१४ बैशाख २०८१, शुक्रबार

अनि सार्थक बन्यो ‘ब्लड फर रोल्पा’ अभियान

प्रकाशित मिति :  25 October, 2021 7:39 am


बिरामीहरू निकै टाढाबाट अस्पताल आउँछन् । उपचारको लागि रगत आवश्यकता पर्छ तर पाइँदैन । अस्पतालमै भएका डाक्टर नर्स र अन्य कर्मचारीहरूले रगत दिएर धेरैको ज्यान बचाए ।

रगतकै कारणले जिल्ला बाहिर रिफर हुनुपर्यो । पैसाको खर्च, समयको खर्च अनि जोखिम उत्तिकै । यो कहानी हो विगत ३ बर्ष भन्दा अगाडि जिल्ला अस्पताल रोल्पाको । भलै अहिले त्यो समस्या भने टरेको छ ।

हामी केही युवाहरूले रगत संकलन अभियान ‘ब्लड फर रोल्पा’ अभियान सुरु ग¥यौं । उदेश्य जिल्लामा तत्काल आवश्यक हुने रगत व्यवस्थापन गर्ने थियो ।

२५ अगस्ट २०१८ मा म लगायत अन्य ५ जना साथी गरी जम्मा ६ जनाले सल्लाह गर्‍यौं । २६ अगस्टमा सबैले फेसबुकमा आह्वान पोष्ट गर्यौं । करिब ६० जना जतिले नाम टिपाउनु भयो ।

सबैको नाम, ठेगाना, इमेल, मोबाइललगायतको आवश्यक सूचना संकलन गर्यौं । आवश्यक परेको थाहा पाएपछि त्यसको केही दिनमा नै हामै्र अभियन्ता साथीहरूबाट रोल्पा हस्पिटल प्रालि र जिल्ला अस्पताल रोल्पामा रगत दान गर्यांै । यो नै हाम्रो सुरुवाती बिन्दु थियो ।

पहिलो चरणमा हस्पिटलमा हामीले संकलन गरेका रक्तदाताहरूको विवरणहरू प्रिन्ट गरेर बुझायौं ताकि बिरामीलाई सम्पर्क गर्न सजिलो रहोस । दोस्रो चरणमा ब्लड फर रोल्पा नामको मोबाइल एप्लिकेसनको जन्म दियौं । अहिले पनि यो गुगलको प्ले स्टोरमा पाउन सकिन्छ ।

एप्लिकेशन हाम्रै अभियन्ता साथी भरत डीसीले बनाउनु भएको हो । त्यसका लागि उहाँले आफ्नै मेहनत र समय खर्चिनु भयो । रकम केही पनि लागेन । नगरपालिकाको हलमा हामीले नगर प्रमुखको प्रमुख आतिथ्यमा सो एप्लिकेशन लन्च गरेका थियौं ।

अस्पतालमा रगत दान गरिसकेपछि एक प्रमाणपत्रको पनि व्यवस्था गरेका थियौं र त्यसको व्यवस्था अभियन्ता साथी दिल डाँगीले नै गर्नुभएको हो ।

हामीले अभियान सुरु गरेपछि रगत दान गर्ने करिब १०० जति रक्तदाता पुग्नु भयो होला । यसमा अस्पतालकै कर्मचारीहरू समेत हुनुहन्छ । हामीले अभियान सुरु गरेपश्चात नेगेटिभ केस बाहेक अन्य रगत नपाएर जिल्ला बाहिर रिफर गर्नुपरेको मैले थाहा पाएको छैन ।

हाम्रो अभियानमा राम्रो काम गर्यौ यस्तै काम गर्नुपर्छ भन्ने जमात धेरै भेटिए तर दुख लाग्दो कुरा मेरो रगत समूह यो हो है, म पनि दिन्छु भनी लिस्टमा नाम राखिदिनु है भन्ने केही मात्र भेटिए । ती सबैमा नमन । ब्लड फर रोल्पाको जन्मपछि मलाई लाग्छ जिल्ला अस्पतालमा रगत व्यवस्थापनमा त्यति तनाव भएन ।

