१४ बैशाख २०८१, शुक्रबार

     ‘रोल्पाका बा’

प्रकाशित मिति :  14 May, 2020 2:24 pm


 

रोल्पाका बा’  त्रिभुवन विश्वविद्यालयमा  उबेला इतिहासका अध्यता रहेका(हाल प्रा.डा.) राजाराम सुवेदीद्धारा  तत्कालिन समयमा लेखिएको लेख हो । यो लेख मदन पुरस्कार गुठी ललितपुरद्धारा प्रकाशित ‘नेपाली त्रैमासिक’ पत्रिकाको २०४२ साल माघ,फागुन र चैत अंकमा छापिएको थियो ।

पत्रिकाले यो लेख छाप्दा आफ्नो भूमिकामा भनेको छ,‘रोल्पाको बा’ भनिएका षडानन्द सुवेदीका बारेमा लेखिएको यो लेख ‘नेपाली’मा साधारण छापिने लेखहरूभन्दा अलि भिन्दै छ । यो नाम कुनै साहित्यिक, इतिहासका विद्धान् या राष्ट्रिय विभूति बनिसकेको व्यक्तिको होइन । फेरि दिवंगत भैसकेकाले प्रशंसा गरिनुपर्ने थानकामा पुगेका व्यक्तित्व पनि होइन षडानन्द सुवेदी । उनी जीवित छन्, अझ धेरै वृद्ध पनि होइन, उनी ७३ वर्षका छन् । यसो हेर्दा राजनीतिज्ञ जस्ता देखिनेछन् षडानन्द, तर सात सालदेखि राजनीति गरेका नाताले यहाँ परेका पनि होइनन् । एकजना निस्वार्थ समाजसेवी, त्यो पनि अनकण्टार पहाडमा काम गर्ने मान्छेको अनुहार कस्तो हुँदोरहेछ भनेर हेर्ने उद्देश्यले राजाराम सुवेदीको यो लेख हामीले छापेका हौं । ’

रोल्पाका चर्चित राजनीतिज्ञ एवं समाजसेवी षडानन्द सुवेदीको २०५५ सालमा निधन भईसकेको छ । तर यि सबै सन्दर्भ २०४२ सालमा लेखिएकाले आदरणीय पाठकवर्गले त्यतिबेलाकै सन्दर्भसँग बुझेर पढ्न आग्रह गर्दछौं । यसले तत्कालिन रोल्पाको सामाजिक,आर्थिक र राजनीतिक अवस्थाबारे बुझ्न सहयोग पुग्ने छ भन्ने हामीले विश्वास लिएका छौं । यो प्रकाशनका लागि षडानन्द सुवेदीका छोरा पूर्व प्रहरी अतिक्ति महानिरीक्षक देवेन्द्र सुवेदीलाई अभार व्यक्त गर्दछौं ।—सम्पादक

                                                                                                                                                           
राजाराम सुवेदी-

…………………..

भाग्यको उदय भएको वेला पूर्व जन्मका आर्जित पुण्यहरूको प्रभावले सत्संगत पाइन्छ र दशौं वर्षको तपश्चर्या एवं अध्ययन भन्दा एक दिनको सत्संगत गरिमामय हुन्छ भन्ने कुराको हिन्दू पुराणहरूमा उल्लेख छ । त्यस्तै भयो हामी दुई जना इतिहासका छात्रहरूलाई । त्रिभुवन विश्वविद्यालय, नेपाल र एशियाली अनुसन्धान केन्द्रद्वारा सञ्चालित राष्ट्रिय इतिहास परियोजना अन्तर्गत बाईसी राज्यको ऐतिहासिक खोजी गर्ने जिम्मा यी पंक्तिका लेखकलाई दिइयो ।

खस राज्यको ऐतिहासिक रूपरेखा खिच्ने जिम्मा डा. सूर्यमणि अधिकारीलाई दिएकोले दुई जना साथै स्थलगत भ्रमणमा जाने निश्चय भयो । २०४१ फागुन १५ गतेदेखि शुरू भएको सो क्षण फलदायी ठरियो । दाङमा केही दिन मुकाम गरी दुबै लाग्यौं प्यूठानातिर । केही हप्ता त्यहाँ बिताई पुनः दाङतर्फ लाग्यौं, अध्ययनकै क्रममा । त्यसपछि रोल्पा जाने तारतम्य गरियो ।

