२५ मंसिर २०८२, बिहिबार

लुम्बिनीकाे विकास–दृष्टि : शंकर पोखरेलको सफल नेतृत्व

इन्फ्रास्ट्रक्चर, उद्योग, कृषि र निजी क्षेत्र सहकार्यका दीर्घकालीन ब्लूप्रिन्ट
प्रकाशित मिति :  11 December, 2025 8:03 am


शैलेन्द्रकुमार आचार्य,
लुम्बिनी प्रदेशको राजनीतिक यात्रामा धेरै मोड र धेरै मोडपथ आएका छन् । तर सातै प्रदेशमध्ये सर्वाधिक सक्रिय र पहिचान निर्माणमा सफल प्रदेशका रूपमा लुम्बिनीलाई चिनाउने नेतृत्व भने निःसन्देह शंकर पोखरेलको हो । प्रदेशका पहिलो मुख्यमन्त्रीका रूपमा उनी जब जिम्मेवारीमा आए, देश संघीय संरचनाको प्रारम्भिक संक्रमणमा थियो, न त संरचना मजबुत थियो न त जनताको बुझाइ स्पष्ट । शून्य संरचना, सीमित स्रोत, असाध्यै उच्च अपेक्षा र नवसंघीय अभ्यासको अनिश्चितताबीच उनले प्रदेश विकासको एउटा दीर्घदृष्टि तयार गरे । लुम्बिनीलाई प्रशासनिक हब, आर्थिक केन्द्र, उद्योग र पूर्वाधारको फाउन्डेसन, कृषि आधुनिकीकरण, निजी क्षेत्र–सरकार सहकार्य र प्राविधिक शिक्षाको गन्तव्य बनाउने दीर्घकालीन योजनासहित ।

तीन वर्षभन्दा केही बढीको अवधिमा उनले गरेका कामहरू आज पनि प्रदेश नीतिको मेरुदण्ड बनेर उभिएका छन् । उनका योजनाहरू केवल तत्कालीन बजेट खर्च वा देखावटी परियोजनामा सीमित भएनन् । उनले बनाएको मोडेल, तयार पारेको रोडम्याप र कार्यान्वित गरेको फाउन्डेसन अहिलेका सरकारले पनि मार्गदर्शक दस्तावेजका रूपमा प्रयोग गरिरहेको तथ्यले उनको कार्यशैली र द्रष्टिकोण अझ प्रस्टसँग देखाउँछ ।

शून्यबाट सुरु भएको प्रशासनिक ढाँचा र योजनावद्ध नेतृत्व
पोखरेलले एकदमै थोरै मन्त्री, तथ्यांकमा आधारित निर्णय प्रणाली, कार्यान्वयनमा पूर्णता र नतिजामुखी प्रशासनिक मोडेललाई प्राथमिकता दिए । प्रारम्भिक दिनमा प्रदेश सचिवालय, मन्त्रालय, कर्मचारी, कानुनी संरचना-सबै अभावमा थियो । तर ती सबैलाई व्यवस्थित गर्दै उनले प्रशासनिक फाउन्डेसन खडा गरिदिए ।

उनी मुख्यमन्त्री भएपछि लुम्बिनी रोजेर आउने कर्मचारीको संख्या अत्यधिक बढेको थियो । कारण केवल ‘प्रदेश राजधानीको आकर्षण’ मात्र थिएन, कार्यसञ्चालनमा देखिएको व्यवस्थित नेतृत्व, निर्णयको स्पष्टता, भविष्य पढ्ने योजना र कामको नतिजा माग्ने शैली थियो । यसरी बनाइएको प्रारम्भिक संरचना नै आजको लुम्बिनी प्रदेश शासन प्रणालीको आधारस्तम्भ हो ।

लुम्बिनीलाई प्रशासनिक र आर्थिक हब बनाउने दीर्घदृष्टि
पोखरेलले सरकारी स्रोतमाथि मात्रै निर्भर नभई भविष्यका स्रोत पहिचान गर्ने मोडेल अपनाए । प्रदेशको आर्थिक समृद्धिको मेरुदण्ड कृषि, उद्योग, व्यापार, पूर्वाधार र सेवा क्षेत्र बन्नसक्ने उनी समझदार भएरै बुझ्थे । त्यसैले उनले प्रारम्भमै प्रदेशको स्थिति पत्र निर्माण गराए, जसले प्रदेशको सम्भावना, प्राथमिकता, कमजोरी र रणनीति जस्ताको तस्तै कोर्न मद्दत ग¥यो । त्यसपछि बनेर आयो, लुम्बिनीलाई प्रशासनिक, औद्योगिक र आर्थिक केन्द्र बनाउने दीर्घकालीन ब्लूप्रिन्ट ।

