४ बैशाख २०८१, मंगलबार
राजनीतिक दस्तावेज

हृदयेश त्रिपाठीकाे अर्थ-राजनीतिक लक्ष्य 

प्रकाशित मिति :  16 December, 2021 5:37 pm


काठमाडाैं । सूर्य चिन्ह  लिएर चुनाव लडेका र निर्वाचन जितेका सांसद हृदयेश  त्रिपाठीले निर्वाचन आयोगमा पार्टी दर्ता नगराइ जनता प्रगतिशील पार्टी घाेषणा गरेका छन् ।

त्रिपाठीले पार्टी घाेषाणा गरेपनि केन्द्रीय कमिटीलगायतकाे संरचना पनि बनाउन बाँकी राखेका छन् ।

त्रिपाठीले सावर्जनिक गरेकाे जनता प्रगतिशील पार्टीकाे राजनीतिक दस्तावेजमा अर्थ-राजनीति सार्वजनिक शीर्षकमा आर्थिक उद्देश्य उल्लेख गरेका छन् ।

यस्तो छ : त्रिपाठीकाे अर्थ राजनीति :

हामीले जस्तो सुकै उत्कृष्ट राजनीतिक प्रणाली अवलम्बन गरे पनि, जति सुकै लोकतन्त्र वा स्वतन्त्रताको कुरा गरेपनि आम नागरिकले आफूलाइ प्राप्त राजनीतिक अधिकार र स्वतन्त्रताको उपभोग गर्न र त्यसबाट लाभ लिन तब मात्र सक्छ जब उ आर्थिकरुपमा सबल हुन्छ ।

त्यसैले अल्पविकसित, विपन्न समाजमा लोकतान्त्रिक अधिकारहरूको निर्वाध प्रयोग सम्पन्न/सभ्रान्त वर्गले गर्छन्, बहुसंख्यक विपन्न वर्ग शासित मात्र रहन्छन् । सार्वजनिक सँस्थाहरूमा सीमित सम्भ्रान्त वर्गको एक किसिमले पारिवारिक पकड हुन्छ । बाबुपछि छोरा, छोरी वा बुहारीमा नेतृत्व/शक्ति हस्तान्तरण हुन्छ ।

आम नागरिकको आर्थिक सबलीकरण नगरिकन, राजनीतिक उपलव्धिहरुको संरक्षण र नागरिकको हितका निमित्त प्रयोग गर्न नसकिने भएकाले हाम्रो दलले आर्थिक सबलीकरणलाई उच्च महत्व दिन्छ ।

समाजवाद एक राजनीतिक-आर्थिक प्रणाली हो, जसले पुँजीवादका असंगतिलाई निषेध गर्दछ । उत्पादन र वितरण प्रणालीमा सबैको समान पहुँच दिन प्रयत्न गर्दछ । यसले सबै प्रकारको विभेदबाट मुक्ति दिलाउने मानवतावादी लोककल्याणकारी राज्यको कल्पना गर्दछ ।

आर्थिक विभेद र विपन्नताको चुरो तत्व नबुझिकन लिईने विकास नीति र संचालन गरिने योजना तथा कार्यक्रमले समस्यालाई सुल्झाउनुको साटो झन् बल्झाउँछ भन्ने विषय लोकतान्त्रिक नेपालको  तीस वर्षको अनुभवले देखाएको छ । हाम्रो पार्टीले विभेद र विपन्नताको मूल कारण अवसरमाथि समान पहुँच र अवसर तथा प्रतिफलको समान वितरण हुन नसक्नु नै हो भन्ने ठान्दछ ।

अवसरमाथि समान पहुँच हुन नसक्नुमा संरचनागत तथा नीतिगत ( खास गरी हालसम्म अवलम्बन गरिएका आर्थिक नीतिहरुमा) समस्याहरू रहेका छन् ।

संक्षेपमा व्याख्या गर्दा भौतिक पूर्वाधारको उपलब्धता तथा गुणस्तरमा फरक परेका कारण सिरहाको कुनै गाउँको एउटा परिवारले प्राप्त गर्ने आर्थिक अवसर बिराटनगरको परिवारले प्राप्त गर्ने अवसर भन्दा धेरै कमसल हुन्छ । खोटांगको कुनै गाउँको परिवार र काठमाडौँको परिवारबीच यस्तै फरक हुन्छ । अवसरमाथि समान पहुँचका अवरोधहरू भौतिक पूर्वाधार, वित्तीय पहुँच, शिक्षा तथा सीपमा फरक र स्वास्थ्य सेवामा उपलव्धता र गुणस्तरमा फरक हुनु हो ।

यस बाहेक सामाजिक विश्वास, सम्बन्ध, रितिरिवाजले पनि समान अवसरको अवरोधको रुपमा काम गर्छन । जबसम्म आर्थिक नीति तथा कार्यक्रमहरूले यी अवरोधहरुलाई कम गर्ने प्रयत्न गर्दैनन्, तबसम्म समानुपातिक तथा समतामुलक समृद्धि सम्भव छैन ।