भरखरै बनेको धूलौटे ट्याक्टर चल्ने बाटोबाट हत्केलामा ज्यान राखी पुगियो रोल्पाको चतुर्भुज खुंग्रीमा । खुंग्रीको चतुर्भुजमा गजपको काम थालनी गरिएको रहेछ, जसले हामीलाई अचम्म तुल्यायो । इतिहास, संस्कृति र पुरातत्वलाई चाहिने काम रहेछ त्यो ।

चतुर्भुजमा पुग्दा हामी साह्रै क्लान्त थियौं । यद्यपि जिज्ञाशा उठयो चतुर्भुज नाम कसरी रहन गएछ भन्ने विषयमा । सोधी खोजी गर्दै जाँदा एक जना वृद्ध भेटिए नीलो कमीज र सुरुवाल खैरो रङको कोट टेरोकटनको गुलाबी रङको टोपी लगाएका लट्ठी टेकेका सज्जन । उनलाई सबैले ‘रोल्पाका बा’ भन्दा रहेछन् । उनीसँगको साहचर्य, सहयात्रा एवं सानिध्य हामीलाई मिल्न गयो ।

चतुर्भुज सम्बन्धमा हामीले जिज्ञाशा लागेको कुरा उनलाई सोद्धा उनले सरल शैलीमा लिङ्ग पुराण, स्कन्द—पुराण, हिमवत्खण्डका ६९—७० अध्यायमा उल्लिखित माण्डवी चित्रावती र लुङगृलाई स्वर्णवती भनिएको र त्यहाँ उन्मत्तेश्वर महादेवको तपोभूमि भनी पुराणहरूमा उल्लेख भएको कुरा बताए । यस्तो पवित्र क्षेत्र हुनाले उनले त्यस क्षेत्रको उत्थानको निमित्त सकृयतापूर्वक पूर्वक देवताका पञ्चायतन मन्दिर चारै दिशामा निर्माण गर्न लगाएका छन् ।

बीचमा शिवपञ्चायन र ईशान आग्नेय, नैऋत्य, वायव्य कोणहरूमा क्रमशः गणेश, सूर्य, देवी, विष्णु पञ्चायतनका मन्दिरहरू धमाधम निर्माण हँुदै थिए । त्यस निर्माण कार्यको कारीगरमा एक जना बूढा मगर लागेका थिए, जो उज्याला र हँसिला थिए । ती मन्दिरहरू पूरा बज्रढलान ( सिमेन्टेड ) गर्ने र छडहरू ठड्याउने गर्न लागिएका थिए । यसरी हेर्दा साह्रै खर्चिलो लाग्दथ्यो, योजना देख्ता । त्यसैले हामीले क्यामेरामा चित्रहरू पनि लियौं ।

खर्च कतावाट जुटाइयो होला भनी हामीले जिज्ञाशा राख्ता उनले निसंकोचसाथ जिल्ला पञ्चायत रोल्पा र स्थानीय व्यक्तिहरूको उदारताबाट चन्दा संकलन गरी धमाधम निर्माण हुन लागेको कुरा बताए । जि. पं. रोल्पाले रू. १०,००० र रोल्पा जिल्लाका भारतमा जागिर खान गएकाहरूबाट २०,००० रुपैयाँ चन्दा र खुंग्री राजाकी राज कुमारी पाटेश्वरी सेनले र अन्य भक्तजनहरूले करीब १०,००० को चन्दा गरी जम्मा ४०,००० को पूंजी निर्माण भइरहेको रहेछ ।

साँच्चै चतुर्भुज क्षेत्र साह्रै पवित्र स्थल हो । यहाँको दृश्य साह्रै महत्वको एवं रमणीय छ । माडी, लुङ्ग्री, घोराखोलाको संगम एवं स्वर्गद्वारी आश्रमको फेदी, चतुर्भुज, परापूर्वदेखि पुण्यक्षेत्र मानिंदै आएको छ । त्यसै हुनाले त्यहाँ श्रीपञ्चमी र शिवरात्रीमा स्नान गर्दछन् ठूलो मेला लाग्दछ । धेरै भक्तजनहरूले मेला भरी र स्वर्गको बाटो सफा गर्छन् ।