  • यसमा समावेश गरिएका प्रमुख प्राथमिकताहरुः
  • कृषिमार्फत प्रदेश समृद्धि
  • कृषि स्मार्ट गाउँ र कृषि व्यवसायीकरण
  • औद्योगिक गलियारा निर्माण
  • रुपन्देही, दाङ, बाँकेमा महानगरका पूर्वाधार
  • मोतीपुर, बाँके, दाङमा औद्योगिक क्षेत्र
  • भर्जिनल्याण्डमा नमुना प्रशासनिक संरचना
  • लुम्बिनी, राप्ती, भेरीलाई ‘साझा मनोविज्ञान’ मा जोड्ने नीति

यी सबै योजनाहरूले प्रदेशका तीन भौगोलिक क्षेत्रबीच आत्मीयता र आर्थिक प्रवाह वृद्धि गराउने उद्देश्य राखेका थिए । तत्कालीन समयमा यो विषय सामान्य थिएन । प्रदेशको अस्थायी राजधानी बुटवलमा थियो । अधिकांश सांसदहरु, कर्मचारीहरु बुटवल केन्द्रीत नै थिए अर्थात धेरैले त्यसैको पक्ष लिने थिए तर प्रदेशमा बर्दियाको कर्णाली छेउ र रुकुमपूर्वबाट समेत अपनत्व गराउनु थियो । पश्चिम दाङकै हापुरबाट देउखुरी पुग्न र बुटवलबाट पुग्न एकै समय लाग्ने ठाउँमा राजधानी पुगेको छ । यसकारण पनि यसको दीर्घकालीन महत्वलाई ध्यानमा दिएर नै उनले यो निर्णय गरेका हुन् । नेतृत्वसँगको समन्वयमा नै गरेका हुन् । समग्र देशभर नै उनले गरेको यो निर्णयको प्रशंसा हुनुले नै यसको महत्व दर्शाउँछ ।

गौरवका आयोजना र प्रदेशको प्रगतिशील मोडेल
पोखरेलको नेतृत्वमा अगाडि बढेका धेरै परियोजनाहरू आज प्रदेश गौरवका योजनाका रूपमा निरन्तरता पाइरहेका छन् । विशेष गरी लुम्बिनी प्रादेशिक अस्पताल त्यही दीर्घदृष्टिको प्रमुख उदाहरण हो ।

१२ तले, १२ सय शैयाको नमुना अस्पताल
जब उनले बुटवल–भैरहवा क्षेत्रलाई स्वास्थ्य सेवा र आर्थिक केन्द्रका रूपमा उभ्याउने लक्ष्यसहित १२ तले, १,०२१ शैयाको विशाल अस्पताल योजना अगाडि सारे, धेरैले त्यसलाई अनावश्यक खर्च, दिखावटी योजना भनेर आलोचना गरे । तर आज त्यो अस्पताल करिब ६ अर्ब १८ करोड बजेट, अत्याधुनिक पूर्वाधार, २०८५ पुससम्म निर्माण पूरा गर्ने लक्ष्यसहित तेज गतिमा अघि बढिरहेको छ । यो अस्पताल नेपालकै नमुना स्वास्थ्य पूर्वाधार बन्नेछ । प्रदेश र देशभरबाट उपचारका लागि आकर्षण बढाउनेछ । बुटवल–भैरहवालाई ‘आर्थिक हब’ मा रूपान्तरण गर्ने आधार बन्नेछ । यही दृष्टिकोणले अहिले प्रदेश सरकारले पनि यसलाई प्राथमिकता दिएको छ ।

प्रशासनिक राजधानी : शून्यबाट आफ्नो संरचनातर्फ
उनकै पालामा देउखुरीलाई स्थायी राजधानी घोषणा हुँदै दीर्घकालीन मोडेल बनाउने काम सुरु भयो । नदी सभ्यतामा आधारित राजधानी मोडल, प्रदेश सरकार र प्रदेशसभाका कार्यालय एउटै परिसरमा सञ्चालन गर्ने अवधारणा आज मूर्त रूप लिँदैछ ।

