१५ बैशाख २०८१, शनिबार

‘प्रशासन संयन्त्रलाई ‘डार्लिङ्ग अफ पिपुल’ बनाउन खोजेका छौं’

प्रकाशित मिति :  27 November, 2021 4:18 pm


नारायण अर्याल सन्धिखर्क नगरपालिका, अर्घाखाँचीका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । नगरपालिकाको समसामयिक विषयमा केन्द्रित भइ ९ वर्ष अघि सिंहदरबारबाट सुब्बापदबाट सरकारी सेवा सुरु गरी उपसचिवपदमा कार्यको अनुभव सँगालेका प्रशासकीय अधिकृतत अर्यालसँग अनिल नेपालीले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंले सरकारी क्षेत्रमा प्रवेश गरेको को कति भयो?तपाईँले कहाँ कहाँ कसरी जनतालाई सेवा पु¥याउनु भएको अनुभव प्राप्त गर्नु भएको छ ?
मैले २०६९ साल माघ ०४ गते नायब सुब्बाको पदबाट निजामती सेवा प्रवेश गरी २०७० साल भाद्र १९ गते नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहको शाखा अधिकृत पदको खुला प्रतियोगितात्मक परीक्षा पास गरी सो पदका लागि सिफारिसमा परेँ । २०७७ साल माघ १४ गते लोक सेवा आयोगबाट लिइएको अन्तरिक प्रतियोगितात्मक परीक्षा पास गरी नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहको उपसचिव पदमा सिफारिस भइ आएको हिसाबले मैले नेपालको निजामती सेवामा प्रवेश गरेको करिब ९ बर्ष पुग्न लागेको हो ।

यस अवधिमा मैले विभिन्न प्रकृतिका कार्यालयहरूमा रहेर कार्य गर्ने मौका पाएँ । नायब सुब्बा पदमा मेरो कार्य अवधि करिब ८ महिनाको मात्र रहेको थियो । मैले मुद्रण विभाग, सिंहदरबारमा उक्त अवधिभर कार्य गरेँ । शाखा अधिकृतमा सिफारिस भएपश्चात मैले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचर, काठमाडौँमा कार्य गर्ने मौका पाँए । तत्पश्चात मैले गृह मन्त्रालय, सिंहदरबार, काठमाडौँमा रही करिब २ बर्ष कार्य गरेँ शाखा अधिकृतकै रूपमा मैले छोटो अवधि बर्दघाट नगरपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा रही सेवा गर्ने मौका पाएँ । साथै मैले गोलन्जोर गाउँपालिका, सिन्धुली र गैडहवा गाउँपालिका, रुपन्देहीमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सेवा गर्ने मौका पाएँ ।

करिब २ बर्ष मैले लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरमा कार्य गरेँ । उपसचिव सिफारिस भएपश्चात मैले पञ्चपुरी नगरपालिका, सुर्खेतमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्ने अवसर पाएँ । २०७८ साल जेष्ठ ०३ गतेदेखि म सन्धिखर्क नगरपालिका, सन्धिखर्क अर्घाखाँचीमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सेवा गर्दै आइरहेको छु । सेवा अवधिभरमा म प्राय जनतासँग प्रत्यक्ष सम्पर्क हुने कार्यालयमा नै कार्य गर्ने अवसर पाएँ ।

यो अनुभव मेरो लागि ठुलो सिकाइ हो । सेवाग्राहीका गुनासो सुन्ने र उक्त गुनासोको शीघ्र सुनुवाइ गर्ने मेरो कार्यशैली हो । कार्यरत ठाउँहरूमा मैले सेवाग्राहीको मायाँ नै पाएँ भन्ने लाग्छ भलै त्यसको मुल्याङ्कन गर्ने जिम्मा म उहाँहरू लाई दिन्छु । स्थानीय निर्वाचन सम्पन्न भए पश्चात स्थानीय तहहरू जनप्रतिनिधिले नेतृत्व गर्दै आइरहनु भएको छ र स्थानीय तहमा प्रशासकीय प्रमुखको रूपमा कार्य गर्दा जनताका अलावा जनप्रतिनिधिसँगको सोझो समन्वय र उत्तरदायित्व आवश्यक पर्दछ । स्थानीय तहमा कार्य गर्दा मैले यी विषयहरूलाई मध्यनजर गर्दै कार्य गरेँ र गर्दै आइरहेको छु । समग्रमा मेरो हालसम्मको कार्य अनुभव सुखद नै रहेको मैले महशुस गरेको छु ।

तपाईंले नगरपालिकामा जिम्मेवारी सम्हालेको धेरै भयो तर जनताले महशुस गर्ने उल्लेखनीय काम के के गर्नुभयो?