नयाँ मन्दिरहरू निर्माणका घडीमा पुराना मन्दिरको प्राङ्गणमा तोष खन्दा महत्व पूर्ण मूर्तिहरु प्राप्त भएछ । जस्तै विष्णु, देवी, नान्दी, सूर्य, गणेश, तुलसी, शिव र अन्य धेरै देवी देवता मूर्तिहरू फेला परेका छन् । नयाँ मन्दिरहरू निर्माण गर्न क्रममा रोल्पा लिवाङ गाउँ पञ्चायतका प्रधानपञ्च श्री दामोदर सन्तोषी, सारा गा.पं. का प्र. पं. हरिप्रसाद सुवेदी, भिंगरी गा. पं. का प्र . पं. होमबहादुर रोका, घोरा गाउँका बुद्धिजीवी, गिरी, पूरी, भारती, रजौटा खुंग्रीका सेनराजाहरूले राम्ररी सहयोग गरिरहेका कुरा रोल्पाका बासँगको साक्षात्कार बाट थाहा भयो ।

चतुर्भुजका बग्ने नदीहरूबाट स्थानीय निवासीहरूले बालुवा चाली सुन पनि जम्मा गर्ने हुँदा भौगर्भिक दृष्टिले पनि महत्वपूर्ण क्षेत्र मानिन्छ । पहिले त्यस पुण्यक्षेत्रमा मेला लाग्ने हुँदा खुंग्रीका सेनराजाले एक शिवालयको निर्माण गरेका थिए । सो मन्दिर १९६० सालको महाभूकम्पले भग्न पारेको पछि ढलेको र त्यहीं झारबुट्टा आई नष्ट भएछ ।

चतुर्भुज शिवालयको उत्तरपट्टि एक विशाल पिपलको वृक्ष फैलिएर रहेको छ । हाल मन्दिर निर्माण गर्ने क्रममा त्यो पिपलका हाँगा काटी ढोका र अन्य दार बनाउन लगाइएको थियो । उक्त क्षेत्रलाई पुनर्उत्थान गर्ने कार्यको सशक्त भूमिका ती रोल्पाका बाले लिई निःस्वार्थता पूर्वक कार्य गर्न लागेकाले यो पंक्तिहरूमा उनकै परिचय संक्षेपका दिनु उपयुक्त ठानिन्छ । इतिहासको सामग्री संलग्न गर्ने क्रममा उनीसँग हामी दुई हप्ता साथै रह्यौं ।

त्यस अवसरमा उनीसँग गहिरा एवं संघर्षपूर्ण उत्थान पतनका र सुधारका कुराहरू मन्न सौभाग्य मिल्यो हामीलाई । उनको जीवन सम्बन्धी केही घटनाहरूको छोटकरी खाका खिच्ने प्रयत्न यहाँ राखिएको छ । हालको रोल्पा जिल्ला गजुल दलङ्गा निवासी पिता मोतीराम सुवेदी एवं माता लक्ष्मीदेवी सुवेदीका छोरा खडानन्द सुवेदी वि. सं. १९७० आश्विन २३ गते बिजया दशमीका दिन जन्मेका हुन् ।

दुई वर्षमा विफर र ६ वर्षमा अतिसारबाट उत्रन सफल श्री सुवेदीको पठनपाठन घरैमा भयो । तत्कालीन परिवेश अनुसार उनी लेखनदास एवं ज्योतिषविद्या आर्जन गर्न तर्फ लागे र “ज्योतिष बहिदार“ उपाधि पनि प्राप्त भो । श्री ३ चन्द्रले दास मोचन गर्दा एक वर्षसम्म रोल्पा तर्फपनि त्यसको हलचल फैलियो । त्यो वेला उनका घरमा ५४ वटा कमारा कमारी थिए । उनका पिताजीले ती कमारा कमारीलाई विनामूल्य मुक्त गरिदिए । लोकले उनको जय जयकार गर्यो ।

श्री षडानन्दजीको स्वभाव अनौठो थियो । एक्लै विचार गर्ने, कम बोल्ने, झगडा नगर्ने, खानेबेला मीठो नमीठो नभनी खाना खाने । संयोगले योगी साधुहरू आएपछि उनी सत्संगत गर्न जान्थे र योगीहरू भन्दथे,“ यो बालक या त योगी हुनेछ या त यो महान समाज सेवी पुरुषको रूपमा लोकमा चिनिने छ ।” त्यो बेला गाउँ घरतिर सूर्य, ढिके, आने, धानेव्याजे रूपमा पैसा ऋण दिने चलन थियो । खडानन्द शोषणका कट्टर विरोधी भए । एघार वर्षको कलिलो उमेरमा मातृहीन भएका खडानन्द सुवेदीका पिता मोतीरामका दुवै आँखा सोही पिरले निश्तेज भए ।