  • १५० विघामा ल्याण्डपूलिङ्ग मोडेल
  • बहुवर्षीय योजनाअनुसार मलमला क्षेत्रमा विकास योजना
  • सुविधासम्पन्न प्रशासनिक भवनहरूको अन्तिम चरण
  • सातै प्रदेशमा आफ्नो पूर्ण संरचना निर्माणमा यसरी प्रभावकारी प्रगति भएको प्रदेश अहिलेसम्म लुम्बिनी मात्र देखिएको छ ।


लुम्बिनी प्राविधिक विश्वविद्यालय : भविष्यको सीप अर्थतन्त्र
सूचना प्रविधि, इन्जिनियरिङ, स्वास्थ्य विज्ञान, व्यवस्थापन र अन्य प्राविधिक विषयमा केन्द्रित विश्वविद्यालयको आवश्यकता उनले प्रारम्भमै देखे । आज बाँकेमा स्थापना भई सञ्चालनमा आएको लुम्बिनी प्राविधिक विश्वविद्यालय प्रदेशको भविष्य निर्माण गर्ने महत्त्वपूर्ण आधार बनेको छ । विद्यार्थी संख्या बढ्दो छ । प्राविधिक जनशक्ति उत्पादनमा प्रदेश आत्मनिर्भर हुँदैछ । उद्योग–व्यवसायसँग शिक्षा सहकार्य बढ्दैछ । पोखरेलको यो दृष्टी अहिले प्रदेशको मानव संसाधन विकासको सबैभन्दा बलियो मोडेल बनेको छ ।

रामपुर–कपुरकोट : प्रदेशको उत्तर–दक्षिण सार्वजनिक जीवन जोड्ने सडक
यो सडक केवल यातायात सुविधाका लागि निर्माण गरिएको परियोजना होइन । यसले पाल्पा, अर्घाखाँची, प्यूठान र रोल्पालाई प्रदेश विकासको मुख्य धारा जोड्ने कडीका रूपमा काम गर्छ ।आजसम्म ४५ किमी कालोपत्रे सम्पन्न । ३.८ किमी ग्राभेल सम्पन्न । २१.१५ किमी कालोपत्रेको तयारी । यी उपलब्धिलाई प्रदेश गौरवका योजनामा समेटेर अहिले पनि निरन्तरता दिइँदैछ ।

प्रदेश सडक सञ्जाल गुरुयोजना : दीर्घकालीन ब्लूप्रिन्ट
उनकै पालामा सुरु गरिएको प्रदेश सडक गुरुयोजना अहिलेका सरकारहरूको मुख्य नीति–दस्तावेज बनेर कार्यान्वयनमा छ । गुरुयोजनाअनुसार, १५ लोकमार्ग, ५८२ प्रादेशिक सडक, १६५ किलोमिटर कालोपत्रे, ३४ किलोमिटर ढलान, १६७ किलोमिटर ग्राभेल, १२३ किलोमिटर कच्ची सडक, ३५ मोटरेबल पुल, १७ झोलुङ्गे पुल, यी पूर्वाधारबाट करिब ३० लाख जनसङ्ख्या प्रत्यक्ष लाभान्वित र १६ हजारभन्दा बढी रोजगार सिर्जना भएको तथ्य महत्वपूर्ण छ ।

खानेपानी र सामाजिक पूर्वाधार : ‘एक घर एक धारा’बाट सुरु भएको अभियान
पोखरेलले प्रारम्भमै खानेपानीलाई नागरिकको आधारभूत हकका रूपमा लिए । प्रदेश स्थापनादेखि ६६६ आयोजना सम्पन्न, १,८२,८८१ घरधुरीमा खानेपानी, १३६ आयोजनाबाट १८,८७० घरधुरी प्रत्यक्ष लाभान्वित, ८६ प्रतिशत नागरिकलाई सेवा, यो स्वयंमा प्रदेशको सेवा विस्तारको महत्वपूर्ण उपलब्धि हो ।