यदि अवसरको समान वितरण भएन भने स्वाभाविक रुपमा समान पहुँच हुने कुरै भएन । उदाहरणको लागि समान पहुँच सुनिश्चित गर्न भैरहवा र काठमाडौँको भौतिक पूर्वाधार, वित्तिय पहुँच, शिक्षा र स्वास्थ्य सेवाको स्तरमा खासै अन्तर नहोला तर अवसर माथिको पहुँचको दृष्टिकोणले काठमाडौं जति सहज छ, भैरहवा त्यति पक्कै छैन ।

यो फरक बजारलाई कुनै मार्गदर्शन बेगर अनियन्त्रित आफ्नै दिशामा चल्न छोडिदिएको कारणले उत्पन्न हुन्छ । बजारले स्वाभाविक रूपमा अधिक प्रतिफल खोज्छ, नाफा खोज्छ र जनघनत्वले दिने फाइदा बारे बजार बेखबर हुने कुरै भएन । अवसरमाथि पहुँचका लागि आवश्यक पूर्वाधार समान हुँदा हुँदै पनि बजारले लिने दृष्टिकोणका कारण समतामुलक विकास समृद्धिमा अवरोध आइराखेको हुन्छ ।

अवसरको समान प्राप्तिका लागि बजारमाथि हस्तक्षेप आवश्यक पर्दछ र यहाँ निर राज्यको सन्तुलित तर ठोस उपस्थिति आवश्यक पर्छ । यस्तो उपस्थिति जसले बजारलाई विकृत हुन नदेओस, यसका असल पक्षको संरक्षण गरोस तर विकृतिहरू माथि निर्ममता पुर्वक प्रहार गरोस ।

अवसरको प्राप्ति र पहुँचमा रहेका विभेद कम गरे पनि यदि प्रतिफलमा असमानता रह्यो भने त्यसले पनि आर्थिक विभेद सिर्जना गर्छ र समतामुलक विकास हुन दिदैन ।

प्रतिफलको विभेद भन्नाले मुलतः उत्पादनका साधनहरू श्रम, पूँजी, शीप र प्रविधिले पाउने परिणाममा आउने अन्तर बुझ्नु पर्दछ । उदाहरणका लागि महोत्तरीको एउटा गाउँमा उत्कृष्ट शीप सहित काम गर्ने डकर्मीले एक घण्टामा जति ज्याला कमाउँछ, त्यसको सम्भवत दोब्बर काठमाडौँमा काम गर्ने डकर्मीले आम्दानी गर्दछ ।

सम्पत्तिको भाडामा होस्, श्रमको ज्यालामा होस् वा सीपको पारिश्रमिकमा होस् वा उद्धमशीलताको प्रतिफलमा होस्, स्थान वा समुदाय वा अन्य मानवीय स्वरूप अनुसार विभेद हुनाले प्रतिफलमा फरक पर्छ । एकै स्थानमा समान कामको लागि पनि महिला र पुरुष बीच पारिश्रमिकमा अन्तर जातीय आधारमा अन्तर प्रतिफलको वितरणमा विभेदका उदाहरणहरू हुन् । 

प्रतिफलमा फरक पर्नुका कतिपय विषय जटिल र समाधान फेला पार्न गाह्रो पर्ने खालका हुन्छन् । उदाहरणको लागि, कृषिमा लगाएको समय, श्रम र लगानीको प्रतिफलको तुलनामा बैंक तथा वित्तिय सेवामा त्यत्तिकै समय, श्रम र लगानीको प्रतिफल अत्यधिक देखिएको छ ।

उन्नत प्रविधिको प्रयोगले प्रतिफलमा अन्तर ल्याउँछ । र, यदि प्रविधिमाथि पहुँच कम्जोर रह्यो भने स्वाभाविक रूपमा प्रतिफलमा अन्तर आउँछ । असल, लक्षित र परिणाममुखी हस्तक्षेपकारी राजकीय नीतिहरुले यस्ता जटिल समस्यालाई पनि समाधान गर्न सकिन्छ भनेर हाम्रो पार्टी विश्वास गर्दछ ।

माथि उल्लेख गरिएका विषयलाई प्रत्यक्ष रूपमा प्रभावित गर्ने र विभेदलाई झन् चर्को बनाउने दुइवटा थप विषयहरु छन् । मानवीय गतिविधि र प्राकृतिक कारणले कतिपय समुदायहरु अरु सबै कुरा समान हुँदा हुँदै पनि उच्च जोखिममा हुन्छन् ।

बाढी, पहिरो, चक्रवात, महामारी केही उदाहरण हुन् । यस्ता घटनाले आर्थिक गतिविधि मात्र होइन, समस्त जीवननै अवरुद्ध हुन्छ । जलवायु परिवर्तनले कृषि तथा प्राकृतिक स्रोतमा आधारित उद्धम संकटमा परेको छ ।

मानवीय गतिविधिले बजार असफल हुँदा सबभन्दा पहिले मारमा पर्ने सिमान्त वर्ग नै हुन्छ । त्यसैले जोखिम प्रतिरोधी विकासको ढाँचा र संकट परेकोको बेला संकट-कवचको प्रवन्ध आर्थिक नीतिहरूको अभिन्न अंग हुन जरुरी छ ।