आफ्ना दाजु जन्मरोगी भएका र भाई सानै हुनाले घरको सम्पूर्ण व्यवहार राखनधरन र लेनदेनका जिम्मा आयो । उनको सत्संगत योगी सन्यासीहरूको हुन थाल्यो र उनका पिताजीका पालाका असामीहरू आई ऋण तिर्नेलाई उनी व्याज नलिई तमसुक च्यात्न थाले । यसो गर्दा उनको ढुकुटी पैसा भरिए । त्यसै क्रममा उनले विना व्याजमा ऋण दिन थाले र ढुकुढी रित्तियो । निव्र्याजले रूपैयाँ कर्जा दिनाले उनको परिवारको आर्थिक मेरुदण्ड प्रायः भग्न हुनगयो ।

यद्यपि उनलाई रोल्या, प्यूठान, सल्यान र दाङका मानिसहरूले अत्यन्त श्रद्धा गर्न थाले । विवाह नगरी घरव्यवहार नचल्ने ठहर्याई १९८६ मा उनको पहिलो विवाह भयो । आफूले पढलेख राम्ररी नगर्दा पछि परिन्छ भन्ने ज्ञान जागी उनी वि.सं. १९८३ मा ३ पैसा माना चामल किन्दै प्यूठान, पाल्पा, पोखरा, स्याङजा, लमजुङ, तनहुँ, धादिङ हुँदै १४ दिनमा बेलुकी काठमाडौं पुगे । त्यो बेला नेपाली भाषा आजको प्रचलित थिएन । वि. सं. १९६४ मा काठमाडौंमा महँगी बढ्यो र उनी पुनः घर फर्क ।

पुनः १९६४ को अन्त्यमा नेपालको बाटो काठमाडौं पुग्न संभव नहुँदा अनिकाल परेको हुँदा माडिखोला, ढुंगे गढी, भालुवाङ्ग, बहादुरगंज र भारतको ब्रहण्डी रेलबाट गोरखपुर, गोरखपुर नेपालको चितवन, वछाहा, रक्सौल र बीरगञ्ज भिछाखोरीको ठकठके रेल चढी लिलामो बस र ट्रकमा हल्ली भीमफेदी उत्रे ।

उहाँ पुग्दा थकाइले शरीर वक्त एवं शिथिल थिए । त्यति मात्र होइन पौवामा उपवास बस्नु परेको, चिसा पानी पुग्दा बीरगञ्ज चौकीबाट राहदानी नल्याउँदा दुःख भोग्नु परेको, कुलेखानी मिठो भात खाएको, मार्खु चित्लाङ हुँदै कोट आई दुलहीजस्ती काठमाडौं उपत्यका देख्न पाएको घटनाहरू उनको मुखबाट सुन्दा रसीलो लाग्यो । त्यस्तो फेरि तत्कालीन काठमाडौंमा महाभूकम्पबाट भग्न, गल्लीगल्लीमा भत्केका घर र छरिएका ईंटहरू ती ईंटहरुमाथी एक एक थुप्रा विष्टा, जता जाँदा पनि मैलाको वर्णन चाहि विभत्सरूपका थिए ।

अर्कातिर विदेशी कारिगरहरू धमाधम काम गर्न लागेका र नेपालीहरु ईट बोक्ने, माटो मुछ्ने र भारी बोक्ने बाहेक अरु कुनै सीपको काम गर्न न जाने को देख्ता नेपाली कलाको अन्त्यकाल आएको अस्तो लागेछ उनलाई त्यतिबेला । उनी साहै्र दुःखी भएछन् ।

कष्टपूर्वक २-२ पटक काठमाडौं जाँदा पनि षडानन्दले राम्ररी पढ्ने मौकाबाट बन्चित रहनु पर्यो । यद्यपि उनका घरपतिचाहिँ राणा—विरोधी हुँदा उनमा पनि त्यस परिवेशको गहिरो छाप पर्यो । १९९८ सालमा ४ जना युवकहरूलाई राणाहरुले झुण्डाईं गोली ठोकी मारेको एक वर्ष पुगिसकेको थियो । यता षडानन्दकी विवाहिता वा कुमार ग्रह उतारेकी पत्नीको पनि मृत्यु भयो ।