कृषि आधुनिकीकरण र सिँचाइ : समृद्धिको मेरुदण्ड
प्रदेश स्थापना सँगसँगै पोखरेलले कृषि यान्त्रीकरण, व्यवसायीकरण र उत्पादन वृद्धि प्राथमिकतामा राखे । सिँचाइमा मात्र ९७२ साना सिँचाइ आयोजना, ८३८ हेक्टरमा सिँचाइ विस्तार र कृषिमा गुणस्तरीय बीउ उत्पादन प्राथमिकतामा, पशुपालनमा बिशिष्ट कार्यक्रम, सहुलियत कर्जा र व्याज अनुदान, कृषि स्मार्ट गाउँ अवधारणा, यी सबै मिलेर प्रदेश समृद्धिको आधार निर्माण भएको छ ।

सुशासन, प्रणाली र प्रशासनिक सुधारका पहलकदमी
उनकै नेतृत्वमा सुशासनका लागि ५ वर्षे रणनीतिक योजना निर्माण भयो । भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह सुधार, जनमुखी प्रशासन, अनुगमन प्रणाली, कार्यसम्पादन करार—यी सबै आधुनिक शासन संरचनाका तत्व हुन् । यो योजना अहिले पनि प्रदेश सरकारहरूको मुख्य मार्गदर्शन बनेर लागू भइरहेकै छ ।

निजी क्षेत्र–सरकार सहकार्य : प्रदेश विकासको नयाँ मोडेल
औद्योगिक क्षेत्र, कृषि आधुनिकिकरण, सडक, राजधानी विकास, स्वास्थ्य पूर्वाधार-यी सबैमा उनको मोडेल थियो । “सरकार दिशानिर्देशक, निजी क्षेत्र कार्यान्वयन साझेदार ।” मोतीपुर, दाङ र बाँकेमा औद्योगिक क्षेत्र निर्माण, लुम्बिनीका तीन भूभागको मनोविज्ञान एकीकृत गर्ने नीति, महानगर पूर्वाधार विकास-यी सबै निजी क्षेत्रको सहकार्यमा अघि बढेका योजनाहरू हुन् ।

दीर्घकालीन दृष्टिकोणका स्थायी आधारहरू

पोखरेलको नेतृत्वका सबै योजनाहरू हेर्दा तीन स्पष्ट आधार देखिन्छ :

  • संघीयताको औचित्य सिद्ध गर्ने प्रशासनिक संरचना निर्माण
  • भविष्यका पुस्तालाई लाभ हुने स्थायी पूर्वाधार निर्माण
  • लुम्बिनीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय आर्थिक अभिनेताको केन्द्र बनाउने रणनीति

आज प्रदेश सरकारमा जेजति कार्यक्रम छन्, तीमध्ये धेरै योजनाहरू उनले सुरु गरेका हुन् । वर्तमान सरकारले पनि ती योजनालाई नै मार्गदर्शक बनाउँदै अगाडि बढिरहेको छ । लुम्बिनी अब केवल प्रदेश होइन, सम्भावनाको केन्द्र हो भन्ने विषयलाई उनकै अगुवाईमा पूर्णता दिने प्रयास थाले ।

शंकर पोखरेलका योजनाहरू आज केवल विगतका कागजी दस्तावेज होइनन् । ती अहिलेका सरकारका भीत र पर्खाल हुन्, आधार र संरचना हुन्, नक्सा र दिशानिर्देशक हुन् । प्रदेशको प्रारम्भिक दिनमा देखिएको चुनौती, स्रोत–साधनको कमी र संघीय संरचनाको अनिश्चितताबीच उनले बनाएको दीर्घदृष्टिले लुम्बिनीलाई केवल प्रशासनिक केन्द्र होइन, आर्थिक हब, औद्योगिक गलियारा, प्राविधिक शिक्षा केन्द्र, स्वास्थ्य सेवा प्रवाहको राजधानी र कृषि आधुनिकीकरणको प्रयोगशाला बनाउने ठोस आधार बनाएको छ ।

उनका योजनाहरू आज पनि यति नै सान्दर्भिक छन्, किनकि ती योजनाहरू नेतृत्व बदलिँदा नबद्लिने, समयभन्दा पर टिक्ने, भविष्य केन्द्रित र प्रदेशको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने स्वरूपका छन् । लुम्बिनीको समृद्धिचित्र अहिले निर्माण भइरहेको छ, र त्यसका जग राख्ने श्रेय प्रदेशका पहिलो मुख्यमन्त्री शंकर पोखरेललाई जान्छ भन्ने यथार्थलाई इतिहासले निरन्तर स्मरण गरिरहनेछ ।



प्रतिक्रिया दिनुहोस !