सन्धिखर्क नगरपालिकामा मैले प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्य गर्न सुरु गरेको छ महिना व्यतीत भयो । यस अवधिमा केही पुराना नीति तथा कार्यक्रमहरू कार्यान्वयन भए भने केही नयाँ नीति तथा कार्यक्रमले प्रवेश पाए । नयाँ नीति तथा कार्यक्रमले छाम्न सकिने, नाप्न सकिने र महशुस गर्न सकिने किसिमका योजनाहरू को सुरुवात गरेका छन् । मैले कोभिड –१९ को जोखिम उच्च रहेका बेला प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको थिएँ ।

तसर्थ जिम्मेवारी सम्हालेको पहिलो दिनदेखि नै मैले नगरबासीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी कार्य गरेँ । विभिन्न निकायहरू सँगको समन्वयमा नगरपालिकाले निशुल्क एन्टिजेन परीक्षण शिविर १२ वटै वडाका विभिन्न स्थानहरू मा सञ्चालन गर्यो । उक्त परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिने नगरबासीहरूलाई नगरपालिकाले निशुल्क विभिन्न औषधिहरू वितरण गर्यो । जसको अग्रपंक्तिमा रहेर म आफैले काम गरेँ । अर्को तर्फ कोभिड १९ कै कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएका युवावर्गलाई लक्षित गरी नगपालिकाले कृषि कर्जा कार्यक्रम कार्यान्वयन गर्यो जसले गर्दा कोभिडका कारण समस्यामा परेका युवा वर्ग र थला परेको स्थानीय अर्थतन्त्र केही हदसम्म तंग्रिन मद्दत पुग्यो । कोभिड १९ कै कारण रोजगारी गुमाएका अति विपन्न घर परिवारलाई नगरपालिकाले राहत वितरण गरी उहाँहरूको दैनिक जीवनयापन सहज गरायो ।

नयाँ आर्थिक बर्षको सुरुवातसँगै किसानलाई आवश्यक बिऊ तथा मल वितरण गर्ने कार्य भयो । अपाङ्गता भएका व्यक्तिहरूलाई घर घरमा नै पुगी सहायता सामग्री वितरण गर्ने कार्य गरियो । नगरपालिका केन्द्र वरपरका सडकहरू खाल्डा परेका करण जनताले यात्राको क्रममा भोग्नुपरेको सास्तीलाई दूर गर्न सडकका खाल्डाखाल्डी पुर्ने र कालोपत्रे गर्ने समेतको काम सम्पन्न भयो । नगरबासीलाई उपचारको क्रममा रगतको अभाव हुन नदिन नगर उपप्रमुख रक्तदान कार्यक्रम सञ्चालन गरी रगत संकलन गर्ने कार्य गरियो ।यद्यपि यी कार्यक्रमहरू मेरो एकल प्रयासले मात्र सम्भव भएका भने कदापि होइनन्, यसमा सिँगो नगरपालिकाको कर्मचारी परिवार, पदाधिकारी, र सम्पूर्ण नगरबासी जनताको ठुलो हात छ ।

नगरपालिकामा बेरुजुको अवस्था कस्तो छ? शुन्य बेरुजु गराउन के गर्नुपर्ला?