प्यूठान रोल्पातिर राणाद्धारा खटाइएका कर्म चारी र कालो फेटा गुथेका, कालै दौरा सुरुवाल लगाएर गाउँ गाउँ घुमी गोर्खे लौरी लगाउनेहरूने गरेको अत्याचारको पराकाष्टा थियो । न्याय र निसाफ बलिष्ठकै मुठीभित्र बन्द थियो। त्यस्ता वेलामा दुःखी दरिद्रीको पक्षबाट बोल्ने संकल्प उनले गरे । यही संकल्पले उनलाई राणाशासन—विरोधी बनाइदियो साथै उनी आर्थिक रूपवाट पनि पछि परे ।

राणाहरूको विरोध गर्दा उनीमाथि धेरै मुद्दा परे । स्यस माथि धेरै व्याज खाने साहूहरूले उनीसँग बदला लिने राम्रो मौका पाए । धेरै ठाउँमा उनलाई एक्लै पारी मार्ने चेष्टा पनि भयो । तर उनी बचे, किन भने कामहरू उनले गर्नु धेरै ने बाँकी रहेछन् । अड्डामा कर्मचारीहरूले उनलाई टाढबाट औंला ठड्याई देखाउने गर्न थाले भने राणाविरोधी कर्मचारीहरूले उनको रक्षा गर्दै आए पनि ।

उनले मुद्दा हारी सजाय भोग्नु परेन, यो सौजन्य राणाविरोधी कर्मचारीहरूकै थियो भने झैं उनी बडो गम्भीरतापूर्वक बताउँछन् । हीरालाई कीराले खान्छ फलामलाई खिया लाग्छ भने कर्मचारीहरू राणाविरोधी हुनाले पनि २००७ सालको क्रान्ति सफल भएको थियो भन्ने उनको भनाइ छ । तर उनको पढाइ भने चौपट भयो, अगाडि बढ्न सकेन । उनी रोल्पा नै फर्के ।

वि. सं. १९९९ सालदेखि २००३ सालसम्म उनले पटक पटक भारत भ्रमण गरी अधिकांश समय भारतीय, नेपाली र भारतीय स्वतन्त्रता सेनानीहरूसँगको सान्निध्यमा बिताए । यो राजनैतिक यात्राले उनलाई भारतीय राष्ट्रिय जागरण एवं स्वतन्त्रताको तत्वबोध भयो । भारतवाट फर्केर पछि उनले गाउँ सुधार गर्न बाटाघाटा, पुल, झोलुङ्ग, फटके, पाठशाला खोल्ने जस्ता कामहरू गर्न थाले । पाठशालामा पढेका मानिसहरू बोलाई बाल—बालिकाहरूलाई शिक्षा दिने व्यवस्था मिलाए । एकातिर राणाका पुच्छरहरूले उनका प्रत्येक क्रियाकलापको चियो गर्नलागे भने एकातिर उनले पढेलेखेका युवकहरूलाई गाउँका कुना काप्चामा पठाई राणाविरोधी विचारको प्रचार गर्न लगाए ।

अन्याय अत्याचारको साथै राणाशासनको अन्त्य हुन गई सुख सुविधा हुने आशामा गाउँका व्यक्तिहरूले उनलाई साथ दिए । त्यसै क्रममा उनी नेपाली कांग्रेसको चौअन्नी सदस्य पनि भए प्यूठान, रोल्पा, दाङ, सल्यानतिरका हजारौंलाई सदस्यता दिलाए । उनलाई प्राणप्रणले सहयोग गर्नेहरूमा युगराज, लक्ष्मीराम, भूपालसमेतलाई ठाडो पक्राउ पूर्जी आयो । परिणाम स्वरूप उनीहरू पक्राउ भई उनीहरूलाई जेठ महीनाका घाममा ४ दिन ४ रातसम्म उभ्याइयो बस्न दिइएन तैपनि चारै जनाले कायलपत्र पत्र नगरी साबित नभएकोले छुटकारासम्म मिल्यो । पुनः प्रचारकार्यको सिलसिलामा उनी नै पक्राउ परी १८ महीनासम्म बडो कष्टपूर्ण जेलयात्रा गरे ।