बिरामीमा भएपनि अस्पतालको अहिलेका दक्ष कर्मचारीहरूले आफै पनि यसको समाधानका लागि लागि परेका छन् । यो आफैमा एक सम्मानयोग्य कदम हो । हाम्रो अभियानमा मजदुरी गर्नेदेखि माथिल्लो तहका कर्मचारीहरू पनि हुनुहुन्छ ।

व्यस्त हुँदा पनि समय व्यवस्थापन गरेर रगत दान गर्न अस्पतालसम्म आफ्नै खर्चमा रक्तदाता पुग्ने गर्नु भएको छ । हाम्रो लिस्टमा लगभग ९० प्रतिशत भन्दा बढी कर्मचारीहरू हुुनुहुन्छ । हामीसँग आवश्यक पर्दा तत्काल रगत हुदैन । हामीले पनि लिस्टमा रहनुभएका साथीहरूलाई फोन गरेर बोलाउने हो ।

हामी अभियन्ताहरू सबै आफ्नै तह र तप्कामा व्यस्त छौं । तैपनि रगत व्यवस्थापनको लागि फोन आउँदा कहिले नाइँनास्ति गरेका छैनौं । रमाइलो कुरा अहिलेसम्म रगत धेरैले दान पाउनुभयो तर उहाँहरू मध्ये धेरैलाई कसले दियो, कसले व्यवस्थापनको लागि सहजिकरण ग¥यो भन्ने थाहा छैन् ।

मेरो घर छेउकै दिदी डेलिभरी पश्चात अत्याधिक रक्तश्राव भएर भर्ना हुनुभएको रहेछ । करिब १ घण्टाको बाटोमा रहेका एकजना दाईलाइ अनुरोध गरेपछि गएर रगत दिनुभयो । अलिक ढिलो भएको भए ज्यान नै जोखिममा हुने रहेछ ।

त्यो दिदीले १ बर्ष पछि मात्र थाहा पाउनु भएछ कसले दियो र कसले व्यवस्थापन गरिदियो भनेर । घरमै आएर रुनुभयो । हुन त आँसुको श्राप लाग्छ भन्छन् तर त्यो दिदीको आँसुमा मैले बेग्लै खुशी देखेको थिएँ । अनि खुशीसँगै अझै गर्नुपर्ने धेरै छन् है भन्ने चुनौती पनि देखेँ ।

रगत चाहिएपछि कतिपयले त बरु कति पैसा लिनुहुन्छ तर रगत दिनुस है भन्नु पनि भएको रहेछ । सुन्दा मन अमिलो हुने तर बिचरा त्यसको महत्व उहाँहरुलाई मात्र थाहा छ । वास्तवमा हामी सबै अभियन्ता नै हौं । मैले धेरैपटक भन्दै आएका छु, सुरुवात हामीले गर्यौं तर त्यो लिस्टमा रक्तदाताहरू समावेश नै नभएको भए के हामी सफल हुन्थ्यौ होला त ? त्यसैले ब्लड फर रोल्पा सबैको साझा हो ।

धन्यवाद ती तमाम रक्तदाताहरूलाई जसले महान कार्यको लागि साथ दिइरहनु भएको छ । अनि साथ सहयोग दिने सबै सबैलाई । रगत दान पाएर अर्को जीवन प्राप्त गर्ने तमाम आमाबुबा दाजुभाई दिदीबहिनीहरूमा पनि दिर्घायुको कामना गर्दछु ।

अभियानको बल र ब्लड बैंक रोल्पा

युवाहरुको सानो अभियानको बल र सरोकारवालाको पहलकदमीले अहिले रोल्पामा रक्त संचार केन्द्र स्थापना भएको छ । अहिले नेपाल रेडक्रस सोसाइटीको अगुवाइमा केन्द्र स्थापना भएपछि पहिले जस्तो रगत दानकै लागि मान्छे खोज्नु पर्दैन ।

दान गर्न इच्छुकहरूले रगत दान गरेका हुन्छन जुन रगत समूहको निश्चित समय भने हुन्छ । रगत स्टक छ भने गएर सजिलै लिन मिल्छ बिना कुनै झन्झट । हेर्दा सजिलो लाग्ने काम हो यो तर निकै चुनौतीपूर्ण हुन्छ ।केन्द्र स्थापना गर्नु मात्र ठुलो कुरा हैन त्यसलाई दिगोपन दिनु नै झन् ठूलो महतवको कुरो हुन्छ ।

