद त होला, पुण्य हुदैँन, बाबु ।”

विक्रम संवत् २०२२ साल चैत्र १५ गतेको रात निकै बितिसकेपछि मात्र हामी सुत्यौँ ।

मैले उहाँको म लक्षित सल्लाह सुन्दा रोमाञ्चित भएँ । उहाँका गम्भीर कुरा कति बुझेँ कति बुझिँन तर उहाँका उच्च विचारहरूले भने मलाई उद्वेलित गरिरहे ।

त्यस बखतमा म नेपाल युवक संगठन राप्ती अञ्चल समितिको निर्वाचित सदस्य पनि थिएँ । निर्दलीय पञ्चायती प्रणालीमा ५ वटा वर्गीय संगठनको संवैधानिक व्यवस्था रहेको थियो । चुनाव हुँदा म र सल्यानका मरिचमान सिंहजी युवक संगठनको अञ्चल सभापति पदका लागि उम्मेदवार थियौँ – पछि मैले मरिचमानजीको लागि आफ्नो उम्मेदवारी फिर्ता लिएको थिएँ । मभित्र प्रखर हुँदै आएको राजनीतिक आकांक्षाको अनुमान उहाँजस्तो परिपक्व राजनीतिज्ञले नगर्ने कुरै भएन – त्यसैले पनि मलाई आफ्नो राजनीतिक जीवनको अनुभूति मेरो लागि पनि सिक्ने पाठ होस भनेर सुनाउनु भएको होला भन्ने लाग्यो ।

राती निकै बेरसम्म सुत्नै सकिँन । बिहानीपख मात्रै निदाएछु ।

(बाँकी भाग २ मा निरन्तर)



प्रतिक्रिया दिनुहोस !