१८ महीनासम्म उनी कायल नभएकोले पुनः छुटकारा मिल्यो र रातारात गरी जलजला लेक, धामको लेक, लाहाको लेक, लिगलिगे, जबरे र लिस्नेको लेकमा लुकीछिपी गाँउ गाँउ डुली ओडारमा बसी भूटेको तोरी, कागल. जुनेलो, मकै र उवाका फाँकले प्राण धानी कांग्रेसको प्रचार र राणाशासनको अन्त्य गर्न गरेको परिश्रमको वर्णन उनले गरेको सुन्दा बडो रोमाञ्चकारी लाग्दथे । २००७ सालमा श्री ५ त्रिभुवनको दिल्ली सवारीसाथ नेपालमा क्रान्तिको शुरूआत भयो ।

प्यूठान, रोल्पा,सल्यान र दाङमा क्रान्ति गर्ने क्रममा उनलाई चूडामणि शर्मा, भूपाल थापाहरूले दिलोज्यानले सघाई क्रान्ति सफल पारे । विश्वेश्वर कोइराला, धरमसिं परियार, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईहरुसँग षडानन्द सुवेदी भेटघाट गर्न गए । ७ फागुन २००७ पछि उनलाई प्यूठान र रोल्पाका नेताको रूपमा मान्यता प्राप्त भयो । त्यस मौकामा १५ ओटा प्राथमिक विद्यालय उनले प्यूठान र रोल्पाका खुङग्री, सारी, गजुल, लिवाङ, जंकोट, थुकोट, सिर्प, गुम्चाल, बोझ्याङ, कालाशेष जस्ता गाउँमा खोल्न लगाए ।

पाठशाला खोलेपछि सबैले पढलेख गर्ने र आफूले शोषण गर्न पाइन्न भनी केही ठालुहरूले षडानन्दको विरूद्ध पाखुरा ठेले पनि उनलाई जनताको हृदयले पत्याइसकेको हुँदा उनी सफल भए । २००८ सालमा रोल्पा लिवाङ निवासी कृष्णलाल आचार्यको सहयोग र षडानन्द जीको सक्रियताबाट चन्दा संकलन गरी ३,५०० रूपैयाँको लागतमा रोल्पा बाजावाङ माण्डवी नदीमा काठे पुल हालियो । पूल अर्कै जीर्णोद्धार गरी काम चलाइँदै आएको छ ।

२००६ सालमा उनी र केही नेवारहरू मिली प्यूठानमा पहिलो चोटी हलो जोत्दा ठूलो लोकपवाद र अपमान सहनु पर्यो । २०१० सालमा प्यूठान रातामाटा निम्नमाध्यमिक विद्यालयको स्थापना उनकै सक्रियतामा सम्पन्न भयो । २०११ सालमा प्यूठान खलंगाबाट रातामाटामा सदरमुकाम सार्ने प्रसंगमा उनले १६ दिनसम्म अनसन गरी प्रहरी चौकीसम्म सार्न सके । तर बडा हाकिम प्रतिमानको सरूवा भएको र नयाँ बडाहाकिमले खलंगाका साहूहरूसँग मिलोमतो गरी खलंगामा नै अड्डा रहने गराई एक मात्र होइन षडानन्द र उनका समर्थक नन्दलाल खड्का, चूडा मणि शर्मा, पुण्यखोलाका हेमराज शर्मा, खगुलाल र प्रेम बहादुरहरूलाई जेल चलान गरे ।

उनी जेलमा पर्दा सारा प्यूठानी रोल्पाली र सल्यानी ६० हजार मानिसको सही गराई उनका अनुयायीहरूले श्री ५ महाराजधिराज हजूरमा जेलमुक्त गराउन विन्तिपत्र चढाए । विन्तिपत्रको सुनवाई हुँदा उनी छुटे, साथीहरूसहित । उनी जेलबाट छुट्टी उनलाई गलाभरी माला र अबीरले रातो पारिएको थियो । ती बडाहाकिमको सरूवा पनि भो तर षडानन्दलाई गरेको पक्राउको फुकुवा नगरी गएकोले पुनः उनलाई पक्राउ आयो । पछि नयाँ बडाहाकिमले परिस्थिति आफ्नो अनुकूल नहुने ठानी उनले सहज फुकुवा गरिदिए ।