नगरपालिकामा सार्वजनिक खर्च व्यवस्थापन गर्दा विनियोजन कुशलता, खर्चमा दक्षता र आर्थिक अनुशासन जस्ता पक्षलाई विशेष प्राथमिकता दिइएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको सन्धिखर्क नगरपालिकाको आर्थिक बर्ष २०७६÷०७७ को लेखा परीक्षणको क्रममा कुल रु २६७१९०००÷– बेरुजु औंल्याएको थियो । म हाजिर भए पश्चात बेरुजु रकममा कमी ल्याउन आवश्यक प्रमाण तथा कागजात जुटाउने र पेस गर्ने कार्य भयो जसबाट रु २०१६३०००÷– (करिब ७५%) बेरुजु रकम कट्टा भएको छ । नगरपालिकामा रु ६५५६०००÷– बेरुजु अद्यापि कायम रहेको छ जसमा प्रमाण कागजात पेस नभएको रु १५८८०००÷–, असुल उपर गर्नुपर्ने रु २१००००÷–, पेश्की २१४९०००÷– र अनियमित भएको रु २६०९०००÷– रहेको छ । शुन्य बेरुजु सार्वजनिक प्रशासनको लक्ष्य हो र हुनु पर्दछ पनि ।

नियम कानुनको अनभिज्ञता र अभाव बेरुजुका प्रमुख दुई कारण हुन । यसका अलावा आर्थिक कारोबारमा हेलचक्र्याइँ, ढिलासुस्ती र केही आचरणगत समस्याको कारण पनि बेरुजु बढ्ने गर्दछ । स्थानीय तहहरू मा निर्वाचित जनप्रतिनिधिहरूको आवश्यकता भन्दा बढी सक्रियता (जनचासो र जनदबाबको करण) र कर्मचारीहरूको अकर्मण्यताका कारण पनि बेरुजुलाई वाञ्छित सीमाभित्र राख्न कठिनाइ उत्पन्न हुने गर्दछ । कर्मचारीको क्षमता विकास गर्ने, कानुनको रिक्तता पूर्ति गर्ने, आचरणगत पक्षमा सुधार गरी रचनात्मक अनुशासनमा जोड दिने र निर्मित कानुनको व्यवहारिक तर निर्मम परिपालना गर्ने सके आर्थिक अनुशासन कायम हुन गइ बेरुजु न्यूनीकरण हुन सक्दछ ।

तपाईं नगरपालिकामा आएपछि के के सुधारका काम गर्नुभयो?

कर्मचारीतन्त्रको प्रमुख काम नीति निर्माण र त्यसको कार्यान्वयनमा राजनीतिक नेतृत्वलाई सहयोग गर्ने हो । मेरा क्रियाकलापहरू पनि त्यतैतर्फ निर्देशित हुनु स्वाभाविक नै हो । यद्यपि ’ब्युरोक्रेटिक प्रोएक्टिभिजम’ मार्फत प्रशासन संयन्त्रलाई जनताको प्रियतम (डार्लिङ्ग अफ पिपुल) बनाउन म सर्वदा क्रियाशील रहिआएको छु । नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली निर्माण, नागरिक सहायता कक्षको सुदृढीकरण, योजना कार्यान्वयनमा एकरूपता ल्याउन योजना सम्झौता पुस्तिका निर्माण, नगरपालिकाको आवधिक योजना निर्माण, सङ्गठनात्मक संरचना स्वीकृति, मध्यकालीन खर्चको संरचना तयारी आदि यस बीचमा भएका सुधारका प्रमुख कार्यहरू हुन् । कर्मचारीतन्त्र भित्रको आरोप संस्कृति र गोप्य कार्यप्रणालीलाई परिवर्तन गरी प्रविधिमैत्री सेवा प्रवाह गरिएको छ ।

स्वचालित व्यवसाय दर्ता प्रणाली, विद्युतीय माध्यमबाट घर नक्सा पास र विश्वको जुनसुकै स्थानमा बसेर पनि नगरपालिकालाई बुझाउनु पर्ने राजस्व बुझाउन सकिने प्रणली जडान गरी जनतालाई छिटो छरितो र झन्झटरहित सेवा प्रदान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । शिक्षा क्षेत्रमा स्थानीय पाठ्यक्रमको निर्माण, छपाइ र वितरणको कार्य सम्पन्न भैसकेको छ ।

स्वास्थ्य क्षेत्रमा घरमा शून्य सुत्केरी अभियान, कृषि क्षेत्रमा बाँझो जग्गा सदुपयोग अनुदान र कृषि बजार पूर्वाधार निर्माण, पर्यटन क्षेत्रमा अर्घा दरबार पूर्वाधार निर्माण र अर्घा भगवतीको मूर्ति निर्माण, लक्षित समूह तर्फ लैङ्गिक हिंसा सम्बन्धी रणनैतिक योजना निर्माण, ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण, जनजातीलाई प्रविधि हस्तान्तरण आदि नगरपालिकाले यो बीचमा सम्पादन गरेका कार्यका केही उदाहरणहरू हुन् ।

स्थानीय तहमा जनप्रतिनिधिसँग काम गर्दा चुनौती आउछन् भन्ने सुनिन्छ, कस्तो महशुस गर्नु भएको छ ?