दोस्रो विषय हो, शासकीय क्षमता र व्यवहार । यदि उपलब्ध वित्तिय साधनको परिणाममुखी परिचालन गर्ने संस्थागत क्षमता राज्यसँग भएन र स्रोत माथि केही सीमित वर्गको रजगज हुन् पुग्यो भने कुनै आर्थिक अभिष्ट पुरा हुन सक्दैनन् उत्तरदायित्वयुक्त शासन एकदम जरुरी हुन्छ ।

त्यसैले वित्तिय हाम्रो पार्टीले आर्थिक अवसरको उपलब्धता तथा पहुँच, प्रतिफलको न्यायोचित तथा समानुपातिक वितरण, जोखिमको न्यूनीकरण तथा जोखिमका परिणाम विरुद्ध संरक्षण र वित्तीय उत्तरदायित्व तथा गुणस्तरयुक्त सेवा प्रवाहलाई केन्द्रविन्दुमा राखी आफ्ना आर्थिक नीति तथा कार्यक्रमहरु संचालन गर्ने छ । मुलतः नीति तथा कार्यक्रमको वृहत्तर स्वरूप यसप्रकार हुनेछ:

१. गुणस्तरयुक्त भौतिक पूर्वाधारको विस्तार तथा नियमित सम्भारमा ध्यान दिने ।

२. आधारभूत स्वास्थ्य तथा उच्च माध्यमिक विद्यालय शिक्षा सबैलाई निशुल्क गर्ने र आधारभूत शिक्षा अनिवार्य गर्ने ।

३. प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालीम सर्वसुलभ तुल्याउने, विपन्न परिवारका व्यक्तिलाई र फरक वा कमजोर शारीरिक क्षमता भएका व्यक्तिलाई उनीहरूको रुची अनुसारको तालीम निशुल्क उपलब्ध गराउने ।

४. वित्तिय पहुँचमा रहेका विकृतिहरू अन्त्य गर्ने र व्याजदरको खुला बजार प्रकृयामा समयानुकुल वित्तीय तथा मौद्रिक औजारको प्रयोग गरेर मार्गनिर्देशन गर्ने ।

५. संचार तथा इन्टरनेटको पहुँच विस्तार गर्ने र यसको लागत कम गर्ने ।

६. कृषि र कृषकको संरक्षण गर्ने गरी सार्वजनिक खर्च र करका नीतिहरू लागू गर्ने । यसका लागि कृषि उत्पादनको बजारमा उत्पादक कृषकको लाभको हिस्सा अधिकतम तुल्याउन आपूर्ति शृंखलामा कृषकको पकड बलियो बनाउन आवश्यक पूर्वाधारमा लगानी विस्तार गर्ने । कृषकको उत्पादनको मूल्य-प्रत्याभूति गर्ने ।

७. उर्जाको मूल्य क्रमिक रुपमा कम गर्दै लैजाने र कृषि प्रयोजनका लागि लागत मुल्यमा उर्जा उपलब्ध गराउने ।

८. अन्तराष्ट्रिय व्यापारको लागत कम गर्न नेपालका सीमावर्ती मुलुकहरुसँगको भौतिक पूर्वाधारमा सुधार तथा परस्पर सामन्जस्य हुने प्रकृया स्थापित गर्ने ।

९. नीजी लगानी, सम्पत्ति तथा प्रतिफलको सुरक्षाको प्रत्याभूति गर्ने । व्यापारिक/व्यावसायिक विचलनको निगरानी तथा कारवाही प्रभावकारी बनाउने ।

१०. ठुला पूर्वाधार आयोजना तथा राष्ट्रिय महत्वका रणनीतिक उद्योगमा सार्वजनिक-नीजी साझेदारी लागु गर्ने ।

११. पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण भौगोलिक क्षेत्रको संरक्षण गर्ने । 

१२, जलवायु परिवर्तनको दुष्प्रभाव कम गर्न तथा पर्यावरणीय सन्तुलन कायम गर्न हरियाली संरक्षणलाई जोड दिने ।

१३. सबै परिवारलाई सुरक्षित आवास उपलब्ध गराउन वित्तीय प्रवन्ध सहितको कार्यक्रम संचालन गर्ने । सफा, सुरक्षित र योजनावद्ध शहरी विकास गर्ने ।

१४. वित्तीय उत्तरदायित्वको संरक्षण र प्रवर्धन गर्ने निकायहरुको सबलीकरण गर्ने ।

१५. स्थानीय विकास र प्रशासनका लागि संघिय प्रणालीलाई शसक्त बनाउदै बढी से बढी आर्थिक अधिकार प्रदेश र प्रदेश मार्फत स्थानीय तहलाई दिने ।

१६. उत्पादनको लागतमा न्यून प्रभाव पर्ने गरी प्रगतिशील कर प्रणाली लागु गर्ने, करका दरहरू र कर परिपालनालाई सरलीकरण गर्ने ।

१७. नागरिकले दैनन्दिनी रूपमा सरकारबाट लिने सेवालाई अनलाइन उपलब्ध गराउदै जाने ।



प्रतिक्रिया दिनुहोस !