२०१३ सालसम्म उनी जेलमै रहे । फुकुवा मिलेपछि २०१४ सालमा प्यूठान बागदूलाको माध्यमिक विद्यालय उनले नै खोलेका हुन् । यो पाठशाला स्वीकृति गर्दा उनीलाई अनिरुद्र शर्माले ठूलो कष्ट सही सहयोग गरेका छन् । त्यो प्रसंगमा काठमाडौं पुग्दा षडानन्दलाई हैजाले अत्याएछ । तर कसै ठीक भई स्कूल स्वीकृत गराई फर्केछन् ।

फर्कंदा मादलको तालमा नाच्तै चन्दा बठाई प्रजातान्त्रिक प्रचार गर्दै आएछन् । २०१५ सालको आम चुनावमा उनी क्षेत्र नं. ८३ बाट उठे । निर्वाचन चिन्ह पिपलको वृक्ष थियो रे । चुनावमा विजयी भै उनी संसद सदस्य वा एम. पी. भए । त्यसपछि उनलाई ‘एम.पी. बाजे’ भनी त्यतातिर संवोधन गर्न थाले छन् । १६ महीनाको उनको संसदकालमा २८ प्राथमिक विद्यालय १ हेल्थपोष्ट, ६ हुलाक अड्डा प्यूठान र रोल्पामा स्थापना गर्न षडानन्द सफल भए । सिंचाई गर्ने कुला, बाटा, पुलहरू त अनगिन्ति भने सबै टिपोट गर्न साध्य हुँदैन ।

२०१७ साल पौष १ गते को ऐतिहासिक परिवर्तनपछि षडानन्द कुनैका होहल्लामा नलागी निःस्वार्थ सेवा गर्ने प्रणले देश र नरेशको भक्त भै काम गर्ने मार्गाविलम्बन गरे । यद्यपि नेपाली काँग्रेसको एम. पी. समेत भैसकेका नाताले उनी पक्राउ भै थुनामा जानुप¥यो। तर केही समयपछि २०१८ सालको शरूमा नै उनी जेलमुक्त भए ।

२०१८ सालको कीर्तिनिधि बिष्टको पश्चिमाञ्चल दौडाहाको क्रममा षडानन्दजीको भूमिकाबाट प्रभावित भई विशिष्ट प्रमाण—पत्रद्वारा षडानन्द विभूषित भएका हुन् । २०१८ मार्ग महीनामा नेपालका ३५ जिल्लालाई ७५ जिल्लामा विभाजन गरियो । त्यस विभाजनले षडानन्दको कार्यक्षेत्र प्यूठानवाट छुटी रोल्पामा प¥यो । अञ्वल स्वर्गद्वारी भयो ।

उनी त्यस अञ्चलका सभापति, रोला जि. पं. सभापति निर्विरोध भए । २०२० सालसम्म उनले २ वटा ठूलाठुला पुल, १६ वटा सिंचाई कुला मिझिङ्ग—थबाङ जाने ५२ माइल पैदल बाटो चौडा गराई घोडेटो गराउनमा उल्लेखनीय भूमिका खेले । जनताको सेवा नै उनको मूल कर्तव्य रह्यो तर उनको आर्थिक अवस्था भने सोचनीय हुँदै गयो । उनले कहीं कुनै कामबाट पनि चुकानी, मुनाफा झिकी खाने बानी राखेनन् ।

२०२१ सालको पुनर्निर्वाचनमा उनी रोल्पा जिल्ला पञ्चायत सभापति पदमा निर्विरोध चुनिए । रोल्पा भरका विद्यालयका अध्यक्ष भए । दाङदेखि प्यूठान घोडेटो बाटो, लिवाङ दाङ घोडेटो बाटो निर्माणका उनी अध्यक्ष बनाईए । कैयौंका जमीन बाटामा पर्दा उनीसँग धेरैले रातोमुख पनि    गरे । तर उनी निस्वार्थ सेवक हुँदा रोक्न कसैले सकेनन । नाच्दै बाटो खन्दै गर्थे उनी । मादले थिए रोल्पा जिल्ला पञ्चायतका एकाउण्टेण्ट दुर्गबहादुर रावत । लिवाङ रोल्पामा सम्पूर्ण कार्यालय स्थापना गर्दा स्थापना गर्दा निःशुल्क जमीन उनले नै मिलाइदिएका हुन् । कुनै पनि सरकारी कार्यालयले जमीनको मुआब्जा दिन परेन ।