प्राय जसो स्थानीय तहहरू मा कर्मचारी र जनप्रतिनिधिबीच कार्यजिम्मेवारीको विषय र नियम कानुनको परिपालनाको विषयलाई लिएर समस्या आउने गर्दछ । जनप्रतिनिधिहरू कानूनको व्यवहारिक कार्यान्वयन गरेर भए पनि जनताका कार्य शीघ्र गर्नु पर्दछ भन्ने मान्यता राख्दछन भने कर्मचारीहरू कानुनको पूर्ण परिपालना द्वारा जनताको सेवा गर्नुपर्ने अपेक्षा राख्दछन ।

मैले अघि भने जस्तै दुवै पक्षमा केही आचरणगत कमजोरी पक्कै पनि छन् । राजनीतिज्ञले कानुनको छिद्र खोज्दै हिँड्ने र प्रशासनले कानुन खेलाउने परिपाटीले पनि अन्तरविरोध सिर्जना हुने गर्दछ । अझ अहिलेको परिवेशमा त जनप्रतिनिधिले कर्मचारीलाई देखाउने र कर्मचारीले जनप्रतिनिधिलाई देखाउने गरी कोही पनि जनताप्रति उत्तरदायी नहुने अवस्था समेत सिर्जना भएको छ । यसले जनतामा यी दुवै असल नभइ फरक खालका मात्र हुन भन्ने विचार पैदा गरेको छ । राजनीतिज्ञ र कर्मचारीले गर्ने कार्य पृथक नभइ एक अर्कालाई अनुपूरण र परिपूरण गर्ने खालका हुन्छन । नीति, योजना तथा कार्यक्रम निर्माणमा सहकार्य गर्ने र कार्यान्वयनमा विभाजन गरेमा दुई बीचका असमझदारीहरू अन्त्य गर्न सकिन्छ ।

खुला छलफल मार्फत न्यूनतम समझदारी कायम गरी अगाडी बढ्न सकेको खण्डमा समन्वयमा आउन सक्ने समस्या दूर गर्न सकिन्छ । मैले कार्य गरेका हरेक स्थानीय तहहरूमा जनप्रतिनिधिहरूसँग मेरो सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको छ । नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्ने दिशामा पनि मैले उहाँहरूको प्रयाप्त सहयोग प्राप्त गर्दै आइरहेको छु । सन्धिखर्क नगरपालिकामा त झन सुरुवातदेखि नै जनप्रतिनिधिसँग खुलेर कार्य गर्ने मौका प्राप्त गरेको छु । यसको लागि सम्पूर्ण जनप्रतिनिधिहरूज्यू प्रति म कृतज्ञता प्रकट गर्न चाहन्छु ।

नगरपालिकामा हाल आम्दानीका स्रोतहरू के के हुन्छन्?

आन्तरिक आय र अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत प्राप्त हुने रकम नै नगरपालिकाका प्रमुख आम्दानीका स्रोत हुन् । संघ र प्रदेश सरकार मार्फत प्राप्त हुने सशर्त अनुदान, वित्तीय समानीकरण अनुदान (निशर्त अनुदान), राजस्व बाँडफाँड मार्फत प्राप्त हुने अनुदान अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत प्राप्त हुने आम्दानीहरू हुन् । यसबाहेक संघ र प्रदेश सरकार मार्फत समपूरक अनुदान र विशेष अनुदान तथा जिल्ला समन्वय समितिबाट समेत नगरपालिकालाई केही बजेट साझेदारीका योजनाहरू संचालन गर्न प्राप्त हुने गर्दछ । कोभिड –१९ को संक्रमण रोकथाम गर्नको लागि नगरपालिकालाई विभिन्न संघ संस्थाहरू मार्फत समेत सहयोग प्राप्त भयो । नगरपालिकाको आन्तरिक आय आव. २०७८/०७९ मा २७५००००० अनुमान गरिएको छ । जसको प्रमुख स्रोतहरूमा नदीजन्य पदार्थ बिक्री वितरण मार्फत प्राप्त हुने रोयल्टी, सम्पत्ति कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, घर बहाल कर, बहाल बिटौरी कर, मनोरन्जन कर, विज्ञापन कर आदि हुन् ।