रेडक्रस आफैमा दाताको सहयोगमा चल्ने निकाय हो । केन्द्रको खर्च अहिलेसम्म जिल्ला शाखाले नै हेरिरहेको छ । न्यूनतम पारिश्रमिक दिएर पाल्नु पर्ने एकजना कर्मचारीले मात्रै पुग्दैन त्यसका लागि आवश्यक उपकरणहरु र तिनको मर्मतसम्भहारको व्यवस्थापन आदि मिलाइराख्नुपर्ने हुन्छ ।

धेरैलाई अवगत नहोला तर अहिले रक्त संचार केन्द्रको लागि हामीले अक्षयकोष खडा गर्दैछाैं । यसका लागि तपाई हामी सबैको साथ सहयोग जरुरी छ । हामी चाहन्छौं हामीले संकलन गरेको अक्षयकोषको व्याजबाट एकजना कर्मचारीलाई पाल्न पुगोस । चाहना यति हो । त्यो भन्दा बढी उठेछ भने नयाँ उपकरणहरू खरिद, मर्मतको लागि प्रयोग गर्न सकिन्छ ।

अब जिल्ला अस्पताल ५० सैय्याको बन्दैछ । जटिल खालका शल्यक्रियाहरू यहीँ हुनेभएपछि रगतको माग झन बढ्ने निश्चित छ । अहिले सकुशल भएका हामी भविष्यको बारेमा सोचेका छैनौं तर याद गर्नुस त भोलि रगत नपाएकै कारणले ज्यान केही भयो भने ? अक्षयकोषको लागि आर्थिक सहयोगको खाँचो छ । तपाईँ हामीले सहयोग नगरे कसले गर्ने?

अहिले जिल्लामा कार्यरत धेरै कर्मचारीहरू जिल्ला बाहिरको हुनुहुन्छ । यहाँहरू सबैलाई अवगत नै होला । रगत दान गर्नको लागि स्टक राखिएको रगतको आयु निश्चित समयको हुन्छ ।

अहिले जिल्ला अस्पतालमा स्टक राखिएका रगत यता उपयोग नहुने भए जस्तो भएपछि समय अगावै छिमेकी जिल्ला तिर पठाइन्छ । भोलि तपाईँ हाम्रै आफन्त अनि आफैलाई बिरामी पर्दा बाहिरी जिल्लामा पनि यहाँबाट पठाइएको रगत काम लाग्न सक्छ ।

अझ ती रगत हाम्रै नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई काम लाग्न सक्छ । यति भनिरहँदा कुरा घुमेको झैं लाग्छ होला तर एउटा हिम्मत गरौं प्रत्येक सरकारी कर्मचारी, अनि अन्य संघसंस्थामा कार्यरत सबैले सकिन्छ बढेर सहयोग गरौं सकिदैन एकदिनको तलब खर्च रक्त संचार केन्द्रलाई दान गराैं ।

आर्थिक पारदर्शिताको कुरा आउला निश्चिन्त रहनुस यसको जिम्मा म लिन्छु । भोलि तलमाथि भएको खण्डमा म भार आफुमा लिन तयार छु । कानुनी कारबाहीको लागि तयार छु ।
अझ रेडक्रस आफैमा पवित्र संस्था हो । सबैलाई अवगत नै छ । प्रत्येक गाउँपालिकाहरू अनि नगरपालिकाहरूले गएको बर्ष केही रकम विनियोजन गरेर दिइसकेका छन् भने यो वर्ष पनि छुट्टाउने वाचा गरेका छन् ।

केही गाउँपालिकाहरूले हामीलाई पायक पर्दैन भनेर सहयोग दिन आनाकानी गरिरहेका थिए । तर आशा गरौं ती गाउँपालिकाहरूले पनि सहयोग गर्नेछन् । प्रत्येक गाउँपालिकामा १५ सैय्याका अस्पताल बन्दैछ जस्तो लाग्छ । भोलि रगत आवश्यकता पर्दा यहीको उपयोग हुन पनि सक्छ । यसरी पनि सोच्ने की ?