२०२६ सालमा षडानन्दले ने रु. ३५,००० चन्दा संकलन गरी खुङग्रीको माण्डवी नदीमा झोलुङ्ग पुल हाल्न लगाएका हुन् । त्यो पुल रोल्पाका मजबूत र लामो पुलहरूमध्ये गनिदै आएको छ । षडानन्दले पैसाको स्वार्थ कैल्यै राखेनन् । उनको मूल स्वार्थ नै जनताको, विशेष गरी गरीबको हृदय जिल्नु, माया बटुल्नु र सकेका सुधारहरू गर्नु रह्यो । उनको होस्टेमा अकै हैँसे गर्ने रोल्पामा छँदैछन्, गर्दैछन् । त्यसैगरी २०२८ सालमा मिझिङ्ग, फगाम सुलिचौरका झोलुङगे पुल निर्माणमा उनले अध्यक्षता ग्रहण गरी अटल रूजु रही सम्पन्न गराएरै छाडे ।

त्यस कार्यमा जिल्लाका माननीय बालाराम घर्ती मगरले पनि सहयोग गरेका थिए । २०३२ सालमा श्री षडानन्द सुवेदीजी राप्ती अञ्चल शिक्षा समितिका वरिष्ठ सदस्यमा नियुक्त भए । आफूले धोको पुग्नेगरी शिक्षा हासिल गर्न नपाए पनि आगामी पिंडीका निम्ति उनी शिक्षाको उज्यालो घामवाट तृप्त गराउन चाहन्छन् । आजसम्म उनी सो अञ्चल शिक्षा समितिका वरिष्ठ सदस्य पदमा अविच्छिन्न रहेका छन् । २०३३ सालमा दाङ प्यूठान मोटरवाला निर्माण समितिका सदस्य र प्यूठान, रोल्पा, दाङ मोटरबाटो निर्माण समितिका अध्यक्ष भई कार्य गर्दैछन् षडानन्द ।

‘रोल्पाका बा’ अर्थात् षडानन्द सुवेदी हाल ७४ वर्षका भए ५० वर्षदेखि धुम्रपान बर्जित गरी निरोगी रहेका उनी सांवलो रंगका ५ फूट १० इंच उचाई, ५५ किलोग्राम तौल, फूर्तिलो जीउडाल, हँसिलो अनुहार तिखो तप्प चुहेला जस्तो नाकमाथि दुईतर्फ केही आकासे रङका आँखाका नानी, षडानन्द नखशीखदेखि नै तेजोवन्त हिन्दू उपाध्याय ब्राह्मण देखिन्छन् । उनका पुर्खा कलानन्द गजुले राजाका गुरू भई गुल्मी चन्द्रकोटबाट आएका र हाल आफू २४ सौं वंशज भएको कुरा उनका साथ रहेको सुवेदी वंशावलीले प्रमाणित गर्छ ।

चेतन लहरी जस्ता दशौं पुस्तक तयार गरी ४ ओटा प्रकाशन गर्न सफल ती ‘रोल्पाको बा ’ ले तीतामीठा घटनाको टिपोट गरी पाण्डुलिपि आफ्नो जीवनी तयार पारेका छन् । उनका ८ छोरा २ छोरी र दर्जनौं नाति नातिना छन् । जनताको सेवा, गरीबको उत्थान, दुःखीलाई सहयोग, प्रेमका पूजारी, अनाथका नाथ ‘रोल्पाको बा’ षडानन्द उपाध्याय सुवेदी श्री ५ लाई वेद र हिन्दू शास्त्र एवं संस्कृति संरक्षक मान्छन् ।

अनि दुःखी र गरीबलाई हिन्दू शास्त्र के देवता मानेको छ भन्ने उनको भनाइ छ । हिन्दू संस्कृतिका आदर्श एवं गरिमामय ठान्ने ‘ रोल्पा का बा’ हाल इतिहास, संस्कृति, राजनीति, निर्माण, सेवा, स्वाबलम्ब एवं ७४ वर्षका अनुभवका पिण्ड हुन् ।

        र, यो पनि….

नयाँ जिल्लाको रुपमा रोल्पा निर्माण गर्दा



प्रतिक्रिया दिनुहोस !