नगरपालिका आफैमा स्थायी सरकार हुँदाहुँदै पनि विकास बजेटको लागि केन्द्र र प्रदेश सरकारमा अझै पनि निर्भर रहनुपर्ने कारण के होला?

नेपालको संविधानले नै स्थानीय तहहरूलाई सीमित क्षेत्रहरूमा मात्र कर लगाउन पाउने अधिकार प्रदान गरेको छ । स्थानीय तहले लगाउन पाउने उक्त करका क्षेत्रहरू त्यति व्यापक समेत भैसकेका छैनन । अझ वर्तमान परिवेशमा त झन कोभिड –१९ को प्रभावका कारण सुस्ताएको स्थानीय अर्थतन्त्रलाई करका दरमा वृद्धि गरी थप चपेटामा पर्ने अवस्थामा स्थानीय सरकार छैनन् । त्यसैले, स्थानीय तहको राजस्व सम्भाव्यता अध्ययनद्वारा सक्षम राजस्व प्रशासन निर्माण गरी परिपक्व स्थानीय अर्थतन्त्र मार्फत स्वेच्छिक कर चुक्ता प्रणाली विकास नगरेसम्म नगरपालिका विकास बजेटका लागि केन्द्र र प्रदेश सरकारमा आश्रित रहनुपर्ने अवस्था रही नै रहन्छ ।

धेरै स्थानीय तहमा अझै पनि कानुनहरू नबनेको अवस्था छ, सन्धिखर्क नगरपालिकामा कानुन र कार्यविधि निर्माणका कुराहरू के के भैरहेका छन् ?

सन्धिखर्क नगरपालिकामा आवश्यक कानुनहरू निर्माण गरेर मात्र योजना तथा कार्यक्रमहरू कार्यान्वयन गरिआएको अवस्था छ । केही कानुनहरू संघ सरकार मार्फत प्राप्त भएका नमूना कानूनको सहयोगमा निर्माण गरिएका छन् भने केही कानून नगरपालिका आफैले निर्माण गरेको छ । नगरपालिका गत आर्थिक वर्षसम्म कुल ५३ वटा कानून निर्माण गरेकोमा यो आर्थिक वर्षमा थप ४ वटा स्थानीय कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।

स्थानीय तहको ध्यान शिक्षा स्वास्थ्यमा भन्दा सडक निर्माणलाई बढी प्राथमिकता दिइएको गुनासाहरू आइरहेका छन् नि?

यो भनाइमा आंशिक सत्यता छ । यद्यपि पूर्वाधार निर्माणका कार्यहरू एकाङ्की नभइ परिपूरक हुने गर्दछन । विद्यालय र स्वास्थ्य संस्था जोड्ने सडकमा भएको लगानीलाई पनि शिक्षा तथा स्वास्थ्य क्षेत्रमै भएको लगानीकारूपमा बुझ्नु पर्दछ । संघ तथा प्रदेश सरकारमार्फत पनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्रयाप्त सशर्त अनुदान प्राप्त हुने भएकाले नगरपालिकाले पूर्वाधार विकासलाई बढी महत्व दिएको हुन सक्दछ । तर समग्रतामा मुल्याङ्कन गर्दा नगरपालिकाले समानुपातिक रूपमा नै सबै क्षेत्रलाई उत्तिकै महत्वका साथ लगानी गरेको छ ।

नगरपालिकामा ग्रिन सिटी, उज्यालो अभियानको अवधारण ल्याउनुभएको छ, त्यो कार्यान्वयन भएन कि?