नगर मातहतको कार्यालयमा नगरले अनि गाउँपालिकाहरुमा गापा ले सहजिकरण गर्नु पर्यो । वार्डहरू भने नगर र गापाले सहयोग गरेको छ भनेर पन्छिनु भएन । विकासको नाममा बाटोमात्र देख्ने । आर्थिक रकम बेरुजु राख्ने अन्य विकास नदेख्नेहरूले रगत व्यवस्थापन पनि एक प्रकारको विकासको पाटो हो भनेर बुझ्न सक्नुपर्छ । दक्ष जनशक्तिको लागि मानिस स्वस्थ हुनुपर्छ सायद यो सबैलाइ हेक्का नै होला ।

हाल अक्षयकोषको लागि अभियान सुरु गरिसकेका छौं । सधै झै सहयोगको लागि वैदेशिक रोजगारमा गएकाहरूसँग मात्र आश्रित हुनुपर्छ भन्ने छैन ।

हुन त मैले यसभन्दा अगाडि कैयन अभियानमा भोगेको पीडा नेपालमा एक लाख नै आम्दानी गर्नेहरू १० हजार दिन डराउँछन तर खाडीका नेपालीहरूले दिल खोलेर सहयोग गर्छन् । यति भनिरहँदा गुनासो गर्यौ भन्ने रहला तर वास्तविकता यही हो ।

पैसा फालेर समाजसेवी बनिने हैन तर यस्ता पुण्य काममा सहयोग नगरे कहिले गर्ने ? यसभन्दा अगाडि जिल्लामा स्नात्तकोत्तर संचालनको लागि महायज्ञ चलाइयो । त्यसको हिसाब किताब वर्षौ पछि प्रस्तुत गरियो तैपनि विवादमा पर्यो । न स्नात्तकोत्तर संचालनमा आयो न त विवाद साम्य भएको छ । अझैपनि धेरै चिया गफमा चर्चा भइराख्छ ।

अहिले रक्त संचार केन्द्र त स्थापना भएको महिना बितिसकेको छ । अब यसको दिगोपनाको लागि मात्र हो हामीले सोचेको । भोलि सदियौसम्म पनि सहयोगी हातहरूको नाम शिलालेखमा आउने अनि पिढीले देख्न पढ्न पाउन र गर्वले भनुन मेरा आमा बुबा, हजुरबुबा, हजुरआमाले यति पुण्य काम गर्नुभएको रहेछ । धन्य छु म उनीहरूको सन्तति हुन पाउँदा ।

सहयोग एकतर्फी भएर मात्र सम्भव हुँदैन । हामीले सहयोग गर्ने हातहरूलाई सम्मानको पनि व्यवस्था गरेका छौं । सम्मानको लोभमा सहयोग गर्नैपर्छ भन्ने छैन तर मनैदेखि यस्ताखालका सामाजिक सेवामा सरिक हुँदा मैले चाहि बेग्लै आनन्दको महशुस गर्दछु ।

सायद यहाँहरूले पनि गर्नुहुनेछ भन्नेमा म ढुक्क छु । सहयोग गर्दा सिधै खातामा दाखिला गरेर जानकारी दिनुभयो भने निकै सजिलो अनि पारदर्शिता रहनेछ ।

सहयोगको लागि ग्लोबल आइएमइ बैंक लिबाङमा रहेको खाता नं. ५००१०१०००१०२०
खातावालाको नामः Nepal Red Cross Society (Blood Bank)

इच्छुक सहयोगीदाताले सिधै बैंक खातामा जम्मा गरेर सहयोग गर्न सक्नुहुनेछ । साथै विस्तृत जानकारीको लागि फोन नंः ०८६४४००३६ र मोबाइल नम्बरहरू ९८४७८५०९६१, ९८५७८३०७७७, ९८५७८२४५१० मा सम्पर्क पनि गर्न सक्नुहुनेछ ।

म त सहयोग छु सहयोगको लागि अनि तपाई नि ?

(लेखकः रक्त संचार सेवा केन्द्र, अर्थ संकलन उपसमितिका सदस्य-सचिव हुन्।)



प्रतिक्रिया दिनुहोस !