१३ बैशाख २०८१, बिहिबार

क्रिप्टोकरेन्सी प्रतिबन्ध लगाउने कानुन ल्याउने भारत सरकारको तयारी

प्रकाशित मिति :  25 November, 2021 4:38 pm


काठमाडौं । भारतमा एउटा बहुप्रतीक्षित विधेयकमार्फत् अधिकांश क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने योजना अघि बढ्ने भएको छ।

नयाँ नियमअन्तर्गत प्रविधि प्रवर्धनका लागि गरिने केही प्रयोगबाहेक अन्य सबै अवस्थामा निजी क्रिप्टोकरेन्सी प्रतिबन्धित हुनेछन्। भारत सरकारले डिजिटल मुद्राबारे आफ्नो धारणा केही नरम बनाउँछ कि भन्ने अपेक्षा गरिएको थियो। विधेयकको बारेमा घोषणा भएपछि भारतीय बजारमा क्रिप्टोकरेन्सीको मूल्य घटेको छ।

सरकारी जानकारीअनुसार संसद्को हिउँदे अधिवेशनमा ‘क्रिप्टोकरेन्सी एन्ड रेगुलेशन अफ अफिशल डिजिटल करेन्सी’ विधेयक प्रस्तुत हुनेछ। सो कानुनले केन्द्रीय बैंकले सरकारी डिजिटल मुद्रा विकास गर्नका लागि आवश्यक वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ।

जनवरीमा विधेयकको मस्यौदा प्रस्तुत हुँदा त्यसका सबै निजी क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउने बुँदा थियो। हालैका महिनामा भारत सरकारले क्रिप्टोकरेन्सीलाई मुद्राका रूपमा भन्दा पनि नियमबद्ध सम्पत्तिको रूपमा हेर्ने अपेक्षा गरिएको थियो। विधेयकको पछिल्लो मस्यौदा सार्वजनिक नभएको हुँदा पुरानोभन्दा के परिवर्तन गरिएको छ भन्ने स्पष्ट छैन।

विधेयकको घोषणापछि केही क्रिप्टोकरेन्सीको मूल्य घटेको छ। भारतीय बजारमा बिटकोइनको मूल्य १३ प्रतिशतले एवं शीवा इनु र डगकोइनको मूल्य १५ प्रतिशतभन्दा बढीले घटेको जनाइएको छ। द क्रिप्टो ट्रेडरका लेखक ग्लेन गुडम्यानले यसको विश्वव्यापी प्रभाव भने तुलनात्मक रूपमा कम परेको बताएका छन्।



प्रतिक्रिया दिनुहोस !