सन्धिखर्क नगरपालिकालाई नगरसभा मार्फत नै प्रस्ताव पारित गरी हरित नगरपालिका बनाउने अवधारणा अगाडि बढाइएको हो । यसको सफल कार्यान्वयनका लागि नगरपालिकाको नवौं नगरसभाबाट “ एक कर्मचारी एक बिरुवा, एक जनप्रतिनिधि दुई बिरुवा“ को नीति पारित गरी २०७८ सालको निजामती सेवा दिवसको दिन व्यापक वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो ।

अर्कोतर्फ, हरित नगरको अवधारणालाई मूर्तरूप दिन नगरपालिकाले नगर क्षेत्रभित्रका प्रमुख व्यापारिक केन्द्र रहेको स्थानका निजी आवासहरूमा बाहिरको भागमा हरियो रङ्ग लगाउन १० प्रतिशत लागत साझेदारीको कार्यक्रम अगाडि बढाएको छ । उक्त कार्यक्रम कार्यान्वयन गर्नको लागि कार्यविधि निर्माणको काम सम्पन्न भइ नगरपालिका सूचना प्रकाशन गर्ने चरणमा छ ।

उज्यालो नगरपालिका निर्माण गर्नको लागि नगरपालिकाले विभिन्न स्थानमा टोल विकास संस्था परिचालन गरी सोलार तथा सडक बत्ती जडान तथा मर्मत गर्ने कार्य निरन्तर रूपमा अगाडि बढाएको छ । बिजुलीको पहुँच नपुगेको क्षेत्रहरूमा तत्काल पहुँच स्थापित नहुँदा सम्मको लागि घरघरमा अनुदानमा सोलार बत्ती जडान गर्ने कार्य निरन्तर भैरहेको छ । टोल विकास संस्थाहरूले संचालन गरेका सडक बत्तीको महसुल समेत नगरपालिकाले भुक्तानी दिँदै आइरहेको छ । संघ सरकारसँगको सहकार्यमा एल.पी.जि. ग्यासमाथिको अत्याधिक निर्भरता कम गर्नको लागि सहुलियत दरमा खान पकाउने विद्युतीय चुलो वितरण कार्यको लागि समेत आवश्यक तयारी भैरहेको छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

संघीय लोकतान्त्रिक शासन व्यवस्थाले जनतामा ठुला आशाहरू पैदा गर्यो र ती आशाहरूसँग सरकारका क्रियाकलापहरूको संगति नमिल्दा राज्य र सरकारप्रति नै जनताको वितृष्णा पैदा भएको हो कि भन्ने अड्कलबाजी गरिन्छ । यद्यपि त्यसो भएको भने किमार्थ होइन । यो समयमा तीनवटै सरकारले युगान्तकारी विकासका जग बसाल्ने मौका पाए जसको प्रतिफल तत्काल नदेखिन सक्छ । दीर्घकालमा त्यसका सकारात्मक नतिजा पैदा भइ जनतामा लाभको वितरण अनिवार्य हुन्छ । सन्धिखर्क नगरपालिका नगरबासीको विकास प्रतिको व्यग्र चाहना र हुटहुटीलाई हातेमालो गरेर जान सदा तयार छ ।

पारदर्शिता, अनुक्रियाशीलता, जवाफदेहिता, दायित्व र जननियन्त्रण जस्ता माध्यमद्वारा सार्वजनिक उत्तरदायित्व प्रवद्र्धन गर्दै नगर क्षेत्रको आर्थिक विकास , सामाजिक विकास , पूर्वाधार विकास , वातावरण व्यवस्थापन र सुशासन प्रवद्र्धन जस्ता पक्षमा समतामूलक स्रोत विनियोजनद्वारा स्वास्थ्य सन्धिखर्क समृृद्ध सन्धिखर्क निर्माण गरी समृृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्यमा योगदान पुर्याउँदै दिगो विकासका लक्ष्य प्राप्तिमा हातेमालो गर्नु आजको प्रमुख जिम्मेवारी हो । हामीसँग भएको बिशेषज्ञतामा आधारित ज्ञान, नागरिकसँग अन्तरक्रिया गर्दाको अनुभव र सूचना माथिको असीमित पहुँच सार्वजनिक हितको संरक्षकत्वको लागि प्रयोग हुने कुरामा सबै नगरबासी जनतालाई विश्वस्त हुन अनुरोध समेत गर्दछौं ।



प्रतिक्रिया दिनुहोस !